छापा खबर


चिसो बढेपछि सुरक्षाकर्मीले गाउँ छाडे

चिसो बढेपछि सुरक्षाकर्मीले गाउँ छाडे

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार ०:४२,

चिसोमा बस्न नसकिने भन्दै प्रहरीले उपल्लो डोल्पाको से–फोक्सुन्डो गाउँपालिका छाडेको छ।

यहाँ प्रहरीको अस्थायी चौकी थियो । गाउँपालिकाले गाउँको सुरक्षाका लागि स्थायी प्रहरी चौकीको माग गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा रामचन्द्र न्यौपानेले लेखेका छन्।

गाउँपालिका केन्द्र साल्दाङमा बस्दै आएका प्रहरी चिसो बढेपछि केही दिनअघि सदरमुकाम फर्किएका छन् । सुरक्षाकर्मी नहुँदा असुरक्षित महसुस भएको गाउँपालिका अध्यक्ष टसी टुन्डुप गुरुङले बताए ।

स्थानीय सरकारका जनप्रतिनिधि, शिक्षक, विभिन्न फाँटका कर्मचारी सबै गाउँपालिकामै भए पनि प्रहरी भने नबसेको अध्यक्ष गुरुङले बताए । साल्दाङमा प्रत्येक वर्ष चैत अन्तिमतिर प्रहरी जाने र असोज अन्तिममा फर्कने गर्दै आएको छ । गाउँमा स्थायी प्रहरी चौकी छैन ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) नारायण रञ्जितकारले भने चिसोमा बस्न नसकेकाले प्रहरी सदरमुकाम फर्केको बताए ।

‘यस वर्ष मात्र होइन, यसअघिका वर्षमा पनि चिसो बढेपछि प्रहरीले त्यो ठाउँ छाड्थे । विगत वर्षमा जस्तै यस वर्ष पनि सुरक्षाकर्मी फर्किएका हुन्, यसलाई अन्यथा लिन मिल्दैन,’ उनले भने ।

खाने, बस्ने सञ्चारलगायत सम्पूर्ण सुविधाको व्यवस्था हुँदा पनि प्रहरी गाउँमा बस्न नमानेको गुनासो गाउँपालिका अध्यक्ष टसी गुरुङले बताए ।

‘अहिले गाउँपालिकामा प्रभु बैंकको शाखा स्थापना भएको छ,’ उनले भने, ‘सुरक्षा चुनौती थपिएको छ । प्रहरीले गाउँ छाड्न मिल्दैन ।’ गाउँका जनताले पनि सुरक्षाको प्रत्याभूति गर्न पाउनुपर्ने उनले बताए ।

‘बाह्रै महिना बस्ने गरी सुरक्षाकर्मी व्यवस्थापन गरिदिन सम्बन्धित निकायलाई आग्रह गरेका छौँ,’ अध्यक्ष गुरुङले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad