ad ad

म्यागेजिन


बेइजिङमा साढे दुई हजार तस्बिरभित्र सम्मानसाथ समेटिएका राजा वीरेन्द्र

बेइजिङमा साढे दुई हजार तस्बिरभित्र सम्मानसाथ समेटिएका राजा वीरेन्द्र

राजा वीरेन्द्र बोआओ फोरमको उद्घाटन सत्रमा सहभागी हुँदै गर्दाको तस्बिर


सीताराम बराल
जेठ १८, २०८१ शुक्रबार १८:५४, बेइजिङ

‘एसियाका लागि बोआओ फोरम’ को सन् २०२४ को सम्मेलन (१३–१६ वैशाख २०८१) मा सहभागी हुन म पनि चीनको हाइनान प्रान्ताको बोआओ पुगेको थिएँ। चीनको दक्षिण–पूर्वी प्रान्त हाइनानको सुन्दर नगरी बोआओको दोंग्यू टापुस्थित बोआओ फोरमको उद्घाटन कार्यक्रमभन्दा मेरो बढी ध्यान एउटा तस्बिरको खोजीमा थियो। 

त्यो तस्बिर बोआओ फोरमको पहिलो संस्करण उद्घाटन समारोहसँग सम्बन्धित थियो। बोआओ फोरमको उद्घाटन सत्रको मञ्चमा तीनजना विशिष्ट अतिथिका लागि मात्र बस्ने व्यवस्था मिलाइएको थियो। 

संसारभरका एक से एक नेताहरू उपस्थित बोआओ फोरमको उद्घाटन सत्रको मञ्चमा बस्ने अवसर पाएका नेताहरूमा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङ चमिन, मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मद र नेपालका राजा वीरेन्द्र थिए। 

बोआओ फोरमको उद्घाटन सत्रमा राजा वीरेन्द्रको सहभागिता उनको जीवनमा धेरै हिसाबले महत्व राख्ने घटना थियो। 

त्यो उनको जीवनको अन्तिम चीन भ्रमण त थियो नै अन्तिम विदेश भ्रमण पनि थियो। अन्तर्राष्ट्रिय रुपमा उनले सर्वाधिक सम्मान प्राप्त गरेको मञ्च पनि त्यही थियो। 

मलाई बोआओ फोरमसँगै उनको त्यो अन्तिम चीन भ्रमणलाई केन्द्रित गरेर स्टोरी लेख्नु थियो। उनी उपस्थित बोआओ फोरमको उद्घाटन समारोहलाई मैले मुख्य तस्बिर बनाउने सोचेको थिएँ। 

त्यसो त, सन् २०१८ मा पनि अर्कै कार्यक्रमको सिलसिलाा म बोआओको त्यही सम्मेलन केन्द्रमा पुगेको थिएँ र दुई दिन बिताएको थिएँ। त्यतिबेला पनि मैले राजा वीरेन्द्र उपस्थित बोआओ फोरम उद्घाटन सत्रको तस्बिर कतै देख्न पाइनँ। 

यसपटक चाहिँ अत्यावश्यक नै भएकाले मेरो दृष्टि त्यही तस्बिरको खोजीमा थियो।

तर, बोआओमा त्यो तस्बिर भेटिएन।   

बोआओ फोरममा राजा वीरेन्द्रको सहभागिता र अन्तिम चीन भ्रमणबारे लामो स्टोरी त लेखेँ, तर त्यो तस्बिरबिनै।

बोआओमा समेत नभेटिएको त्यो महत्वपूर्ण तस्बिर करिब एक महिनापछि चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को संग्रहालयमा भेटियो बेइजिङमा। 

खोजी गर्ने क्रममा के पनि जानकारी प्राप्त भयो भने संग्रहालय निर्माण र त्यहाँ त्यो तस्बिर राख्नमा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको भूमिका थियो।  

यसकारण बन्यो संग्रहालय
चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) एक सय दुई वर्षअघि २३ जुलाई १९२१ मा स्थापना भएको थियो। यस हिसाबले सन् २०२१ मा सीपीसी स्थापनाको एक सय वर्ष पुग्थ्यो।   

चीनलाई विकासको उत्कर्षमा पुर्‍याएको सीपीसीको शताब्दी वर्षगाँठ भव्य रुपमा मनाउने तयारी राष्ट्रपति सीले जिम्मेवारी सम्हालेलगत्तै सुरु गरेका थिए।

पार्टीको सय वर्षको इतिहास नयाँ पुस्ताले थाहा पाउने गरी विशाल संग्रहालयको निर्माण यिनै तयारीमध्येको एउटा पक्ष थियो। पार्टी महासचिव एवं राष्ट्रपति सीको अध्यक्षतामा बसेको केन्द्रीय समितिले सन् २०१७ मा संग्रहालय निर्माण गर्ने निर्णय गरेको थियो।

लगत्तै सीपीसीले संग्रहालय भवनको डिजाइनका लागि दरखास्त आव्हान गर्‍यो। ७ वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिए। यसमध्ये बेइजिङ इन्स्टिच्युट अफ आर्किटेक्चरल डिजाइन ग्रुप (बीआईएडीजी) ले प्रस्ताव गरेको डिजाइन स्वीकृत भयो।  

यो इन्स्टिच्युटले ‘एच’ (तर, होरिजेन्टल) आकारको भवनको प्रस्ताव गरेको थियो। चिनियाँ भाषामा यसको अर्थ ‘होङ’ हुन्थ्यो। 

चिनियाँ भाषामा ‘होङ’ को अर्थ ‘गरिखाने श्रमजीवी जनता’ हो। चिनियाँ कम्युनिस्ट पार्टी श्रमजीवी जनताको अग्रदस्ता हो भन्ने मान्यताको आधारमा ‘एच’ संग्रहालयका लागि ‘बीआईएडीजी’ ले सो भवनको डिजाइन प्रस्ताव गरेको थियो। 

डिजाइन स्वीकृत भएपछि २६ अगस्ट २०१८ (१० भदौ २०७५) मा राष्ट्रपति सीले संग्रहालय भवनको शिलान्यास गरे। शिलान्यासको दुई हप्तापछि १० सेप्टेम्बर २०१८ (२५ भदौ २०७५) मा यसको निर्माण कार्य सुरु भयो। 

संग्रहालय स्थापनाको उद्देश्य सीपीसीको इतिहासलाई नयाँ पुस्ताका अघिल्तिर जीवन्त रुपमा प्रस्तुत गर्ने र पार्टीको इतिहास अध्ययन गर्नेहरूका लागि आधिकारिक थलो बनाउने थियो। पार्टीको सय वर्षको इतिहासलाई एकै स्थानबाट प्रस्तुत गर्ने र सर्वसाधारणहरूका लागि पार्टीको नीति निर्देशन जानकारी हासिल गर्ने थलो पनि यो संग्रहालय हुने विश्वास राष्ट्रपति सीले लिएका थिए। 

भ्रमणमा जानेहरूलाई सहयोग पुर्‍याउन संग्रहालयभित्र एउटा छुट्टै ‘पोस्ट अफिस’ समेत स्थापना गरिएको छ, जसको कोड नम्बर १००१०० हो। यो कोडको अघिल्लो १०० ले सीपीसीको सय वर्षको इतिहास बताउँछ। पछिल्लो १०० ले भने ‘आगामी सय वर्ष पनि चीनको नेतृत्वमा सीपीसी नै रहनेछ’ भन्ने सन्देश दिन्छ।

५० हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको विशाल संग्रहालय भवन निर्माण सुरु भएको ठीक एक हजार दिन (२.७३ वर्ष) मा निर्माण सम्पन्न भएको थियो। 

निर्माणमा ५० हजार पार्टी नेता–कार्यकर्ता लगायत शुभेच्छुक सहभागी भएका थिए। पार्टी स्थापनाको शताब्दी (८ साउन २०७८) सम्म निर्माण सम्पन्न गरेर प्रदर्शनीमा ल्याउने लक्ष्य थियो। उद्देश्य अनुसार नै ५ मे २०२१ (२२ वैशाख २०७८) मा भवन निर्माण सम्पन्न भयो। १५ जुलाई २०२१ मा संग्रहालय सर्वसाधारणका लागि खुला समेत गरियो।

१८ जुन २०२१ (४ असार २०७८) मा राष्ट्रपति सीले संग्रहालयको उद्घाटन गरे। संग्रहालयको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि यसको अवलोकन गर्ने पहिलो आधिकारिक व्यक्ति पनि उनै थिए। 

चीनमा ७५ वर्ष शासन गरेको पार्टी भएकाले यसको विभिन्न मुलुक, नेता र राष्ट्राध्यक्ष–सरकार प्रमुखहरूसँग सम्बन्ध छ। राजा वीरेन्द्र उपस्थित बोआओ फोरमको उद्घाटन सत्रको तस्बिर संग्रहालयमा प्रदर्शनीमा राखिएका सामग्रीमा पर्नुको कारण यही हो। 

बेइजिङको उत्तरीभागमा रहेको ओलम्पिक रंगशाला नजिकै रहेको संग्रहालयमा चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्धित ३ हजार ५ सय सामग्री प्रदर्शनीमा छन्। यसैगरी २ हजार ५ सयभन्दा बढी तस्बिर पनि त्यहाँ राखिएको छ। 

प्रदर्शनीमा राखिएका सामग्रीमा सीपीसीको नेतृत्वमा जापान र कोमिन्ताङविरुद्धको लडाइँमा प्रयोग भएका हातहतियारदेखि चीनले अहिलेको समृद्धि हासिल गर्ने क्रममा प्राप्त गरेका उपलब्धिसँग सम्बन्धित सामग्री पनि छन्। संग्रहालय भ्रमण गर्दै बीच भागमा पुगेपछि जनवादी क्रान्तिताकाको जीवन्त फिल्म थ्रीडी प्रविधिमा हेर्न पाइन्छ। 

प्रदर्शनीमा राखिएका २ हजार ५ सयमध्ये विश्वका उच्च नेताहरूबाट भएको चीनको भ्रमणसँग सम्बन्धित तस्बिर पनि छन्। 

जनवादी गणतन्त्र चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेयता राजा महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र, पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारीसम्मले चीनको भ्रमण गरेका छन्। यसैगरी प्रधानमन्त्रीहरू टंकप्रसाद आचार्यदेखि बीपी कोइराला, गिरिजाप्रसाद कोइरालादेखि मनमोहन अधिकारी, पुष्पकमल दाहाल (प्रचण्ड) र केपी शर्मा ओलीसम्मले चीनको भ्रमण गरेका छन्। 

यसमध्ये राजा महेन्द्र र प्रधानमन्त्रीद्वय टंकप्रसाद आचार्य र बीपी कोइरालाको भ्रमणले इतिहासमा विशेष स्थान पाएका छन्। 

तर, संग्रहालयमा राजा महेन्द्र वा प्रधानमन्त्री बीपी कोइरालाको चीन भ्रमणले पनि स्थान पाएका छैनन्। साढे दुई हजार तस्बिरभित्र समेटिएका हजारौँ चिनियाँ र अन्तर्राष्ट्रिय व्यक्तित्वमध्ये एक मात्र नेपाली राजा वीरेन्द्र हुन्। 

आफ्नो जीवनकालमा वीरेन्द्रले १० पटक चीनको भ्रमण गरेका थिए। युवराज छँदा पहिलो पटक विसं २०२१ मा चीन भ्रमण गरेका वीरेन्द्रको अन्तिम चीन भ्रमण दरबार हत्याकाण्डभन्दा तीन महिनाअघि बोआओ फोरमको सिलसिलामा भएको थियो।

बोआओमा तत्कालीन चिनियाँ राष्ट्रपति च्याङसँग राजा वीरेन्द्रको दुईपटक भेट भएको थियो। बेइजिङमा पनि उनलाई राष्ट्रपति च्याङले स्वागत गरेका थिए। 

तर, सीपीसी संग्रहालयमा रहने सौभाग्य भने बोआओको तस्बिरले प्राप्त गर्‍यो। 

राष्ट्रपति च्याङको पालामा चीन भ्रमण गरेका विदेशी राष्ट्राध्यक्षहरूको पंक्तिमा देखिन्छ, राजा वीरेन्द्र बोआओ फोरमको उद्घाटन सत्रमा सहभागी हुँदै गर्दाको तस्बिर। वरिपरि अमेरिकी राष्ट्रपति बिल क्लिन्टनदेखि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र बंगलादेशकी तत्कालीन प्रधानमन्त्री शेख हसिना वाजेदका तस्बिरहरू छन्। 

राष्ट्रपति च्याङको पालाका तस्बिर भए पनि संग्रहालयमा कुन तस्बिर राख्ने, कुन नराख्ने भन्ने छनोटमा राष्ट्रपति सी जिनफिङ आफैँ पनि सहभागी थिए। 

८ फेब्रुवरी २०२१ मा राष्ट्रपति सीको अध्यक्षतामा एउटा बैठक बसेको थियो। स्टेट काउन्सिलको वेबसाइटमा उल्लेख भए अनुसार संग्रहालयभित्र प्रदर्शनमा के–के वस्तु राख्ने भन्ने निर्णयका लागि त्यो बैठक बोलाइएको थियो।

संग्रहालयभित्र जे–जे वस्तु संग्रहित र प्रदर्शनीमा छन्, तिनको छनोट त्यही बैठकको निर्णय अनुसार भएको थियो। 

भ्रमणको सिलसिलामा बेइजिङ पुग्ने नेपाली नेताहरूलाई चीनले अक्सर यो संग्रहालयको पनि भ्रमण गराउँछ। संग्रहालयभित्र एक्लो ‘नेपाली प्रतिनिधि’ का रुपमा राजा वीरेन्द्र छन्। नेपालको प्रतिनिधिमूलक सो तस्बिर नेपालीहरूले यहाँ देख्न पाउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .