ad ad

म्यागेजिन


आईसीयूमा संक्रमितको छटपटी देख्दा आफू बाँच्ने आशा एकरत्ति थिएन

आईसीयूमा संक्रमितको छटपटी देख्दा आफू बाँच्ने आशा एकरत्ति थिएन

शान्ता चौधरी
कात्तिक २०, २०७७ बिहिबार १२:४०,

रोगी मान्छेलाई कोरोनाले झन् बढी च्याप्छ भन्ने सुनेकी थिएँ। त्यसैले म सचेत थिएँ। पहिलेदेखि नै मलाई दम थियो। पोहोर साल निमोनिया पनि देखियो। मलाई पहिलो चरणको क्यान्सर पनि देखिएको हो। तर जति सचेत हुनुपर्ने हो, सायद त्यति हुन सकिएन। त्यसैले कोरोना लाग्यो। कहाँबाट लाग्यो, थाहा छैन।

असोज तेस्रो साता मेरो आँखा एकदम दुख्न थाल्यो। गतवर्ष डेंगु हुँदा पनि त्यस्तै भएको थियो। जिउ पनि दुख्यो। अघिल्लो दिन ट्रेकिङ गएकाले होला भन्ठाने। छोरीलाई जिउ थिच्देउ भनेँ। उनले थिचिदिइन्। त्यहीबेला छोरीलाई पनि कोरोना सरेको जस्तो लाग्छ।

त्यो रातभरि ज्वरो आयो। नाप्दा त्यति देखिएन तर भित्रभित्रै पोलिरहेको थियो। एकदमै कमजोर अनुभव भइरहेको थियो। शंका लाग्यो र भोलिपल्ट टेकुमा जँचाउन गएँ।

असोज १९ गते आएको रिपोर्टमा कोभिड पोजिटिभ देखायो। झसंग भए।

घरमै बस्ने कि अस्पताल जाने, छलफल चल्दै थियो। सुवास नेम्वाङलाई फोन गरेँ। उहाँले ज्वरोसहित लक्षण देखिएकाले अस्पताल जान सुझाउनुभयो। संसद् सचिवालयको चिकित्सकलाई फोन गरेँ। चिकित्सकले पनि अस्पताल नै जाँदा ठिक होला भन्नुभयो र वीरमा भर्ना प्रक्रिया मिलाइदिनुभयो।

अस्पताल गएको एकदुई दिनसम्म त ठिकै थियो। श्वास फेर्न हल्का गाह्रो थियो। जिउ दुखिरहेको थियो। आँखाको दुखाइ कम भएको थियो।

तर, चौथो दिनमा भने मलाई बेस्सरी च्याप्यो। निमोनिया भएछ। श्वास फेर्न एकदमै गाह्रो भयो। लगत्तै मलाई आईसीयूमा सारियो। जहाँ आठ दिनको बसाइका क्रममा मैले जे देखेँ र भोगेँ, त्यसले मलाई निकै ठूलो आघात पुर्‍याएको छ।

यो पनिः
पञ्चायतको जेलभन्दा आइसोलेसनमा बस्न कठिन भयो
डबल मास्क लगाएर एउटा कोठामा दूधे बालकसँग यसरी काटेँ २२ दिन
मेरी नौ महिनाकी छोरीले यसरी जितिन् कोरोना

प्रत्येक दिन मेरै आँखाअगाडि मान्छेहरु मर्थे। उनीहरुले पाएको दुःख, छटपटी देख्दा म भगवान पुकार्थेँ। म आफैँ गम्भीर अवस्थामा थिएँ। तर, तिनको दुःख असह्य थियो।

उनीहरुलाई यति गाह्रो हुन्थ्यो कि अझै पनि त्यो दृश्य मेरो दिमागमा घुमिरहेको छ। अझै राति म राम्रोसँग निदाउन सक्दिनँ। मान्छे मरेपछि उनीहरुलाई प्लास्टिकमा बेरेर झोलामा प्याक गरिएको दृश्य साह्रै पीडादायी थिए।

कोरोनाले यतिसम्म गर्ला भनेर मैले सोचेकै थिइनँ। तर, आईसीयूमा गएपछि आँखा अगाडि बिरामीहरुले असाध्यै दुःख पाएको देख्दा अब मेरोपनि अवस्था त्यस्तै हुने पो हो कि भनेर एकदमै तनाव हुन्थ्यो। त्यसपछि त मैले बाँच्छु भनेर एकरत्ति पनि सोचिनँ। म दीर्घरोग भएको मान्छे। मेरो सिटी भ्यालुपनि कमै थियो। तर, चिकित्सकको अथक प्रयास, सबैको माया आशीर्वादले आज मृत्युको मुखबाट फर्किएको महसुस गरेकी छु।

आफूलाई नलाग्दासम्म त म पनि कोरोनालाई सामान्य ठान्थेँ। कतिले सजिलै जितेको देखेर म पनि सजिलै जितौँला ठान्थेँ। जित्न त जितियो तर कसरी जितियो, कति दुःख पाइयो, मलाई मात्र थाहा छ। शब्दमा म भन्न सक्दिनँ।

म अस्पतालमा भर्ना भएको बेला छोरी पनि घरमा संक्रमित थिइन्। उनलाई के भयो होला? केही खाइन् कि नाइँ भनेर अर्को तनाव। घरमा खाना पकाएर ल्याइदिने पनि कोही थिएन। हाम्रै पार्टीकी सदस्य मीना श्रेष्ठले धेरै सहयोग गर्नुभयो। उहाँले खाना पकाएर ल्याइ दिनुहुन्थ्यो। उहाँले यस्तो बेला गरेको सहयोग म कहिलै बिर्सन सक्दिनँ। अप्ठेरो परेका बेला मान्छेलाई साथ चाहिँदो रहेछ। एक्लो महसुस नगर्ने खालको वातावरण चाँहिदो रहेछ।

छोरीलाई खासै लक्षण देखिएको थिएन। उनी घरमै बसेर निको भइन्।

अस्पतालमा डाक्टरले दिएका औषधिहरु मैले नियमित सेवन गरें। झोलिलो खानेकुरा बढी खान सल्लाह दिएका थिए। खसीको खुट्टाको सुप पिएँ। दिनमा तीनचार वटा अण्डा खान्थेँ। बोजो, तुलसीको पात, गुर्जो, अदुवा पकाएर त्यसको पानी खाने गर्थें।

दिनमा चार पाँच चोटी वाफ लिन्थेँ। अस्पतालमै तताएको पानीे झरेर मेरो खुट्टा पोलियो। खुट्टा यसरी पोलियो कि कोरोनाको भन्दा खुट्टाको दुखाइले बढी छटपटाहट भयो।

मैले समयमै उपचार पाएजस्तो लाग्छ। घरमै बसेर लापरवाही गरेको भए मेरो ज्यान पनि जान सक्थ्यो। कसैलाई मिल्दोजुल्दो लक्षण देखिँदा तुरुन्त पीसीआर परीक्षण गराउन सुझाव दिन्छु। पोजिटिभ देखिए आफू र आफ्नालाई बचाउन यसले सहयोग गर्छ।

१९ दिनको अस्पताल बसाइपछि घर फर्केँ। तर, अझै पनि मेरो छाती दुख्छ। लामो श्वास लिन सक्दिनँ। तर नेगेटिभ आएपछि अहिले राहत भएको छ। घाँटी दुखेपछि मंगलबार नर्भिक चेक गराउन गएकी थिएँ। डाक्टरले ठिकै छ भने। अहिले खुट्टा पनि बिस्तारै सञ्चो हुँदैछ।

121191823_1689371851230202_2848946051776199797_n.jpg

अहिले मानव जातिको रक्षा गर्नु नै सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। मान्छे अस्पतालमा नअटाएर, आईसीयू नपाएर छटपटिएर मरिरहेको अवस्था छ। यस्तो दृश्य सरकारले टुलुटुलु हेरेर बस्न मिल्दैन। आईसीयू, भेन्टिलेटरको सरकारले जतिसक्दो चाँडो बढीभन्दा बढी व्यवस्थापन गर्नुपर्छ।

म आईसीयूमा बस्दा त्यहाँ दश वटा मात्रै बेड थिए। आईसीयूमा कसैलाई हल्का सञ्चो हुने बित्तिकै उसलाई तल लगेर अर्को गम्भीर बिरामीलाई ल्याइहालिन्थ्यो। त्यसमाथि भेन्टिलेटरका लागि पनि सोर्सफोर्स उत्तिकै लगाउनुपर्ने अवस्था छ।

सरकारले तत्काल कतिवटा अस्पताललाई कोभिड अस्पताल बनाउने हो त्यसको घोषणा गर्नुपर्छ। जसमा कम्तीमा सयदेखि दुई सय बेडको आईसीयू, भेन्टिलेटर राख्नुपर्छ। संक्रमित दैनिक बढ्दै जाँदा भेन्टिलेटर अभावमा मान्छेहरुको मृत्यु भइरहेको मैले आँखा अगाडि देखेकी छु। अहिले त्यसको व्यवस्था गर्न नसके स्थिति झनै खराब हुनसक्छ।

संक्रमितलाई सहयोग गरौं
कोरोना लागेपछि ठूलो कुरो चाहिँ आत्मबल पनि हो। म एकदमै डराएकी थिएँ। डा.रवीन्द्र पाण्डेले बाहिर बसेर मलाई धेरै सहयोग गर्नुभयो। उहाँले घण्टाण्टामा फोन गरेर नआत्तिनु एकदुई दिनमा ठिक हुन्छ भन्दै हौसला थप्नुहुन्थ्यो। के कस्तो खाने, के गर्ने भने सल्लाह दिनुहुन्थ्यो।

आइसोलेसनमा बस्दा एक्लो महसुस हुँदो रहेछ। न कसैलाई भेट्न पाइन्छ, न कसैलाई छुन पाइन्छ, न कहीँ जान पाइन्छ। एक्लोपनले डर पनि पैदा गर्दो रहेछ।

मलाई एक्लै कोठाभित्र उकुसमुकुस हुन्थ्यो। कसैलाई देख्न नपाइ मरिने हो कि भन्ने अनावश्यक सोच पनि आउँथ्यो। सधैँ एक्लो रहेको मलाई यसअघि त्यस्तो महसुस भएको थिएन। आईसीयूबाट क्याबिनमा आएपछि भूमिसुधारमन्त्री पद्या अर्याल भेट्न आउनुभयो। उहाँलाई देख्दा मलाई बचाउन भगवान आएको जस्तो लाग्यो। त्यतिसम्म एक्लोपन महसुस गरिने रहेछ।

कतिपय ठाउँमा कोरोना लागेका मान्छेबाट टाढिने, संक्रमितको वास्ता नगर्ने गरेको सुनिन्छ। त्यसले बिरामीको मनोबल घटाउँछ। रोगसँग लड्ने क्षमता कमजोर बनाएर भोलि व्यक्तिलाई जे पनि हुनसक्छ। त्यसैले आफू सचेत भएर बिरामीलाई एक्लो महसुस गर्न दिनहुन्न। उसको हौसला बढाइराख्नुपर्छ।

कोरोना हामीले सोचेजस्तो रहेनछ। सबैलाई एउटै खालको अवस्था असर हुँदैन। कसैको मृत्यु भएको छ। कोही गम्भीर बिरामी भएर पनि निको भएको छन् त कसैलाई सामान्य रुघाखोकी मात्र लागेको छ।

बुधबार मात्रै ३० जना कोरोनाबाट बित्नुभयो। त्यसैले हामी कोरोना जितिहालिन्छ नि भनेर होइन, भोलि मेरोपनि ज्यान जानसक्छ है भन्ने हिसाबले सचेत हुनुपर्छ। अरु निको भएका छन् म पनि निको हुन्छु भनेर रत्तिभर असावधान हुनुहुँदैन।

त्यसैले हेलचेक्र्याइँ गर्‍यौँ र सामान्य रुपमा लियौँ भने यसले ठूलो क्षति गर्छ। हामी जति बढी सचेत भयौं, त्यति हानि कम हुन्छ।

मेरो सचेतना नपुगेकै कारण मलाई संक्रमण भएको झैं लाग्छ। चिकित्सक, स्वास्थ्य मन्त्रालयले भनेका मापदण्ड अपनाएर हिँड्ने हो भने सजिलै लाग्दैन रहेछ। मसँगै हिँडेको साथीभाइलाई कोरोना लागेको छैन। त्यसैले मास्क लगाउने, हात सफा गरिराख्ने, भौतिक दुरी कायम गर्नुपर्छ।

(नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीसँग नेपालखबरका यज्ञराज जोशीले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .