छापा खबर


ओलीसँग रुष्ट भएपछि नजिकिँदै दाहाल-नेपाल

ओलीसँग रुष्ट भएपछि नजिकिँदै दाहाल-नेपाल

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ३:१९,

प्रधानमन्त्री केपी शर्मा ओलीसँग खटपटपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल नजिकिन थालेका छन्।

उनीहरूले मंगलबार बेलुकी पार्टी राजनीतिका विषयमा केन्द्रित रही दाहाल निवास खुमलटारमा ‘गोप्य’ छलफल गरेका छन्।

त्यसमा प्रवक्ता नारायणकाजी श्रेष्ठसमेत निम्त्याइएका थिए। तीन नेताबीच लामै छलफल भएको खुमलटार स्रोतले बताएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

ओलीले पार्टी एकताका बेलाको सहमति र त्यसयताका समझदारी कार्यान्वयनमा चासो नदेखाएको र आफूलाई कमजोर बनाउने खेलमा लागेको बुझाइमा दाहाल पुगेका छन्।

नेपाल भने पार्टीको संगठनात्मक एकताका क्रममा आफू पक्षका नेतालाई जिम्मेवारीविहीन बनाएको, आफ्नो वरीयता खोसिएसम्मका कारण देखाउँदैै ओलीसँग असन्तुष्ट छन्।

दाहालले सोमबार र आइतबार प्रधानमन्त्री ओलीसँग छलफल गरेका थिए। ती छलफलका विषयमा उनले नेपाल र श्रेष्ठलाई अवगत गराउँदै अब कसरी प्रस्तुत हुने भन्ने सुझाव मागेको स्रोतको भनाइ छ।

प्रधानमन्त्री ओली बिहीबार अजरबैजान जाँदै छन्। त्यसअघि सम्भवतः दुई अध्यक्षबीच बुधबार ‘वान अन वान’ छलफल हुनेछ।

ओलीसँग स्थायी समिति बैठक (सकभर केन्द्रीय समितिकै बैठक) तत्काल बोलाउने विषयदेखि समझदारी कार्यान्वयन, दुई अध्यक्षकै बीचमा सरकार र पार्टी सञ्चालनको जिम्मेवारी बाँडफाँडलगायतमा अडान राख्न दाहाललाई नेपाल र श्रेष्ठले छलफलमा सुझाएको स्रोतले बतायो।

नेकपाभित्र नेताहरूबीच नयाँ समीकरण बन्ने र भत्किने गर्दै आएको छ। पार्टी एकताको १७ महिनामा कहिले दाहाल र ओली त कहिले दाहाल र नेपालबीच सहकार्य हुँद आएको छ।

पछिल्लो पटक दाहाल–नेपाल सहकार्यको सम्भावना बढेर गएको छ। ओली, दाहाल र नेपालमध्ये दुई पक्ष जता मिल्छन् नेकपाको केन्द्रीय समितिमा बहुमत त्यत्तै पुग्ने समीकरण देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad