आज आकास खुलेको छ। टलक्क घामले खुसी आलमलाई बिहानै खुसी बनायो। घाम लागेकै कारण आज उनले खानेकुरा किन्न अरुसँग हात थाप्नुपर्ने छैन। परिवारको भोको पेट भर्न आकास हेर्नुपर्ने छैन।
उनी हतारिँदै बिहान आठ बजे नै पश्चिम नवलपरासीको सुस्ताको आडैमा बहने नारायणी नदीमा हेलिन आइपुगे।
नारायणी नदीले नेपालसँगको भूमि सम्बन्ध तोडेको धेरै भइसक्यो। आलमले नेपालसम्म पुग्न सुस्तापारि किनारमा बाधिराखेको डुंगा खोले।
आलम आउँछन् र पारि पुर्याउउँछन् भन्ने आशामा बसेकाहरु उनलाई देखेर जर्याकजुरुक्क उठे। इसारासँगै डुंगामा बसे। कसैले मोटरसाइकल राखे कसैले बालबच्चा।
उर्लिरहेको नारायणीमा तीन किलोमिटरको यात्रा गर्नु थियो, डुंगाका यात्रीहरुलाई।
यात्रीले भरिनेबित्तिकै आलम डुंगा खियाउन थाले। अजंगको नारायणी नदीले बर्खायाममा झन् ठूलो रुप लिएको छ। बाढीको फणा फिजाएको नारायणीलाई छेउ लाउँदै डुंगा पारि पुर्याउनु छ उनले।
आलमले यसरी नै पुरानो काठको डुंगालाई खियाउँदै आएको वर्षौँ भयो। अब त उनलाई नारायणी पनि साथीजस्तै लाग्छ।
‘सुरुसुरुमा डर लाग्थ्यो, अचेल लाग्दैन,’ उनी डुंगा खियाउँदै बोल्छन्, ‘हामीसँग यो बाहेक जागिर अरु हुँदैन। यही नदीसँग डराए भोकै परिन्छ।’
आलमको मात्र होइन, धेरैको दिनचर्या यस्तै छ। बिहान उठ्ने, आकास खुलेको छ भने नदीमा हेलिने। डुंगाबाट यात्री वारपार गराउने।
उनीहरुका लागि डुंगा पल्टिनु, बग्नु सामान्य बनिसकेको छ। दुर्घटना, मृत्यु सामान्य कहिल्यै बन्दैन, त्यो आलमलाई थााह छ। तर सामान्य सोच्दा भय अलिक कम हुन्छ, हिँड्दा मन भारी हुँदैन।
उनलाई यो पनि थाहा छ, कुनै दिन उनको डुंगा नारायणीको भेलले सजिलै निलिदिन सक्छ। उनी आफैँ पनि धेरैपटक डुंगा दुर्घटनामा परिसकेका छन्।
‘एक पटक मान्छे लिएर पूर्व आउँदै थिएँ। पानीको भेलले डुंगा हल्लाउन थाल्यो। हामीले जाने बाटो भन्दा भेलले बगाएकोतिरै जाँदै थियौँ, डरले सबै रुन थाले,’ उनी सम्झन्छन्।
डुंगामा पानी पसेपछि नियन्त्रण हराउँदै जाँदा उनलाई लागेको थियो अब बाँचिन्न। तर, हरेस खाएनन्। घुमाउँदै भारतीय सीमामा पुर्याएर छेउ लाउन सफल भए उनी।
‘धन्न त्यो दिन त्यहाँ भारतीय प्रहरी थिएनन् र हामी डुंगा सहित घर आउन पायौँ,’ उनले भने, ‘इन्जिनवाला एउटै डुंगाको ५ लाखसम्म पर्छ, भेलले लगेर सीमामा पुग्यौँ भने प्रहरीले खोस्दिन्छ। साथीहरुकै ५ वटा डुंगा लगिसक्यो।’
चार वर्षअघि उनी जस्तै एकजना माझी नदीमै अस्ताएको घटना उनको मानसपटलमा ताजै छ।
स्थानीय रवीन्द्र जैसवालका अनुसार ती माझी सिमेन्ट र रड लोड गरेर पूर्वी सुस्ता जाँदै थिए। लोड अत्याधिक भएका कारण डुंगा पल्टियो अनि उनी त्यहीँ बिलाए।
‘डुंगाबाहेक विकल्प नै छैन। मरे पनि यहीँ, बाँचे पनि यहीँ बस्नुपर्छ, के गर्ने हामीले?’, जैसवाल भन्छन्।
उनलाई लाग्छ, पुल बनेदेखि नुनदेखि सुनसम्म किन्न भारतसँग हारगुहार गर्नुपर्थेन। छाती फुलाउँदै नेपाली बजारसम्म जान सकिन्थ्यो। बर्खा लागेसँगै आफ्नै देशसँग सम्पर्कविहीन हुनु पर्दैनथ्यो, टालटुल गरेको पुरानो काठको डुंगाको भरमा ज्यान राख्नु पर्दैनथ्यो।
केही महिनाअघि स्थानीय ओसियर खानकी छोरीलाई सर्पले टोक्यो। सुस्ताभरि कुनै अस्पताल छैन। भएको एउटा स्वास्थ्यचौकी पनि नाजुक अवस्थामा छ। उनी छोरीलाई नेपालको अस्पताल पुर्याउन चाहन्थे। उनी छोरी बोकेर हतारमा नदीतिर दौडिए। तर, भेल छिचोल्न नै आधा घण्टाभन्दा बढी लाग्ने देखियो।
नजिकै रहेको बिहारको अस्पताल लैजान उनले घण्टौँ सीमामा कुर्नु पर्यो। भारत पस्न नदिएपछि छोरी नबाच्ने देखेर उनी हारगुहार गर्न थाले। नेपाल प्रहरीको सहायतामा उनलाई पछि भारत छिर्न दिइयो र बल्लतल्ल अस्पताल पुर्याएर छोरीको उपचार गराउन उनी सफल भए।
ओसियर नदी, जंगल र पानी जमिरहने धेरै ठाउँ भएकै कारण महिनामै दुई जनालाई सर्पले टोक्ने गरेको बताउँछन्।
सुस्ताका बासिन्दा आदम खाँ नदीमा पुल नहुँदा ज्यान बचाउन पनि भारततिरै पुग्नुपर्ने बाध्यता रहेको गुनासो गर्छन्। भारतीयबाटै अतिक्रमण खेपिरहेका उनीहरु नेपालले शिक्षा, स्वास्थ्य लगायतका आवश्यक पूर्वाधारका लागि पहल नगर्दा भारतीय प्रहरीको दमन सहनुपर्ने गुनासो गर्छन्।
‘भारतीय प्रहरीसँग हारगुहार नगरेसम्म अस्पताल मात्रै होइन, नुन किन्न समेत पाइँदैन, वर्षाको समय नदी तर्न नसक्दा हामी उनीहरुकै शरण पर्नुपर्छ,’ उनी भन्छन्।
सरकारले पुल निर्माणमा यतिसारो हेलचेक्र्याइँ नगरिदिएको भए भारतीय प्रहरीसँग हरेक कुरामा हारगुहार गर्नु नपर्ने उनको भनाइ छ।
५६ वर्षीया नुरजहाँ बेगम नदी तर्न नसकेपछि आफूले ६ कक्षाबाटै छोरालाई २० किलोमिटर टाढा राख्नुपरेको गुनासो गर्छिन्।
उनी भन्छिन्, ‘यहाँ पढ्ने ठाउँ छैन। पढ्न जाने बच्चाले रोज यति ठूलो नदी कसरी तर्छ?’
नुरजहाँसहित सीमित परिवारले मात्रै सन्तानलाई पढ्नका लागि नदीपारि रानीनगर, चितवनतिर पठाएका छन्। बाँकी परिवारले नजिकैको जनता दलित विद्यालयमा कक्षा ८ सम्म पढाएर मजदुरीका लागि भारत पठाउँदै आएका छन्।
नेपाल सरकारले बनाउने भनेको पुल आठ वर्षसम्म नबन्दा सुस्तापारिका झण्डै २ सय ७० परिवार सामान्य आवश्यकता पुरा गर्न पनि भारतीय बजारकै भर पर्नुपर्ने बाध्यतामा छन्।
सरकारले २०७४ सालमा नै त्रिशक्ति आश्रय जेभी कन्स्ट्रक्सनलाई चार वर्षमा सक्ने योजना सहित २७ करोड लागतमा पुल निर्माणको ठेक्का दिए पनि हालसम्म पनि निर्माण सकिएको छैन।
लामो समय अलपत्र अवस्थामै काम रोकिएको पुलमा अहिले पुनः काम सुरु गरिएको छ। यद्यपि निर्माण कार्यले गति भने लिएको देखिँदैन। ८ वर्षमा ५० प्रतिशत काम पनि सकिएको छैन।
नेपाल–भारत सीमालाई लिएर विवाद कायम रहेकै कारण पनि पुल निर्माणमा अवरोध आएको स्थानीय बासिन्दा रवीन्द्र जैसवाल बताउँछन्।
उनी भन्छन्, ‘भारतले पुल निर्माणको काम नै बन्द गर्नुपर्छ भनेर विरोध पनि जनाएको थियो। त्यसले गर्दा पुलको काम यत्तिकै थियो। अहिले फेरि सुरु भए पनि कहिले बन्छ, टुंगो छैन।’
सरकारले २०७४ सालमा सुस्तापूर्वलाई नेपालसँग जोड्न नारयणी नदीमा १ हजार ५ सय ७१ मिटर लामो पुल निर्माण गर्ने योजना अघि सारेको थियो।
यो पुल बनेको खण्डमा नेपालकै सबैभन्दा लामो पुल हुनेछ। १ हजार ४ सय ५२ मिटर लामो कन्चनपुरको चाँदनी–दोधारा झोलुंगेपुल भन्दा पनि लामो हुनेछ।
तर निर्माण कम्पनीले गरेको हेलचेक्र्याइँलाई सरकारले रोक्न नसक्दा सुस्तापारिका करिब ३ हजार नेपालीको नेपालसँग जोडिने सपना पूरा हुन सकेको छैन।
तस्बिरहरु : सरोज नेपाल
Shares
प्रतिक्रिया