छापा खबर


पशुपतिको मूल ढुकुटीमा के छ?

पशुपतिको मूल ढुकुटीमा के छ?

नेपालखबर
असार ६, २०७६ शुक्रबार १:१४,

‘पशुपतिको मूल ढुकुटी खोल्नुपर्‍यो। यसलाई बन्द गरी राख्नुभएन’, सांसद खिमलाल भट्टराईले भने, ‘यसभित्र के छ? भएको सम्पत्ति सबै खरानी भयो कि बाँकी छ, हेरौं त!’

राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति बैठकमा बिहीबार उनले राजनीतिक सहमति गरेर वा कानुनै बनाउनुपर्ने भए बनाएर पनि मूल ढुकुटी खोल्नुपर्ने बताए।

उनी राष्ट्रियसभामा सत्तारुढ दलका प्रमुख सचेतक हुन्। उनले बन्द अवस्थामा रहेको मूल ढुकुटी खोल्ने वातावरण बनाउन पशुपति क्षेत्र विकास कोषलाई आग्रह गरे।

राष्ट्रियसभामा विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले मूल ढुकुटी नखोलिनुको कारण मागे। ‘ढुकुटी नखोल्ने कारण के हो? ’, उनले भने, ‘धार्मिक मान्यता केही छ कि? सर्वोच्च अदालतको आदेशक के हो?’

यसअघि ढुकुटी खोल्न खोज्दा सर्वोच्चले रोक लगाएको थियो। उनले पशुपतिको सम्पत्ति पारदर्शी हुनुपर्ने बताए।

अन्य सांसदले पनि पशुपतिनाथ मन्दिरको ढुकुटीमा भएको सम्पत्तिमा चासो राखेको खबर आजको अन्नपूर्ण पोस्टमा सुरेन्द्र काफ्लेले लेखेका छन्।

उनीहरूले ढुकुटी खोलेर त्यसको अवस्थाबारे सर्वसाधारणलाई जानकारी दिनुपर्ने बताए। सांसद बद्रीप्रसाद पाण्डेले ढुकुटीको अवस्था के छ भनी प्रश्न गरेका थिए।

कोषका सदस्यसचिव डा प्रदीप ढकालले राष्ट्रिय विपत्ति आउँदा मात्रै मूल ढुकुटी खोलिने गरेको जवाफ दिए। उनका अनुसार दासप्रथा उन्मूलनको समयमा खोलिएको थियो।

मुख्य मन्दिरको माथिल्लो तलामा ढुकुटी रहेको र त्यहाँ जो कोही जान नपाउने उनले सुनाए। ‘विशेष नायक मात्र मूल ढुकुटी भएको स्थानमा जान पाउँछन् तर उनीसँग साँचो हुँदैन’, उनले भने, ‘जोसँग साँचो हुन्छ ऊ जान पाउँदैन।’

उनका अनुसार भूकम्पपछि मन्दिरको अवस्थासमेत थाहा छैन। मूल मन्दिरको भौतिक अवस्थाको प्राविधिक जाँच हुनु आवश्यक रहेको उनले बताए।

‘मूल मन्दिरभित्रको स्वरूप कस्तो छ भनेर कसैलाई थाहा छैन’, उनले भने, ‘भूकम्पले के कस्तो क्षति पुर्‍याएको छ? त्यसको प्राविधिक जाँच हुनुपर्छ।’

यसअघि भारतीयसहितको प्राविधिक टोलीले जाँच गर्न खोज्दा मूल मन्दिरमा प्रहार भएको भन्दै विरोध भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad