पञ्चायत कालमा धेरै कम्युनिष्ट नेताहरु काठमाडौँका स्थानीयको घरमा बसेर भूमिगत राजनीतिमा लागे।
उनीहरु अधिकांश यौवन कालमै थिए। यो उमेरमा मनमा राजनीतिक जोशसँगै माया टुसाउने नै भयो।
बाहिरफेर जाँदा प्रहरीको डर हुने। अधिकांश समय जहाँ डेरामा वा आश्रम लिएर बसे, त्यहीँ बिताए।
देखभेट त्यही घरका नव यौवनाहरुसँगै भयो। प्रेम बस्यो र कतिपयको प्रेम सफल पनि भयो।
प्रधानमन्त्री केपी ओली हुन् या अमृत बोहरा या झलनाथ खनाल, या ईश्वर पोखरेल। त्यसैको असर त हो, अधिकांश कम्युनिस्ट पृष्ठभूमिका नेताले गरेको अन्तर्जातिय विवाह।
त्यो बेलाको कट्टर नेवारी समाजले विजातीय भए पनि खस समुदायका ज्वाइँलाई स्वीकारे।
समय बललियो। हिजोका कमजोर ज्वाइँहरु अहिले देशको शक्तिशाली ओहदामा पुगे।
यो बेला त छोरी जिम्मा लगाउने परिवार खुसी हुनुपर्ने हो, तर अहिले उनीहरु नै ‘ज्वाइँ त बदमास निस्कियो’ भन्न थालेका छन्। यो खबर आजको शुक्रबार साप्ताहिकले छापेको छ।
प्रसंग गुठिसम्बन्धी प्रस्तावित विधेयकको हो। जसको प्रभावका कारण मुख्यतः काठमाडौँ उपत्यकाबासी आन्दोलित छन्।
सरकारले यसलाई भूमिहीनको हक स्थापनाको दृष्टिले व्याख्या गरिरहेको छ। तर उपत्यकाबासी यसैलाई धर्म, संस्कृति र परंपरासँग जोडेर हेरिरहेका छन्।
सासू, ससुरा र जेठानहरु नै ज्वाइँ बेइमान भए भन्दै चिन्तित हुन थालेपछि तत्कालका लागि सत्ताधारी ज्वाइँहरुले राष्ट्रिय सभामा रहेको गुठी विधेयक फिर्ता त गरेका छन्, अझै ज्वाइँमाथि भर पर्ने विश्वास भने बनिसकेको छैन है!

प्रतिक्रिया