छापा खबर


कुकुरबाट युवती बलात्कार गराइएको घटना छानबिन गरः आयोग

कुकुरबाट युवती बलात्कार गराइएको घटना छानबिन गरः आयोग

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार २:५९,

नेपाली सैनिकले पक्राउ गरेपछि कुकुर लगाएर आफूमाथि बलात्कार गराएको भन्ने पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिएको राष्ट्रिय मानवअधिकार आयोगले जनाएको छ ।

मानवअधिकार आयुक्त गोविन्द शर्मा पौडेलले यस किसिमको अपराध सोच्न पनि नसकिने उल्लेख गर्दै घटनाबारे अनुसन्धान हुनुपर्ने बताए । ‘यो जघन्य अपराध हो,’ उनले भने, ‘वर्षौंपछि बाहिर आएको भए पनि पीडितको भोगाइलाई पहिलेको कुरा भनेर बिर्सन मिल्दैन ।’

पीडितको उक्त खुलासाले सशस्त्र द्वन्द्वकालमा सेनाले युद्धबन्दीलाई यातना दिन पाशविक बलात्कारको प्रणालीबद्ध अभ्यास गर्थ्यो भन्ने सुराक मिलेकाले सत्यतथ्य पत्ता लगाउन जरुरी भएको पौडेलले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा घनश्याम खड्काले लेखेका छन्।

‘आयोगले यस सम्बन्धमा थप निर्णय छिट्टै गर्छ,’ उनले भने, ‘पीडितको बयानलाई राज्यले गम्भीरताका साथ लिएर खोजबिन गर्नुपर्छ । यस्ता घटना भएको पुष्टि भए संलग्न कसैलाई पनि छुट दिन मिल्दैन ।’

पीडितको बयान पढ्दा आफूले आँसु थाम्न नसकेको पौडेलले बताए । ‘बुद्ध जन्मेको देशमा यस्तो घटना कसरी भयो होला भनेर म रोएँ,’ आयुक्त पौडेलले भने, ‘१८ वर्षकी ती युवतीलाई कुकुर लगाएर बलात्कार गराइएको हो भो त्यो अत्यन्त निन्दनीय छ ।’

द्वन्द्वपीडित साझा चौतारीले सशस्त्र द्वन्द्वका बेला भएका मानवअधिकार उल्लंघनका घटनाबाट पीडित भएका मानिसको ‘सत्यको बयान’ लिने क्रममा सोमबार दाङको घोराहीमा ती युवतीले आफू २०५८ मंसिरमा सैनिकबाट पक्राउ परेपछि बर्दियाको जंगलछेउको खेतमा निर्वस्त्र पारेर दुई कुकुरबाट बलात्कार गराइएको बताएकी थिइन् ।

लाज, डर र संकोचले लामो समय मुख खोल्न नसकेको र पीडा असह्य हुँदै गएपछि गोपनीयता कायम राख्ने सर्तमा बोल्न तयार भएको ती युवतीले बताएकी छन् ।

अरू युवती पनि यस्तै सिकारमा परेको तर कसैले पनि मुख खोल्ने आँट नगरेको उल्लेख गर्दै उनले ‘नेपालका महिलामाथि के भएको थियो संसारले जानोस्’ भनेर आफूले भने मुख खोलेको बताएकी थिइन् ।

संक्रमणकालीन न्यायिक संयन्त्र सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगले न्याय दिन नसकेको भन्दै पीडितहरू आफैं विगतका प्रमाणहरू संकलन गर्ने अभियानमा जुटेर आफूमाथि भएको ज्यादतीबारे ‘सत्यको बयान’ गरेका हुन् ।

सत्यको बयान अभियानका आयोजक संस्था साझा चौतारीले पीडित युवतीको बयानलाई गम्भीर रूपमा लिइदिन सरकारसँग अपिल गरेको छ ।

‘उक्त घटना अक्षम्य, घृणित र क्रूरतम खालको युद्ध अपराध हो,’ चौतारीले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘तालिम नदिईकन कुनै पनि जनावरले बलात्कार गर्दैनन्, यस घटनाले सेनाभित्र कुकुरलाई युद्ध बन्दीमाथि बलात्कार गर्न तालिम दिने गरिन्थ्यो भन्ने संकेत गर्छ।’

पीडितहरूको साझा संगठन चौतारीले सेनाकै स्वच्छताका लागि पनि छानबिन हुनुपर्ने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad