ad ad

विचार


पञ्चायतको जेलभन्दा आइसोलेसनमा बस्न कठिन भयो

पञ्चायतको जेलभन्दा आइसोलेसनमा बस्न कठिन भयो

योगेश भट्टराई
कात्तिक १८, २०७७ मंगलबार १६:६,

असोज २३ गते भारतीय राजदूतसँग भेटघाटको समय तोकिएको थियो। त्यसदिन मन्त्रालयमै उहाँसँग बैठक भयो। मास्क खोलेर नै बैठक भएको थियो तर हामीले दुरी कायम गरेका थियौँ।

त्यसै दिनदेखि मलाई जिउ तातेजस्तो महसुुस भयो। केही वर्षदेखि मलाई हल्का सुगरको समस्या थियो। त्यसले पनि कहिलेकाहीँ यस्तै हुन्छ भनेर दुईचार गिलास पानी पिएँ। जिउको तातो हराएन।

पाँच बजेतिर मन्त्री क्वार्टर फर्किएँ। त्यसदिन पहिलाजस्तै परिवारसँगै बसेर खाना खाएँ। केही सावधानी भने अपनाएँ।

‘आज अलि ज्वरो आएजस्तो भएको छ, म अलग्गै सुत्छु,’ परिवारलाई भनेँ।

भोलिपल्ट शनिबार (२४ गते) बिहान कोरोना परीक्षणका लागि स्वाब दिएँ। राति १० बजेतिर मोबाइलको घण्टी बज्यो। म्यासेज आएको रहेछ। मनमा अलिकति डर, अलिकति खुल्दुलीसाथ म्यासेज खोलेँ– पोजिटिभ रहेछ।

त्यसपछि पूर्णरुपमा आइसोलेसन सुरु भयो। खासै समस्या नभएकाले घरमै बस्ने निधो गरेँ। एउटा ट्वाइलेट मैले मात्रै प्रयोग गरें। खाना अलग्गै खाएँ। खाना खाएको भाँडावर्तन आफैँले सफा गरेँ। लुगा आफैँ धोएँ।

मेरो सम्पर्कमा आएकाहरुलाई सतर्क रहन सजिलो होस् भनेर कोरोना संक्रमण भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएको थिएँ।

सबैभन्दा ठूलो डर के लागेको थियो भने मंगलबार बेलुका मैले प्रधानमन्त्रीलाई भेटेको थिएँ। मन्त्रालयको ब्रिफिङका लागि। झण्डै एक घण्टा उहाँसँग बसेको थिएँ। उहाँलाई केही अप्ठेरो हुन्छ कि भन्ने लाग्यो। हुन त उहाँ र मेरो बसाइको दुरी झण्डै ४ मिटर थियो। प्रधानमन्त्रीको निवासमा जादाँ धेरै नै सावधानी अपनाइन्छ।

मलाई पोजिटिभ आएपछि प्रधानमन्त्रीको निजी सचिवालयमा खबर गरें। ‘मलाई कोरोना पोजिटिभ आयो। मैले उहाँलाई भेटेको छु। केही ख्याल गर्नुपर्ला,’ मैले उहाँहरुलाई भनेँ।

बिहीबार पनि म मन्त्रिपरिषदको बैठकमा सहभागी थिएँ। आजभोलि मन्त्रिपरिषद् बैठकमा पनि दुई मिटरको दुरी कायम गरिन्छ। कुर्सी पनि निश्चित छ। प्रधानमन्त्री बस्ने स्थान पनि अलि टाढा नै छ।

२१ गते ओलाङ्चुङगोला र किमाथाङ्का जाँदा हेलिकप्टरमा गृहसचिव मसँगै सिटमा हुनुहुन्थ्यो। उहाँलाई मैले भनेँ, ‘एउटै सिटमा थियौं, अलिकति ख्याल गर्नु है।’

उहाँलाई केही भएन।

मसँग हेलिकप्टरमा भएका ताप्लेजुङको सीडीओ, डीएसपी, पार्टीका साथीहरु सबैलाई खबर गरें।

भारतीय दूतावासमा मेरो सचिवालयबाट फोन गर्न लगाएँ।

‘मन्त्रीलाई कोभिड पोजिटिभ देखिएको छ, राजदूतले सावधानी अपनाउनु पर्ला,’ भन्ने सन्देश पठाएँ।

मैले थाहा पाएअनुसार राजदूत पनि केही दिन आइसोलेसनमा बस्नु भयो। तर, उहाँलाई केही भएन।

मलाई कोभिड भएको खबर बाहिर आएपछि स्वास्थ्य सचिवले फोन गर्नु भएको थियो।

‘वीर अस्पतालमा भीआईपीलाई राख्ने बेड छन्। आउनुहुन्छ भने बेड उपलब्ध छ,’ उहाँले भन्नुभयो।

‘अप्ठ्यारै परे आउँला नत्र म ठिकै अवस्थामा छु,’ मैले भनेँ।

म सामान्य अवस्थामै हुँदा किन बेड ओगट्ने भन्ने लाग्यो। अर्कोतिर कोरोना लाग्दा आपतै परेको बेलाबाहेक सामान्य अवस्थामा अस्पताल जानु ठिक हुँदैन जस्तो लाग्छ मलाई। घरमै ठिक हुन्छ।

अस्पतालमा गएपछि सामान्य भएको मान्छेको पनि मनोविज्ञान बिग्रेको जस्तो मलाई लाग्यो। कति गम्भिर बिरामी हुन्छन्, कतिको मृत्यु भइरहेको हुन्छ। त्यो नजिकै बेडमा देख्दा सद्दे मान्छेको मनोविज्ञानलाई असर गर्न सक्छ। घरमा बस्दा पारिवारिक वातावरण हुन्छ। अस्पताल हुँदा खानपिन पनि नमिल्न सक्छ।

हुन त सबै मान्छेलाई घरमै आइसोलेसनमा बस्ने सुविधा हुँदैन। घरमा बस्दा अनेक असुविधा पनि हुन्छन्। ट्वाइलेट र कोठा एउटा मात्र हुँदा समस्या पनि हुन्छ। मन्त्री क्वार्टर भएकाले मलाई त्यो समस्या थिएन।

त्यस क्रममा केही डाक्टरहरुले सुझाव दिनु भयो। डा. रवीन्द्र पाण्डेले जिंक ट्याबलेटलगायत भिटामिन पठाइदिनु भयो। केही आयुर्वेदिक औषधिहरु पनि विभिन्न ठाउँबाट आएका थिए। ती औषधि प्रयोग गरेँ। पानी पर्याप्त पिएँ। दैनिक पाँच छ लिटर। बिहानबेलुका तोतोपानीको बाफ लिएँ। नुनपानीले घाँटी कुल्ला गरेँ।

दुई दिनसम्म हल्का ज्वरो आइरहेको थियो। थर्मेमिटरले ९९.८ देखाउँथ्यो। सिटामोलले ज्वरो नियन्त्रणमा आएको थियो तर त्यसको असर थियो। अक्सिजन लेभल ९५ भन्दा तल झरेको थिएन।

अरुलाई बढी नै जिउ दुख्ने, सुख्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने सुनेको, पढेको थिएँ। मलाई त्यस्तो भएन। सामान्य खोकी थियो।

एक दिन टाउकोको बायाँ भागमा पिनास हानेजस्तो भयो। त्यो दिन केही तनाव भयो। मेरो श्रीमती स्वास्थ्यकर्मी भएकाले पनि मलाई केही आत्मविश्वास थियो। के खाने, के नखाने जस्ता कुरामा उनले सल्लाह दिन्थिन्।

स्वास फेर्न गाह्रो भएको छ कि भनेर राति आएर सोध्ने गर्थिन्। मनोबल उच्च राख्न श्रीमतीले अनेक तरिका लगाइरहेकी थिइन्। ‘डराउनु हुँदैन है, डराउनु हुँदैन,’ उनी ढोका बाहिरबाट भनिरहन्थिन्।

बीचमा मैले सुगर लेभल नियन्त्रणमा राखेको थिएँ। सुगर, दम, निमोनिया भएकालाई अलिकति बढी असर गर्छ भन्ने सुनेको थिएँ। त्यसैले व्यायमलाई विशेष ध्यान दिएको थिएँ। बिहान, दिउँसो, बेलुका एक एक घण्टा छतमा दौडिन्थेँ। त्यसरी हिँड्दा दैनिक १२, १३ किलोमिटर पुग्थ्यो।

मलाई एकदम भोक लाग्ने, जति पनि खाना रुच्ने भएको थियो। कागती पानी, फलफूलहरु धेरै खाएँ।

पोजिटिभ रिपोर्ट आएको नवौं दिन फेरि स्वाब दिएँ। त्यो बेला सीटी भ्यालु (पीसीआर मेसिनले भाइरस पत्ता लगाउन पुरा गर्नुपर्ने चक्र। ३७–४० चक्रमा पनि भाइरस नदेखिए रिपोर्ट नेगेटिभ मानिन्छ) २५ थियो।

क्लियर भयो भने दसैँअगाडि निस्कने योजना थियो। मन्त्रालयमा पनि जरुरी फाइलमा सही गर्न बाँकी थियो। १३ औं दिनमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आयो। त्यो बेला सिटी भ्यालु ४० पुगेको थियो।

१४ दिनसम्म एकै ठाउँमा बसिरहनु निकै गाह्रो काम हुँदोरहेछ।

पञ्चायतदेखि गणतन्त्रसम्म पटक पटक गरेर तीन वर्ष जति जेल बसेको छु। जेलमा निश्चित चौघेराभित्र बस्नु पर्छ। तर यो आइसोलेसन बसाइ भने त्यो भन्दा पनि सानो ठाउँ। एकै ठाउँ १४ दिनसम्म बस्नुपर्ने। म ताप्लेजुङको आफ्नै घरमा पनि एसएलसी दिएपछि यसरी कहिल्यै दुई हप्ता एकै ठाउँ बसेको थिइनँ।

यो बीचमा एकदुई ओटा किताब पढ्ने कोसिस गरेको थिएँ। तर, कोभिडको तनावले किताबमा त्यत्ति ध्यान जाँदो रहेनछ।

सामाजिक सञ्जाल चाहार्ने, समाचार हेर्ने, नियमित व्यायाम, खाना सरसफाइ गरेर केही समय जान्थ्यो। डाक्टरले आराम पनि गर्नुपर्छ भनेकाले दिउँसो खाना खाएपछि एकदुई घण्टा सुत्थेँ।
***
कोभिड– १९ को संक्रमण उच्च अवस्थामा हुँदा पनि मैले मन्त्रालयको काम रोकिनँ। स्वास्थ्य सतर्ककता अपनाउँदै दैनिक कामकारबाही अघि बढाएँ।

सुरुका दिनमा कोरोनाको त्रास आतंककै स्तरमा थियो। चीन र भारतको बीचमा रहेकाले पनि मान्छेको आवतजावत धेरै हुन सक्ने परिस्थिति थियो। भारतर्फको खुला सीमाले अझ बढी तनाव सिर्जना भयो। मुलुकमा लकडाउन सुरु भएपछि आवतजावत धेरै नै कम भयो।

हामी मन्त्रालयमा भने नियमित नै आयौं। कर्मचारीहरु थोरै हुनुहुन्थ्यो। बाहिरबाट मान्छेहरु आउने अवस्था थिएन। केही महिना यसरी नै बितायौं।

त्यो बेला कतिपय विदेशी पर्यटक पोखरा, लुक्ला, अन्नपूर्ण पुगेका थिए। उनीहरु आफ्नो देश, आफ्नो परिवारसम्म पुग्न चाहन्थे। उनीहरुलाई फर्काउने प्रबन्ध पनि मिलाउनु पर्ने थियो। पहिलो चरणमा नेपाल पर्यटन बोर्डमार्फत विभिन्न निकायसँग समन्वय गरेर देशभरीबाट उनीहरुलाई काठमाडौंमा जम्मा गर्‍यौँ।

विस्तारै विदेशमा रहेका र नेपाल फर्कन चाहने नेपालीलाई फर्काउनु पर्ने दबाब आउन थाल्यो। त्यसको प्रबन्धको लागि पनि हामी नियमित रुपमा आफिस आउनु पर्ने थियो।

पछि सरकारले पूर्ण लकडाउनको नीतिलाई पुनरवलोकन गरेर जनजीवनलाई सामान्यीकरण गर्दै गयो। त्यसछि मन्त्रालयमा मानिसहरुको भीड बढ्यो। विशेषगरी नीति तथा कार्यक्रम र बजेट बनाउने बेलामा सांसदहरु र स्थानीय तहका जनप्रतिनिधिहरुको बाक्लो उपस्थिति थियो।

संक्रमण नफैलियोस् भनेर भेटघाटलाई अलिकति कम र मास्कलाई अनिवार्य गरेका थियौँ। साना बैठक पनि ठूलो हलमा गर्न थालेका थियौं। अन्य सरोकारवालासँगको बैठक जुमबाट भइरहेका थिए।

यातायात चलाउने, विदेशबाट आउने नेपालीलाई चार्टड फ्लाइट र अन्य नियमित उडान गर्नु पर्ने माग भयो। असोज १ देखि आन्तरिक उडान खुला भयो।

यसबीचमा पोखरा विमानस्थल र गौतमबुद्ध विमानस्थलको निर्माण काम पनि रोकिएन। कतिपय कामदारलाई १४ दिनसम्म आइसोलेट गरेर पनि काम गरियो। काठमाडौंको विमानस्थलमा पनि यसै बीचमा रनवे विस्तारको काम भयो। जहाज पार्किङ गर्ने ठाउँ थपियो। ‘डिपार्चर हल’ नयाँ ढंगले सुरु भयो। आन्तरिक उडानसँगै काठमाडौं बाहिरको कार्यक्रममा सहभागी हुन थालियो।

सुदूरपश्चिमा बझाङ, डोटी र बैतडीका विमानस्थलहरु म आएपछि कालोपत्रे भएका हुन्। त्यहाँ असोजको दोस्रो हप्ता ‘टेस्ट फ्लाइट’ गरें।

परीक्षण उडानका क्रममा प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिलाई धेरै मान्छे जम्मा नगर्नु होला भनेको थिएँ।

‘परीक्षण उडान हुँदैछ, पर्यटनमन्त्री आउँदै हुनुहुन्छ,’ भनेर सूचना निकाल्ने, रेडियोबाट जानकारी गराउने काम भएछ। आफ्नो जिल्लामा उडान सुरु हुँदा उत्साह हुने नै भयो।

लामो समयदेखि उडान नभएको, कार्यक्रम पनि नभएकाले पनि मान्छेमा उत्साह थियो। डोटी, बैतडी, बझाङमा ठूलो भीड जम्मा भएको थियो। कतिले मास्क लगाउनु भएको थियो भने कतिले लगाउनु भएको थिएन।

हामीसँग जाने टोलीमा सबै मास्क लगाएकै थियौं। सतर्क हुन खोजेका थियौं तर त्यहाँ गइसकेपछि मन्त्रीसँग नजिक आउने, फोटो खिच्ने, सेल्फी हानौैं भन्ने भइनै हाल्छ। फेरि हामी जनप्रतिनिधि पनि त्यस्ता आग्रहलाई टार्न सक्दैनौँ।

असोज १९ गते विराटनगर विमानस्थल बिस्तार गर्ने सन्दर्भमा प्रदेश सरकारसँग समझदारी पत्रमा हस्ताक्षर गर्नुपर्ने थियो भने २१ गते सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी)को उद्घाटन थियो।

सशस्त्रले जानेहरुको पीसीआर परीक्षण गराएको थियो। त्यही क्रममा १९ गते स्वाब दिएर म विराटनगरतिर लागेँ।

त्यहाँ पनि पार्टी अफिसमा साथीहरुको उपस्थिति ठूलै संख्यामा थियो। एयरपोर्टमा पनि भीडभाड थियो तर पनि सतर्क हुने कोसिस गरिरहेको थिएँ।

मैले सोमबार बिहान दिएको नमुनाको रिपोर्ट मंगलबार आयो। नेगेटिभ थियो।

त्यसपछि बुधबार २१ गते ताप्लेजुङको ओलाङ्चुङगोला र संखुवासभाको किमाथाङ्कामा बीओपी उद्घाटनमा सहभागी भएँ। गृह सचिव, दुवै प्रहरीका आईजीपी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र अन्य व्यक्तिहरु एउटै हेलिकप्टरमा थियौं।

ताप्लेजुङ विमानस्थलमा सामान्य भेटघाटपछि ओलाङ्चुङ गयौं। सुकेटार विमानस्थलमा खाना खाँदा सबै नजिकनजिकै भएर खाइएको थियो। त्यसैले मलाई कोरोना कहाँबाट सर्‍यो, भन्न सक्दिनँ।
***
नेपालमा चैतको पहिलो हप्तामा कोरोना भाइरसको दोस्रो संक्रमण देखियो। त्यो बेला बाहिरी मुलुकमा संक्रमण तीव्र भइसकेको थियो। अन्य मुलुकमा लकडाउन भएको खबर हाम्रो हात हातमा आइरहेको थियो।

हाम्रा अन्तर्राष्ट्रिय उडान भने रोकिएका थिएनन्। ती उडानबाट आयातित एकदुई वटा कोरोनाका केस देखिए।

‘प्लेन चढेर कोरोना आयो,’ भनेर मिडियाले मेरो भण्डाफोर नै गरे। त्यसबेला अन्तर्राष्ट्रिय उडान बन्द नगरेको भनेर कतिपयले मलाई ‘कोरोनामन्त्री’ पनि भने।

त्यसबेला उच्चस्तरीय समन्वय समिति र सीसीएमसीमा लकडाउन गर्नैपर्ने दवाब थियो। सबै ‘लकडाउन, लकडाउन’ भन्थे। मिडियाको मत पनि त्यस्तै थियो।

‘एक दुईवटा केस त हुन लकडाउन नगरौं’ भन्ने कुरा ‘एन्टिवेभ’ जस्तो हुन्थ्यो।

त्यसपछि सरकारले कोरोना भइरस संक्रमण नियन्त्रण गर्नभन्दै लकडाउनको नीति लियो।

मुलुकभर कोरोना तीव्र रुपमा फैलिन थालेपछि तीनचार महिना अगाडि मैले ‘लिभिङ टुगेदर विथ कोभिड’ भनेको थिएँ। त्यो बेला पनि मान्छेले मलाई फेसबुकमा खुब उडाए। पछि तिनै मान्छेले फेरि फेसबुकमा लेखे, ‘गाडी, पसल किन बन्द गरेको? उडान किन बन्द गरेको?’

कोरोना संक्रमण अत्यधिक भइरहेका बेला मलाई प्रश्न गरियो– ‘अहिलेसम्म प्लेन नचलाएर तँ के गरेर बसेको छस्?’

मान्छेको चेतनामा घटनाक्रमले ठूलो प्रभाव पार्दो रहेछ। हामी नीति निर्माण गर्ने तहमा पनि त्यसबाट प्रभावित हुन्छौं।

आफू संक्रमित भएपछि मैले प्रायः मोबाइल स्विच अफ राखें। ‘कस्तो छ, पीडा कस्तो हुँदैछ?’ भनेर धेरै सोधखोज हुने। जवाफ दिँदादिँदा हैरान भैयो। सुरुको एक दुई दिन पुरै बन्द गरें। त्यसपछि बेलाबेलामा खोलें।

संक्रमित भएको १४औं दिनमा बहराइनका राजकुमारलाई बिदा गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको थिएँ। उहाँ हिमाल चढ्न नेपाल आउनुभएको थियो।

उहाँले मलाई भेट्न खोजिरहनु भएको थियो र मलाई पनि उहाँलाई भेट्न इच्छा थियो। डिनरमा पनि बोलाउनु भएको थियो तर कोभिडकै कारण म जान सकिनँ।

महामारीका बेला उहाँले हिमाल चढेर फर्किनु ठूलो सन्देश थियो। म पर्यटनमन्त्री भएको नाताले उहाँलाई रिसेप्सन दिनु पथ्र्यो, उहाँलाई भेट्नु पथ्र्यो तर त्यो हुन सकेन। संयोगले विदाइ गर्न भने पाएँ।

कात्तिक १२ पछि अफिस लाग्यो। लगत्तै म नेपालको सुन्दर पर्यटकीय क्षेत्र तिलिचो पुगें।

त्यहाँ पुग्ने पर्यटकले सामाजिक सञ्जाल र मिडियाहरुमा पनि एकदम राम्रो ठाउँ, स्वर्गको टुक्रा तर त्यहाँ पुगेपछि बस्ने ठाउँ, चिया नास्ता खाने ठाउँ र ट्वाइलेटसम्म छैन भन्ने गुनासो देखिरहेको थिएँ।

यही मौकामा त्यहाँ जाऊँ न त भनेर योजना बनायौं। तिलिचो क्षेत्रको विकासको लागि एउटा ‘मास्टर प्लान’ पनि बनाउँदै छौं। डीपीआरको काम हुँदैछ। त्यसैले पर्यटन बोर्डको साथीरुलाई लिएर म गएँ।

साँच्चै नै चार घण्टाको बाटोमा एउटा पनि ट्वाइलेट रहेनछ। यो ५ हजार मिटरको उचाइमा छ। त्यहाँ असाध्यै हावा चल्ने र चिसो छ। त्यस्तो अवस्थामा तातोपानी, चिया, कफी, खाजा खाने र ट्वाइलेटको आवश्यकता छ।

हामीले त्यहाँ गएर अध्ययन गर्‍यौं। तालको पानी फोहर नहुने गरी योजना बनाएका छौं। माथिल्लो भेगको एकदुई ठाउँमा चिया–कफी पसल, एक दुईवटा ट्वाइलेटको व्यवस्था गर्ने योजना अगाडि बढाएका छौं। यही आर्थिक वर्षभित्र मन्त्रालयलको आर्थिक सहयोगमा यो काम हुने भएको छ। त्यसको विस्तृत योजना बन्दैछ।

म कोरोनाबाट धेरै पीडित नभएको कारणले त्यो उचाइमा पुग्दा खासै अप्ठेरो महसुस भएन। हल्का कमजोरीको अनुभव त थियो। मैले नियमित रुपमा व्यायम गरिरहेको भएर पनि मलाई त्यहाँ पुगेर आउन त्यत्ति गाह्रो भएन।

मैले त्यो बेला कोरोनासँग ‘लिभिङ टुगेदर’ भनेजस्तै चैतदेखि कात्तिकसम्म आइपुग्दा ‘न्यु नर्मल’ भन्ने कुरा आइसकेको छ। यसलाई सबैले स्वीकार गरिसक्नु भएको छ। स्वास्थ्य मापदण्ड पालना गर्दै जनजीवन खोल्दै जानुपर्छ। नियमित काम गर्दै जानु पर्छ। अझै पनि हामी खतराबाट मुक्त छैनौं। त्यसैले स्वास्थ्य प्रोटोकलले जे भन्छ, हामी सबैले पालना गर्नैपर्छ।

(संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँग सन्तोष न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .