ad ad

ब्लग


डबल मास्क लगाएर एउटा कोठामा दूधे बालकसँग यसरी काटेँ २२ दिन

डबल मास्क लगाएर एउटा कोठामा दूधे बालकसँग यसरी काटेँ २२ दिन

पवनबर्षा शाह
कात्तिक १६, २०७७ आइतबार ८:४६,

नियमित उपचारमा अस्पताल जाने क्रममा मेरो सासूमुमालाई कोरोना संक्रमण भएको थाहा भयो।

अन्य उपचार विधिले निको नभएपछि उहाँलाई प्लाज्मा दिनुपर्‍यो। आईसीयूमा २२ दिनको उपचारपछि सासुमुमालाई घरमा ल्याइयो।

म सुत्केरी भएको तीन महिना मात्र भएको थियो। ससुराबुबा पनि अस्पतालमा कुरुवा बस्नु भएकोले घर आएपछि एकहप्ता छुट्टै बस्नुभयो। सासूमुमालाई डाक्टरको सल्लाहअनुसार २४सै घण्टा अक्सिजन दिनुपर्ने अवस्था थियो। 

बिरामी र बालबच्चासहित सबैको स्याहारसुसार गर्ने जिम्मा ममाथि आइपर्‍यो। सासुमूमाले अक्सिजनसमेत खोल्न र बन्द गर्न सक्नुहुन्थेन।

अक्सिजन दिइएको बिरामी, ससुराबुबा क्वारेन्टिनमा, देशबाहिर पढेको भएर राम्रोसँग नेपाली नआउने छोरीको अनलाइन क्लास र तीन महिने द‍ूधे बालकको स्याहारमा २४सै घण्टा खटेँ। अक्सिजन सिलिन्डरको रेगुलेटर बिग्रेको रहेछ। पहिलो पटक प्रयोग गरेको हुँदा त्यसलाई बदल्नुपर्छ भन्ने जानकारी भएन। म केही दिन रातभरी सुतिनँ। प्रत्येक घण्टा जाँदै हेर्दै मात्रै गरिरहेँ।

तीन महिने सुत्केरी मान्छे २४सै घण्टाको खटाइ र थकाइले होला निकै कमजोर भएँ। दिमाग समेत अलि ढिलो चलेजस्तो अनुभूति हुनथाल्यो। कुनै काम गर्दा केहीबेर सोच्नुपर्ने, रोकिनुपर्ने। पहिले त्यस्तो कहिल्यै हुँदैनथ्यो।

सासुलाई घर ल्याएको सातौँ दिन असोज १७ गते राति मलाई एक्कासि दुई तीन पटक खोकी लाग्यो। भोलिपल्ट दिउँसो केही भएन।

फेरी १८ गतेको राति खोकी लाग्यो। जिउ अलि अल्छी लागेझैँ भयो।

१९ गतेको दिउँसोबाट जिउ थाकेजस्तो भित्रभित्रै ज्वरो आएझैँ भयो। पटक्कै खान मन लागेन। परिवारमा कुरा गरेँ। सासुले रातदिन यत्रो परिवारको हेरचाह गर्दा धपेडी भएर होला भन्नुभयो।

२० गते बिहान त उठ्न पनि गाह्रो भयो। सकिनसकी सबैलाई नास्ता खाना बनाएँ। गाह्रो भएर खाना पकाउँदै गर्दा एकछिन सुतेँ। अलिक हल्का भएपछि उठेर खाना पकाएँ।

दिउँसोको खानापछि फेरि गाह्रो भएको महसुस भयो। पीसीआर गर्न जान्छु भन्दा ससुराले पनि तिमीलाई संक्रमण भएको छैन होला, चिन्ता नलेऊ भन्नु भयो।

तर बच्चालाई दूध खुवाएर म आफ्नै सुरमा हिँड्दै ओम अस्पताल गएँ। त्यहाँ पीसीआर गर्नुअघि साथीहरुसँग सामान्य जानकारी लिँदा रिपोर्ट आउन तीन दिन लाग्छ भन्ने थाहा पाएँ। त्यसपछि सिनामंगलको एउटा ल्याबमा छिटो दिन्छ भन्ने थाहा पाएर ट्याक्सीमा त्यता गएँ र पीसीआर परीक्षणका लागि स्वाब दिएँ।

स्वाब त दिएँ। तर त्यसपछि रिपोर्ट नआउँदासम्म अनेक कल्पना र सोचाइले सताइरह्यो। आफूलाई पोजिटिभ आयो भने के गर्ने, कसो गर्ने भन्ने चिन्ताले सतायो।

घरमा २४सै घण्टा अक्सिजन दिइरहेको सासूमुमा, उमेर पुग्नुभएको ससुराबुबा, दुई नाबालक बच्चा, श्रीमान् विदेशमा। यस्तो बेला आएर सघाउन सक्ने आफन्त कोही छैन। यी अनेक चिन्ताले निकै पिरल्यो।

त्यही दिन राति १२:३० बजेसम्म रिपोर्ट आउँछ भनेका थिए। सुत्ने कुरै भएन। रातभरी निद्रा लागेन। बिहान स्वाब दिएको ठाउँमा फोन गरेँ। अझै केही समय लाग्छ भन्ने जवाफ आयो। बिहान ९:३० बजे रिपोर्ट आयो। मलाई पनि संक्रमण पुष्टि भयो।

एकछिन त सपनामा छु जस्तै लाग्यो। जे पर्छ सामना गर्छु भनेर सोचिरहेको थिएँ। तर सोचेझैँ रहेनछ जिन्दगी भन्ने कुरा आफैँमा चरितार्थ भएजस्तो लाग्यो।

एकछिन थुचुक्क भुइँमै बसेँ। भक्कानो फुटेझैँ भयो। बेस्सरी रोएँ एक्लै। काखे बालकलगायत सबै परिवारको जिम्मेवारी आफूमा थियो। जिम्मेवारी नै प्रमुख हो भन्ने ठानेर आफैँलाई सम्हालेँ। मसँग अन्य विकल्प थिएन। 

आफ्नो स्वाब दिएको दिन छोरीलाई अर्को कोठामा सारिसकेकी थिएँ। आफ्नो कोठाको ढोका खोलेर घरपरिवारलाई भनेँ।

सबैजना खङग्रङगै हुनुभयो। अनेक चुनौती हुँदाहुँदै पनि घरपरिवारप्रतिको जिम्मेवारी मेरो लागि पहिलो महत्वपूर्ण कुरा हो भन्ने सोचेर आँट गरेँ।

आफू भित्रभित्रै अति कमजोर भइसके पनि सासू र घरपरिवारलाई कमजोर हुन नदिन मलाई केही हुन्न भन्दै सम्झाइ रहेँ।

दूध खाइरहेको तीन महिना पुरा भएर भर्खर चार महिनामा टेक्दै गरेको बच्चाको मुख हेरेँ। उसको स्याहार सुसार कसरी गर्ने होला भन्नेबारे विशेष ध्यान दिएँ।

डाक्टरसँगको परामर्शका आधारमा बच्चाको भने परीक्षण गरिएन। डाक्टरहरुका अनुसार नाबालकहरुको गम्भीर अवस्थामा मात्र स्वाब लिने गरिएको रहेछ। बच्चामा रोग प्रतिरोधात्मक क्षमता राम्रो हुने भएकोले विशेष सावधानी अपनाएर, सकेसम्म जोगाएर ख्याल गर्नु भन्ने डाक्टरको सुझावअनुसार त्यसै गरेँ।

मेरी सासूमुमा बिरामी भएदेखि निर्मला शर्मा दिदीले सधैँ फोन गरेर हौसला, सरसल्लाह दिने गर्नु भएको थियो।

उहाँलाइ फोन गरेँ। उहाँले अर्थमन्त्रीका प्रेस सल्लाहकार भुवन केसीसँग बच्चाबारे परामर्श गर्न सुझाव दिनुभयो। मैले तुरुन्तै भुवन दाइलाई फोन गरेर बच्चाको के कसरी ख्याल गर्ने भनी सोधेँ। उहाँले धेरै जानकारी र सुझाव दिनु भयो। भुवन दाइले नै डाक्टर श्रीधरको फोन दिनुभयो। डाक्टर श्रीधरसँगको फोनमा कुराकानी गरेपछि अझ राहत महसुस गरेँ।

उता विदेशमा रहनुभएका श्रीमानले लगातार फोन गरिरहनुभएको थियो। रिपोर्ट के आयो भनेर सोधिरहनुभएको थियो। मलाई फोन उठाएर उहाँसँग कुरा गर्न पनि गाह्रो हुन थालेको थियो। मेरा हात थरथर काप्थे। किन हो किन उहाँको फोन उठाउने आँट भएन।

केही समयपछि श्रीमानलाई आफैँ कल गरेर भनेँ। उहाँले ‘कत्तिपनि नआत्तिनु, चार्टर फलाइटमा आउँछु तर तिमी बच्चाको लागि डाक्टरहरुसँग कुरा गर्दै गर्नु’ भन्नुभयो। त्यसपछि अलि राहत महसुस गरेँ।

तर फेरि अर्को चिन्ताले सताउन थाल्यो। विदेशबाट नेपाल आउन ७२ घण्टा भित्रको पीसीआर रिपोर्ट चाहिने भएकाले उहाँको रिपोर्ट के आउने हो भन्ने चिन्ता भयो। सबै कुरा मिलाएर एक सातापछि जापानबाट नेपाल आउने चार्टर प्लेनमा श्रीमान् घर आइपुग्नुभयो। अनि लामो सास फेरेँ। धेरै खुसी भएँ।

श्रीमान् घर नआउन्जेलसम्मको आफ्नो अवस्था सम्झँदा त अहिले पनि मुटु काम्छ। बिरामी सासू हुनुहुन्छ, उमेरका कारण खाना पकाउने र भान्साका काम गर्न ससुरा बुबालाई गाह्रो छ। अर्को कोठामा सारिएकी छोरीको बिलौनासहितको कैयौं प्रश्नका उत्तर दिन झनै मुस्किल। 

‘मलाई हजुरको कोठाबाट अर्कोमा किन सारेको हो? भाइसँग म किन खेल्न नपाएको? हजुर भाइसँग किन ढोका थुनेर बसिरहेको?’ लगायत छोरीका अनगिन्ति प्रश्नहरुको जवाफ दिन सकसपूर्ण भयो। अझै राम्रोसँग चित्त बुझाउन सक्दिनँ।

बच्चाको स्याहार र डाक्टरहरुसँग परामर्श लिनमै दिन बित्न थाले। एउटा कोठामा दूधे बालकसँग डबल मास्क लगाएर बस्नुको पीडा असैह्य लाग्थ्यो। जिउ तातेका कारण दूध नखाएर बच्चा लगातार तीन दिनसम्म रुनुको पीडा, कोठामा बाफ लिँदा मास्क खोल्न पर्ने, बच्चाका लागि सावधानी अपनाउन कोठाभित्रै रहेको सानो बाथरुमको चिसो भुइँमा बाफ लिँदा कष्ट हुन्थ्यो।

यसरी नै १४ दिन कटे।

१४ दिनपछि फेरि पीसीआर परीक्षणका लागि नमुना दिएँ। पुनः रिपोर्ट पोजिटिभ आयो। मन असाध्यै खिन्न भयो। ट्विटरमा आफ्नो अवस्था र पीडा पोखेँ। त्यहाँ धेरै साथीहरुले हौसला दिनुभयो। १४ दिनपछि त खाना पनि खान सक्ने र स्वाद थाहा पाउने भएँ।

त्यसपछि फेरि २२ दिनमा परीक्षणका लागि स्वाब दिएँ। यसपटक बल्ल रिपोर्ट नेगेटिभ आयो। धेरै साथीहरुले विश्व स्वास्थ्य संगठनको मान्यता अनुसार १४ दिनपछि पोजिटिभ आएपनि निको भए सरह हो भन्दै सल्लाह दिनुभएको थियो।

तर मेरो मनले मानेन। नयाँ रोग हो। विश्व नै अझै पनि अनुमानकै भरमा काम गरेजस्तो अवस्था छ। प्रमाणित केही भएको छैन। कुनै कुरामा ढुक्क हुने स्थिति छैन। परिवारमा बढी उमेर भएका सदस्य र बालबच्चा भएका कारण फेरी पनि आइसोलेसनमै बसेँ।

१४ दिनसम्म खाना खान नसकेर, धेरै कमजोर भएर यो अनुभव लेख्दै गर्दा पनि मेरा औंलाहरु थरथर काम्दै छन्। एकातिर खानामा आफूलाई अरुचि, अर्कोतिर दूधे बालक भएका कारण पनि मैलै सोचेभन्दा अझ धेरै कमजोर महसुस गर्दैछु।

अनुभवका आधारमा केही सुझाव
सामान्यतया हामी धेरै नेपालीहरुले कोरोना सोरोना केही होइन, बेसारपानी पिएपछि गइहाल्छ भन्ने मान्यता राखेको पाइन्छ। हाम्रो समाजमा धेरैलाई अझै पनि यही बुझाइका कारण कोरोनाले झुक्याउने जोखिम बढी छ। 

यस बिषयमा आफैँ गम्भीर नहुने हो भने हामी सबैलाई ठूलो पश्चाताप हुनेछ। कोरोनाले हामीलाई ठूलो क्षति गर्नेछ। केही होइन भन्ने सोचाइ राख्नेलाई आफू परेपछि बल्ल थाहा हुन्छ। त्यसको असर पोजिटिभ हुँदासम्म मात्र होइन नेगेटिभ आएर निको भएको लामो समयसम्म रहिरहने रहेछ।

यसले न त उमेर समूह भन्छ न त मान्छेमा हुने आन्तरिक शक्तिले नै केही गर्नसक्छ। जसलाई आक्रमण गर्छ उसलाई नराम्ररी थला पार्ने रहेछ। परिवारमा अरुलाई समेत निकै असहज स्थिति सिर्जना हुन्छ।

सर्वप्रथम हामी सबैले उच्चतम सावधानी अपनाउनैपर्छ। त्यसको विकल्पै छैन। सावधानी अपनाउँदा पनि कसैगरी संक्रमण हुनसक्छ भन्ने मानसिकता राखेर बच्ने उपायबारे पूर्वतयारी गर्न आवश्यक छ।

घर परिवारमा ६० वर्षमाथिका र बालबच्चा हुनुहुन्छ भने विशेष सजगता अपनाउनैपर्छ।

आजकाल काठमाडौँमा बिरामीको संख्या दिनप्रतिदिन बढ्ने क्रम रहेकाले जटिल बिरामीलाई पनि आईसीयू पाउन गाह्रो छ।

त्यसैले परिवारमा दीर्घ रोगी हुनुहुन्छ भने अस्पतालमा आईसीयू नपाउन्जेलसम्मका लागि बेलैमा घरमै अक्सिजनको व्यवस्था गर्नुपर्छ।

संक्रमित भए–नभएको थाहा नहुँदाको अवस्थामा पनि बच्चालाई दूध खुवाउँदा मास्क अनिवार्य प्रयोग गर्नुपर्छ। अहिलेको अवस्थामा परिवारका सबै सदस्यहरु एउटै टेबलमा खाना नखाएको राम्रो। परिवारभित्र पनि कुराकानी गर्दा मास्क प्रयोग गर्ने बानी गर्नु सुरक्षित हुनेरहेछ।

मैले आफूलाई सामान्य शंका लागेदेखि नै यस्तै होसियारका साथ भान्सा तथा घरभित्रका अन्य काम गरिरहेका कारण ठूलो छोरी र ससुराबुबालाई संक्रमण हुन पाएन।

खोप आएर उपचारका भरपर्दा विधि विकास नहुँदासम्म मास्कको प्रयोग, दूरी कायम गर्ने, अर्को व्यक्तिसँग सकेसम्म आमनेसामने नहुने, नछुने र सामानहरु आदानप्रदान गर्दा विशेष सतर्कता अपनाउनेजस्ता उपाय अपनाउनैपर्ने रहेछ। यसो गर्दा संक्रमणबाट बच्न सकिन्छ र परिवारको एकजनालाई बाहिरबाट संक्रमण भइहाले पनि घरमा धेरैलाई सरेन भने व्यवस्थापन गर्न सहज हुन्छ।

(पवनबर्षा शाह नेपाल पत्रकार महासंघको पूर्व केन्द्रीय सदस्य हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .