थाइल्यान्डका राजा महाभाजिरालंकर्ण आफ्नी पत्नीका राजकीय उपाधि खोस्ने अप्रत्याशित निर्णय गरेका छन्।
राजदरबारको एक औपचारिक घोषणामा सिनिनात वङ्वाचिरापक्दी ‘निकै महत्त्वाकांक्षी’ बनेकी र उनले ‘आफूलाई महारानीको हैसियतमा पदोन्नति गर्ने प्रयास गरेको’ भन्दै राजकीय उपाधि खोरिएको उल्लेख छ।
घोषणाअनुसार वङ्वाचिरापक्दीका अधिकांश व्यवहार अपमानजनक ठहरिएकाले उपाधि खोस्नुपरेको समेत उल्लेख छ । महाभाजिरालंकर्ण उनलाई गत जुलाई महिनामा राजकीय उपाधि प्रदान गरेका थिए।
महाभाजिरालंकर्ण राजा बन्नुभन्दा पहिला वङ्वाचिरापक्दी उनकी भित्रिनी थिइन् । उनी सन् २०१६ मा थाइल्यान्डको राजा बनेका हुन् । तर राजाले पत्नीसरहको उपाधि दिइएको केही महिनामै वङ्वाचिरापक्दीले ‘विश्वासघात गरेकी’ भन्दै निर्णय लिएका हुन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ।
महाभाजिरालंकर्णले चौथो पत्नीका रूपमा सुथिदासँग बिहे गरेको ३ महिना नबित्दै वङ्वाचिरापक्दीलाई ‘चाओ खुन फ्रा सिनिनात बिलासकलयानी’ को उपाधि दिएका थिए । बीबीसीका अनुसार थाई राजपरिवारमा उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलोपटक दिइएको थियो।

प्रतिक्रिया