ad ad

कारोबार


एक लयमा लगानी गरिरहेका श्रेष्ठ र गुरुङ अब ‘ज्वाइन्ट भेन्चर’मा गर्दै छन् व्यवसाय विस्तार

एक लयमा लगानी गरिरहेका श्रेष्ठ र गुरुङ अब ‘ज्वाइन्ट भेन्चर’मा गर्दै छन् व्यवसाय विस्तार

व्यवसायीद्वय मीनबहादुर गुरुङ र उमेश श्रेष्ठ


दीपक भट्ट
जेठ १, २०८१ मंगलबार ६:२२, काठमाडौँ

मीनबहादुर गुरुङ भन्नेबित्तिकै भाटभटेनी सुपर मार्केटको नाम जोडिन्छ। सुपर मार्केट व्यवसायबाट नै उदाएका गुरुङ अहिले पनि यसको विस्तारमा नै केन्द्रित छन्। 

गत फागुनमा दमकमा भाटभटेनी सुपरमार्केट सञ्चालनमा आएसँगै यसको संख्या २७ पुगेको छ। यस व्यवसायसँग प्रत्यक्ष र अप्रत्यक्ष गरेर करिब ५० हजार जनाको आबद्धता रहेको भाटभटेनी ग्रुपले दाबी गर्दै आएको छ।

गुरुङ र उनको परिवारको सुपरमार्केट मात्रै नभई अन्य क्षेत्रमा समेत लगानी छ। ४२ मेगावाटको मिस्त्रीखोला हाइड्रोपावर, कुमारी बैंक, चद्रागिरि हिल्स प्रालि आदिमा लगानी छ। 

तर २७ स्थानमा सुपरमार्केट रहेको र यसको सञ्जाल विस्तार भइरहेको अवस्थामा उनी नेपाली रिटेल मार्केटमा नै केन्द्रित रहेको बुझाइ धेरैको छ। अब भने गुरुङले आफ्नो क्षेत्र फैलाउँदै गएका छन्। 

शिक्षा र स्वास्थ्यमा कहलिएका श्रेष्ठसँग ज्वाइन्ट भेन्चर 
अर्का व्यवसायी उमेश श्रेष्ठसँग मिलेर उनले व्यावसायिक दायरा फराकिलो पार्न लागेका छन्। त्यसका लागि ज्वाइन्ट भेन्चर (संयुक्त उपक्रम) खडा हुँदै छ। गुरुङसँगको साझेदारीमा जोडिनलागेका श्रेष्ठ पनि फरक क्षेत्रमा लगानी गरिरहेकै व्यवसायी हुन्।

व्यवसायसँगै राजनीतिमा समेत आबद्ध श्रेष्ठको मूलतः शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी छ। संघीय सरकारको मन्त्री समेत भइसकेका श्रेष्ठले अब कृषि र हस्पिटालिटीमा लगानी बढाउन चाहेका छन्। 

श्रेष्ठ लिटिल एन्जल्स एजुकेसनका संस्थापक अध्यक्ष हुन् भने उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष समेत भइसकेका छन्। 

श्रेष्ठको दोस्रो व्यवसाय हस्पिटालिटी हो। चितवनमा होटल सिराइचुली, होटल सेन्ट्रल पार्क, धुलिखेलमा हिमालयन दृश्य रिसोर्ट र तनहुँमा घाँसी हेल्थ रिसोर्टमा उनको लगानी छ। 

स्वास्थ्य क्षेत्रमा समेत आबद्ध उनी महेन्द्रनारायण निधि मेमोरियल सामुदायिक अस्पताल काठमाडौंको ट्रस्टिज बालाजुमा रहेको जनमैत्री अस्पतालमा समेत आबद्ध छन्।

यसबाहेक श्रेष्ठ प्राइम कमर्सियल बैंकको ठूलो संस्थागत लगानीकर्तामध्ये पर्छन्। त्यस्तै पाँचथर पावर कम्पनी प्रालि, सानीगाड हाइड्रो पावर बझाङ, कालङगा हाइड्रो बझाङ, बुङ्गल हाइड्रो बझाङ, भिजन इनर्जी रामेछाप र माउन्टेन इनर्जी म्याग्दीमा पनि उनको लगानी छ।

६ ठाउँमा अत्याधुनिक कोल्ड स्टोर सञ्चालन गर्ने 
आआफ्नो व्यवसायमा अघि बढिरहेका यी दुवै व्यवसायीको अबको लक्ष्य कृषि र हस्पिटालिटी हो। यसका लागि ज्वाइन्ट भेन्चर अघि बढिसकेको छ। कृषितर्फ उनीहरुले अत्याधुनिक कोल्ड स्टोर सञ्चालन गर्नेबाहेक कृषिफार्ममा समेत लगानी गर्ने गरी एक महत्त्वपूर्ण परियोजना अघि सारेका छन्।  

आफैँ पनि फलफूल उत्पादन गर्ने र कृषकहरुले उत्पादन गरेको फलफूल संकलन गर्ने योजनासहित मल्टी चेम्बर ह्युमिडिफायर कोल्ड स्टोर सञ्चालन गर्ने योजना अघि बढाएका छन्। 

यो कोल्ड स्टोर देशभर विस्तार गर्ने उनीहरुको योजना छ। पहिलो चरणमा चितवनको टाँडीमा सञ्चालन गर्ने गरी परियोजना अघि बढिसकेको छ। 

६ बिघा जग्गामा सुरुको चरणमा कोल्ड स्टोर तयार हुने श्रेष्ठ बताउँछन्। यसको लागि २० करोड रुपैयाँ लगानी हुनेछ। योसँगै जनकपुर, भैरहवा, नेपालगन्ज, इटहरी र झापामा यसको विस्तार हुनेछ। 

‘फलफूल र तरकारी टिपेपछि तत्काल कोल्ड स्टोरमा ल्याइसक्नुपर्छ। त्यसैले धेरै स्थानमा कोल्ड स्टोर सञ्चालन गर्ने योजना अघि बढेको हो’, श्रेष्ठले भने। 

श्रेष्ठका  अनुसार कृषि उत्पादनलाई यस स्थानमा संकलन मात्रै नगरी त्यसको बजारीकरण गरिनेछ। यसमा कृषि उपजको प्याकेजिङ, लेबलिङ गरेर बजारीकरण गर्ने योजना रहेको उनले सुनाए। यसले कृषकलाई समेत उत्पादनमा प्रोत्साहन गर्ने गुरुङ र श्रेष्ठको ठम्याइ छ।

होटल अन्नपूर्ण

बन्द अन्नपूर्ण खोल्ने, सपिङ कम्प्लेक्स पनि चलाउने 
श्रेष्ठ र गुरुङले कृषि क्षेत्रसँगै हस्पिटालिटी परियोजना समेत अघि बढाउने भएका छन्। ज्वाइन्ट भेन्चरमार्फत लगानी गरी काठमाडौंको दरबारमार्गमा बन्द अवस्थामा रहेको होटल अन्नपूर्ण खोल्ने उनीहरुको तयारी छ। 

नेपालका पाँचचारे होटलहरूमध्ये सोल्टीपछिको इतिहास बोकेको होटलका रुपमा अन्नपूर्णलाई लिइन्छ। दरबारमार्गमा रहेको होटल ५० वर्ष पुरानो र हाल बन्द अवस्थामा छ। यसलाई विस्तार गर्ने उनीहरुको लक्ष्य छ। 

होटलको अहिलेको मूल्याङ्कन ९ अर्ब रुपैयाँ गरिएको छ, जसमध्ये गुरुङ र श्रेष्ठले नै ८ अर्ब लगानी गरेर होटल अघि बढाउँदै छन्। काठमाडौंको केन्द्रमा ४२ रोपनीमा फैरिएको यो होटललाई ३५ वर्षका लागि भाडामा लिएर सञ्चालन गर्न लागिएको हो।  

अन्नपूर्णको यो नयाँ व्यवस्थापनमा हालका मालिक कपिल राणा र सृजना राणा दम्पती समेत सामेल हुनेछन्। होटल व्यवस्थापन र थप लगानीमा त्रिपक्षीय सहकार्य हुनेछ। 

अन्नपूर्ण होटलमा अहिले १ सय ५३ वटा कोठा छन्। नयाँ योजनाअनुसार त्यसको संख्या ४ सय पुर्याउने र सपिङ कम्प्लेक्स समेत निर्माण गर्ने तयारी छ। 

मीनबहादुर गुरुङ अहिलेसम्म हस्पिटालिटी व्यवसायमा संलग्न छैनन्। विभिन्न होटल सञ्चालनमा अनुभवी उमेश श्रेष्ठको कारण नै अन्नपूर्ण होटल सञ्चालनमा हात हाल्न ‘कन्भिन्स’ भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .