संसारभर फिल्मवृत्तमा स्टार किड्सलाई ‘नेपोटिजम’को आरोप लाग्ने गर्छ। दिव्या नेपोटिजमले अवसरको ढोका सहजै खोलिदिने स्वीकार्छिन्।
‘नेपोटिजमले अवसरको ढोका सहजै खुल्छ, त्यो सही हो। तर सफलताको ग्यारेन्टी चाहिँ हुँदैन। त्यो आफूमै भर पर्छ। यदि मैले मेहनत गरिनँ, ट्यालेन्ट छैन भने अडियन्सको सपोर्ट पाइन्न। सुरुमा ढोका खुल्छ होला तर त्यसपछि मेहनत आफैले गर्नुपर्छ।’
दिव्यालाई फिल्ममा अभिनय गराउनका लागि धेरैले उनका बुबा दिलिप रायमाझीलाई कल गर्छन्। तर, दिव्याका अनुसार दिलिपले कहिल्यै डिल गर्दैनन्।
‘तेरो छोरीलाई फिल्ममा खेलाउनुपर्यो भन्दै ड्याडलाई फोन आउँदो रहेछ,’ दिव्याले सुनाउँछिन्, ‘तर, उहाँले केही भन्नुहुन्न। सिधै मेरो नम्बर दिएर मसँगै डिल गर्नु भन्नुहुन्छ। खासमा मलाई बुबाको भन्दा पनि आफ्नै नामले चिनिन मन छ। बरु आफ्नै नामले ड्याडलाई पनि चिनाउन मन छ। सायद त्यसो हुँदा उहाँलाई पनि खुसी लाग्छ होला, गर्व महसुस हुन्छ होला।’
दिव्याकै नजरमा दिव्या कस्तो मान्छे?
‘लेट्स टक’मा उनले भनिन्, ‘म पानीजस्तो छु। पानीलाई जस्तो कन्टेनरमा राख्नुस्, उसले त्यस्तै आकार लिइदिन्छ। सायद म पनि त्यस्तै छु, जस्तो मान्छेसँग छु, त्यस्तै भइदिन्छु।’
फिल्मको को–एक्टरसँग हिरोइनको अफेयरको चर्चा चल्नु नेपाली फिल्मका लागि नयाँ ट्रेन्ड होइन। दिव्या पनि यसको सिकार भइसकेकी छन्। प्रदिप खड्का र उनीबीच चलेको प्रेमको चर्चा हल्लामात्रै भएको उनले बताइन् ।
भन्छिन्, ‘मेरो मात्रै होइन, सबैजनाको यस्तो हल्ला आउँदो रहेछ। तर, म त हा हा भनेर हाँसेरै उडाइदिने हो।’
हेर्नुहोस्, दिव्याले उनको बाल्यकाल, अध्ययन, करिअर, प्रेम र जीवनका अनेक पाटाबारे खुलेर कुराकानी गरेको यो कार्यक्रम ‘लेट्स टक’ :

प्रतिक्रिया