ad ad

म्यागेजिन


अन्तिम घडीमा जब पुष्पलालले सहानालाई भने : तिमीलाई मैले दु:ख मात्र दिएँ...

अन्तिम घडीमा जब पुष्पलालले सहानालाई भने : तिमीलाई मैले दु:ख मात्र दिएँ...

सीताराम बराल
साउन ८, २०७९ आइतबार ८:८, काठमाडौँ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलाल नयाँदिल्लीको गोविन्दवल्लभ अस्पतालमा उपचाररत थिए। स्वास्थ्य नाजुक बन्दै गएपछि पुष्पलाललाई जनरल वार्डबाट आईसीयूमा स्थानान्तरण गरिएको थियो। 

पुष्पलालको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको सुनेपछि नयाँदिल्लीमै रहेका कांग्रेस नेता गिरिजाप्रसाद कोइराला गोविन्दवल्लभ अस्पताल पुगे। 

‘सन् १९७८ जुलाईमा दिल्ली पुग्दा हामीले थाहा पायौँ– पुष्पलाल निकै अस्वस्थ हुनुभएको छ, हामी उहाँलाई हेर्न गयौँ’ पुष्पलाल स्मृति प्रतिष्ठानले २०५२ मा प्रकाशित गरेको ‘पुष्पलाल स्मृति अंक’ शीर्षकको पुस्तकमा कोइरालाले भनेका छन्, ‘त्यो क्षण हामी सबैका लागि अत्यन्त वेदनापूर्ण र मार्मिक थियो।’  

आईसीयू कक्षबाहिर पुष्पलालकी जीवनसंगिनी सहाना प्रधान थिइन्। पुष्पलालको अन्तिम अवस्था आइसक्यो भन्ने जानकारी डाक्टरहरुले सहानालाई दिएका थिएनन्। 

पुष्पलाललाई हेरेर फर्कंदा कोइराला सहानासँग बोल्नसक्ने स्थितिमा गिरिजा थिएनन्। उनका आँखाभरि आँसु थिए। अश्रुमिश्रित आँखाका साथ उनले सहानालाई हेरे। बोल्दै नबोली त्यहाँबाट निस्किए।  

‘गिरिजाप्रसादले मलाई बाहिर यसो हेरेर जानुभयो, उहाँहरु जानेबित्तिकै म र भाञ्जा भित्र पस्यौँ,’ आफ्नो आत्मकथा ‘स्मृतिका आँखीझ्यालबाट’ मा सहानाले भनेकी छन्, ‘उहाँको मुख छोपिसकेको रहेछ, डाक्टरले हामीलाई भने, ‘हि इज् नो मोर।’  


पुष्पलालको पार्थिव शरीर 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संस्थापक महासचिव पुष्पलालको निधन भएको त्यो दिन थियो– ७ साउन २०३५। सहानाले आत्मकथामा उल्लेख गरे अनुसार त्यसदिन बिहान १० बजेतिर पुष्पलालले यो संसार छाडेका थिए।  

गंगालालजस्तै अविचलित क्रान्तिकारी
पुष्पलाल २००६ मा स्थापित नेकपाका संस्थापक महासचिव मात्र थिएनन्, राणाविरोधी आन्दोलनमा सहभागी भएवापत १९९७ मा मृत्युदण्डको सजाय पाएका सहिद गंगालाल श्रेष्ठका माहिला भाइ पनि थिए। 

आफ्ना दाजु अलेक्ज्यान्डरलाई रुसको शासनमा रहेका जारहरुले मृत्युदण्डको सजाय दिएपछि जसरी रुसी समाजवादी क्रान्तिका नायक लेनिन बदला लिन राजनीतिमा लागे, पुष्पलाल पनि दाजु गंगालाललाई राणा शासकहरुले मृत्युदण्ड दिएपछि बदला लिन राजनीतिमा लागेका थिए। 

