सौराहामा पर्यटकलाई थप आकर्षित गर्न भन्दै क्षेत्रीय होटल संघ चितवन सौराहाले ल्याएको रात्रिकालीन जिप सफारीको अवधारणा यतिबेला बहसको विषय बनेको छ।
चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनभित्र राति पर्यटकलाई जिपमा घुमाउने भनिएको उक्त योजनालाई वन्यजन्तुविज्ञहरूले गर्नै नहुने भनेका छन्। उनीहरू भन्छन्, ‘यसले चितवनको पर्यटकीय आकर्षणको ब्रान्ड समाप्त हुन्छ।’
रात्रिकालीन जिप सफारीको अवधारणा अव्यावहारिक र कानुनविपरीत पनि देखिएको खबर आजको कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले लेखेका छन्।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार पनि निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र रातको समयमा सफारी वा अन्य सवारीसाधन चलाउन पाइँदैन। चितवन राष्ट्रिय निकुञ्ज नियमावली २०३० को दफा १८ मा सूर्यास्तदेखि सूर्योदयसम्म निकुञ्जभित्र पस्न र हिँड्डुल गर्न नपाइने प्रावधान छ।
ऐनमा ‘होटल, लज वा तोकिएको क्याम्प, स्थानमा बाहेक संरक्षक (वार्डेन) को लिखित अनुमतिबिना प्रवेश गर्न नपाइने’ उल्लेख छ। मध्यवर्ती क्षेत्रमा पनि निकुञ्जको संरक्षक (वार्डेन) को अनुमति नलिई कुनै गतिविधि गर्न पाइँदैन।
वन मन्त्रालयका पूर्वसचिव उदयराज शर्माले मध्यवर्ती क्षेत्रभित्र सफारी गराउँदा केही पैसा आर्जन हुने भए पनि वन्यजन्तुको हबका लागि विश्वमै चितवनले कमाएको ब्रान्ड मासिन सक्ने चिन्ता व्यक्त गरे।
‘यसरी मास टुरिजममा केन्द्रित हुँदा वाइल्डलाइफ सफारीका लागि कमाएको ख्याति गुम्न सक्छ,’ उनले भने, ‘जुन उद्देश्यका लागि नाम कमाएको छ त्यसको बचाउ गर्नुपर्छ।’
गत आर्थिक वर्ष २०७५र७६ मा अहिलेसम्मकै सबभन्दा बढी एक लाख ८५ हजार ६ सय ४४ जना पर्यटकले चितवन निकुञ्ज भ्रमण गरेका थिए। वाइल्डलाइफ सफारीका लागि चितवन विश्व विख्यात छ। बाघ संरक्षणमा विश्वमै उदाहरणीय बनेको भन्दै चितवन निकुञ्जले विगतमा प्रतिष्ठित संस्थाहरूबाट अन्तर्राष्ट्रिय उपाधिसमेत पाएको छ।
एकसिंगे गैंडामा विद्यावारिधि गरेका शान्तराज ज्ञवाली रातको समयमा सफारी चलाउनुअघि त्यसले वन्यजन्तुका विभिन्न पाटाहरूमा पार्ने असरबारे अध्ययन गर्नुपर्ने तर्क गर्छन्।
‘रातको समयमा विचरण गर्ने वन्यजन्तुमध्ये धेरै प्रजाति चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पनि पाइन्छन्,’ उनी भन्छन्, ‘राति सफारी चलाउँदा वन्यजन्तुले कस्तो रेस्पोन्स गर्छन् र तिनको जीवनचक्रमा कस्तो असर पर्छ भन्ने अध्ययन आवश्यक छ।’
पछिल्ला केही वर्षयता दिउँसै निकुञ्जभित्रबाट ठूला वन्यजन्तु हात्ती, गैंडा र बाघ मानवबस्तीमा निस्कने क्रम बढेको छ। वन्यजन्तुले मान्छेलाई आक्रमण गरेर घाइते बनाएका, ज्यानै लिएका र वन्यजन्तुमाथि आक्रमण गरिएका घटना पनि छन्। यस्तो परिवेशमा रातको समयमा सफारी चलाउँदा झनै समस्या आउन सक्ने विज्ञहरूको सुझाव छ।

प्रतिक्रिया