सदरमुकाम खलंगाबाट दुई घण्टाको दूरीमा पर्छ बैतडी–डडेल्धुराको सिमाना अनारखोली । त्यहाँबाट भित्र करिब दुई घण्टा कच्ची सडक पार गरेपछि पाटन नगरपालिका–१ को विकट गाउँ डँसिली पुगिन्छ।
त्यही गाउँको एउटा पुरानो घरमा रहेको चिया पसलमा रामसिंह बोहरा चुलो बाल्दै थिए।
रामसिंह जसले बैतडीको चर्चित बलात्कार घटनामा पीडित भएकी छोरी पूजाका लागि ८ वर्षसम्म निरन्तर न्यायको लडाइँ लडिरहे । ‘ढिलै भए पनि न्याय पाइयो,’ उनले भने, ‘बिहान गाउँकै एक जनाले सुनाए, छोरीले न्याय पाउने भई रे।’
आजको कान्तिपुरमा बैतडीबाट तृप्टि शाहीले लेखेको समाचार अनुसार उनका दुई घर रहेछन् । एउटा पसल नजिकै, अर्को अलि तल । ‘म बिहानै आइहालेँ, घर गएर छोरीलाई भेट्नै पाएको छैन,’ उनले भने, ‘उसले थाहा पाई कि पाइन।’
सर्वोच्च अदालतले बिहीबार आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको खबर देशभर फैलिइसकेको थियो । रामसिंहले भने भोलिपल्ट बिहान मात्र थाहा पाए । उनले भने, ‘न फोन छ, न रेडियो।’
घरसम्म जाँदा करिब १५ मिनेट पैदल यात्रामा उनले आफ्ना पीडा एकोहोरो सुनाए । ०६८ सालमा बुबाको वार्षिक श्राद्धकै दिन छोरीमाथि घटना भएको उनले सम्झिए । ‘बुबाको वार्षिकीकैदिन छोरीको उपचारका लागि काठमाडौं जानुपर्यो,’ उनले भने, ‘धपेडीले म पनि बिरामी परेको थिएँ तर भाग्यले बाँचेँ।’
उनलाई रक्षा नेपाल संस्थाले साथ दियो । छोरीका लागि मुद्दा लडे । जिल्ला अदालतले दोषीलाई सजाय सुनाएपछि न्याय पाएको महसुस गरे । केही समयपछि पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्ट्याइदियो । ‘पीडामाथि फेरि पीडा थपियो,’ उनले भने, ‘न्यायको आस मर्यो ।’
एकातिर न्यायको लडाइँ, अर्कातिर छोरीको भविष्यको चिन्ता । यसबीचमा उनले धेरै हन्डर खेपे । धेरैले कुरा काट्दै हिँडे । मिल्नुपर्छ भने ।
लाखौं पैसा दिन्छौं भनेर प्रलोभन पनि दिए । छोरीको लालनपालन र पढाउने जिम्मा लिएको संस्थाले बीचमै साथ छोड्यो । तैपनि उनी डगमगाएनन् । बरु बलियो भएर न्यायका लागि लडिरहे।
पढाइ खर्च नतिर्ने भनेपछि उक्त संस्थासँग संघर्ष गरेरै वाचा पूरा गर्न लगाएको उनले सुनाए । ‘केही महिना संस्थाले दिएको पैसाले खर्च चलाएँ,’ उनले भने, ‘त्यसपछि खेती किसानी र यही चिया बेचेर छोराछोरीको पढाइ खर्च धानेको छु ।’ पूजा कानुन विषय पढिरहेकी छन् । अरू छोराछोरी पनि पढ्दै छन्।
१३ वर्षकी छोरीको न्यायका लागि दुःख पाए पनि अहिले खुसी लागेको उनले बताए । ‘अब दोषीलाई कारबाही भएको देख्ने मन छ,’ घरको आँगनमा टेक्दै गर्दा उनले भने ।
घर पुग्नासाथ उनले छोरीलाई सोधे, ‘थाहा पायौ त सर्वोच्चको फैसला ?’ प्रश्न नसकिँदै पूजाले भनिन्, ‘हिजै साँझ वकिलले सुनाइसक्नुभएको थियो।’
उनको मुहारमा खुसी भरिएको थियो । पीडालाई जितिसकेको अनुभव गर्न सकिन्थ्यो । आफूमाथि भएको घटना सम्झन पनि नचाहेको बताउँदै आएकी उनले भनिन्, ‘न्याय त पाइयो । सबैले फोनबाट बधाई दिइरहेका छन् । घरपरिवार खुसी छन्।’
दसैंतिहारका लागि घर आएकी उनले काठमाडौंमा साथीहरूले खुसी मनाएको बताइन् । ‘पढाउने सरहरूले पनि खुसी साटिरहनुभएको छ,’ उनले भनिन्, ‘तैपनि ८ वर्षसम्म न्याय नपाउँदाको पीडा पूरै भुल्न सकेकी छैन।’
सबैले थाहा पाएको, पहुँचमा पुगिसकेको घटनामा न्याय पाउन यतिका वर्ष लाग्यो, बोल्नै नसक्ने दिदीबहिनीको अवस्था कस्तो होला भनेर सोच्ने गरेको उनले बताइन् । उनी बीएल चौथो वर्षमा पढ्दै छिन्।
०६८ चैत ९ गते ठूलोबुबाकी छोरीका घरमा बसेर बैतडीको पाटन बजारमा एसएलसी दिन गएका बेला उनीमाथि कहालीलाग्दो घटना भएको थियो । ‘करिब ७ वर्ष दुःखकष्टका साथ बिते,’ उनले भनिन्, ‘१३ वर्षकै उमेरमा अदालत धाएँ । पत्रकारलाई जवाफ दिएँ । आश्रय दिएको संस्थामा पनि कोही आयो कि म फलानो भनेर रुँदै पीडा सुनाउन लगाइन्थ्यो।’
जिल्लाले दिएको न्याय पुनरावेदनले फेरि खोस्यो । ‘अहिले सर्वोच्चले पुनरावेदनको फैसला उल्ट्याएकामा खुसी लागेको छ तर पाउनु दुःख पाएँ,’ उनले भनिन्, ‘मैले मात्र कहाँ हो र, घरपरिवारले पनि दुःख पाए । सधैं तनाव र त्रासमा रह्यौं।’
घटनापछि उपचार गर्न काठमाडौंमा रहेका बेला परिवारलाई समेत जानकारी नदिई प्रहरीले हल्लाका भरमा मुचुल्का बनाएर पेस गरेकामा उनको असन्तुष्टि छ।
रक्षा नेपालमा बसेर १२ कक्षा उत्तीर्ण गरुन्जेल र ३ वर्षसम्म कानुन पढ्दासमेत पीडामाथि पीडा दिइएको उनले बताइन् । ‘सम्झनै नचाहेको घटना कोट्याएर, भन्न लगाएर बारम्बार रुवाइयो,’ उनले भनिन्।
बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले उपचार खर्च भनेर दिएको १ लाखबाहेक अन्य कुनै सहयोग नपाएको उनले बताइन् ।
पढाइ सकेर वकिल बन्ने र हिंसामा परेका महिलालाई सहयोग गर्ने चाहना उनको छ । ‘एक दिन न्यायाधीश बनेरै छोड्छु,’ उनले भनिन्, ‘अरू चेलीले न्यायका लागि मैलेजस्तै संघर्ष गर्नुपर्ने अवस्था अन्त्य भएको दिन पूर्ण न्याय पाएको महसुस गर्नेछु।’

प्रतिक्रिया