म्यागेजिन


पाँच दौँतरीले हाँकेको सुबिसु, प्रेसिडेन्ट पराजुली भन्छन् : सम्बन्ध लगानीको होइन, मनको हो

पाँच दौँतरीले हाँकेको सुबिसु, प्रेसिडेन्ट पराजुली भन्छन् : सम्बन्ध लगानीको होइन, मनको हो

सन्तोष न्यौपाने
चैत ९, २०७६ आइतबार १२:१४,

पार्टनरसिपमा सफल कम्पनी चलाउन ठूलो हृदय चाहिन्छ। मन सफा र एकअर्काप्रति सम्मान पनि हुनुपर्छ।

मन नमिल्दा शिखरमा पुगेको कैयन् कम्पनी डामाडोल भएका छन्। साथीभाइ र दाजुभाइबीच मुद्धामामिला चलिरहेका छन्।

तर, ठूलो मन भएका साथीहरु मिल्ने हो भने कस्तो कम्पनी बन्ला?

सुबिसु केवल नेटका प्रेसिडेन्ट सुधीर पराजुलीसँग मैले यही प्रश्न राखेँ। बालुवाटरस्थित राष्ट्र बैंकअगाडिको ठूलो भवनमा पाँचौ तलाको आफ्नै कुर्सीमा थिए उनी।

उत्तरका लागि उनले धेरै सोच्नै परेन। मन्द मुस्कानसहित भने, ‘ठूलो हृदय र स्वच्छ मन भए सुबिसु जस्तै कम्पनी बन्छ।’

उनलाई लाग्छ, पैसा लगानी गरेर मात्र साझेदारी जम्दैन। मन र विचार मिल्नु पर्छ। व्यक्तिगत सम्बन्ध र पारिवारिक सम्बन्धले साझेदारीको राम्रो जग हाल्छ।

‘मनको सम्बन्ध नभए पार्टनसिप बिग्रिन्छ,’ सुधीर भन्छन्, ‘मन भएन भने सबैभन्दा अगाडि पैसा आउँछ।’

सुधीरले पार्टनरसिपबारे बोल्नु स्वभाविकै थियो। २४ वर्षभन्दा पहिलेदेखि पार्टनरसिपमा चलेको सुबिसुले आज मुलुककै सफल कम्पनीको परिचय बनाएको छ।

तीन जना साथी मिलेर जन्माएको सुबिसु अहिले मुलुकभर फैलिएको छ। ३० लाख लगानी गरेका पाँच जनाको कडा मिहिनेतका कारण कम्पनीको सम्पत्ति दुई सय करोड पुगेको छ।

७३ जिल्लामा पुगेको सुबिसुको टीभी र इन्टरनेट गरेर झण्डै साढे ३ लाख ग्राहक छन्। मुलुकभरका एक सय ७२ वटा कार्यालयमा एक हजार सात सयभन्दा धेरैले रोजगारी पाइरहेका छन्।

काठमाडौंको एक सानो कोठाबाट सुरु गरेको कम्पनीले यो उचाइ कसरी पायो त?

सुधीर र उनीका साथीहरुको स्पष्ट मत छ, ‘पाँच जनाको मिहिनेत र खुला हृदयका कारण।’

sudheer7

पाँच साथी
काठमाडौंको पुरानो सहर डिल्लीबजार। त्यहाँबाट जावलाखेलको सेन्ट जेभियर्स स्कुलमा पढ्न जान्थे सुधीर पराजुली।

कक्षा सातमा पढ्दा उनका नयाँ साथी थपिए। विनयमोहन साउद र सुरेन्द्र श्रेष्ठ।

विनय र सुरेन्द्र गोदावरीको सेन्ट जेभियर पढ्थे। त्यहाँ कक्षा ६ सम्म मात्र भएकाले त्यसपछिको पढाइका लागि उनीहरु जावलाखेल आएका थिए।

केही समयमै सुधीर, विनय र सुरेन्द्र नजिकका साथी बने।

२०४५ सालमा एसएलसी दिएपछि तीनै जना त्यही कलेजमा विज्ञान पढ्न थाले।

कलेज सुरु भएपछि नयाँनयाँ साथी पनि थपिए। खासगरी अमित थापा र दीपक श्रेष्ठसँग उनीहरुको संगत झ्याङ्गियो।

अब पाँच जना हितैषीको बलियो समूह बनिसकेको थियो।

आईएस्सी सकियो। अब के पढ्ने? साथीहरुको सल्लाह भयो– इन्जिनियरिङ पढ्नु पर्छ। परिवारले पनि साथ दियो। सुरेन्द्रबाहेक चारै जना भारतको बेंगलोरको एउटै कलेजमा पढ्न गए।

पढाइ सकेर फर्केपछि उनीहरुका अगाडि प्रश्न थियो– अब के गर्ने?

जागिर नखाने। यसमा उनीहरु सहमत थिए। ‘एउटा कम्पनी खोलेर आफ्नै व्यवसाय गरौँ,’ सुधीर, विनय र सुरेन्द्रबीच सल्लाह भयो।

सन् १९९६ मा कम्पनी खोलेर काम गर्नेतिर उनीहरु लागे। कम्पनीको नाम जुराउन तीनै जना धेरै घोरिए। थरीथरीका नाम आए तर चित्त कसैलाई बुझेन।

‘कुनै नाम मन नपरेपछि हामीले एउटा आइडिया निकाल्यौं,’ सुधीर सम्झिन्छन्, ‘तीनै जनाको नामको पहिलो अक्षर निकाल्ने।’

तीनै जनाको नामको पहिलो अक्षरलाई उनीहरुले ओल्टाइपोल्टाइ गरे। अन्ततः एउटा मिठो नाम जुर्‍यो– सुबिसु। सुबिसु अर्थात सुधीरको सु, विनयको वि र सुरेन्द्रको सु।

अनि बन्यो– सुबिसु इन्टरनेसनल।

आफूलाई अनुभव भएको, पढेको क्षेत्रमै काम गर्नुपर्छ भन्ने उनीहरुलाई लागेको थियो।

त्यसैले उनीहरुको कम्पनीले ट्रेडिङको काम थाल्यो। उनीहरुले सूचना प्रविधि (आईसीटी) सम्बन्धी सामान आयात गर्ने, टेलिकम क्षेत्रका सरकारी टेन्डरमा भाग लिने कामको थालनी गर्न थाले।

sudheer3

सुबिसु केवल नेट र दुई साथी थप
सन् १९९९ तिर मुलुकमा इन्टरनेट प्रविधि भनेको डायल अप, वायरलेस र कर्डलेसमात्र थियो।

वल्र्डलिंक, मर्कन्टाइल जस्ता कम्पनीहरुले ती सेवा दिँदै आएका थिए। भायनेट भर्खर सुरु भएको थियो।

इन्टरनेट स्पिडको के कुरा गर्नु! अहिले त इन्टरनेट प्रयोगकर्ता स्पिडका कारण हैरान छन् भने दुई दशकअघि ४० केबीपीएसभन्दा माथि स्पिड जाँदैनथ्यो। कन्टेन्ट पनि डायलपले धान्न सक्ने मात्र बनाइन्थ्यो। फोटोसहितको ‘रिच कन्टेन्ट’ हुँदैनथ्यो।

विदेशमा भने इन्टरनेको विकास तीव्र भइरहेको थियो। नयाँनयाँ प्रविधि आइरहेका थिए।

त्यति नै बेला भारतको बेंगलोरमा नयाँ प्रविधिको इन्टरनेट आएको समाचार आउन थाले। टीभीकै केवलबाट हाइस्पिड इन्टरनेट पनि बाँड्न मिल्ने प्रविधि थियो त्यो।

त्यो समाचार सुधीरले पनि पढे।

‘एक हजार घरमा जडान गरेर पाइलट प्रोजेक्ट सफल भएको समाचार आयो,’ उनले भने, ‘ल यो त हामी पनि गर्नपर्छ कि क्या हो भन्ने सल्लाह साथीहरुसँग भयो।’

उनीहरुले यस प्रविधिको बारेमा सामान्य अध्ययन गरे। नेपालमा पनि चलाउन सकिने देखियो। खासै महंगो पनि थिएन।

यो एउटै केवलबाट टीभी र इन्टरनेट दुवै दिन सकिने प्रविधि थियो। जसलाई डाटा ओभर केवल स्टान्र्डराइज सर्भिसेस टेक्नोलोजी भनिन्थ्यो।

यो प्रविधिलाई नेपालमा भित्र्याउने निर्णयसहित सुधीरको समूह नेपाल दूरसञ्चार प्राधिकरण गयो। जहाँबाट सञ्चालन अनुमितपत्र लिन आवश्यक थियो।

नयाँ प्रविधि चलाउन अनुमतिपत्र लिन सजिलो भने थिएन।

त्यो बेलासम्म तीन माध्यमबाट मात्र इन्टरनेट चलाउन अनुमति दिने नीति रहेछ– वायरलेस, डायलअप र भीस्याट। वल्र्डलिंकले डायलअप र वायरलेसमा सेवा दिइरहेको थियो भने मर्कन्टाइलले तीन वटै माध्यमबाट।

त्यही नीतिका कारण सुधीरले नयाँ प्रविधि नेपाल ल्याउन पाएनन्।

‘नेपालमा उपलब्ध प्रविधिलाई मात्र लक्षित गरेर नीति बनाउने चलन छ,’ सुधीर भन्छन्, ‘त्यही साँघुरो नीतिका कारण प्राधिकरणले अनुमतिपत्र दिन नसकिने भन्यो।’

उनीहरुले ल्याउन लागेको इन्टरनेट प्रविधिमा तारको प्रयोग हुन्थ्यो। त्यो बेलासम्म चलाइएको तारबाट इन्टरनेट विस्तार हुने सकेको थिएन। झन्डै दुई वर्ष उनीहरुले प्रयास गरे तर सफल भएनन्।

एउटा आइडिया सफल नभएपछि उनीहरु अर्कोतर्फ लागे।

इन्टरनेटसहितको केवलको अनुमति नपाए पनि केवल टेलिभिजनको मात्र सेवा दिने व्यवस्था रहेछ।

सन् २००१ मा केवल टेलिभिजनको अनुमतिपत्र लिए।

‘२००१ जनवरी १ मा केवल टेलिभिजन सुरु गर्‍यौँ,’ सुधीर भन्छन्।

व्यवसाय थप भयो। लगानी पनि थप्नु पर्ने भयो। त्यसका लागि उनीहरुले पुराना साथी सम्झिए।

‘ल आओ तिमीहरु पनि भन्यौँ,’ सुधीर सुनाउँछन्, ‘अमित र दीपकलाई पनि यस कम्पनीमा थप्यौं।’

अमित र दीपक पनि राजी भए।

फेरि पुराना पाँच हितैषीको समूह बन्यो। सुधीर र विनयले इलेक्ट्रिकल्स एन्ड इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरेका थिए भने दीपकले इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ। अमितले कम्प्युटर साइन्स पढेका थिए।

दुई जना थपिने भएपछि पुरानो नाम बदल्ने कि भन्ने विषयमा अलिअलि छलफल पनि भयो।

‘नयाँ थपिएका साथीहरु अमित र दीपकलाई केही अप्ठेरो होला कि भन्ने हामीलाई लागेको थियो,’ सुधीर भन्छन्।

नयाँ नाम खोज्नतर्फ पनि लागे। तर, उपयुक्त नाम सुझेन।

यत्तिकैमा दीपकले भने, ‘सुबिसु राम्रो नाम छ। सजिलो पनि। जापानिज जस्तो पनि। हामीलाई केही आपत्ति छैन। यही राखे हुन्छ।’

त्यसपछि पहिलेका तीन साथीले पनि सहज महसुस गरे र पुरानै नामले निरन्तरता पायो– ‘सुबिसु केवल नेट प्रालि’का रुपमा।

कम्पनीमा अहिले सुधीर प्रेसिडेन्ड, विनयमोहन साउद कार्यकारी प्रमुख र सुरेन्द्र श्रेष्ठ फाइनान्स डाइरेक्टर छन्। तर, उनीहरुको भूमिका फेरबदल भइरहन्छ।

sudheer6

नयाँ कम्पनीको सुरुवात
कानुनी अड्चनले नयाँ प्रविधिलाई रोक्न सक्दैन। त्यो कुरा यी इन्जिनियरहरुलाई थाहा थियो नै। केवलमा नेट पनि वितरण गर्ने प्रविधिलाई खुला नगरी सरकारलाई सुख थिएन।

त्यसैले इन्टरनेटसहितको केवलको अनुमतिपत्र पाउनबित्तिकै सेवा सुरुवात गर्न सकियोस् भनेर उनीहरुले टू वे लाइन अर्थात् टीभीको लाइनमा इन्टरनेट पनि दिन सकिने तार बनाइसकेका थिए।

टीभीको नेटवर्क भनेको वान वे सिस्टम हो भने इन्टरनेट सहितको नेटवर्क भनेको टू वे सिस्टम हो। उनीहरुले पनि टु वे सिस्टममा लगानी गरेका थिए।

सन् २००१ मा केवल टेलिभिजनपछि इन्टरनेट वितरणको लागि प्रयास गरिरहेका थिए। प्राधिकरणले टेरेको थिएन।

सन् २००४ मा प्राधिकरणमा नयाँ नेतृत्व आयो।

‘नयाँ अध्यक्षलाई केही नयाँ गरौं भन्ने थियो,’ सुधीर भन्छन्, ‘उहाँले आएपछि पुरानो नीति परिवर्तन गर्नतिर लाग्नुभयो।’

त्यसपछि माध्यममा होइन, सेवामा आधारित भएर अनुमतिपत्र दिने भन्ने नीति आयो। र, सुबिसुलाई इन्टरनेटसहितको केवल टेलिभिजन सेवाको अनुमतिपत्र लिन बाटो खुल्यो।

सन् २००४ फेब्रुअरीमा उनीहरुले त्यो अनुमति प्राप्त गरे।

पूर्वाधारसहित सबै तयारी पहिले नै थियो। उही केवलबाट जुलाई महिनामै इन्टरनेट वितरण सुरु भयो।

सेवा त सुरु भयो तर त्यसलाई विस्तार गर्नु चानचुने काम थिएन।

‘सुरुवाती चरणमा नेपालमा बसेका विदेशीहरुले तारसहितको यो इन्टरनेट प्रविधि अपनाइहाले,’ सुधीर भन्छन्, ‘यो इन्टरनेट हाइस्पिडमा आउँछ, गुणस्तरीय हुन्छ भन्ने उनीहरुलाई विश्वास थियो।’

तर, डायलअपमा बानी परेका नेपालीलाई भने तार सहितको नेटवर्कमा विश्वास दिलाउन निकै गाह्रो पर्‍यो उनीहरुलाई। यो महंगो पनि थियो। डायलअप मोडियम बजारमा १७–१८ सयमा पाइन्थ्यो। सुबिसुको नयाँ मोडियमको मूल्य भने सातआठ हजार थियो।

सुबिसुले ल्याएको मोडियम वायरलेसभन्दा सस्तो र डायलअपभन्दा महंगो थियो। वायरलेसको १७ –१८ हजार पर्थ्यो। भीस्याट भने धेरै नै महंगो थियो। ४–५ लाख पर्थ्यो।

नयाँ प्रविधिलाई नेपाली उपभोक्तामाझ स्थापित गराउन उनीहरुले राम्रै मेहनत गर्नुपर्‍यो। उपभोक्ता विस्तारै डायलपबाट तारसहितको इन्टरनेट प्रविधिमा बानी पर्दै गए।

नयाँ व्यवसायको लागि २ वर्ष धेरै समय होइन। त्यही अवधिमा सुबिसुले आफ्नो व्यवसायलाई लोकप्रिय बनाइसकेको थियो।

‘२००६–२००७ तिर आइपुग्दा वायरमा त हाम्रो एकलौटी जस्तै भइसकेको थियों,’ सुधीरले भने, ‘अरु कोही पनि थिएन, वायरमा चलाउने।’

sudheer

बैंकिङ क्षेत्रमा पनि पकड
सन् २००६ मा बैंकिक क्षेत्रमा नयाँ प्रविधि आयो। बैंकबाट पैसा झिक्न एससीटी कार्डको प्रयोग गर्न सुरु गरिएको थियो।

तर, समस्या थियो गुणस्तरीय इन्टरनेटको। वायरलेसबाट उनीहरुले यो काम गरिरहेका थिए तर धेरै समय लाग्थ्यो। इन्टरनेट नेटवर्क बीचैमा काटिन्थ्यो।

यही समस्याले एससीटीले सोचेजस्तो व्यवसाय वृद्धि गर्न सकेको थिएन। बैंकसँग एटीएम कनेक्ट हुन नसक्दा ट्रान्जेक्सन असफल हुने समस्या थियो।

त्यसैले एससीटीका प्रतिनिधिले सुधीरसँग सम्पर्क राखे।

‘उहाँहरुले ल हामीलाई पनि यो यो सर्भिस चाहियो, तारबाट इन्टरनेटको सेवा दिनुहुँदो रहेछ। हामीलाई पनि सहयोग गर्नुपर्‍यो भन्नुभयो,’ सुधीर भन्छन्।

केवल मोडियम प्रयोग गरेर सुबिसुले कनेक्टिभिटी मिलायो। त्यसपछि एससीटीको सेवा पनि राम्रो भयो। उनीहरुले सोचेअनुसारकै गुणस्तरीय सेवा पाए।

त्यसअघि यो सेवा भीस्याटले दिइरहेको थियो, जुन अत्यन्त महंगो थियो।

एससीटी सेवामा प्रयोग हुने एटीएममा सुरक्षाका विषयलाई अझ मजबुत र विश्वसनीय बनाउन तर्फ सुबिसुले काम गर्न थाल्यो। जसले एससीटी, सुबिसु र उपभोक्तबीच विश्वासको वातावरण सिर्जना सक्थ्यो।

त्यसैको लागि उनीहरुले नयाँ प्रविधि खोज्न थाले। त्यसै वर्ष उनीहरु नयाँ प्रविधिको रुपमा ‘मेट्रो इथेनियम’ प्रयोगमा ल्याए।

यो प्रविधिले सुबिसुको सिस्टममा नछिरिकन एक प्वाइन्टबाट अर्को प्वाइन्ट जोडिदिने काम गर्थ्यो। जसले एससीटी कार्ड प्रयोग गरेर पैसा झिक्दा सुबिसुको सिस्टममा नछिरी कारोबार गर्न सकिने भयो। यो अझ सुरक्षित र भरपर्दो भयो।

यो सिस्टमबाट बैंकको सेवा सुरक्षित र छरितो भयो भने ‘फाइनान्सियल इन्स्टिच्युसन कनेक्टिभिटी’ सेवाका लागि सुबिसु विश्वसनीय कम्पनीको रुपमा खडा भयो।

‘हाम्रो विश्वसनीय सेवाको तारिफ नै भयो,’ सुधीर भन्छन्, ‘राष्ट्र बैंकले पनि यो प्रयोग गर्न थाल्यो।’

यो सुबिसुको अहिले पनि प्रमुख व्यवसाय हो। उसको डाटा सर्भिसलाई अधिकांश बैंकले प्रयोग गरिरहेका छन्।

एससीटी कार्ड प्रयोग गर्ने सबै, विदेशमा कारोबार गर्ने, टीटी गर्ने, एलसी खोल्ने जस्ता सेवाको लागि सुबिसु नभई हुँदैन। अर्थात् स्विफ्ट (सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन)को उनीहरु आधिकारिक सेवा प्रदायक हुन्।

sudheer4

एनालगबाट डिजिटलको फट्को
विश्वमा केवल टेलिभिजन एनालगबाट डिजिटलमा रुपान्तरण भइरहेका थिए। डिजिटल प्रविधि नेपालमा भने आइसकेको थिएन। अब सुबिसुको ध्यान त्यो प्रविधि नेपाल भित्र्याउनतिर गयो।

सन् २०१० मा सुबिसुले डिजिटल केबुल टेलिभिजन प्रविधि ल्यायो। त्यसको प्रतिक्रिया राम्रो आयो। राम्रो चल्ने लक्षण पनि देखाइसकेको थियो।

तर, यस प्रविधिमा पनि कानुन अड्चन बन्यो।

जसका कारण डिजिटल केवल टेलिभिजनका लागि छुट्टै अनुमतिपत्र लिनुपर्ने भयो। पुरानो एनालगको अनुमतिपत्रले काम नगर्ने भन्यो सरकारले।

‘अनुमितपत्र लिन ठूलो कुरा थिएन,’ सुधीर भन्छन्, ‘चलिरहेको केवल टेलिभिजनमा नयाँ प्रविधिमा जाँदा पनि नयाँ लाइसेन्स लिनु पर्ने त्यो पनि ठूलो रकममा। त्यो अलि नमिल्दो थियो।’

नयाँ लाइसेन्स लिँदा अत्याधिक महंगो शुल्क तिर्नुपर्ने व्यवस्थाप्रति उनीहरुको विमति थियो। प्रति च्यानल १ लाख २५ हजार वार्षिक रुपमा तिर्नु पर्ने थियो। त्यस हिसाबले हेर्दा ३ सय च्यानललाई ३ करोड ७५ लाख अनुमतिपत्रमा मात्र जान्थ्यो।

यसरी हुँदैन भनेर उनीहरु सरकार समक्ष लविङ गर्न थाले। यसैमा झण्डै २ वर्ष बित्यो। अन्ततः नयाँ प्रविधिले फेरि पनि हार खायो। सुबिसुले डिजिटल सेवा बन्द गर्‍यो।

तर, केही वर्षपछि सरकारले सन् २०१४ मा डिजिटल टेलिभिजनका लागि नयाँ नीति ल्यायो। जसअनुसार नेपालभर बाँड्ने हो भने यसका लागि सुरुको अनुमतिपत्रको शुल्क एक करोड रुपैयाँ र प्रत्येक वर्ष नवीकरण शुल्क १० प्रतिशत अर्थात् १० लाख मात्र लाग्ने भयो।

स्थानीय रुपमा मात्र वितरण गर्ने हो भने अनुमतिपत्रको शुल्क नै नलाग्ने नियम सरकारले ल्यायो।

सुबिसु पहिले नै डिजिटलमा गइसकेको थियो। सरकारले अपनाएको नयाँ नियमले उनीहरुलाई अझ सहज भयो। सरकारको नयाँ नियमसँगै सुबिसु डिजिटल केवल टेलिभिजनमा अग्रणी कम्पनीका रुपमा सञ्चालित छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad