म्यागेजिन


चीनमा दसैं : शकुन्तला नाचेर रमाउँछिन्, रविना नेपाल सम्झेर आँशु झार्छिन्

चीनमा दसैं : शकुन्तला नाचेर रमाउँछिन्, रविना नेपाल सम्झेर आँशु झार्छिन्

चेतनाथ आचार्य
कात्तिक ७, २०७७ शुक्रबार ५:४०,

हरेक वर्ष दसैंका अवसरमा चीनमा बसोबास गर्ने नेपाली होटलमा भेला भएर शुभकामना आदानप्रदान गर्दै खुसी साट्थे। अध्ययनका निम्ति चीन आएका र सेवा तथा व्यवसाय गरेर यहाँ बसेका केही नेपालीले दसैं यसरी नै मनाउँथे। यसपालि भने चीनमा अध्ययन तथा काम गर्ने अधिकतर नेपाली नेपालमै रोकिएका छन्। चीनमा रहेकाहरूलाई पनि यसपटक होटलमा भेला भएर दसैं मनाउन बन्देजजस्तै छ।

यसबाहेक अर्का खालका नेपाली पनि चीनमा बसोबास गर्छन्। चिनियाँ पुरुषसँग बिहे गरेका नेपाली चेलीको दसैंचाहिँ सधैंझैं युट्युब हेरेर आँशु पुछ्दै बित्ने गर्छ। अरूका लागि तीज, दसैं, तिहार, छठ खुसीको बहार ल्याउने पर्व भए पनि चीनका विवाहित नेपाली चेलीका लागि भने यी आँशुको वर्षा गराउने दिन बन्ने गरेका छन्। दसैं मनाउने उनीहरूको इच्छा त हुन्छ, तर तिनका चिनियाँ परिवारका लागि दसैंको कुनै मतलब नहुने भएकाले मनाउन पाउँदैनन्। यसैकारण दसैंका बेला उनीहरू नेपालका आफन्तसँग भिडियोमा कुरा गर्दै आँशु झार्न बाध्य हुन्छन्।

केही नेपाली चेलीले भने चिनियाँ परिवारसँगै बसेर पनि दसैं मनाउने गर्छन्। घरमा जमरा राख्छन्। दसैंका दिन आफूभन्दा सानालाई टीका लगाइदिन्छन् भने ठूलाबाट ग्रहण गर्छन्। अनि रातो खाममा दक्षिणा दिने/लिने गर्छन्। किनभने चिनियाँ नयाँ वर्ष वसन्त चाडका अवसरमा पनि चिनियाँ नागरिक नेपालीको दसैंमा जस्तै रातो खाममा रकम राखेर दक्षिणा दिने/लिने गर्छन्।

China Dashain3

चीनमा बिहे गरेर पनि दसैं मनाउन पाउने भाग्यमानी नेपाली चेली हुन्– शकुन्तला राई, रविना राई र माया मगर। रविना र शकुन्तला सोलुखुम्बुका हुन् भने माया सिन्धुपाल्चोककी। रविना र शकुन्तला सन् २००८ मा चिनियाँ नागरिकसँग बिहे गरेर चीनको आन्हुई प्रान्तमा बसोबास गरिरहेका छन् भने सन् २०११ मा बिहे गरेकी माया चीनको चच्याङ प्रान्तमा बस्छिन्।

रविना राईका १२ वर्षीय छोरी र ७ वर्षीय छोरा छन्। उनले हरेक वर्ष घटस्थापनाका दिन जमरा राखेर आफ्ना श्रीमान् र सासू–ससुरासँग टीका लगाएर दसैं मनाउने गरेकी छन्। यसपालि पनि उनले जमरा राखेकी छन्। तर यसपटक कोरोना महामारीका कारण अन्य नेपालीसँग भेटघाट गरेर दसैं मनाउन सम्भव नभएको उनी बताउँछिन्।

दसैं, आफ्ना छोराछोरीलाई नेपाली मौलिकता सिकाउने अवसर पनि भएको उनको भनाइ छ। सधैं चपस्टिक्सले खाना खाने उनका छोराछोरी दसैंका बेला हातैले खान्छन्। चिनियाँहरूलाई हातले खान निकै गाह्रो हुने भए पनि आफूले सिकाएको उनी सुनाउँछिन्। अनि टीका लगाइसकेपछि आफूभन्दा ठूलालाई खुट्टामा ढोग्न पनि उनले सिकाएकी छन्। उनका श्रीमान् र छोराछोरी केही शब्द मात्र नेपाली बोल्न जान्छन्।

आफू निकै संवेदनशील र भावुक रहेको बताउने रविना तीज र दसैंमा युट्युबका गीत सुनेर दिनभर रुने गर्छिन्। नेपालखबरसँग कुरा गर्दै उनले भनिन्, ‘बिहे गरेर चीनमा आएको १२ वर्ष बितिसक्यो, २ वर्षअगाडि तिहारमा नेपाल गएकी थिएँ। नत्र युट्युब हेर्‍यो, धित मरुन्जेल रोयो।’

विद्यार्थी कालमा गायन र नृत्यमा जहिले भाग लिने उनी नाटकमा अभियन पनि गर्थिन्। अहिले युट्युबमा अरू कलाकारको अभिनय देख्ता उनका आँशु थामिँदैन।  भन्छिन्, ‘मलाई त गाउँघर, देउराली, वरपीपल, चौतारी, पिङ, हाटबजार, मेलापर्व सबै कुराको नोस्टाल्जिक हुने गर्छ।’

यसपटकको दसैं सोमबार परेकाले साँझमा मात्र दसैं मान्ने उनको योजना छ।

रविनासँगै बिहे गरेर आएकी शकुन्तला राई भने आफूलाई बिन्दास मान्छिन्। चिनियाँ साथीहरूसँग पार्कमा गएर नाचगान गर्ने, माहच्याङ खेल्ने, बियर पार्टी गर्ने उनको सोख नै हुन्। तसर्थ उनी चिनियाँ साथीहरूलाई आफ्नो घरमा बोलाएर टीका लगाई दिन्छिन्। उनका चिनियाँ महिला साथीलाई नेपाली सारी लगाएर चिटिक्क पार्छिन्।

नेपाली गीतमा नाच्न सिकाएको सुनाउँदै भन्छिन्, ‘अरू बेला पार्कमा मलाई जुम्बा नृत्य सिकाउने चिनियाँलाई दसैंमा म नेपाली गीतमा नाच्न सिकाउँछु।’

यसपटक दसैंको टीका सोमबार परेकाले उनले चिनियाँ साथीहरूलाई नवमीकै दिन बोलाएकी छन्। एक दिन अगाडि नै चिनियाँ साथीहरूलाई टीका लगाएर दसैं मनाउने र बेलुकी कारावोके पार्टीमा जाने कार्यक्रम रहेको उनले सुनाइन्।

China Dashain6

शकुन्तलाको परिवारमा श्रीमान् र १२ वर्षका छोरा छन्। शकुन्तलाकी बहिनी पनि गत वर्ष बिहे गरेर आन्हुई प्रान्तमा आएकी छन्। बिहिनी अहिले सुत्केरी भएको ४० दिन पनि नपुगेकाले उनी आफ्नो घरमा दसैं मनाउन आउन नसक्ने शकुन्तलाले बताइन्। उनी सन् २०१३ मा श्रीमान् र छोरा तथा सन् २०१६ मा छोरा मात्र लिएर दसैं मनाउन नेपाल पुगेकी थिइन्।

अनि सन् २०१८ मा उनी तिहार मनाउन रविनासँग नेपाल गएकी थिइन्। गत वर्षको दसैंमा आफू मात्र नेपाल गएको सुनाउँदै शकुन्तला भन्छिन्, ‘मलाई त जता बस्यो त्यतै रमाइलो। चीनमा पनि थुप्रै साथी छन्। दसैंमा नेपालमा जत्तिकै रमाउँछु।’

माया मगरका एक छोरा र एक छोरी छन्। यसभन्दा अगाडि उनी दसैंमा कि नेपालमा हुन्थिन् कि आमालाई यतै बोलाउँथिन्। यो वर्षको दसैंमा भने उनका अगाडि कोरोना बाधक बनेर उभियो।

यसपालि उनले न आमालाई यता बोलाउन सकिन्, न आफू नेपाल जान नै। चिनियाँ परिवारसँग दसैं मनाउँदा नेपालमा जस्तो रमाइलो नहुने उनी बताउँछिन्। तर पनि परिवारसँग बसेर टीका लगाउने र शुभकामना साटासाट गरेर दसैं मनाउने गरिएको उनले सुनाइन्।

China Dashain5

उनले भनिन्, ‘यसपटकको दसैं सोमबार परेकाले छोराछोरी बिहानै स्कुल गइहाल्छन्। दसैं मनाउन एक्लै परिन्छ जस्तो छ।’

एक अर्ब ४० करोड जनसंख्या भएको चीनमा स्थानीय चिनियाँ कोही पनि हिन्दूधर्म मान्दैनन्। ३५ देखि ४० प्रतिशत चिनियाँ बुद्ध धर्म मान्छन् भने केही क्रिश्चियन धर्म मान्छन्। चीनको पश्चिमी भागमा पर्ने कान्सु र सिङचियाङ प्रान्तमा भने अधिकतर इस्लाम धर्म मान्ने गर्छन्।

स्थानीय चिनियाँ दसैं नमनाए पनि नेपालीसँग बिहे गरेकाले याे पर्वबारे जानकार भने छन्। ससुरालीबाट आयातित चाड दसैंमा उनीहरू पनि रमाउने गरेका छन्।

(आचार्य बेइजिङस्थित चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) नेपाली सेवामा विदेशी विशेषज्ञका रूपमा कार्यरत छन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .