छापा खबर


द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयानः ‘मलाई कुकुरबाट बलात्कार गराइयो’

द्वन्द्वकालमा यौन हिंसापीडित युवतीको बयानः ‘मलाई कुकुरबाट बलात्कार गराइयो’

नेपालखबर
कात्तिक ६, २०७६ बुधबार ०:४२,

‘मेरो जीउडाल मिलेको छ र म अनुहारले राम्री पनि देखिन्छु,’ बेदनाले भरिएको आवाजले हल गुन्जियो, ‘तर, मनभित्रको पीडा अर्कै छ, त्यो देख्ने कोही छैन।’

हल मानव अधिकारकर्मी, पत्रकार, नागरिक समाजका अगुवा र सशस्त्र द्वन्द्वका पीडितले भरिभराउ थियो।

दाङको घोराहीमा सोमबार दिउँसो ‘द्वन्द्वपीडित साझा चौतरी’ ले आयोजना गरेको भेलामा आफ्नो पीडा सुनाउँदै थिइन्–सशस्त्र द्वन्द्वकालमा यौन हिंसामा परेकी एक युवती।

आजको कान्तिपुर दैनिकमा दाङबाट घनश्याम खड्काले लेखेका समाचारअनुसार गोपनियता भंग नहोस् भनेर उनी हलमा देखा परेकी थिइनन्। न त उनको पहिचान नै खुलाइएको थियो।

आवाज भने सिधा हलमा सुनिने व्यवस्था मिलाइएको थियो। जसै उनी बोल्दै गइन्, हलमा सन्नाटा छाउँदै गयो, सुन्नेहरुका आँखा रसाउँदै गए।

बर्दियामा जन्मेकी यी युवती १८ वर्षकी छँदा २०५७ सालमा तत्कालिन विद्रोही माओवादीमा लागेकी थिइन्।

नाचगान गर्दै, जनताको शासन ल्याउनुपर्छ भन्ने सन्देश दिने गीत गाउँदै उनी सांस्कृतिक टोलीकासाथ गाउँगाउँमा हिँडिन्।

त्यही क्रममा २०५८ मंसिरको एक रात सुतेकै ठाउँबाट पक्राउ परिन्।

‘सैनिकहरुले हामीलाई घरबाट लछार्दै निकाले। नाच्दा लगाएको गुन्युचोलीमाथि बेरेको पटुकी च्यातेर हाम्रा आँखामा पट्टी बाँधे र पाता फर्काए,’ ती युवतीले भनिन्। त्यसपछि जे भयो, त्यो सुन्दा हल पूरै स्तब्ध भयो।

‘ती सैनिकले हामीलाई पिट्दै र लछारपछार पार्दै घरभन्दा पर जंगल छेउको खेतमा लगेर निर्वस्त्र बनाए। अरु बहिनीहरु मभन्दा साना थिए,’ उनले रुँदै कारुणिक बयान गरिन्, ‘नांगै बनाएर ममाथि दुईवटा कुकुर छाडिदिए। अनि मेरो इज्जत कुकुरबाट लुट्न लगाए।’

कल्पनामा समेत नभएको यातना आइलाग्दा आफू मरेतुल्य हुनुपरेको उनले सुनाइन्।

उनले सैनिकहरुबाट आफूमाथि अरु पनि धेरै पासविक व्यवहार भएको सुनाइन्। सेनाको कुटपिट र बलात्कारको कारण कपडामै दिसा चुहिएको उनले सुनाइन्।

विज्ञहरुले ती युवतीमाथि कुकुरद्वारा बलात्कार गराइएको भन्ने बयान सही हो भने यसले सशस्त्र द्वन्द्वकालमा भएको यातनाको नयाँ ढाँचालाई उजागर गरेको टिप्पणी गरेका छन्।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले पीडित युवतीले भनेअनुसारको घटना भएको हो भने छानविन गर्न सेना तयार रहेको बताएका छन्। उनले सेना यस्ता घटनाको विरुद्धमा रहेको बताए।

अधिवक्ता ओमप्रकाश अर्यालका अनुसार तालिम नलिई जनावरले मान्छेमाथि बलात्कार गर्दैन। यस घटनाले सेनाभित्र बलात्कारका लागि कुकुरहरु तालिम प्राप्त थिए भन्ने संकेत गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad