विश्वमा ८ हजार मिटरभन्दा अग्ला १४ हिमाल छन्। तीमध्ये एक मात्र हिमाल हिउँदमा आरोहण हुन बाँकी थियो– पाकिस्तानको केटू। यो वर्ष १० नेपाली आरोहीको टोलीले त्यो कीर्तिमान आफ्नो नाममा लेखायो। सोही टोलीमा थिए– मिङ्मा ग्याल्जेन शेर्पा। जसलाई पर्वतारोहणको क्षेत्रमा सबैले ‘मिङमा जी’ भनेर चिन्छन्।
मिङ्माले ग्रिष्म ऋतुमा सन् २०१४ र २०१७ गरी दुईपटक केटू आरोहण गरिसकेका थिए। गतवर्ष विदेशीसँग मिलेर हिउँद याममा केटू चढ्ने योजना बनाएका थिए। तर, अस्वस्थताका कारण चढ्न सकेनन्।
अघिल्लो साल अपुरो रहेको रहर यो वर्ष पुरा गर्ने अठोट लिएर उनले नेपाली आरोहीहरुको एउटा टोली बनाए।
‘मेरो टिमलाई मै खर्च गर्छु र केटूमा सफल भएरै छाड्छु भन्ने थियो,’ मिङ्मा भन्छन्।
सुरुमा उनको टोलीमा चार जना थिए। तर, एक जना जान नसक्ने भएपछि तीन जना जाने तयारी गर्न थाले। यही हिउँदमा केटूको आरोहण गर्ने अरु दुई वटा टोली रहेछन्। त्यसमध्ये एउटा थियो– ७ महिनामै ८ हजार मिटरमाथिका विश्वका १४ वटै हिमाल आरोहण गरेका निर्मल पुर्जाको ६ जना नेपालीको टोली। अर्को टोली थियो– नेपाली एजेन्सी सेभेन समिटको। जसले विदेशीसहित २२ जनाको टोली तयार गरेको थियो। त्यो टोलीका अगुवा थिए दावा शेर्पा।
फरकफरक योजनाका साथ तीन वटै टोली केटूको आधारशिविरमा पुगेका थिए। त्यहाँ भेट भएपछि उनीहरुबीच सल्लाह भयो– यो कीर्तिमान नेपालीको नाममा लेखाउनुपर्छ।
‘मिसन पनि एउटै, गोल पनि एउटै। त्यसैले नेपालीले नै पहिला केटू आरोहण गर्नुपर्छ भन्ने निर्मल दाइ र मेरो टिमको योजना बन्यो,’ मिङ्माले सुनाए, ‘केटुको चुचुरोमा नेपाली पहिला पुग्न एक टिमले अर्कोलाई सहयोग गर्नुपर्छ।’

सामान्यतः केटूमा आधार शिविरभन्दा माथि चार वटा क्याम्प बनाएर आरोहण गरिन्छ। तर, अहिलेको टोलीले तीन वटा मात्रै क्याम्प राखेको थियो। आधार शिविरबाट निर्मल पुर्जाको टोली एक दिनअघि नै हिँड्यो। भोलिपल्ट मिङ्माको टोली। दुवै टोली क्याम्प तीनमा एकै दिन पुगे। सेभेन समिटका एक जना नेपाली मात्रै त्यहाँ पुगे। अन्य मुलुकका आरोहीले भेट्टाउन सकेनन्।
‘पुर्जाको टिम ७ हजार मिटरमा थियो। हामी बेस क्याम्पमा बसेका थियौँ। हामी बेस क्याम्पबाट सीधै ७ हजार मिटरमा गयौँ। विदेशीले हामीलाई भेट्टाउन सकेनन्,’ मिङ्मा भन्छन्, ‘त्यसबाहेक विदेशी आरोहीको मौसम अनुमान फेल खायो। हाम्रो सही सावित भयो।’
निर्मलको टोलीका ६ जना, मिङ्माको टोलीका ३ र सेभेन समिटका एक गरी १० जना क्याम्प तीनमा पुगेका थिए। जसमा मिङमा जी, निर्मल पुर्जा, गेल्जी शेर्पा, मिङ्मा डेभिड शेर्पा, सोना शेर्पा, मिङ्मा तेन्जी शेर्पा, पेमछिरी शेर्पा, दावा तेम्बा शेर्पा, किली पेम्बा शेर्पा र दावा तेन्जिङ शेर्पा थिए।
यीमध्ये कोही अगाडि थिए, कोही पछाडि। अगाडि हुनेहरुले चाहेको भए आफ्नो नाममा कीर्तिमान राख्न सक्थे। तर, १० जनाले नै एकैपटक चुचुरोमा पुग्ने निर्णय गरे।
‘नेपाली–नेपाली किन प्रतिस्पर्धा गर्ने? राष्ट्रको लागि स्वार्थी नहुने भन्ने भावना आयो,’ उनले विश्वकै दोस्रो अग्लो हिमालको चुचुरो पुग्नुअघिको क्षण सम्झिए, ‘राष्ट्रको गौरवका लागि नेपालको राष्ट्रिय गीत गाएरै जाऊँ भन्ने भयो।’
शिखरमा पुग्ने बेला नेपालको राष्ट्रिय गान बजाउने ‘आइडिया’ भने निर्मल पुर्जाले दिएको उनले बताए। जुन भिडिओ विश्वभर पुग्दा नेपालको शान बढेको मिङ्मा बताउँछन्।

‘पहिलो पटक इज्जत पाएको महसुस भयो’
मिङ्माले एसएलसी दिएपछि सन् २००६ देखि आरोहण सुरु गरेका हुन्। पहिलो पटक उनले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु चढ्ने प्रयास गरेका थिए। तर, ६ हजार ४ सय मिटरको उचाइमा पुगेपछि उनी फर्किन बाध्य भए। त्यही वर्ष उनले हिउँदमा ल्होत्से चढ्ने प्रयास गरे तर ८ हजार १ सय मिटरसम्म मात्र पुग्न सके। एकपटक फेरि चुचुरोमा नपुगी फर्किनु पर्यो।
मनास्लु र ल्होत्सेको चुचुरो पुग्न नपाएको छटपटी उनले सन् २००७ मा सगरमाथा शिखरमा पुगेर शान्त पारे। चुचुरोमा पाइला टेक्दा कस्तो अनुभव हुन्छ, उनलाई त्यसअघि थाहा थिएन। चुचुरोमा पुग्नेबित्तिकै उनका आँखाबाट आँसु झरे।
‘सगरमाथा शिखरमा पुग्दा खुसीले आफै आँसु झरे। त्यसपछि सगरमाथालाई ढोगेँ,’ उनले सम्झिए।
त्यसविपरीत केटू दुई पटक चढिसकेको हुनाले उनलाई त्यसको अनुभव थियो। तर, हिउँदमा आरोहण गरेर इतिहास रच्दैछु भन्ने लागेपछि गर्वले उनको छाती ढक्क फुलेको थियो।
‘शिखरमा राष्ट्रियगान बजाउँदै पुग्दा मनमा अर्कै अनुभूति भएको थियो। देशको लागि यो पटक केहीँ गरेँ। अब इतिहासमा मेरो पनि नाम रहन्छ भन्ने लाग्यो,’ उनले भने, ‘नेपालको झण्डा लहराउँदै १० जनाले नै फोटो/भिडिओ खिच्यौँ।’
केटूअघि नै उनले पाँच पटक सगरमाथा चढिसकेका थिए। नेपालबाहेक पाकिस्तान, चीन, अफ्रिका, दक्षिण अमेरिका र युरोपका पनि अनेकौँ हिमाल उनले चढिसकेका थिए। तर, यसपालीको जस्तो सम्मान उनले कहिल्यै पाएका थिएनन्। उनीहरुलाई पाकिस्तानका राष्ट्रपतिदेखि मन्त्रीसम्मले खुब सम्मान गरे। नेपालमा प्रधानमन्त्री, मन्त्रीले भव्य स्वागत गर्दै बधाई दिए।
‘पहिलो पटक इज्जत पाएको महसुस भयो,’ उनले भने।

पर्वतारोहण जोगाउन शेर्पालाई पेन्सनको व्यवस्था
हिमालको धनी नेपालमा आरोहणको इतिहास निकै लामो छ। तर, आरोहीका रुपमा नेपालीहरुको छवि अझै स्थापित भइसकेको छैन। विदेशीले प्रायः नेपालीलाई शेर्पा अर्थात् आरोहण सहयोगी र भरियाका रुपमा चित्रित गर्ने गर्छन्।
‘विदेशीहरु शेर्पाकै सहयोगमा हिमाल आरोहण गर्छन्। विश्वभर उनीहरुकै चर्चा हुन्छ तर शेर्पाको नाम कहिल्यै अघि आउँदैन। नेपाली जहिले पनि छायामा परे,’ मिङमा भन्छन्, ‘मलाई यो कुरा कहिल्यै मन परेन।’
मिङ्माले पनि हिमाल आरोहण शेर्पा कामबाट सुरु गरेका हुन्। शेर्पाले आरोहीलाई सघाउन डोरी टाँग्ने, बाटो बनाउने, क्याम्प बनाउनेजस्ता काम गर्छन्। उनले चार वर्ष यो काम गरे। त्यसपछि गाइड बने। अहिले उनी अन्तर्राष्ट्रिय गाइड हुन्।
आरोहण सुरु गरेदेखि नै केही फरक गरौँ भन्ने उनलाई लागिरहेको थियो। सन् २०१३ देखि आफ्नै टोली बनाएर नयाँनयाँ हिमाल आरोहण गर्न थाले।
एउटा कार्यक्रममा एक विदेशीले नेपालीहरुले एकल आरोहण गर्न नसकेको बताए। विदेशीले गिज्याएको महसुस उनलाई भयो। त्यसपछि २०१५ मा एक्लै हिमाल चढ्ने योजना उनले बनाए। आफ्नै घरबाट ३ घण्टामा हिँडेर पुगिने चोबुचे हिमाल चढ्ने तयारी गरे। त्यो हिमाल ११ वटा विदेशी टोलीले प्रयास गर्दा पनि चढ्न सफल भएका थिएनन्। उनले आँट गरेर एक्लै हिमाल चढे।
सधैँ विदेशीलाई अगाडि लगाएर नेपालको पर्वतारोहण क्षेत्र बलियो नबन्ने उनको तर्क छ।
‘आरोहणमा विदेशीलाई टक्कर दिनुपर्छ। विदेशीलाई किन लिडर बनाएर हिँड्ने? नेपाली आफैँ आफ्नो देशको हिमाल चढ्न विदेशीलाई कहिलेसम्म लिडर बनाउने?’ मिङ्मा भन्छन्, ‘अब हामी आफैँ लिडर भएर जानुपर्छ।’
आरोहणमा सबैभन्दा बढी कष्ट बेहोर्ने शेर्पाहरुले उचित नाम र दाम नपाएको उनको गुनासो छ। त्यसैले केही समयपछि शेर्पा अभाव हुनसक्ने भविष्यवाणी समेत उनले गरे।
‘अहिले नै शेर्पाहरु पहिलेजति भेटिँदैनन्। शेर्पालाई विदेशमा अफर आउन थाल्यो। उनीहरु विस्तारै शिक्षित भए अब विदेशीको भरिया बन्दैनन्। अबको १०/१५ वर्षपछि नेपाली हिमालमा शेर्पा नपाउने अवस्था आउनसक्छ।’
‘अहिले प्रायः शेर्पाको धारणा छ– भोलि मेरो छोरालाई भारी बोकाउँदिनँ,’ उनले नेपालखबरसँग भने, ‘हिमालमा शारीरिक रुपमा बलियो मानिसले मात्रै काम गर्न सक्छन्। यसमा धेरै दुःख हुन्छ। दिमाग र हात चलाएको भरमा यहाँभन्दा राम्रो कमाइ हुन्छ भने किन हिमालमा दुःख गर्ने?’
विदेशी हिमालमा शेर्पाहरु गाइड बन्न थालेको र त्यहाँ राम्रो आम्दानीका साथै सामाजिक सुरक्षा पनि भएको उनको भनाइ छ।
‘सरकारले आरोहीका लागि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्छ,’ उनले भने, ‘बढीमा ४५/५० वर्षसम्म हिमालमा काम गर्न सक्छन्। त्यसपछि बाँच्यो भने कहाँबाट ल्याएर खाने?’
नेपालको पर्वतारोहणलाई दिगो बनाउने हो भने सरकारले शेर्पाका लागि पेन्सनलगायतको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ।
‘नेपालका ८ हजार मिटरमाथिका हिमाल शेर्पाबिना आरोहण गर्न कठिन छ। शेर्पा भएनन् भने भविष्यमा ती हिमालको आरोहण नै धरापमा पर्न सक्छ। सरकारले विदेशीबाट उठाएको केही रुपैयाँको कोष बनाएर शेर्पालाई पेन्सनको रुपमा दियो भने सहज हुन्छ,’ उनले भने।

‘आरोही युद्धमैदानका सिपाहीजस्तै’
मिङ्माका लागि सन् २०१५ करिअरकै नराम्रो वर्ष बन्यो। त्यो साल अन्नपूर्णमा उनीसँगै गएका शेर्पा र फिनल्यान्डका नागरिकको मृत्यु भयो। त्यही वर्ष भूकम्प आउँदा सगरमाथा आधारशिविरमै उनका ६ साथीले ज्यान गुमाए। त्यसैले उनी आरोहणलाई युद्धमैदानसँग तुलना गर्छन्।
‘युद्धमा गएको सिपाही जे परिआए पनि लड्नु पर्छ,’ उनी भन्छन्, ‘त्यहाँ लास देखेर डरायो भने अर्को पटक युद्धमा जान सक्दैन। हाम्रोमा पनि त्यस्तै हो। कति बेला हिउँ पहिरो आउँछ, कतिबेला चट्टान झर्छ, थाहा हुँदैन।’
चोबुचेमा एक्लै आरोहण गर्दा उनी शिखरमै ४३ घण्टासम्म रोकिएका थिए। चुचुरोमा पुगेपछि ठूलो हिमपात भयो र उनी आएको पाइला सबै मेटिए। चारैतिर अन्धकार भएपछि कता जाने मेलो पाएनन्। उनीसँग टेन्ट पनि थिएन। त्यसैले उनी हिउँमा खाल्डो बनाएर बसे। ४३ घण्टापछि पारिपट्टि हिमाल देखियो तर, बाटो भेउ पाएनन्। त्यसपछि उनी हेलिकोप्टर मगाएर फर्किए।
केटूको सफलतापछि मिङ्माको लक्ष्य छ– फ्रान्सेली म्यागेजिनले दिने ‘गोल्डेन आइस एक्स अवार्ड’ हात पार्ने। नेपालमा अहिलेसम्म कसैले त्यो अवार्ड ल्याउन सकेको छैन।
‘त्यसबाहेक सातै महादेशमा लिडरको रुपमा आरोहण कार्यक्रम सञ्चालन गर्ने योजना पनि छ,’ मिङ्मा भन्छन्, ‘पहिलाको जस्तो छायामा बसेर होइन, उनीहरुकै देशमा लिडर बनेर हिमाल आरोहण गर्छौँ।’
हिमाल आरोहणमा नेपालको नयाँ पुस्ता आएको छ। जुन शिक्षित छ। तिनले देशविदेशमा तालिम लिएका छन्। नेपालमा विस्तारै आरोही टोलीको लिडर बन्नेको संख्या बढ्दो छ।
‘अब हामीले विदेशीलाई तिमीहरुले भन्दा राम्ररी गर्न सक्छौँ भनेर चुनौती दिनुपर्छ,’ मिङ्मा भन्छन्।
भिडिओ -

प्रतिक्रिया