मृत्युदण्डको सजाय कार्यान्वयन हुनुअघि भेट्न जेल पुगेका १६ वर्षे किशोर पुष्पलाललाई गंगालालले ‘सहादतपछि आफ्नो सपना पुरा गर्न राजनीतिमा संलग्न हुन’ आग्रह गरेका थिए। दाजुको आग्रह बमोजिम पारिवारिक स्थितिको प्रतिकूलताका बाबजुद पुष्पलाल राणाविरोधी राजनीतिमा होमिए।   

दाजु गंगालालजस्तै सुरुमा पुष्पलालको सहानुभूति प्रजा परिषद्प्रति रह्यो। राणाहरुको दमनका कारण प्रजापरिषद् गतिविधिहीन बनेपछि  उनी नेपाली राष्ट्रिय कांग्रेसमा सहभागी भए। पार्टीमा संलग्न भएको केही समयपछि प्रवासमा रहेको पार्टी केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी प्राप्त गरे।   

तर, कांग्रेसमा कोइराला (बीपी–मातृका) र रेग्मी (डा. डिल्लीरमण) गुटबीचको झगडाका उत्कर्षमा थियो। त्यही कारण कांग्रेसबाट दाजुको सपना पुरा गर्न नसकिने देखेपछि उनले पार्टी परित्याग गरे। र, १० वैशाख २००६ मा चार जना सहयोगीका साथ नेकपा स्थापना गरे। 

नेकपा स्थापनाको पाँच महिनापछि ३० भदौ (२००६) मा कलकत्तामा भएको पहिलो राष्ट्रिय सम्मेलनले पुष्पलाललाई पार्टीको नेतृत्व सुम्पियो। पुष्पलाल नेकपाको संस्थापक महासचिव बने।

१ पुस २०१७ मा राजा महेन्द्रले संसद् विघटन गरी बीपी कोइराला नेतृत्वको निर्वाचित सरकार विघटन गरेपछि विघटित संसद पुनर्स्थापनाको पहिलो नारा दिने नेता पुष्पलाल थिए। जबकि, उनी विघटित प्रतिनिधिसभाको सदस्य थिएनन्। प्रतिनिधि सभामा नेकपाको सिट सिर्फ चार वटा थियो।

पञ्चायतको उदयसँगै नेकपामा विभाजनको श्रृङ्खला सुरु भयो। मृत्युपर्यन्त पुष्पलाल विभाजित पार्टीलाई एकीकृत बनाउने प्रयासमा रहे। पञ्चायतविरुद्ध कांग्रेस–कम्युनिस्टबीच संयुक्त आन्दोलनको प्रस्ताव अघि सार्ने शीर्ष नेता पनि उनै थिए। तर, उनको एकता प्रयासको महत्व न अन्य कम्युनिस्ट समूहहरुले बुझे, न त संयुक्त आन्दोलनको प्रस्ताव कार्यान्वयन गर्न नेपाली कांग्रेस राजी भयो। 

पुष्पलाल पेसेवर अन्य राजनीतिक नेता–कार्यकर्ताभन्दा फरक थिए। उनी विचारक थिए। उनी राजनीतिक समाजशास्त्री पनि थिए, जसले पहिलो पटक नेपाली समाजको वर्ग विश्लेषणको जमर्काे गरे। 

२०६२–०६३ अघिसम्म पनि ‘नेपाली समाजको चरित्र अर्धसामन्ती र अर्धऔपनिवेशिक प्रकृतिको छ’ भन्ने गरिन्थ्यो। नेपाली समाजको चरित्रको यो विश्लेषण पुष्पलालले नै गरेका थिए।  

नेकपा स्थापनाअगाडि नै पुष्पलालले माक्र्स–एङ्गेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणा पत्र’ को नेपाली अनुवाद गरिसकेका थिए। यसका अलावा उनले नेपालको समाज, राजनीति र इतिहाससँग सम्बन्धित केही पुस्तक पनि लेखेका छन्। तिनमा ‘नेपालको मातृसत्तात्मक समाज’ र ‘नेपालमा कम्युनिस्ट आन्दोलनको इतिहास’ महत्वपूर्ण छन्।

अस्वस्थ हुनुअघि पुष्पलाल थप पुस्तक लेखनको तयारीमा थिए। यसका लागि नयाँदिल्ली र कलकत्ताका पुस्तकालय पुगेर पुष्पलालले आवश्यक सन्दर्भ सामाग्री संकलन पनि गरिसकेका थिए। १२ वर्षअघि पुष्पलाल स्मृति प्रतिष्ठानले प्रकाशित गरेको ‘हिस्टोरिकल नोट्स’ खासमा पुष्पलालले टिपोट गरेका तिनै सन्दर्भ सामाग्रीको पुस्तकाकार हो। 

दरभङ्गामा रहेका बेला पुष्पलाल हृदयाघातका कारण गम्भीर बिरामी भएपछि थप उपचारका लागि नयाँदिल्ली पुर्याउने जिम्मेवारी पाएका पुराना कम्युनिस्ट नेता गोविन्दराज ज्ञवालीका भनाइमा पुष्पलाल र उनी सवार रेल बनारस पुगेपछि पुष्पलालले ज्ञवालीलाई आफ्नो नयाँ पुस्तकको योजना सुनाएका थिए। 

पुष्पलालका राजनीतिक सहयात्री एवं ०४८ मा बर्दिया–३ बाट निर्वाचित एमालेका पूर्वसांसद ज्ञवालीले भने, ‘अब सञ्चो भएपछि बनारस आउँछु र ‘नेपाली जनआन्दोलनको समीक्षा’ सम्बन्धी पुस्तक लेख्ने काम सिध्याउँछु भन्नुभएको थियो। तर, असामयिक निधनका कारण उहाँको योजना पुरा भएन।’

पुष्पलाल सैद्धान्तिक रुपमा मात्र शोषित–पीडित वर्गको राजनीतिको पक्षमा थिएनन्, व्यावहारिक रुपमा उनी आफैँ सर्वाहारा थिए। उनको आफ्नो कुनै व्यक्तिगत सम्पत्ति थिएन। श्रीसम्पत्ति जोड्ने लालच पनि उनले कहिल्यै राखेनन्।  

खासमा उनको मृत्यु पनि आर्थिक अभावका कारण समयमै उपचार नपाएकाले हुन पुगेको थियो। पार्टी नेतृत्वमा भएको बेला होस् वा नरहेका बेला– पुष्पलालले सदैव नेपालका गरिब किसान मजदुरको पक्षमा आफूलाई उभ्याए। 

पुष्पलालको अन्तिम क्षण 
भारत प्रवासमै रहेका बेला पुष्पलाललाई २०२९ मा पहिलो पटक हृदयाघात भएको थियो। त्यसको ६ वर्षपछि उनलाई दोस्रो पटक २०३५ जेठमा हृदयाघात भयो। त्यही नै उनको निधनको कारण बन्न पुग्यो। 

जीवनसंगिनी सहाना विद्यावारिधिका लागि २०३५ वैशाख–जेठताका नयाँदिल्ली पुगेकाले पुष्पलाल पनि नयाँदिल्ली गएका थिए। सहानाले उल्लेख गरेअनुसार नयाँदिल्ली जानुअघि पुष्पलाललाई सास फेर्दा अस्वाभाविक रुपमा स्वाँ–स्वाँ हुन थालेको थियो। 


बनारसस्थित पार्टी कार्यालय अगाडिको गल्लीमा पुष्पलाल

उनी राम्रोसँग हिँड्न पनि नसक्ने भएका थिए। हिँड्दा खुट्टा खोच्याउनु पथ्र्याे। यस्तो प्रतिकूल स्वास्थ्यका बाबजुद पार्टी काममा भने उनको जोस उत्तिकै थियो।  

त्यसैक्रममा पुष्पलाल नेतृत्वको नेकपाले २०३५ जेठमा दरभङ्गामा प्रशिक्षण कार्यक्रम आयोजना गर्यो। स्वास्थ्य अवस्था राम्रो नभएकाले सहानाले दरभङ्गा नजान भनिन्। तर, पुष्पलालले मानेनन्। प्रशिक्षणका लागि उनी दरभङ्गा प्रस्थान गरे। 

तर, प्रशिक्षण कार्यक्रम सम्पन्न नहुँदै पुष्पलाललाई दोस्रो पटक हृदयाघात भयो। उनलाई दरभङ्गाको स्थानीय अस्पतालमा भर्ना गरियो। त्यहाँ उपचार हुन नसक्ने भएपछि थप उपचारका लागि नयाँदिल्ली पुर्याइयो। नयाँदिल्ली पुर्याउने जिम्मा ज्ञवालीले पाए।

सुरुमा पुष्पलाललाई नयाँदिल्लीस्थित राममनोहर लोहिया अस्पतालमा भर्ना गरिएको थियो। तर, त्यहाँ धेरै दिन राखिएन, ३–४ दिनपछि गोविन्दवल्लभ अस्पतालमा स्थानान्तरण गरियो।

‘उहाँलाई हृदयाघात भएको थियो, राममनोहर लोहिया अस्पतालमा हृदयाघातको राम्रो उपचार हुँदो रहेनछ, त्यसैले केही दिनपछि गोविन्दवल्लभ अस्पतालमा सारियो,’ पुष्पलालका सहकर्मी ८० वर्षीय ज्ञवालीले भने, ‘त्यहाँ उहाँको करिब एक महिना उपचार भयो। तर, उपचार सफल हुन सकेन। उहाँको असामयिक निधन हुन पुग्यो।’ 

२०३५ असारको अन्तिम सातातिर पुग्दा पुष्पलालको अवस्था नाजुक हुन थालिसकेको थियो। कुनै प्रकारको खानामा परहेज नगर्ने पुष्पलालले खराब स्वास्थ्य अवस्थाका कारण राम्रोसँग खाना खान छाडेका थिए। 

‘मैले एउटा लक्षण के देखेँ भने खानामा जे पनि खाने, कहिल्यै नाक नखुम्च्याउने मान्छे बिरामी भएपछि खाँदै नखाने हुनुभयो, खाना देख्नेबित्तिकै हातले पन्छाउने गर्नुहुन्थ्यो,’ पुष्पलालको स्वास्थ्य बिग्रँदै गएपछि उनमा देखिएको परिवर्तनबारे सहानाले भनेकी छन्, ‘धेरै खाने वा रुचाउने मान्छेले खाना पन्छाउँछ भने त्यो राम्रो लक्षण होइन भन्ने मैले सुनेकी थिएँ। उहाँको बानीमा पनि यस्तो परिवर्तन पाएपछि मेरो मनमा चिसो पस्न थालिसकेको थियो।’ 

साउन (२०३५) पहिलो हप्ताको सुरुवातदेखि पुष्पलालको स्वास्थ्यस्थिति अरु गम्भीर हुन पुग्यो। स्थिति थप गम्भीर भएपछि उनलाई आईसीयूमा स्थानान्तरण गरियो। उनको श्वासको गति अरु बढेको थियो, स्थिति गम्भीर हुँदै गएकाले अक्सिजन लगाइएको थियो। 

पुष्पलाललाई आईसीयूमा स्थानान्तरण गरिएपछि जनरल वार्डमा जसरी सहाना पुष्पलालको छेउमा बस्न पाउन्नथिन्। मौका मिलेका बेला यसो भित्र पसेर पुष्पलाललाई हेर्थिन्। 

‘आईसीयूमा पस्दा नर्सहरुले गाली गर्छन् भनेर म झ्यालबाट उहाँलाई चियाउथेँ,’ मृत्युपूर्व पुष्पलालको स्थिति कस्तो थियो, त्यसबारे सहानाले भनेकी छन्, ‘पुष्पलालजीलाई अक्सिजन लगाएको थियो, उहाँ ‘हँ..हँ..’ गरिरहनु भएको थियो, उहाँको श्वास बढेको थियो र अनुहार पनि फुङ्ग उडेको थियो।’ 

यो आजभन्दा ठीक ४४ वर्षअघिको दृश्य थियो, अर्थात् ७ साउन २०३५ को। सहानाले आईसीयूमा पुष्पलालको यस्तो स्थिति देख्दा बिहानको त्यस्तै ७–८ बजेको हुँदो हो।  

झ्यालबाट चियाउँदा पुष्पलालको यस्तो अवस्था देखेपछि सहानाले आईसीयूभित्र जान जोड गरिन्। उनलाई भित्र जाने अनुमति दिइयो। सहाना भित्र पुग्दा पुष्पलाललाई बोल्न कठिन भइसकेको थियो। उनमा ‘अब म बाँच्छु’ भन्ने आशा मरिसकेको थियो। 


पुष्पलाल र सहाना 

सहानालाई आफूतिर आउँदै गरेको देखेपछि पुष्पलालले अक्सिजनको मास्क खोले। ‘स्वाँ..स्वाँ..’ बढिरहेकाले उनी बोल्न सकिरहेका थिएनन्। तैपनि सकिनसकी उनले सहानालाई भने, ‘सहाना, ति..मीलाई....मैले..दुःखमात्र..दिएँ, तिम्रो..निमित्त केही..गर्न..सकिनँ..अब..अगाडिका..कामहरु..पक्कै पनि...तिमीले गर्छ्यौ होला।’

‘उहाँको स्वास धेरै बढ्यो, मैले हतार–अक्सिजन मास्क लगाइदिएँ,’ सहाना लेख्छिन्, ‘मलाई साह्रै नमिठो लाग्यो। रुन मन लाग्यो। रोउँरोउँ खालको वातावरण बन्यो। म कोठामा बस्नै सकिन र बाहिर निस्किएँ।’  

बिहान १० बजे सहाना दोस्रो पटक आईसीयू कक्षमा प्रवेश गरिन्। यो भेट नै जीवित पुष्पलालसँगको उनको अन्तिम भेट हुन पुग्यो।  

सहानाका भनाइमा यसपटक पनि पुष्पलाल केही भन्ने प्रयास गरिरहेका थिए। त्यसका लागि उनले अक्सिजनको मास्क खोल्न खोजे। तर,सहानाले खोल्न दिइनन्। 

‘तर, कसोकसो मास्क खोल्नुभयो र भन्नुभयो– ‘सहाना..अब.. गर्नु..है..!’ पुष्पलालले के भन्न खोजेका थिए भन्ने कुराको अनुमान गर्दै सहानाले भनेकी छन्, ‘सायद ‘पार्टीको काम गर्नु है!’ भन्न खोज्नुभएको थियो, तर पुरा वाक्य भन्न पाउनु भएन।’ 

यति हुँदै गर्दा पुष्पलाललाई हेरचाहमा खटिएका नेकपाका कार्यकर्ताहरु आईसीयू कक्षमा प्रवेश गरिसकेका थिए। तिनमा तिलक पराजुली, केशव खड्का (अरविन्द), रामबहादुर भण्डारी, रामप्रसाद चापागाईंलगायत थिए। 

यी कार्यकर्ताहरुसँग पुष्पलालले जे आग्रह गरे, त्यो नै उनको जीवनको अन्तिम वाक्य थियो। 

तिलक पराजुलीका भनाईमा ‘जनतालाई सचेत र कार्यकर्तालाई संगठित बनाउन सके नेपालमा क्रान्ति अवश्य सफल हुन्छ’ भन्दै ‘यी दुई काममा हिम्मत नहारी निरन्तर लागिरहन’ उनीहरुसँग पुष्पलालले आग्रह गरेका थिए। 

‘मैले मास्क खोल्न दिइनँ, त्यसैले मसँग धेरै कुरा गर्न पाउनु भएन,’ सहानाले भनेकी छन्, ‘कमरेडहरुले अब भइहाल्यो, अन्तिम अवस्था भइसक्यो, उहाँको के भनाइ छ भनेर मास्क खोलेर बोल्न दिनु भएको रहेछ। त्यसक्रममा पुष्पलालले उहाँलाई यति कुरा भन्न सक्नु भयो।’ 

त्यसपछि पराजुलीसहितका कार्यकर्ताहरु आईसीयू कक्षबाट निस्के। सहाना पनि सँगै निस्किन्। त्यसको केही समयपछि कोइराला (गिरिजाप्रसाद) पुष्पलाललाई भेट्न अस्पताल पुगेका थिए। 

कोइरालाले भेट्दा भने सम्भवतः पुष्पलालको स्वर्गारोहण भइसकेको थियो। 

त्यसैले, अश्रुमिश्रित नयनका साथ कोइराला बाहिर निस्के र चुपचाप अगाडि बढे। त्यो भावुक क्षण ‘पुष्पलाल अब जीवित हुनुहुन्न’ भन्न जोकोहीलाई कठिन थियो।
    
दरबारले शव ल्याउन दिएन, झुक्याएर ल्याइयो अस्तु
उपचाररत पुष्पलालको रेखदेखका लागि एक महिना नयाँदिल्लीमा बिताएर ज्ञवाली २०३५ असारको अन्तिमसाता बनारस फर्केका थिए। ७ साउनको साँझ उनले ‘अल इन्डिया रेडियो’ बाट पुष्पलालको निधन भएको समाचार सुने। निधनको समाचार सुनेलगत्तै उनी बनारसबाट नयाँदिल्ली फर्के। 


पुष्पलालप्रति श्रद्धा, विसं २०३८ साउन 

भोलिपल्ट (८ साउन २०३५) गोविन्दराज ज्ञवाली गोविन्दवल्लभ अस्पताल पुग्दा पुष्पलालको शव अस्पतालमै थियो। शव ‘डिस्चार्ज’ गर्न उपचारका क्रममा लागेको बाँकी रकम बुझाउनु पथ्र्याे। 

बाँकी रकम तिरेर शव ‘डिस्चार्ज’ गर्न जाँदा समाजवादी नेता चन्द्रशेखर (पछि प्रधानमन्त्री) ले देखाएको सहृदयता ज्ञवाली कहिल्यै भुल्न सक्दैनन्।

‘म बाँकी रकम तिर्न काउन्टरमा पुगेँ, त्यसैबेला अर्का एक भारतीय पनि काउन्टर पुगे, उनी पनि पुष्पलालको उपचारमा लागेको रकम तिर्न खोज्दै रहेछन्,’ ज्ञवालीले भने, ‘गौतम नामका गरेका ती व्यक्ति चन्द्रशेखरका निकट सहयोगी थिए। उनले डिस्चार्जका लागि लाग्ने रकम मलाई तिर्नै दिएनन्, आफैँ तिरे।’

ज्ञवालीका भनाइमा काम विशेषले अन्यत्र जानुपर्ने भएका कारण चन्द्रशेखरले अस्पतालमा तिर्न बाँकी रकम सहित आफ्ना सहयोगीलाई पठाएका थिए। 

‘अरु सहयोग गर्न सकिएन, पुष्पलालको अन्तिम क्षणको यो पवित्र काम गर्ने अवसर हामीलाई दिनुस् भनेर चन्द्रशेखरले मलाई पठाउनु भएको हो भन्ने उनको भनाइ थियो,’ ज्ञवालीले सम्झे, ‘पाँच हजार रुपैयाँ तिर्नुपर्ने रहेछ, त्यो रकम उनैले तिरिदिए। मैले केही बोल्नै पाइनँ।’ 

‘डिस्चार्ज’ को प्रक्रिया पुरा गरेपछि ८ साउनमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पुष्पलालको पार्थिव शरीर अस्पताल प्राङ्गणमा राखियो।  पुष्पलालको निधनको समाचार ७ साउनको साँझ अल इन्डिया रेडियोले प्रसारण गरेकाले भारत प्रवासमा रहेका नेता–कार्यकर्ताहरुको ओइरो अस्पतालमा लागिसकेको थियो।

त्यो बेला कांग्रेस नेता गणेशमान सिंह पनि नयाँदिल्लीमै थिए। उनी पनि धर्मपत्नी मंगलादेवी सिंहका साथ पुष्पलालप्रति श्रद्धान्जली प्रकट गर्न अस्पताल पुगे। गिरिजाप्रसाद कोइराला लगायतका कांग्रेस नेता–कार्यकर्ताहरुले पनि पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गरे। 


पुष्पलालको अन्तिम विदाई गर्दै गणेशमान (सबैभन्दा दायाँ) लगायत नेपाली र भारतीय नेताहरु 

पुष्पलालप्रति श्रद्धा प्रकट गर्न जाने भारतीय नेताहरुमा भारतीय कम्युनिस्ट पार्टीका महासचिव राजेश्वर राव, केन्द्रीय सदस्य जयपाल सिंह थिए। जनता पार्टीका अध्यक्ष एवं समाजवादी नेता चन्द्रशेखर पनि पुष्पलालको अन्तिम विदाईका लागि अस्पताल पुगेका थिए। 

हालै प्रकाशित डा. बेदुराम भुसाल, डा. माधवराज पन्थी र डा. ढाकाराम सापकोटाद्वारा लिखित पुष्पलालको जीवनी ‘नेपाल रत्नः पुष्पलाल’ मा उल्लेख भएअनुसार परिवारको चाहना पुष्पलालको अन्तिम संस्कार नेपालमै गर्न पाए हुन्थ्यो भन्ने थियो। त्यसैले, पार्थिक शरीरलाई नेपाल लैजाने पहल समाजवादी नेता चन्द्रशेखरले गरेका थिए। 

तर, पञ्चायती सरकारले पुष्पलालको शव काठमाडौँ ल्याउन अनुमति दिएन। त्यसैले, ९ साउनमा दिल्लीस्थित यमुना नदी किनारको निगमबोधघाटमा पुष्पलालको अन्तिम दाहसंस्कार भयो। 

यो त्यही घाट थियो, जहाँ २०२६ चैतमा पुष्पलालका पिता भक्तलाल श्रेष्ठको पनि दाहसंस्कार गरिएको थियो। 

पुष्पलाल पार्टी काममा व्यस्त भएका बेला ९ चैत २०२६ मा पिता भक्तलालको क्यान्सरबाट निधन भएको थियो। पिताको निधनका बेला उनी सँगै थिएनन्। 

चितामा भक्तलालको शव जलिरहेका बेला पुष्पलाल पिताको अन्तिम विदाईका लागि निगमबोधघाट पुगेका थिए।   

जहाँ हजुरबुबा भक्तलालको दाहसंस्कार गरिएको थियो, त्यहीँ पुष्पलालका एकमात्र सुपुत्र उमेशलाल श्रेष्ठले ९ साउन (२०३५) पुष्पलालको पार्थिव शरीरमा दागबत्ती दिएका थिए।   


पुष्पलालको पार्थिव शरीरमा दागबत्ती दिँदै पुत्र उमेशलाल श्रेष्ठ 

पार्थिव शरीर नेपाल ल्याउने अनुमति नपाए पनि नेकपाले पुष्पलालको ‘अस्तु कलश’ नेपाल पठाउने र काठमाडौँमा विसर्जन गर्ने निर्णय गर्यो। तर, ‘अस्तु कलश’ ल्याउने अनुमति दिनसमेत पञ्चायती सरकार राजी भएन।  

‘कमरेडहरुले उहाँको अस्तु ल्याउन स्वीकृतिका लागि दरबारमा कुरा गर्नुभयो, मलाई ‘पुष्पलालजीको अस्तु नेपाल ल्याउन पाऊँ’ भनेर राजा वीरेन्द्रलाई पत्र लेख्न लगाइयो, यो कुरा मेरो मनले मानेको थिएन,’ सहानाले भनेकी छन्, ‘शोकको घडीमा जसले जे भने पनि मान्न बाध्य हुनुपर्दाे रहेछ। तर, पञ्चायती शासक र दरबारबाट कुनै हालतमा पनि अस्तु नेपालमा ल्याउन नदिने भन्ने कुरा आयो।’ 

नयाँदिल्ली उडानबाट अस्तु ल्याउँदा प्रशासनले जफत गर्ने पक्का थियो। त्यसैले, अस्तु नेपाल ल्याउने जिम्मा पाएका कार्यकर्ताहरुले नयाँ जुक्ति निकाले। 


पुष्पलालको ‘अस्तु कलश’ यात्राका क्रममा राजधानीमा निस्केको जुलुस

त्यसैअनुसार पार्टीका कार्यकर्ता रामबहादुर भण्डारी र रामचन्द्र चापागाईं गोप्यरुपमा ‘अस्तु कलश’ का साथ पटना हुँदै वीरगञ्ज आइपुगे। भण्डारीले १५ साउनमा काठमाडौँ पुगेर मनमोहन अधिकारीलाई  सिमराको उडानबाट चापागाईंले पुष्पलालको ‘अस्तु कलश’ ल्याउने जानकारी गराए। 

‘अस्तु कलश’ शाही नेपाल वायुसेवा निगमको सिमरा–काठमाडौँ उडानबाट काठमाडौँ ल्याइँदै थियो, तर, प्रचार चाहिँ नयाँदिल्लीको उडानबाट ल्याइँदैछ भनेर गरियो।

‘अस्तु कलश’ विमानस्थलमा १६ असारका दिन काठमाडौँ ल्याइने प्रचारका कारण राजधानीमा रहेका नेकपाका सयौँ कार्यकर्ता, शुभेच्छुकहरु बिहानैदेखि त्रिभुवन विमानस्थलमा उपस्थित थिए। 

प्रशासनको ध्यान बिहानैदेखि नयाँदिल्लीबाट आउने जहाजमा थियो। तर, शाही नेपाल वायुसेवा निगमको सिमरा–काठमाडौँ उडानबाट त्रिभुवन विमानस्थलमा ओर्लेका रामचन्द्र चापागाईंले साथमा रहेको ‘अस्तु कलश’ सतर्ककतापूर्वक नेकपा नेता मनमोहन अधिकारीलाई हस्तान्तरण गरे। 

त्यहाँ फूलमाला र पुष्पलालको तस्वीरसहित सजिएको बा.अ. १०५१ नम्बरको गाडी तयार थियो। त्यसैमा पुष्पलालको ‘अस्तु कलश’ राखेर हजारौँको जुलुस सहरतर्फ अगाडि बढ्यो। 

जुलुसको अग्रपंक्तिमा पूर्वप्रधानमन्त्री टंकप्रसाद आचार्य, नेकपा नेताहरु मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ लगायत थिए। 

‘विमानस्थलदेखि शोभा भगवतीसम्मको बाटोमा हजारौँ नागरिकहरु जुलुसमा थपिए, जुलुसमा सहभागी नहुनेहरुले घर–घरबाट फूल र अबिर चढाएर पुष्पलालप्रति श्रद्धा प्रकट गरे,’ त्यो जुलुसको नेतृत्वकर्तामध्येका एक वामपन्थी नेता एवं पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले भने, ‘मेरो अनुभवमा काठमाडौँमा निस्केका ठूला जुलुसहरुमध्ये त्यसदिनको जुलुस पनि एक हो।’ 


अस्तु विसर्जनअघि शोभाभगवतीमा पुष्पलालप्रति सम्मान 

जुलुससहित ‘अस्तु कलश’ शोभा भगवती पुगेपछि वरिष्ठ कम्युनिस्ट नेता मनमोहन अधिकारीले छोटो श्रद्धाञ्जली मन्तव्यका साथ पुष्पलालको ‘अस्तु कलश’ ठीक त्यही ठाउँमा विसर्जन गरे, जहाँ ३८ वर्षअघि १९९७ का एवं पुष्पलालका दाजु सहिद गंगालाल श्रेष्ठको दाहसंस्कार गरिएको थियो। 

संयोगपनि कस्तो! ९ वर्षअघि जुन घाटमा बाबु भक्तलालको दाहसंस्कार भएको थियो, त्यही घाटमा ८ दिनअघि पुष्पलालको पनि दाहसंस्कार गरिएको थियो, उनको शव त्यही घाटमा जलेको थियो। 

त्यसको ८ दिनपछि पुष्पलालको शरीरको खरानी (अस्तु) त्यही माटोमा मिल्न आइपुग्यो, जुन माटोमाथि उनका राजनीतिक गुरु सहिद गंगालालको शरीर खरानी बनेको थियो।  

(फोटो स्रोत : बुद्ध महर्जन/पुष्पलाल स्मृति प्रतिष्ठान)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .