छापा खबर


जब प्रचण्ड विषयमा प्रवेश गर्छन्, ओली भन्छन्- भोलि भेटौंला !

 जब प्रचण्ड विषयमा प्रवेश गर्छन्, ओली भन्छन्- भोलि भेटौंला !

नेपालखबर
कात्तिक ७, २०७६ बिहिबार ३:१०,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूसँग पटकपटक गरेको सहमति कार्यान्वयनमा उदासीनता देखाएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका अन्य नेताहरूसँग छलफल र भेटघाट बढाएका छन् ।

पछिल्लो समय दाहालले प्रधानमन्त्रीसहित नेकपाका शीर्ष नेताहरूलाई छुट्टाछुट्टै भेटेर आफूहरूबीच भएको सहमति कार्यान्वयनमा ओली अग्रसर नभएको गुनासो गर्न थालेका खबर आजको कान्तिपुर दैनिकमा बिनु सुवेदीले लेखेकी छन्।

‘अब उहाँसँग फेरि अर्को लिखित सहमति गर्नुपर्ने बेला भएको छ, असहमतिका सबै विषयमा प्याकेजमै समझदारी गर्नुपर्छ भन्ने मेरो लाइन हो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनीनिकट एक नेताले भने, ‘ओलीजी सहमति कार्यान्वयनमा अब पनि अग्रसर हुनुभएन भने नयाँ ढंगले अघि बढ्नुपर्छ।’

अध्यक्ष दाहालले समझदारी गर्न खोजेको प्याकेजभित्र के–के पर्छन् त ? स्रोत भन्छ, ‘प्याकेजको एक नम्बर बुँदा दुई अध्यक्षको जिम्मेवारी बाँडफाँट हो।’

२०७५ जेठ २ गते पार्टी एकीकरणको निर्णय हुँदा दुई अध्यक्षले सहमतिका आधारमा सरकारको आलोपालो नेतृत्व गर्ने सहमति गरेका थिए ।

उक्त सहमति भदौ सुरुदेखि नै कार्यान्वयन गर्ने वाचा गरे पनि अहिले त्यो विषयमा ओलीले कुरै गर्न नचाहेको दाहालको गुनासो छ ।

‘छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटार त दिनदिनैजसो जान्छु, कहिलेकाहीँ त दिनको दुईपटक पनि पुग्छु, भेटघाटको लगभग ७५ प्रतिशत समय उहाँको कुरा सुनेरै जान्छ, विषयमा प्रवेश गर्नेबित्तिकै भोलि फेरि भेटौंला भन्नुहुन्छ,’ एक शीर्ष नेताले हालै दाहालले आफूसँग गरेको गुनासो उद्धृत गर्दै भने।

ती नेताले बताएअनुसार अब दाहाल प्रधानमन्त्री ओलीसँग अन्तिम सहमति खोज्ने मनस्थितिमा छन् । उनका अनुसार दाहालले आफूहरूको जिम्मेवारी बाँडफाँटसँगै मन्त्रिपरिषद् पुनर्गठन, सभामुख चयन, संवैधानिक तथा संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूमा नियुक्ति, राजदूत नियुक्ति र पार्टी एकीकरणका बाँकी काम एकमुष्ट टुंग्याउन चाहेका छन्।

‘यी विषयको छिटै टुंगो लगाउने चाहना प्रधानमन्त्रीको पनि हो, तर उहाँ एकतर्फी रूपमा निर्णय गर्न खोज्नु हुन्छ,’ दाहालको गुनासो ती नेताले उद्धृत गरे ।

वरिष्ठ नेता माधवकुमार नेपालसँग सोमबार साँझ भएको भेटमा पनि दाहालले ‘प्रधानमन्त्रीले धोका दिएको’ गुनासो गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad