छापा खबर


‘क्यान्सरको मुख्य औषधि आत्मबल’

‘क्यान्सरको मुख्य औषधि आत्मबल’

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार १:३७,

भरतपुर महानगरपालिका–१० कि ४४ बर्षीया प्रतिमा कोइरालन्सरको उपचार गराएर रोगमाथि विजय प्राप्त गरेकी छिन्।

१२ वर्षअघि उनले आफूलाई स्तन क्यान्सर भएको थाहा पाइन्। उपचार गरिन्। क्यान्सर भएको थाहा पाउँदा उनको विवाह भएको १५ महिनामात्र भएको थियो।

उनी त्यस समय नर्सिङमा स्नातक गर्दै थिइन्। स्वास्थ्यको विद्यार्थी भए पनि क्यान्सरको बिरामी भएको थाहा पाउँदा उनी झस्किइन्। तर सानै उमेरमा क्यान्सर संक्रमित भएर पनि उनले आफूलाई कमजोर बन्न दिइनन्।

यो खबर आजको नागरिक दैनिकमा चितवनबाट सरीता श्रेष्ठले लेखेकी छन्।

‘क्यान्सर भएको थाहा पाउनासाथ तत्काल उपचार सुरु गरें,’ उनले भनिन्, ‘हिम्मत हारिनँ, आफूमा आत्मबल बलियो राखें।’ उनी अहिले चितवन मेडिकल कलेजमा कार्यरत छिन्। क्यान्सरको उपचार गरेपछि नै उनले दुई सन्तान जन्म दिएर हुर्काएकी छिन्।

ठुलो छोरो १० र सानो छोरो डेढ वर्षको पुगेका छन्। समयमा नै उपचार गरेकाले क्यान्सर निदान भएर ‘क्यान्सर विजेता’ बन्न पाउँदा खुसी लागेको उनी बताउँछिन्।

भरतपुर–७ कि ५६ वर्षीया पञ्चु लामा भरतपुर अस्पतामा नर्स थिइन्। नुहाउने समयमा उनले आफ्नो स्तनमा गिर्खा रहेको थाहा पाइन्। गिर्खाले झस्किएकी उनी क्यान्सर खुट्याउन स्वास्थ्य जाँच गराउन लागिन्। दुई÷तीन ठाउँमा जाँच गराउँदा पनि डाक्टरले सामान्य भएकाले नआत्तिन भने। त्यसले उनको मनलाई भने सान्त्वना मिलेन।

भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा जाँच गराउँदा भने क्यान्सर भएको यकिन भयो। ‘पढेलेखेको, स्वास्थ्य क्षेत्रकै भएर पनि निकै डराएँ,’ उनले भनिन्, ‘एक–दुईपल्ट मर्ने विचार पनि आयो। तर आत्महत्या गर्नु कायरतापूर्ण लागेर आत्महत्या गर्न सकिनँ।’

बिरामी भएपछि मनमा राम्रा–नराम्रा अनेक कुरा आएको उनी सम्झिन्छिन्। तर पनि राम्रा कुराहरू मात्र लिएर मन बलियो बनाएर उपचार गरेकाले क्यान्सर जित्न सकेको उनले बताइन्।

भरतपुर–२ की ३८ वर्षीया टीका न्यौपाने पनि क्यान्सरपिडीत हुन्। पाँच वर्षअघि क्यान्सर भएकी उनले शल्यक्रिया गराएको चार वर्ष भयो। आफूमा आत्मबल हुनुका साथै बिरामी भएको समयमा भेटघाट गर्न आउनेले दिने सकारात्मक सोच र सान्त्वनासमेत महत्वपूर्ण हुने उनी बताउँछिन्।

‘अहिले पनि आत्मबल गलेको छैन,’ उनले भनिन्, ‘सक्रिय जीवनयापन गरिराखेकी छु।’ भरतपुर–१२ की ४६ वर्षीया सीता श्रेष्ठले पनि साढे दुई वर्षअघि क्यान्सरको शल्यक्रिया गराएकी थिइन्। उपचारपछि उनी आफ्नो कार्पेट व्यवसायमा सक्रिय भएर लागेकी छिन्।

‘म पहिले जस्ती थिएँ अहिले पनि त्यस्तै छु, केही परिवर्तन भएको छैन,’ उनले भनिन्, ‘यो रोगको औषधि नै हिम्मत हो। आत्मबल बढाउनु र खानपिनमा ध्यान दिनुपर्छ। आत्मबल दह्रो भए क्यान्सरलाई जित्न सकिन्छ।’

भरतपुर–१० की ४६ वर्षीया बन्दना खाँणले पनि स्तन क्यान्सर भएर उपचार गरेको चार वर्र्ष नाघ्यो। रोगमाथि विजयी भएर सक्रिय र स्वस्थ्य जीवन बाँच्न उच्च मनोबलसँगै परिवारको साथ पनि चाहिने उनको अनुभव छ।

नेपाली समाजमा अझै पनि क्यान्सर निको नहुने र उपचारमा सम्पत्ति सिध्याउनुपर्ने रोगको रूपमा परिचित छ। त्यसैले क्यान्सर भएको थाहा पाउनासाथ बिरामी र आफन्तले हिम्मत हार्ने गरेका धेरै उदाहरण छन्।

तर क्यान्सर निदान भएर सक्रिय जीवनयापन गरिरहेकाहरूको चितवनमा एउटा समूह नै छ। क्यान्सर विजेता समूहका नामबाट उनीहरू स्वास्थ्य सचेतनालगायत सामाजिक काममा सक्रिय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad