भारतीय लेखक मन्नु भण्डारीको चर्चित उपन्यास छ आपका बंटी। उपन्यासमा बाबुआमाका बीच सम्बन्ध टुटेपछि हुर्कंदै गरेको बंटीको मनोविज्ञानको कथा छ। सम्बन्ध टुटेपछि सन्तानलाई केन्द्रमा राखेर आफ्नो जीवनसँग सम्झौता गर्न नचाहने व्यक्तित्वको अलग परिचय खोज्दै संघर्षरत एउटी मध्यमवर्गीय भारतीय महिलाको मनोदशा र त्यसबाट बच्चामा परेको असरको विस्तारमा चर्चा छ।
उपन्यासमा तीनजना पात्र छन् खासमा। सन्तान बंटी, बाबु अजय र आमा शकुन। अजय र शकुनका बीच सम्बन्धमा तनाव बढ्दै जाँदा शकुनले अलग हुने निर्णय गर्छे। बंटी आमासँग रहन्छ। तर आमा सँगै भएर पनि बंटीसँग रहन्न। अर्थात् ऊ आफ्नो करिअर, जीवन र संघर्षमा हिस्साहिस्सा बाँडिन्छे र उसको सानो अंश मात्र बंटीको भागमा पर्छ। यसले बंटीलाई एक्लो, परित्यक्त र बच्चा उमेरमा नै निराशाको छेउमा पुर्याउँछ। बाँकी कथा मलाई उति सम्झना छैन।
बसन्त बस्नेतको दोस्रो उपन्यास सिमसारा पढेर सक्दा मलाई बंटीको याद आयो। बाबु धनरूप र आमा मन्दाक्रान्ताका जैविक, मानसिक सम्बन्धहरूमा तनाव आउन थालेपछि, एउटी स्त्रीले पुरुषबाट गर्ने अपेक्षाहरूसँगै पुरुषका अहँ तुष्टिका विस्तारित मैदानलाई खुम्च्याउँदै लगेपछि उत्पन्न घातक परिणाम व्यहोर्दै संवत् या एक मात्र छोरोमा परेको पीरको मनोविज्ञान नै यो उपन्यासको मूल कथा हो।
धनरूप, मन्दाक्रान्ता, संवत, इश्वी र छायाँदेवी कार्की पाँचजना पात्र लिएर बुनिएको तर खासमा चैँ धनरूप, मन्दाक्रान्ता र संवतका जीवन कथा, दुःखका कथा, भरभराउँदोबाट सेलाउँदै गएको चिसो हुँदै गएको प्रेमको कथा।
संवत्
यो अलि हुर्केको समयको बंटी हो। किशोरकालीन सपनाहरू देख्न थालेको उमेरको। बाबु र आमाका सम्बन्धहरू बिग्रँदै गएको समयमा घरमा व्याप्त अँध्यारो, उराठलाग्दो विरक्ति र ठिहीले खाएको जस्तो साँझ बिहान व्यहोर्दै हुर्कंदै गरेको संवतको। बाबुआमाको मिलनको पर्खाइमा रहेको। बाबुलाई गलत देख्न नसक्ने र आमाको माया अघोर लाग्ने मनभित्र विचारहरूलाई स्थिर हुन नदिने बरु होर्लाङपाटो खेलाइदिने दैनन्दिनका उराठलाग्दा समयहरू।
अलि शिखरतिर फुलीबस्ने पैयुँ र थोरै कछाडतिरको गोगन प्रेम र वियोगको कथा। एउटा बिम्ब बनेको छ। संवतको आँगनमा पैयुँ फुल्छ। गोगन यताहुँदी छैन। कहावतमा गोगन र पैँयुको पुरानो र उदास प्रेम कथा छ। बिजुवाले संवतलाई सुनाएको।
संवतकी आमा मन्दाक्रान्ताको पति अन्तकतै प्रेम र विवाह गरिबस्छ र मन्दाक्रान्ता ओइलाउँदै सुक्दै गएकी छ। अभाव छ प्रेमको। संवतलाई अभाव छ आमाबाबुको प्रेमकै। उनीहरू प्रेममा हुन्थे भने संवतलाई सारा संसार जितेको महसुस हुँदो हो। तर उसको किशोरकाल बुढिँदै गएको छ। आमालाई सघाउँदै, एक्लै टोलाउँदै। आवाराहरूको संगत गरेर रक्स्याहा हुँदै स्कुले जीवनका अन्तिम वर्षहरू बित्दैछन्।
बाबु नभएको घरमा किशोरकालमै पुरुष हुनुपरेको छ। आमा महिला हुन्, उनले घरको नेतृत्व गर्नुहुन्न। पुरुष हो, बालखै भए पनि संवतले नै नेतृत्व अनि संरक्षण गर्नुपर्छ घरको। यो परम्परादेखि थोपरिएको चेतले संवतलाई बुढो बनाउँदै लगेको छ। सपना देख्ने र पखेटा हाल्ने बेलामा कुँजिएको छ। सम्पूर्णमा कथा यही हो- पतिपत्नीको सम्बन्ध बिग्रेको घरको सन्तानको जीवन कसरी उराठिन्छ। उसले फक्रन फुल्न पनि पाउँदैन।
अहिले सन्तान हुर्काउने एकल आमाहरू (कहीँकतै बाबुहरू पनि) को संख्या बढ्दो छ। तिनका सन्ततिले जीवनमा केही अभाव महसुस गर्दा हुन्। तर यहाँ चैँ तनाव छताछुल्ल छ। त्यसले हुर्कंदो किशोरलाई भित्रैदेखि कमजोर र लाचार बनाउँछ।
कथा मन्दाक्रान्ताको पनि हो। आफूले सम्पूर्ण जीवन समर्पण गरेको पुरुषले धोका दिएपछि परम्परागत समाजमा स्त्रीले ब्यहोर्ने सामाजिक अपमान, हिंसा र आफ्नो पराजयबोधको भयानक पीडा।
मन्दाक्रान्ता
‘फेरि आमालाई पढ्न लेख्न पनि त आउँदैन। वहाँले मिटिङमा बसेर के काम?
साँझमा घर पुगेर मैले स्कुलमा भएको कुरा सुनाएँ। आमा बम्किनुभयो, तैँले किन खुरुक्क मानेको? त्यो चिठी ल्याउनु पर्दैन?
मैले केही भन्न सकिनँ। उहाँले नै सोध्नुभयो, म चैँ तेरो अभिभावक हुइनँ? के मैले खाइनखाइ गरेर तँलाई स्कुल पठाकी होइन? सबथोक गर्ने म। अभिभावक चैँ ऊ?
आमा बड्बडाउँदै भित्र जानुभयो।’
पुरुष या पतिले त्यागेका या आफ्नै रोजाइले पति छाडेका या जीवनका अनेक रङमा घोलिएर आफ्नो सन्तानको नाम ठेगाना नखुलाई आफ्ना खुसीले एक्लै सन्तान हुर्काइरहेका अनेक आमाहरूका साझा अभिव्यक्ति हुन् यी। अहिले पनि नागरिकता लिने समयमा यस्ता आमाका सन्तानहरूले पाइरहेका सास्तीका अनेक कथा आइरहन्छन्।
यहाँ भिन्न प्रसंग छ। धनरूप अर्की कान्छी पत्नीसँग अर्को गाउँमा बस्छन्। यता मन्दाक्रान्ता संवतको लागि आमा र बाबु दुवैको भूमिकामा छन्। तर समाजले, विद्यालयले र कतिसम्म भने संवतले पनि अभिभावक चैँ आमाहरू हुन सक्दैनन् भन्ने धारणा पालेर बसेका छ, जुन हत्तपत्त सुकेर जानेवाला छैन। त्यो पनि अस्ति भरखर साठीको दशक सुरु हुनलाग्दाको कुरा।
मन्दाक्रान्ता आफ्नो पतिभन्दा पाँच वर्ष जेठी छन्। आरम्भमा दुवैको जीवन सहज झैँ देखिन्छ। हुलाकको जागिर भएको धनरूप र गृहिणी र परम्परागत संस्कारमा हुर्केकी मन्दाक्रान्ता मिलेर एउटा नयाँ संसार बसाएका छन्। गाउँबाट अलि पर, दाजुभाइबाट अलि पर चिहानघारीकै छेउमा एउटा राम्रो घर बनाएका छन्। त्यसपछि धनरूपको जागिर सरुवा भएर सिमसारा जानुपरेको छ उतै बस्नेगरी। यो जागिरको सरुवासँगै दुईजनाका बीच तनाव बढ्दै गएको छ। सम्बन्धमा खटपट बढेसँगै धनरूपको घर आउने समय लम्बिँदै गएको छ। घरमा आउँदा उसमा स्त्रीप्रेमको आतुरता घट्दै गएको छ। यो अनुभवी स्त्रीका रूपमा मन्दाक्रान्ताको मनलाई झस्काउने स्तरमा बढ्दै गएको छ। खटपट। छोरा संवतको किशोरकालीन मनोविज्ञानले यो खटपटको छनक पाउँदै छ।
पत्नीसँगका सम्बन्धहरूमा खटपट पर्दै गएपछि धनरूप आफूभन्दा १८ वर्ष कान्छी भर्खर हाइस्कुल पास गर्दै गरेकी एउटी केटीसँग प्रेम गर्छ। उसँग बिहे गर्छ र सिमसारामा नयाँ घर बसाउँछ। पहिले पहिले ठुस्किने, मिल्ने हुँदै बाँचिरहेको लोग्ने–स्वास्नीको सम्बन्धमा काँडा पसेको छ। धनरूप घर आउन र छोराको पढाइ र घरको व्यवस्थापनमा ध्यान दिन छाड्दै गएको छ। यद्यपि, ऊ छोरामाथिको अधिकार गुमाउन चाहँदैन र स्कुलसम्म आइरहन्छ।
केही समय हेरकोर, पूजापाठ, ग्रहशान्ति, जोगी, बिजुवा र पण्डितहरूको सहारामा मन्दाक्रान्ता पतिलाई आफूतिर फर्काउन कोसिस गरिहेर्छिन्। हार खान्छिन्।
यता छोराको शिक्षादीक्षा र घरको रखबार सबै मन्दाक्रान्ता एक्लैले गरिरहेकी छिन्। तर उनको मनमा पनि आफ्नो अस्तित्न्वको खोजीको तीव्र आन्दोलन सुरु हुन्छ। माइतीबाट बाबुले धनरूपकै पक्ष लिन्छन्, पुरुषले पुरुषको पक्षधरता। बहिनीहरूले पनि परित्यक्त नारीका पक्षमा सहानुभूति देखाउनको साटो हेला गर्न थाल्छन्। गाउँलेहरू एक्ली आइमाई, लोग्नेले छाडेकी भनेर कुरा काटी बस्छन्।
त्यही बेला मन्दाक्रान्ताको मनमा एउटा विद्रोहको जन्म हुन्छ। उनले एकातिर जिल्ला अदालतमा अंशमुद्दा हाल्छिन्, अर्कोतिर माओवादी जनअदालतामा पनि पतिका विरुद्ध मुद्दा दिन्छिन्। मुद्दा परेपछि धनरूपको व्यक्तित्व, आत्मविश्वास, पुरुष अहं ध्वस्त भएको छ। ऊ सम्पूर्ण आत्मसम्मान गुमाएर हारेको पौरुषत्वको चोटमा छ।
अन्तिममा माओवादी सहितको उपस्थितिमा भएको सभा कचहरीमा मन्दाक्रान्ताले आफ्नो सौता हुन आएकी केटीलाई सुत्केरी हुँदा मासु खानु भन्दै केही पैसा थमाएर दिन्छिन् र आफ्नो लोग्नेको सम्पूर्ण पुरुष रवाफ निचोरेर पठाउँछिन्। हाम्रो सन्दर्भमा, गाउँकी एकजना अशिक्षित महिलाले आफ्नो अहं र अस्तित्वको खोजी र त्यसमा पाएको सफलताको कथा हो मन्दाक्रान्ताको तर्फबाट हेर्दा।
यसमा लेखक एउटी शक्तिशाली महिला पात्र निर्माण गर्न सफल देखिन्छन्। यो उपन्यासको सबैभन्दा बलियो पक्ष पनि यही हो।
धनरूप : आफैँभित्रको ताप हराउँदाको सन्ताप
वास्तवमा लेखकले धनरूपमाथि चाहिँ अलिकति अन्याय गरेका छन्। उसलाई नियतिको दासजस्तो बनाएका छन्। नियतिको दास बनाउँदै जाँदा दोस्रो बिहेलाई उचित ठहर्याउन खोजेको जस्तो। एउटा चिसो र अन्तरमुखी पुरुषका रूपमा धनरूप समाजको अपवाद पात्र जस्तो उभिएको छ। समाजको र परम्पराको सिकार भएको असन्तोषले भरिपूर्ण पुरुष।
पत्नी भएर पनि पत्नी सुख लिन नसकेको, सन्तान भएर पनि सन्तान सुख लिन नजानेको, नसकेको। पतिको या पिताको कर्तव्य पूरा गर्न चुकेको र आफूमै कतै हराइरहेको अनौठो जीवनका रूपमा उसको उपस्थिति अन्ततः समाजका सामु जेठी पत्नी र छोराका सामु शिर झुकाएर एउटा निरीह पुरुषका रूपमा उसलाई बिदा गरिएको छ। के के नमिलेको जस्तो लागिरहन्छ। सायद पुरुषका प्रति हाम्रो मनोविज्ञानमा रहेको छापले पनि अलिकति पाठकलाई पूर्वाग्रही बनाएको हुनसक्छ।
लिम्बुवानको फ्लेवर
हामी पश्चिमतिर हुर्केका र पूर्वीपहाडका लिम्बुभाषी क्षेत्रसँग कम परिचितहरूका लागि यो पुस्तक पढ्दा एकप्रकारको नबुझेको तर स्वादिलो रैथाने रस प्राप्त हुन्छ। शब्दहरू छन्, स्थान नाम विशेष छन्, र प्रयोगका बान्कीहरू छन्।
‘लु मलाई बतासै खुसी लाग्यो नातिठूले आउँदा। नत्र पेनीबाहरू घुम्दै फिर्दै यति अप्ठ्यारोबाटो हिँडेर कसरी आइपुग्छ र। हहह।’
लिम्बू बिजुवाको यो संवाद सुन्दा एकप्रकारको स्वाद आउँछ।
नमिलेका कुरा
संवत् सातआठ पढ्दै छ। तर उसको चेत चैँ आफ्नो वर्ग विश्लेषण गर्ने भइसकेको जस्तो देखाउँछन् लेखक। वर्गचेत त सबैमा हुन्छ। गाउँ, सहर जता होस्, स्कुले जीवनमै धनीका छोर्छोरीले गरिबका सन्तानलाई हेप्छन्। गरिबी यति खराब कुरा हो, तपाईं त्यसलाई कत्ति पनि छोप्न सक्नुहुन्न। यो चेतना गरिबलाई पनि धनीलाई जत्तिकै हुन्छ।
तर त्यसलाई वर्गको कुरा भन्न भने राजनीतिक चेतना चाहिन्छ। यता संवत् भन्छ– घरले हाम्रो वर्ग बोलिरहेको थियो। यो चैँ मिलेन है लेखक महोदय! वर्गभेदको चेतना हुनु र त्यसलाई वर्ग बोलिरहेको बुझ्नु निकै फरक कुरा हुन्।
किशोर अवस्थाका जिज्ञासा र अंकुराउन थालेको प्रेम स्याहार्दै गरेको संवतले आफ्ना आमाबाबुका कहिलेकाहीँ टाँडका प्रेमालापका बारेमा गरेका कुरा पनि अमिल्दा छन्। त्यतिबेलासम्म संवतलाई स्त्रीपुरुषका अन्तरंग सम्बन्धका बारेमा थाहा भइसकेको छ तर पनि नजानेजस्तो, अबुझजस्तो देखाउन खोजिएको छ। यो चैँ अमिल्दो नै देखिने।
नभन्न खोजिएको कुरा
‘घर त हजोरहरूले दुखेन्जी बनाउनु भयो। राम्रो पनि हो। तर यो सारो चिसो घर हो। जति मन्छाए पनि नमन्छिने गरी यसको जमिनमुन्तिर राक्षस बसेको छ। तेल्ले अलिअलि गर्दै..जोगी रोकियो। ऊ फेरि सिँक्क सिँक्क रुन थाल्यो। बुवाले आमालाई हेर्नुभयो। आमाले मलाई। अरुले हामीलाई।’
यो जोगीको कथन हुलाकी धनरूप, उसकी पत्नी मन्दाक्रान्ता र छोरो संवतको बिग्रँदै गएको जीवन, भौतिक रूपमा सिंगो र बलियो भएर पनि परिवार नै भित्रभित्रै मक्किँदै गएको घर र त्यसले निम्त्याएको मनोविज्ञानलाई व्यक्त गर्ने बिम्ब हो। तर यसलाई धनरूपको परिवारबाट एकछिन उछिट्याएर नेपाल भन्ने घरको मूलखाँबो नमिलेको कुरासँग भिडाएर हेर्नुस् त। यो हाम्रो देशको समग्र कथाजस्तो छ। दुखेन्जी बनाएको घर त हो तर धेरैका लागि बेस्सरी चिसो।
हामीले उहिलेदेखि सुन्दै आएको– सिंहदरबारको कुर्सीमुनि चन्द्रशमशेरको प्रेत छ, त्यसैले त्यहाँ जो गए पनि जनताका पक्षमा काम गर्न सक्दैन बरु नयाँ रूपको नक्कली चन्द्रशमशेरमा रूपान्तरित हुन्छ। अर्थात् यो घरको मूलखाँबो मिलेको छैन। दलहरू झगडा गरिरहन्छन् सत्ताका लागि। नेताहरू झगडा गरिरहन्छन् सत्तामा जान र सार्वजनिक स्रोतमाथि नियन्त्रण गर्नका लागि।
तिनीहरू मन्दाक्रान्ताका पति या संवतेका पिता धनरूप जस्ता छन्, पत्नी र छोराबाट विमुख भएर नयाँ घरजम गरेर बसेका। तिनको जनताप्रतिको चासो धनरूपले संवतेको बिग्रेको नतिजा स्कुलमा आएर सुनेपछि देखाएको माया जस्तो छ। जनताको दुःख देखेर आँसु पनि बगाइदिने तर जिम्मेवारी पूरा नगर्ने। बिहे गरेर ल्याएकी पत्नी र माया गरेर हुर्काएको छोरो अनि लोग्नेस्वास्नी मिलेर बस्न श्रम गरेर बनाएको घर त्यागेर त्यागेर आफूभन्दा झण्डै बीस वर्ष कान्छी पत्नी लिएर बस्ने धनरूपको कुरा पनि उस्तै हुन् कि झैँ लागेर आउने।
यति भनौँ कि त। कतै तपाईंकै जीवनमा या वरपर संवतहरू हुर्कंदै छन् कि? तिनलाई सहयोग गर्नुस् खासगरी शिक्षकहरूले।
औपन्यासिकता परिपक्व छ। पढ्दा एकप्रकारको आकर्षण र पाठकलाई तान्ने क्षमता राख्छ। कथ्य शैली मजाले माझिएको छ। दोस्रो उपन्यासमा आउँदा बसन्तमा एउटा गम्भीर फिक्सन लेखकको संकेत मिलेको छ।
पाठकहरूलाई अन्तमा भनिहालूँ : बीपी कोइरालाको उपन्यास बाबु, आमा र छोरा धेरैले पढेको हुनुपर्छ। त्यहाँ तीनजना पात्रहरूको जेलिएका सम्बन्धहरूको अनौठो प्रयोग छ। आमा बनेकी महिला आफ्ना पतिको छोरासँगको प्रेममा हुन्छे र उसको तर्फबाट गर्भवती बनेकी हुन्छ। नियतिले आमा र छोरा बनेका ती पात्र र परिस्थितिले सानिमा र छोरा बन्न पुगेका इश्वी र संवतको सम्बन्ध कतैकतै उक्त उपन्यासको प्रभावमा परेको हो कि भन्ने लाग्न सक्छ।
जे होस्, बसन्तको सिमसारा समकालीन नेपाली साहित्यमा आएको नयाँ र अर्थपूर्ण उपन्यास हो।
Shares

प्रतिक्रिया