ad ad

म्यागेजिन


कम्बोडियाका ‘तानाशाह’ हुन सेन पथमा ओली

कम्बोडियाका ‘तानाशाह’ हुन सेन पथमा ओली

सीताराम बराल
असार ५, २०७८ शनिबार ९:६,

पाकिस्तानी सेनाका जनरल अयुब खाँले ‘सैन्य कु’द्वारा सत्ता हत्याएको २ वर्ष मात्रै बितेको थियो, राजा महेन्द्रले पनि निर्वाचित सरकार सैन्य बलबाटै १ पुस (२०१७) मा अपदस्थ गरिदिए। यसको केही समयपछि राजा महेन्द्रले राष्ट्रपति खाँबाट पाकिस्तान भ्रमणको निम्तो पाए।

तत्कालीन युगोस्लाभियाको राजधानी बेलग्रेडमा असंलग्न राष्ट्रहरूको पहिलो शिखर सम्मेलनमा सहभागी भएर राजा महेन्द्र पाकिस्तान भ्रमण (२५–३१ भदौ २०१८) का लागि कराँची प्रस्थान गरे। उनको निम्तो मान्दै राष्ट्रपति खाँ पनि नेपाल भ्रमण (२६–२९ वैशाख २०२०) मा आए।

खासमा राजा महेन्द्र, राष्ट्रपति खाँले आफ्नो देशमा लागू गरेको ‘आधारभूत प्रजातन्त्र’ अध्ययन गर्न पाकिस्तान पुगेका थिए। यस विषयमा उनले पाकिस्तानी जनरलहरूबाट छुट्टै ‘क्लास’ पनि लिएका थिए। नेपाल भ्रमणका क्रममा खाँलाई राजा महेन्द्रले ‘पञ्चायती प्रजातन्त्र’बारे व्याख्या सुनाएका थिए।

महत्वाकांक्षी व्यक्ति सत्तामा पुगेपछि कसरी शासन चलाउन खोज्छ भन्ने कुरा उसले कस्तो शासकसँग सम्बन्ध बढाउन खोज्छ भन्ने कुराले संकेत गर्छ। राजा महेन्द्र–राष्ट्रपति खाँबीचको उल्लिखित सम्बन्ध मात्र होइन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उनबीचको सम्बन्धले पनि यो कुरा स्पष्ट पार्छ।

Oli HunSen4
नेपाल भ्रमणपछि स्वदेश फर्कने क्रममा हुन सेनका साथ तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा (रासस)

केपी शर्मा ओली जब दोस्रोपटक प्रधानमन्त्री बने, कम्बोडियामा ३३ वर्ष शासन चलाइसकेका पूर्वकम्युनिस्ट प्रधानमन्त्री एवं सत्तारूढ कम्बोडियन पिपुल्स पार्टी (सीपीपी) का अध्यक्ष हुन सेनलाई नेपाल निम्त्याए।

एसिया–प्यासिफिक समिट (१४–१५ मंसिर २०७५) को बहानामा कम्बोडियाली प्रधानमन्त्री हुन सेन नेपाल आए। ओली पनि हुन सेनकै निमन्त्रणामा कम्बोडियाको तीनदिने भ्रमण (३० वैशाख–१ असार २०७६) मा गए।

यी भ्रमणअघि संयुक्त राष्ट्र संघको ७३औं महासभामा भाग लिन अमेरिका पुगेका बेला १३ असोज (०७५) मा पनि ओली–हुन सेनबीच न्युयोर्कमा भेटघाट भएको थियो।

यी भ्रमण र भेटघाट त छँदै छन्, स्वभाव, राजनीतिक पृष्ठभूमि, राजनीतिक उत्थानमा विदेशी शक्तिको भूमिकाजस्ता कुरामा ओली र हुन सेनबीच गज्जबका समानता भेटिन्छन्। जसलाई संयोग मात्र मान्न सकिएला, तर ३५ वर्षभन्दा लामो समय सत्तामा रहेका हुन सेनको शासन शैलीसँग जसरी ओलीले लय मिलाइरहेका छन्, यसले उनमा ‘नेपाली हुन सेन’ बन्ने महत्वाकांक्षा रहेको प्रस्टसँग बुझ्न सकिन्छ।

Oli HunSen6
कम्बोडिया भ्रमणका क्रममा ओली–हुन सेन दम्पत्ति

उस्तै पृष्ठभूमि, उस्तै धाप
ओलीको जन्म ११ फागुन २००९ मा भएको हो भने सेनको १ साउन २००९ (५ अगस्ट १९५२) मा। यसअनुसार ओलीभन्दा सेन ५ महिना कान्छा हुन्। खास नाम ‘खड्गप्रसाद’ भए पनि ओलीले नागरिकतामा जसरी ‘केपी शर्मा ओली’ राखेका छन्, ‘हुन बुन्दाल’ले पनि खमेररुजको सेनामा भर्ती भएपछि आफ्नो नाम फेरेर ‘हुन सेन’ बनाएका हुन्। परिवर्तित नामबाटै चर्चित समवयका ओली र सेनको राजनीतिक पृष्ठभूमि पनि समान नै देखिन्छ।

ओली सुखानीमा शहादत (२१ फागुन २०२९) प्राप्त गरेका रामनाथ दाहालबाट प्रेरित भई २०२५–२६ तिर कम्युनिस्ट राजनीतिमा लागे। उनी सम्मिलित नेकपाको तत्कालीन पूर्वी–कोसी प्रान्तीय कमिटी चिनियाँ सांस्कृतिक क्रान्ति र नक्सलवादी आन्दोलन (भारत) बाट प्रभावित थियो।

लगभग त्यही समयतिर हुन सेन पनि कम्बोडियाको राजनीतिमा सक्रिय हुन थालेका थिए। अमेरिकी समर्थनमा आफूलाई अपदस्थ गरेपछि २०२७ (सन् १९७०) ताका राजा नरोद्दम सिंहानुकले प्रधानमन्त्री लोन नोलविरुद्ध विद्रोह घोषणा गरे। त्यसपछि हुन सेन खमेररुज सेनामा भर्ती भए। उनको राजनीतिक जीवन सुरु भयो। खमेररुजलाई पनि चिनियाँ समर्थन प्राप्त थियो।

पञ्चायतकालमा ओली १४ वर्ष जेल बसे। त्यस क्रममा भएका यातना र अनियमित खानपानका कारण उनलाई क्षयरोग भयो। अहिले उनमा देखिएको मिर्गौलासम्बन्धी रोग पनि त्यसैको परिणाम हो।

उता, लोन नोल शासनविरुद्ध सन् १९७५ मा राजधानी नोमपेन्ह कब्जा गर्ने क्रममा खमेर सेनाको बटालियन कमान्डर रहेका हुन सेनले पनि एउटा आँखा गुमाउनुपर्यो। ओलीले दुवै मिर्गौला ‘ट्रान्सप्लान्ट’ गर्नुपरेको छ, हुन सेनले कृत्रिम आँखा हालेका छन्।

जसरी झापा संघर्षका क्रममा भएका ‘व्यक्ति–हत्या’प्रति ओलीको भूमिका अस्पष्ट छ, खमेररुजले गरेका अत्याचारका घटनामा पनि हुन सेनको भूमिका स्पष्ट छैन। तर ओलीले व्यक्ति–हत्या नीतिप्रति आफ्नो असहमति रहेको स्पष्टीकरण दिएजस्तै हुन सेनले पनि ‘खमेररुज शासनकालका घटनामा आफ्नो संलग्नता नरहेको’ दाबी गर्ने गरेका छन्।

खमेररुजको सेनामा बटालियन कमान्डर रहेका हुन सेन सन् १९७७ मा भियतनाम प्रवेश गरेका थिए। उनी खमेररुज नेतृत्वको आफ्नै मुलुक कम्बोडियासँग लड्न त्यहाँ पुगेका थिए।

हुन सेन सन् १९७९ मा स्वदेश फर्के। २६ वर्षका उनलाई स्वदेश फर्किने क्रममा भियतनामले उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ‘पुरस्कार’ दिएको थियो। संविधान निर्माण र भारतीय नाकाबन्दीका बेलाबाहेक प्रधानमन्त्री ओलीको पनि भारतसँग सधैं सुमधुर सम्बन्ध छ।

हुन सेनले २६ वर्षकै उमेरमा उपप्रधान तथा परराष्ट्र मन्त्रीको पुरस्कार पाए। त्यसको ६ वर्षपछि अर्थात् १२ पुस २०४१ (२६ डिसेम्बर १९८४) मा मुटुसम्बन्धी समस्याले प्रधानमन्त्री चान सेको निधन भएपछि कम्बोडियाको राजनीतिमा ‘माइक्रो म्यानेजमेन्ट’ गरिरहेको भियतनामको समर्थनमा उनी प्रधानमन्त्री बनेका थिए।

३३ वर्षको उमेरमा पहिलोपटक प्रधानमन्त्री बनेका उनी ३६ वर्षदेखि निरन्तर सत्तामा छन्। र, विश्वमै सबैभन्दा लामो समय शासन गर्ने प्रधानमन्त्रीको ‘रेकर्ड’ बनाएका छन्।

तर, हुन सेनको तुलनामा ओलीको सत्तारोहण निकै ढिला भएको हो। ०४६ को परिवर्तनपछि ०५२ को निर्वाचनमा एमालेले सबैभन्दा ठूलो दलका रूपमा मनमोहन अधिकारीको नेतृत्वमा सरकार बनाउँदा ओली पहिलोपटक मन्त्री (गृह) बने।

हुन सेनले पाएकै उपप्रधान र परराष्ट्रमन्त्रीको जिम्मेवारीमा पुग्न ओलीले थप ११ वर्ष कुर्नुपर्यो। २०६३ मा उनले यो जिम्मेवारी पाए। त्यसको ९ वर्षपछि २०७२ असोजमा मात्र ओलीलाई कम्बोडियाली प्रधानमन्त्री हुन सेनको समकक्षी हुने मौका मिल्यो।

यतिबेला दुवै जना आ–आफ्ना पार्टीका अध्यक्ष पनि छन्। पार्टीको नेतृत्व भने दुवैलाई लगभग उस्तै समयमा प्राप्त भएको हो।

आक्रामक व्यक्तित्व, आकर्षक वक्तृृत्व कला
ओली र हुन सेनका व्यक्तित्व र स्वभावमा पनि समानता भेटिन्छन्। दुवैको व्यक्तित्व वजनदार छ। ओलीको ‘दिल खुस’ छ भने भेट गर्ने जोसुकै प्रभावित भइहाल्छ। उनी ख्यालठट्टा गर्छन्, हसाउँछन्। प्रतिकूल परिस्थितिलाई पनि अनुकूलतामा बदल्ने शक्ति उनमा छ।

हुन सेन पनि यस्तै प्रभावशाली छन्। उनीसँग भेट गर्ने जो कोही प्रभावित भइहाल्छन्। उनको व्यक्तित्व कति प्रभावशाली छ भन्ने विषयमा विदेशी मिडियाले सन् २००५ तिरको घटना उल्लेख गर्ने गरेका छन्।

आन्तरिक द्वन्द्वका कारण कम्बोडियामा फेरि विषम परिस्थिति सिर्जना भएपछि जापानका प्रधानमन्त्री रियुतारो हासिमोतोको विशेष प्रतिनिधिका रूपमा युकिओ इमागावा कम्बोडिया पुगे। इमागावाले हुन सेनसँग भेट गरे।

त्यो भेटपछि इमागावाले भनेका थिए, ‘हुन सेन म पहिल्यैदेखि चिन्छु। उनी निकै इमान्दार र सक्षम व्यक्ति हुन्, साथै उत्तिकै चलाख पनि। उनी कम्बोडियाका लागि मात्र ‘बेस्ट पोलिटिसियन’ (उत्तम राजनीतिज्ञ) होइनन् (अर्थात् विश्वकै उत्तम राजनीतिज्ञ हुन्)।

आफ्नो कामको ‘प्रोपोगन्डा’ र भाषणमा सुन्दर बिम्ब प्रयोग गर्ने मामिलामा पनि दुवै खप्पिस छन्। आफ्नो कार्यकालमा भएका विकास–निर्माणका काम पनि ओली कलात्मक ढंगले बढाईचढाई गर्छन्। यो हामी सबैलाई जानकारी भएकै कुरा हो।

हुन सेनका भाषण पनि ओलीका जस्तै हुन्छन्, उखान र बिम्ब प्रयोग पनि उस्तै।

दुई घटनाबीच ठूलो भिन्नता देखाउन सामान्य मानिस आकाश र जमिनलाई बिम्बका रूपमा प्रयोग गर्छन्। यस्तै हुन सेनले पनि १९८५ मा आफू सत्तामा आउँदा र अहिलेको कम्बोडियाको आर्थिक स्थितिबीचको अन्तर देखाउँदा पानी र जमिन वा गोही र बाघसँग तुलना गर्ने गरेका छन्।

‘१९८५ ताका हामी पानीमा थियौं, अहिले जमिनमा आइपुगेका छौं,’ उनले भन्ने गरेका छन्, ‘पानीमा हुँदा गोहीको खतरा हुन्छ, गोहीबाट बच्न सक्ने गरी जाने ठाउँ नै हुँदैन। अहिले हामी जमिनमा छौं। तर, जमिनमा बाघ भेटियो भने रुखमा चढेर आफूलाई जोगाउन सकिन्छ।’

विरोधीलाई चोटिलो जवाफ दिन पनि ओलीजस्तै सिपालु छन्, हुन सेन।

उनलाई भियतनामको ‘कठपुतली’ बनेको आरोप बेला–बेला लागिरहन्छ। सन् १९७७ अघि खमेररुज सेनासँगको उनको आबद्धता पनि उनीविरुद्ध प्रहार गर्ने विषय बन्ने गर्छ।

कम्बोडियाका पूर्वराजा नरोद्दम सिंहानुकले नै यस्तो आरोप लगाउन थालेपछि उनको मुख बन्द गर्न हुन सेनले कस्तो सवाल–जवाफ गरेका थिए, १९८७ मा इन्डोनेसियाको राजधानी जकार्तामा भएको एउटा उदाहरण अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा पढ्न पाइन्छ :

हुन सेन : हेल्लो डियर प्रिन्स। तपाईं मलाई सधैं भियतनामको कठपुतली भन्नुहुन्छ। १९७०–७५ मा भएको बाह्य (भियतनामी) आक्रमणविरोधी आन्दोलनलाई चाहिँ तपाईं के भन्नुहुन्छ?

सिंहानुक : म त्यो आन्दोलनलाई ‘राष्ट्रिय मुक्ति आन्दोलन’ भन्छु।

हुन सेन : तपाईंलाई हामी कम्बोडियाको मुक्ति आन्दोलनको पिता मान्छौं। मैले पनि त्यो आन्दोलनमा छापामारका रूपमा भाग लिएको थिएँ। यदि तपाईं मुक्ति आन्दोलनको पिता हुनुहुन्छ भने म पनि त्यो आन्दोलनको छोरा हुँ।

अर्काे कुरा, यदि तपाईं मलाई अझै ‘यो खमेररुज हो’ भन्ने आरोप लगाउनुहुन्छ भने म पनि तपाईंलाई भन्न सक्छु– तपाईं त झन् खमेररुजको बाउ हो। किनभने त्यो मुक्ति आन्दोलनमा तपाईं र खमेररुज मिलेर लड्नुभएको हो।

के देखिन्छ भने विपक्षीलाई ‘धूर्त’ जवाफ दिन ओली पनि हुन सेनभन्दा कम खप्पिस छैनन्।

Oli HunSen3
कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ ग्रहण गर्दै ओली

स्कुले शिक्षा, ‘विद्यावारिधि’को थुप्रो
संघर्षमय राजनीतिक जीवन र क्षमतासमेत हुँदाहुँदै अहिलेको युगका नेतामा हुनुपर्ने एउटा चिज आफूसँग नभएको अनुभूत दुवैलाई छ। त्यो हो– उच्च शिक्षाको उपाधि।

त्यसैले होला, कतैबाट ‘मानार्थ विद्यावारिधि’को जोगाड हुने भयो भने ओली कुदिहाल्छन्। हुन सेन पनि ‘मानार्थ विद्यावारिधि’ उपाधिका सौखिन छन्।

ओलीले एसएलसीपछि उच्च शिक्षा अध्ययन गर्न पाएनन्। १४ वर्ष जेलमा बसेर निस्किँदा क्याम्पस जाने उमेर घर्किसकेको थियो। हुन सेन पनि स्कुले जीवनमै छापामार बने। यो चरण सकिनासाथ उनी उपप्रधानमन्त्री र परराष्ट्रमन्त्री बनेर भियतनामबाट फर्किए।

ओलीको राजनीतिक प्रतिस्पर्धा उच्च शिक्षा हासिल गरेका शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनालजस्ता नेतासँग छ। कम्बोडियाका विपक्षी नेताहरू पनि पढालेखा छन्। उनीहरूसँग अन्तर्राष्ट्रिय डिग्री छ।

क्षमतावान् हुँदाहुँदै पनि ‘क्याम्पस नपढेको नेता’ भन्ने जुन ‘पब्लिक पर्सेप्सन’ हुने गर्छ, त्यसले कसैमा चोट पुग्नु स्वाभाविक हो।

तर क्याम्पसमा पढ्न नपाएर के भयो त? दुवैले चार–चारवटा विश्वविद्यालयबाट ‘मानार्थ विद्यावारिधि’ (पीएचडी) उपाधि प्राप्त गरेका छन्।

हुन सेनले हनोई (भियतनाम) स्थित नेसनल पोलिटिकल एकेडेमीबाट १९९१ मा, अमेरिकाको साउदर्न क्यालिफोर्निया युनिभर्सिटी फर प्रोफेसनल स्टडिजबाट (१९९५), अमेरिकाकै वेस्लियान कलेजबाट कानुनमा (१९९६) र दक्षिण कोरियाको राजधानी सियोलस्थित ग्य्राजुएट स्कूल अफ डाङकोर्क युनिभर्सिटीबाट (२००१) राजनीति शास्त्रमा ‘मानार्थ विद्यावारिधि’ पाएका छन्।

यसबाहेक ‘कम्बोडियन तार्तियारी एजुकेसन’ शैक्षिक संस्थाले पनि उनलाई ‘राजनीति’ विषयमा स्नातक तहको डिग्री प्रदान गरेको छ। 

Oli HunSen2
मानार्थ विद्यावारिधि ग्रहण गर्दै हुन सेन

हुन सेनले प्राप्त गरेका शैक्षिक डिग्रीमध्ये ओलीसँग स्नातक तहको मात्र छैन। ‘मानार्थ विद्यावारिधि’मध्ये सबैभन्दा पछिल्लो उपाधि ओलीले २ वर्षअघि १५ जेठ २०७६ (गणतन्त्र दिवस) मा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीबाट प्राप्त गरेका हुन्।

‘क्रिस्चियानिटी र मानवताको सिद्धान्तअनुरूप सत्य, स्वतन्त्रता, समानता र मानव कल्याणमा आधारित शिक्षा प्रदान गर्नु’लाई आफ्नो उद्देश्य बनाएको उक्त विश्वविद्यालयले ओलीलाई ‘मानार्थ विद्यावारिधि’ प्रदान गरेको हो।

त्रिविका तत्कालीन उपकुलपति डा. तीर्थ खनियाँ र त्यस विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीलाई विद्यावारिधि उपाधि प्रदान गरेका थिए। ‘नेपालमा लोकतन्त्रका लागि उच्च योगदान’स्वरूप दिइएको ‘मानार्थ विद्यावारिधि’का लागि तत्कालीन उपकुलपति डा. खनियाँले पहल गरिदिएको भनेर उतिबेला चर्चा चलेको थियो।

त्यसअघि १५ असोज २०७५ मा कोस्टारिकास्थित ‘शान्तिका लागि संयुक्त राष्ट्र संघको विश्वविद्यालय’ले ओलीलाई ‘मानार्थ विद्यावारिधि’ दिएको थियो। ‘नेपालमा शान्ति र लोकतन्त्र प्राप्तिका लागि योगदानको सम्मान’स्वरूप उनले त्यो उपाधि पाएका थिए।

उनले प्राप्त गरेको दोस्रो ‘मानार्थ विद्यावारिधि’ उत्तराखण्ड (भारत) को गोविन्द वल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले दिएको हो। २४ चैत २०७४ मा ‘विज्ञान’ विषयमा उनलाई त्यो उपाधि दिइएको थियो। त्यसबेला भारत भ्रमणमा रहेका ओली उपाधि ग्रहण गर्न विशेष विमान चढेर नयाँदिल्लीबाट उत्तराखण्ड पुगेका थिए।

ओलीको ‘मानार्थ विद्यावारिधि’मध्ये सबैभन्दा चर्चित ‘अमेरिकी विश्वविद्यालय’ ‘ग्रिनफोर्ड’ले प्रदान गरेको उपाधि हो। जुन उनले ११ वर्षअघि पहिलोपटक पाएका थिए। अमेरिकाको बेलिजमा रहेको भनिएको सो विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौंको शंखमूलमा छ, भनिएको थियो।

त्यस क्रममा ओलीसँगै तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, कान्तिपुर पब्लिकेसन्सका तत्कालीन निर्देशक रामेश्वर थापा र श्रीलंकाका एक जना सांसदलाई पनि ‘मानार्थ विद्यावारिधि’ प्रदान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथि संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ थिए।

काठमाडौंमै भव्य समारोह आयोजना गरी विद्यावारिधि ‘वितरण’ गरेपछि त्यस विश्वविद्यालयको चर्चा चुलियो। तर सञ्चारमाध्यमले खोजीनिती सुरु गरेपछि पत्ता लाग्यो– त्यो ‘अनलाइन विश्वविद्यालय’ रहेछ, जसले २ हजार अमेरिकी डलर तिरेपछि ‘मानार्थ विद्यावारिधि’ दिने रहेछ! यो पनि पत्ता लाग्यो– चान्सलर भनिएका गोपाल पौडेलको यो पद नै रहेनछ, श्रीलंकाका सांसद भनिएका व्यक्ति पनि सांसदै होइनरहेछन्!

त्यसको केही महिनापछि ओली अमेरिका पुगेका थिए। त्यहाँ त्यो विश्वविद्यालय र ‘मानार्थ विद्यावारिधि’बारे प्रश्न उठ्यो। ओलीले विश्वविद्यालय सक्कली रहेको र ‘विश्वविद्यालयका कागजात’ हेरेर नै आफूले उपाधि ग्रहण गरेको दाबी गरे।

त्यो उपाधिप्रति उनी कति गौरवान्वित रहेछन् भन्ने कुरा २०७० को संविधान सभा निर्वाचनपछि देखियो। व्यवस्थापिका–संसदमा बुझाएको शैक्षिक विवरणमा ओलीले आफूसँग ‘अनररी पीएचडी’ उपाधि रहेको उल्लेख गरेका थिए। विश्वविद्यालय नै नक्कली रहेको थाहा पाएपछि ‘मह जोडी’ ले उपाधि फिर्ता घोषणा गरेका थिए।

ओली–हुन सेन कार्यनीति : ‘युज एन्ड थ्रो’
संयोगवश प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षी हुन सेन दुवैले पाएका ‘मानार्थ विद्यावारिधि’मध्ये अधिकतर राजनीतिसँग सम्बन्धित छन्। उनीहरूको राजनीतिक कौशल भने ‘महाविद्यावारिधि’सरह देखिन्छ।

उता कम्बोडियामा विपक्षीलाई एकपछि अर्काे गर्दै नामेट पार्दै हुन सेनले शासन गरेको ३६ वर्ष पुगिसक्यो, यता ओलीले पनि पार्टी बाहिर र भित्रका विपक्षीलाई एकपछि अर्काे गर्दै ‘चित’ खुवाइरहेका छन्।

सत्तामा टिक्न ओली छक्का–पञ्जा, धम्की, साम–दाम–दण्ड–भेद सबै प्रयोग गर्छन्। शक्ति र क्षमता नभएकाहरूलाई समेत आफ्नो आवश्यकताअनुसार पद र जिम्मेवारी दिइरहेका छन्। कम्बोडियामा १९९३ मा भएको निर्वाचनमा पराजित भएर पनि हुन सेन आजसम्म सत्तामा रहिरहनुको कारण पनि यस्तै ‘कला’ हो।

पदमा टिकिरहन हुन सेनले केसम्म गरे भन्ने बुझ्न १९९३ को निर्वाचन र उनले चालेका ‘स्टेप’ अध्ययन गर्नुपर्छ।

लामो द्वन्द्वपछि संयुक्त राष्ट्र संघको सुपरिवेक्षण– २३–२८ मे १९९३ (१०–१५ जेठ २०५०) मा त्यहाँ पहिलो आम निर्वाचन भएको थियो। ‘नेसनल एसम्ब्ली’ का कूल १ सय २५ सिटमध्ये राजकुमार रनरिदको ‘फुन्सिन्पेक पार्टी’ले ५८ स्थानमा विजय हासिल गर्यो भने प्रधानमन्त्री हुन सेनको ‘कम्बोडियन पिपुल्स पार्टी’ (सीपीपी) ले ५१ सिटमा।

हुन सेनले आफैं प्रधानमन्त्री हुँदा गरिएको निर्वाचनको परिणाम अस्वीकार गरे र आफ्नो प्रभाव रहेका ७ ‘प्रोभिन्स’लाई कम्बोडियाबाट अलग गरी शासन गर्ने धम्की दिए।

सत्ताबाट हट्नुपरे मुलुकै विभाजन गर्ने धम्की प्रधानमन्त्री हुन सेनले दिएपछि राजा नरोद्दम सिंहानुक चिन्तित भए। उनले राजकुमार रनरिदलाई हुन सेनसँग सत्ता साझेदारी गरेर भए पनि भौगोलिक अखण्डता जोगाउन सुझाव दिए।

नभन्दै राजकुमार रनरिद र हुन सेनबीच सत्ता साझेदारी भयो। रनरिद पहिलो वरियता र हुन सेन दोस्रो वरियताका प्रधानमन्त्री बने। यसरी ९ वर्षदेखि प्रधानमन्त्री रहेका हुन सेन देशै टुक्र्याउने धम्की दिएर भए पनि सत्तामा आफूलाई निरन्तरता दिन सफल भए।

१९९८ को निर्वाचन नजिक आउन थालेपछि उनले राजकुमार रनरिद र ‘फुन्सिन्पेक पार्टी’ कमजोर पार्ने खेल सुरु गरे। राजकुमार रनरिद खमेररुजप्रति नरम भएको आरोप लगाए। यसै मुद्दामा ‘फुन्सिन्पेक पार्टी’मा विवादको बीजारोपण भयो।

त्यसपछि हुन सेनले ‘फुन्सिन्पेक पार्टी’का नेता उङ होटको सहयोगमा रनरिदलाई प्रधानमन्त्री पदबाटै हटाइदिए र उङ होटलाई पहिलो वरियताको प्रधानमन्त्री बनाए। यसविरुद्ध राजनीतिक संघर्ष सुरु भयो। सेनाको प्रयोगमार्फत विपक्षीलाई क्रूरतापूर्वक कुल्चे।

हुन सेनले राजकुमार रनरिदसँग गरेझैं ओलीले पनि ०७४ को निर्वाचनमा माओवादी केन्द्रसँग गठबन्धन गरे। प्रचण्डसँग प्रधानमन्त्रीका लागि आधा–आधा कार्यकालको सहमति भयो।

निर्वाचनमा विजयको साढे २ वर्षपछि जब प्रचण्डलाई सत्ता छाड्नुपर्ने समय नजिक आउन थाल्यो, ‘हुन ओली’ले बखेडा झिक्न थाले।

हुन सेनले खमेररुजप्रति नजिक भएको भन्दै रनरिदलाई प्रधानमन्त्री पदबाट हटाएझैं ओलीले पनि प्रचण्डसँग नजिक भएको आरोप लगाउँदै माधव नेपाल–झलनाथ खनालहरूलाई पार्टीबाटै बर्खास्त गरे।

प्रधानमन्त्री पद गुम्ने भएपछि १९९३ मा हुन सेनले झैं ओलीले मुलुक विभाजनकै धम्की त दिएका छैनन्, तर आफूप्रतिकूलको संसद् दुईपटक विघटन गरिसकेका छन्। नेकपामा रहँदा बहुमत गुमेपछि उनले सर्वाेच्च अदालतबाट फैसला गराएर त्यो पार्टी नै भताभुंग पारे।

त्यसअघि अघिल्लो वर्ष वैशाख–जेठमा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने प्रयास गरेका थिए। तर आफ्नै दल नेकपा भित्रबाट चर्को विरोध भएपछि उनी त्यो फिर्ता लिन बाध्य भए। जतिबेला ओलीले नेकपा, तत्कालीन संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी फुटाएर कांग्रेसको सहयोगमा प्रधानमन्त्री पदमा टिकिरहने योजना बनाएका थिए। 

जसरी हुन सेनलाई समयमै चिन्न नसक्दा राजकुमार रनरिदले धोका खानुपर्यो, त्यसैगरी ओलीलाई समयमै बुझ्न नसक्दा प्रचण्ड, नेपाल, खनालहरूले रनरिदकै जस्तो नियति भोग्नुपरिरहेको छ।

हुन सेन र ओली दुवैले अपनाएको कार्यनीति हो– ‘युज एन्ड थ्रो’। रनरिदलाई कमजोर बनाउन हुन सेनले ‘फुन्सिन्पेक पार्टी’का उङ होटलाई प्रयोग गरे भने आफू दोस्रो वरियतामै रहेर भए पनि उनलाई प्रधानमन्त्री बनाए।

हौसिएका होटले ‘फुन्सिन्पेक पार्टी’ नै विभाजन गरे। तर १९९८ को निर्वाचनमा होट नेतृत्वको ‘रिस्टर न्युउट (पपुलिस्ट) पार्टी’को शर्मनाक पराजय भयो, एक सिट पनि जित्न सकेन। विभाजनका कारण ‘फुन्सिन्पेक पार्टी’ पनि पराजित भयो। उता हुन सेनको सीपीपीले ६४ स्थानमा विजय हासिल गर्यो।

निर्वाचनमा बहुमत प्राप्त गरेपछि हुन सेनले होटलाई बिर्से। चुनावका बेला तालमेलको आवश्यकता पनि देखेनन्। यसरी ‘युज’ गरिएका होट हुन सेनको स्वार्थ पूरा भएपछि ‘थ्रो’ भए। कम्बोडियाको राजनीतिमा होटको कुनै चर्चा र स्थान छैन।

यता नेपालमा २०७४ को निर्वाचनमा प्रचण्ड ‘युज’ भए र आफू शक्तिशाली भएको लागेपछि ओलीले ‘थ्रो’ गरे। पार्टी छाडेर मन्त्री बनेका पूर्वमाओवादी नेताहरूको हालत पनि अहिले होटको जस्तै बन्न पुगेको छ।

ओलीले अहिले जसपाका महन्थ ठाकुर–राजेन्द्र महतोसँग ‘युज’ को सम्बन्ध राखेका छन्। उनीहरू कहिले र कसरी ‘थ्रो’ हुन्छन्, त्यो हेर्न केही दिन कुर्नुपर्ने हुन्छ।

राज्य अंग : विरोधीविरुद्ध प्रयोग
राजकुमार रनरिदसँग सत्तासाझेदारी गर्दा हुन सेनले राज्यका अंगमा योजनाबद्ध रूपमा आसेपासेहरूलाई घुसाउन थालिसकेका थिए। रनरिद अपदस्थ भएपछि सत्तामा आफूलाई दीर्घकालीन रूपमा मजबुत बनाउन हुन सेन युद्धस्तरमा लागे।

राजकुमार रनरिदलाई हटाएपछि नै उनले डिथ मुन्तीलाई न्यायालय प्रमुखमा नियुक्ति गरेका हुन्, जो ८० वर्ष पुगिसक्दा पनि पदमै छन्, तर कम्बोडियामा अन्य न्यायाधीश ६० वर्ष पुगेपछि अवकाश पाउँछन्।

न्यायालय प्रमुख बनेपछि मुन्तीले हुन सेनलाई अनुकूल हुने गरी फैसला गरिरहेका छन्। हुन सेन उपप्रधान तथा परराष्ट्रमन्त्री छँदा सन् १९७९ मा मुन्ती परराष्ट्रका उपमन्त्री थिए।

अदालतजस्तै कम्बोडियाका सबै सरकारी अंग र निकाय हुन सेनको मुठीमा छन्। जसलाई चाह्यो, उसलाई भ्रष्टाचार र राष्ट्रदोहको आरोप लगाउन सक्छन्, हुन सेन। विपक्षी नेताविरुद्ध उनले यिनै अस्त्र प्रयोग गरिरहेका छन्। निर्वाचन आयोग पनि हुन सेनकै कठपुतली बनेको छ।

यता पनि ओलीको साढे ३ वर्षको शासनकालमा राज्यका अंगको हालत कम्बोडियाकै जस्तो बनेको छ। निर्वाचन आयोग कसरी चलिरहेको छ, नेकपा विवाद र जसपा विवादमा उसको भूमिका हेर्दा थाहा भइहाल्छ। ओलीको चाहनाविपरीत कुनै पार्टीको बहुमत पक्षलाई मान्यता दिन सक्ने स्थितिमा निर्वाचन आयोग छैन।

सरकारविरुद्धको मुद्दामा प्रभाव पार्न अदालतमा हुने गरेको ‘सेटिङ’ अब ‘ओपन सेक्रेट’ बनिसकेको छ। यो कुरा अहिले दोस्रोपटक गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध मुद्दा सुनुवाइका क्रममा भनेजस्तो नहुँदा महान्यायाधिवक्ताले अदालतलाई धम्की दिएबाट प्रस्ट हुन्छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक अंगमा ओलीअनुकूलका व्यक्तिले नियुक्ति पाएका छन्। जसका लागि संसदीय सुनुवाइ पनि जरुरी भएन। ओली जब थप बलिया बन्नेछन्, अख्तियारले पनि उनकै योजनाबमोजिम ‘डस्ने’ र ‘चोख्याउने’ काम सुरु गर्नेछ।

सन् २०१३ को निर्वाचनपछि झण्डै सत्ता गुमाएका हुन सेनले ‘विपक्षविहीन राज्य’ बनाउने अभियान सुरु गरेका छन्। उनको यो नीतिको अभ्यास नेपालमा पनि ओलीले थालिसकेका छन्।

कसरी? यो बुझ्न ८ वर्षयता हुन सेनले चालेका राजनीतिक कदमको अध्ययन गर्नुपर्छ।

२०१३ को निर्वाचनमा कम्बोडियन नेसनल रेक्स्यु पार्टी (सीएनआरपी) ले हुन सेनको ‘सीपीपी’ लाई कडा चुनौती दियो। निर्वाचन आयोगले ‘सीपीपी’ ले ६८ र ‘सीएनआरपी’ ले ५५ सिटमा विजय हासिल गरेको घोषणा गर्यो।

‘सीएनआरपी’ को दाबी भने फरक थियो– मत गणनाका आधारमा उसले ६८ र सीपीपीले ६० सिटमा मात्र जितेका हुन्। तर हुन सेनको मुठ्ठीमा रहेको निर्वाचन आयोगले ‘सीपीपी’लाई विजेता घोषणा गरिदियो।

त्यसविरुद्ध राजधानी नोमपेन्हमा ठूलठूला विरोध प्रदर्शन भए। आन्दोलनले सत्ता हल्लिन थालेपछि हुन सेनले राजधानी नोमपेन्हस्थित ‘फ्रिडम पार्क’मा प्रदर्शन गर्न प्रतिबन्ध लगाए। ‘सीएनआरपी’विरुद्ध कडाइ हुन थाल्यो। प्रेसमा अंकुश लाग्यो।

यता दोस्रोपटक प्रधानमन्त्री बनेपछि ओलीले पनि माइतीघर मण्डलामा प्रदर्शन निषेध गरे।

Oli HunSen5
असोज २०७५ मा ओली र हुन सेन न्यूयोर्कमा

विपक्षीबिनाको राजकाज
सन् २०१३ को निर्वाचनबाट संसदमा बलियो विपक्षीका रूपमा स्थान बनाएको ‘सीएनआरपी’का अध्यक्ष साम रान्साई संवैधानिक व्यवस्थाअनुसार ‘अल्पमतको नेता’ बने।

संसदीय मान्यताअनुसार ‘अल्पमतको नेता’लाई ‘प्रतीक्षारत प्रधानमन्त्री’ मान्ने गरिन्छ। त्यसैले हुन सेनले रान्साईलाई ‘अल्पमतको नेता’को जिम्मेवारीबाट वञ्चित गर्ने प्रपञ्च सुरु गरिहाले। फलतः ३१ जनवरी २०१७ मा संविधानबाट ‘बहुमतको नेता’ र ‘अल्पमतको नेता’ भन्ने प्रावधानै हटाइयो।

त्यसबाहेक हुन सेनले रान्साईविरुद्ध विदेशी शक्ति (अमेरिका) सँग मिलेर ‘राष्ट्रद्रोह र गुप्तचरी’ गरेको अभियोग लगाए र ‘नेसनल एसेम्ब्ली’बाट समेत रान्साईलाई हटाए। विपक्षीले अमेरिकाको उक्साहटमा आफ्नो विरोध गरेको बताउने हुन सेनले २०१६ मा अमेरिकामा भएको राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पजस्ता पात्रलाई जिताउनुपर्ने धारणा राखेका थिए।

हुन सेनको दमनका कारण देशभित्र असुरक्षित महसुस गरेका रान्साई थाइल्यान्ड निर्वासनमा गए। लगत्तै ‘राष्ट्रद्रोह’ प्रमाणित भएको व्यक्ति पार्टी अध्यक्ष पनि बन्न नपाउने गरी कानुन शंसोधन भयो। रान्साईले थाइल्यान्डबाटै पार्टी अध्यक्षको पदबाट राजीनामा दिए।

‘सीएनआरपी’मा रान्साईपछि वरिष्ठ नेता हुन्– केम सोखा र मो सोचु। तर रान्साईले राजीनामा दिनुअघि नै सोखालाई ३ सेप्टेम्बर २०१७ मा गिरफ्तार गरेर नजरबन्दमा राखिएको थियो। फ्रान्समा रहेकी नेत्री सोचु स्वदेश फर्किन खोजिन्। फ्रान्सबाट आफ्नो मुलुक आउँदै गर्दा हुन सेनको आग्रहबमोजिम मलेसियामा उनी गिरफ्तार भइन्।

रान्साईले पनि क्षमादानका लागि राजा नरोद्दम सिहामनीसँग आग्रह गरे। यसमा राजा तयार भए पनि हुन सेनले स्वीकार गरिदिएनन्।

त्यसपछि हुन सेन ‘सीएनआरपी’को कानुनी अस्तित्व नै नामेट पार्ने योजनामा लागे। सन् २०१८ को निर्वाचनमा विजय हासिल गर्ने हो भने ‘सीएनआरपी’विरुद्ध प्रतिबन्धबाहेक विकल्प उनले देखेनन्।

त्यसैले ‘विदेशीको षडयन्त्रमा सरिक’ भएको आरोप लगाउँदै ‘सीएनआरपी’विरुद्ध सर्वाेच्च अदालतमा मुद्दा हालियो। पार्टीलाई प्रतिबन्ध लगाउन सकिने प्रावधानसहित संविधान शंसोधन पनि गरियो।

न्यायालय प्रमुख प्रधानन्यायधीश मुन्तीले १६ नोभेम्बर २०१७ मा ‘सिएनआरपी’ विघटनको आदेश जारी गरे। अनि यो आदेशविरुद्ध अपिल नलाग्ने निर्णय पनि सुनाए।

प्रधानमन्त्री पदमा टिक्न ओलीले अपनाएका हतकण्डाकोे सूची लामै बन्छ। यस विषयमा ‘महाविद्यावारिधि’ प्राप्त नेता यतिबेला हुन सेन र ओलीबाहेक यो विश्वमा अरू को होला र!

हुन सेनको चाहनाबमोजिमै ३१ जुलाई २०१८ (१५ साउन २०७५) को निर्वाचनमा ‘सीपीपी’ले एकछत्र विजय हासिल गर्यो। ‘सीएनआरपी’लाई प्रतिस्पर्धाबाट वञ्चित गरी गरिएको निर्वाचनमा ‘नेसनल एसेम्ब्ली’का सबै अर्थात् १ सय २५ सिट हुन सेनकै ‘सीपीपी’ले जित्यो।

निर्वाचन पर्यवेक्षणका लागि हुन सेनले नेपालबाट पूर्वप्रधानमन्त्री माधव नेपाललाई पनि निम्तो दिएका थिए। त्यसपछि तत्कालीन प्रधानमन्त्री नेपाल उपप्रधानमन्त्री सुजाता कोइराला र प्रतिनिधि सभा सदस्य भानुभक्त ढकाल (एमाले) का साथ कम्बोडिया पुगेका थिए।

हुन सेनझैं ओली पनि प्रमुख प्रतिपक्षबिना अघि बढ्न चाहन्छन्। संवैधानिक परिषद्को बैठकसम्बन्धी अध्यादेश यसको प्रारम्भिक उदाहरण हो, जहाँ प्रतिपक्षी दलको नेताबिनै परिषदको बैठक र निर्णय हुन सक्ने व्यवस्था गरिएको छ। यही प्रक्रियामार्फत ओलीले धमाधम संवैधानिक निकायमा नियुक्ति गरिरहेका पनि छन्।

कतिपयले नयाँदिल्लीले बंगलादेश मोडल (विपक्षी दलको बहिष्कार) को निर्वाचन गराएर ओलीलाई सत्तामा निरन्तरता दिन खोजेको आशंका पनि गरिरहेका छन्। गत चैतमा राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमण र कोरोना महामारीबीच पनि ओलीले गरिरहेको निर्वाचन हठले यस्तो आशंका गर्नेहरूलाई बल पुर्याउँछन्।

कतिपयले भने ओली उत्तर कोरियाली शासक किम जोङ उनजस्तो बन्न खोजेको आरोप पनि लगाउने गरेका छन्।

तर ओली न उत्तर कोरियाली शासक किम जोङ उन बन्न चाहन्छन्, न त बंगलादेशी प्रधानमन्त्री शेख हसिना नै। उनी त बन्न चाहन्छन्, हुन सेन।

त्यसैले न्युयोर्कदेखि काठमाडौं र नोमपेन्हसमेत पुगेर उनले पटक–पटक हुन सेनसँग भेट गरेका हुन्।

भगवान् बन्ने चाहना!
हो, हुन सेनले आफ्नो शासनकालमा जे जे गरे, ठ्याक्कै त्यही ओलीको शासनकालमा भेट्टाउन सकिन्न। किनभने हुन सेनले ३५ वर्ष शासन गरिसके, ओली दोस्रोपटक प्रधानमन्त्री बनेको बल्ल साढे ३ वर्ष हुँदै छ।

तर ओलीमा पनि आजीवन शासनको महत्वाकांक्षा छ। त्यसका लागि उनले कम्बोडियाका पूर्वकम्युनिस्ट शासक हुन सेनलाई ‘रोल मोडल’ बनाएका छन्। यो कुरा उनका गतिविधि र शासनशैलीले स्पष्ट पार्छन्।

नेकपा विभाजनपछि एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद संशोधन गराउनुको कारण आजीवन सत्ताकै महत्वाकांक्षा हो। हुन सेनले पनि पाचौंपटक प्रम बनेपछि आफू ७४ वर्षसम्म पदमा रहने घोषणा गरेका थिए।

त्यसबाहेक हुन सेनले ६ फेब्रुअरी २०१४ मा सम्पूर्ण शक्ति आफूमा केन्द्रित गरेका थिए। ओलीले पनि प्रधानमन्त्री बनेपछि राष्ट्रिय अनुसन्धान विभाग, अर्थ मन्त्रालयअन्तर्गतको राजश्व अनुसन्धान विभागलगायत निकायलाई प्रधानमन्त्रीमातहत ल्याए।

कम्बोडियाली ‘प्रेस’ यति बेला स्वतन्त्र छैन, राज्यको नियन्त्रणमा राखिएको छ। ओलीले पनि प्रधानमन्त्री बनेपछि मिडिया काउन्सिल, आम सञ्चार र प्रेस काउन्सिलजस्ता विधेयक ल्याएर स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्न खोजे।

केही वर्षयता ‘हुन सेन’को नामअगाडि ‘समादेच अक्का मोहा सेना पदाई टेचो’ भन्ने उपाधि थपिएको छ। यसको अर्थ हो– ‘भगवान् (लर्ड) सरहका प्रधानमन्त्री, सेनाका सर्वाेच्च कमान्डर।’ आफ्ना उपाधिमध्ये हुन सेनले साह्रै मन पराएको उपाधि पनि यही हो।

सम्भवतः ओलीमा पनि ‘भगवान्’ बन्ने चाहना रहेको देखिन्छ। त्यसैले २३ माघ (०७७) मा नारायणहिटीअघि आयोजित सभाका एक वक्ता सत्यनारायण मण्डलले ओलीलाई सम्बोधन गर्दै भनेका थिए, ‘भगवान् गौतम बुद्धसरहका नेता।’

त्यो विशाल सभामा मण्डल आश्चर्यजनक रूपमा वक्ता बनाइएका थिए। र, उनले सम्बोधन अवधिभर ओलीलाई ‘भगवानसरह’ भनिरहे।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .