छापा खबर


घरजग्गा व्यवसाय ओरालोतिर, किन भयो यस्तो?

घरजग्गा व्यवसाय ओरालोतिर, किन भयो यस्तो?

नेपालखबर
कात्तिक ३, २०७६ आइतबार १:१,

ऋणमा लगाम लागेपछि घरजग्गा व्यवसायमा कारोबार घट्यो। केही वर्षयता मूल्य भने स्थिर थियो।

बैंक तथा वित्तीय संस्थाको ऋणको साँवाब्याज भुक्तानीमा घरजग्गा व्यवसायी दबाब झेलिरहेका छन्। उनीहरू बजार उठ्ने आसमा एउटा बैंकबाट ऋण लिएर अर्कोको भुक्तानी गर्दै छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा विनय बञ्जाराले लेखेका छन्।

राष्ट्र बैंकले व्यावसायिक कार्यदक्षता कर कार्यालयबाट परीक्षण गरेर मात्र ऋण दिन परिपत्र गरेको छ। त्यससँगै यस्ता ऋणहरू सदाबहार (इभर ग्रिनिङ) हुने सम्भावना टर्दै गएको छ।

विश्वव्यापी रूपमै घरजग्गा कारोबार खुम्चिन थालेको छ। नेपालका पनि प्रमुख सहरमा घरजग्गाको मूल्य संतृप्ति (स्याचुरेसन)मा पुगेको विश्लेषक बताउँछन्।

घरजग्गाको मूल्य सस्तिन सक्ने आईएमई समूहका बजार विश्लेषक प्रकाश तिवारी बताउँछन्। उनका अनुसार तीन वर्षदेखि चुलिएको ब्याजदर, बैंकमा ऋण दिने पैसा अभाव र सेयर बजारजस्ता पुँजीगत लाभ आर्जन गर्ने सट्टेबजारको निराशाजनक अवस्थाले प्रभाव पार्न सक्छ।

‘काठमाडौंका कतिपय स्थानमा घरको मूल्य तीन वर्षअघिको अवस्थामा आएको छ’, उनी भन्छन्, ‘भित्री सहरका टुक्रे जग्गाको भाउ बढिरहे पनि ठूलो प्लटको भाउ घट्न थालिसकेको छ।’

आईएमई समूहअन्तर्गतकै हाथ्वे इन्भेस्टमेन्टका सीईओ अम्विका पौडेल जग्गा खण्डीकरण गर्न नपाइने कानुनी व्यवस्थाले सहरी क्षेत्रमा जग्गाको माग घटेको बताउँछन्।

महँगो हुँदा ठूलो क्षेत्रफल भएको जग्गाको खरिदकर्ता नपाइने, कित्ताकाँट गर्न नपाइने भएपछि त्यस्ता जमिनको भाउ बढ्न नसकेको उनको भनाइ छ।

नेपालमा सम्पत्ति थन्क्याउने सबैभन्दा आकर्षक लगानी क्षेत्र घरजग्गा हो। मुलुकको अर्थतन्त्र ७० प्रतिशत पुगेको अनौपचारिक बजारबाट ठूलो पैसा मूलतः घडेरीमा लगानी भइरहेको काठमाडौं विश्वविद्यालयको अर्थशास्त्रका प्रा. डा. अच्युत वाग्ले बताउँछन्।

रेमिट्यान्सको ठूलो हिस्सा पनि सहरी क्षेत्रमा घडेरी किन्न खर्च हुने गरेको उनी सुनाउँछन्। ‘नेपालमा वार्षिक साढे १३ लाख कित्ताजति घडेरी माग छ’, उनी भन्छन्, ‘यस्तो माग ठूला सहरी क्षेत्रमा केन्द्रित छ।’

यही कारण मुख्य सहरी क्षेत्रमा घडेरीको मूल्य ५० वर्षयता हरेक साल दोब्बर हुने गरेको उनी बताउँछन्। जुन रफ्तार अबका दिनमा भने कायम नहुने उनको आकलन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad