मीना कुमारी लामा हेटौंडा उपमहानगरपालिकाकी नवनिर्वाचित मेयर हुन् । देशभरिका ११ उपमहानगरमध्ये हेटौंडाले मात्रै महिला नेतृत्व पाएको छ ।
तीन दाजुपछि जन्मिएकी मीनाकुमारी लामाको बाल्यकाल सुरम्य तरिकाले बित्यो। उनका दाजुहरु जे जे गर्थे, उनी त्यसैको नक्कल गर्थिन्। दाजुहरु स्कुल गए, उनी सँगै स्कुल गइन्। दाजुहरु साइकल चलाउँथे, मीना पनि सँगै साइकल चलाउँथिन्। दाजुहरुसँगै रुख चढिन्, खेलिन्। गाउँघरका उनकै उमेरका छोरीले जस्तो बन्धनमा बाँच्नु परेन उनले। त्यसैले छोरीहरुका सपना र चाहना कुण्ठित छन् भनेर बुझ्न लामो समय लाग्यो।
मीनाकी आमा घरधन्दासँगै खेतीपातीमा व्यस्त हुन्थिन्। बुबा यातायात कार्यालयका जागिरे। दुवैले उनलाई पढ्न प्रेरित गर्थे। उनी मध्यम स्तरको विद्यार्थी थिइन्। त्यो बेला छोरीलाई पढाउनु भनेको समयको बर्बादी मान्नेहरुको कमी थिएन। तर, मीनाकी आमा आफूले बुझ्न नपाएको संसार आफ्नी छोरीलाई बुझाउन चाहन्थिन्। काम नगर्दा कहिल्यै गाली नखाने उनले स्कुल नजाँदा धेरै पटक आमाको पिटाइ खाएकी छन्। भन्छिन्, ‘मैले पढ्नुको कारण नै मेरी आमा हुन्।’
उनी ७ कक्षामा पढ्दै थिइन्। स्कुलमा दौड प्रतियोगिता थियो। मीना दौडिन चाहन्थिन्। तर, उनलाई केटाहरुले गिज्याएर भने, ‘केटी पनि दौडिन सक्छ र?’ पहिलो पटक विभेदको बाछिटा परेको महसुस गरिन् उनले। उनले केटाहरुसँगै दौडने अठोट गरिन्। मीनाले केटीहरुको टोली बनाइन्। उनले आफू मात्रै होइन, आफ्ना केटी साथीहरु पनि दौडन सक्षम छन् भनेर देखाइदिइन्। यहीँबाट सुरु भयो मीनाको विभेदविरुद्धको संघर्ष।
उनका दाजुहरु राजनीतिमा थिए। हजुरबुबाले भूमिगत राजनीति गरेका थिए। त्यसैले उनमा सानैदेखि राजनीतिक चेत भरियो। उनी नजानेरै राजनीतिमा सामेल भइन्। उनको मुद्दा एउटै थियो, ‘छोरीहरुले पनि गर्न सक्छन्, उनीहरुलाई हेप्नु हुँदैन।’ पढाइभन्दा उनको राजनीति अघि दौडियो। स्कुलको पढाइ सक्दा उनी मीना अनेरास्वियुको जिल्ला कोषाध्यक्ष भइसकेकी थिइन्।
१२ कक्षा पढ्दा विवाह
मीनाका धेरै स्कुले साथीहरु कोही आमा त कोही बुहारी भइसकेका थिए। उनलाई विवाहका लागि पारिवारिक दबाब थेगिसाध्य थिएन। जसका कारण उनी आफैँ पनि विवाह गर्ने कुरामा सहमत थिइन्।
२२ वर्षीया मीना विद्यार्थी राजनीति हुँदै नेपाल घेदुङ संघमा आवद्ध थिइन्। १२ कक्षा पढ्दै गरेकी मीना थुप्रै सामाजिक कार्यक्रम, आन्दोलनदेखि संघसंस्थामा आवद्ध थिइन्। एक दिन तामाङ घेदुङले आयोजना गरेको कार्यक्रममा हेटौँडाकै व्यवसायी सुनकुमार लामासँग भेट भयो। त्यतिबेला मीना घेदुङ अध्यक्ष थिइन्। खेलाडी समेत रहेका सुनकुमार सामाजिक कार्यकर्ता पनि थिए। त्यही दिनको चिनजानलाई सुनकुमार र मीनाले सहयात्रामा परिणत गरे।
विवाहपछि धेरै छोरीहरुले आफ्नो करिअर दाउमा लगाउनु पर्ने प्रचलन आज पनि नेपालमा यथावत नै छ। त्यो समय त बुहारीहरुलाई घरको कामदारको रुपमा हेरिन्थ्यो। स्कुल पढ्दापढ्दै बुहारी भएका मीनाका साथी घरधन्दामै अल्झिए। तैपनि साथीका सासूहरु बेलामौकामा आफ्ना बुहारीप्रति गुनासो गरिरहन्थे। मीनाकी सासू भने फरक निस्किइन्। सासूले उनलाई भनिन्, ‘तिमी पढेलेखेकी छौ, पढ। जागिर खाऊ।’
बिहे गरेको १५ दिनपछि उनी एक एनजीओमा जागिर खान थालिन्। कामको सिलसिलामा बाहिर जानु पथ्र्यो। घर पुग्दा अबेर हुन्थ्यो। घरधन्दामा सासूलाई सघाउने समय हुँदैनथ्यो। तर, सासू र श्रीमानले उनलाई प्रश्न गरेनन्।
‘त्यो बेला मेरा घरका मान्छेले शंकाको नजरले हेर्दिएको भए, प्रश्न गर्दिएको भए अहिले म जहाँ उभिएकी छु, त्यो ठाउँ पाउँदिनथेँ होला,’ उनी भन्छिन्।
योजनाबिनाको खुसी
मीनाको योजना विवाहको तीन वर्षपछि आमा बन्ने थियो। तर, त्यसअघि नै उनी गर्भवती भइन्। उनी गर्भावस्थामै तालिम लिन काठमाडौँ आइन्। त्यहीबेला बच्चाको स्याहार गर्ने तालिम पनि लिइन्। त्यसले उनलाई निकै सहज बनायो।
पहिलो पटक आमा बन्दै गरेकी मीनालाई के हुन्छ भन्ने पीरले सताइरहन्थ्यो। बच्चा जन्माउन नसकेर आमाको मृत्यु भएका खबर सुनिरहन्थिन्। उनको मन कमजोर हुन्थ्यो।
विवाहको १५ दिनदेखि नै उनी पतिसँग अलग बसेकी थिइन् उनी। सुनकुमार बेलाबेला उनलाई भेट्न काठमाडौँ आउँथे। तर, कहिलेकाहीँको भेटले उनको एक्लोपन मेटिँदैनथ्यो। उनी एक्लै रुन्थिन्। गर्भावस्थाको त्यो समय श्रीमान् सँगै नभएको कुरा सम्झियो भने उनको मन अहिले पनि दुख्छ।
गर्भ हुर्किंदै गर्दा उनी पेट मुसारेर मुस्कुराउन थालिन्। बच्चाको चलखेल बढ्दै जाँदा बच्चासँग बात मार्न थालिन्। बिस्तारै मीनालाई एक्लोपनले पिरोल्न छाड्यो। हिँड्दा पाइला बिस्तारै सार्थिन्। लामो समय गाडी चढ्दा गर्भमा खतरा हुन्छ भन्ने सुनेकी थिइन्। त्यसैले उनी हिँडेरै तालिममा ओहोरदोहोर गर्थिन्।
तालिम सकेर हेटौँडा फर्केपछि मीनालाई बाटोमा साइकलले हान्यो। उनी लडिन्। बच्चालाई केही होला कि भन्ने डरले उनी तनावमा परिन्। भिडिओ एक्सरे गराइन्। डाक्टरले बच्चा ठिक छ भनिदिए। त्यसपछि बल्ल उनका आँसु रोकिए।
त्यो बेला हेटौँडामा राम्रो प्रसूति सेवा थिएन। मीना सुत्केरी हुन वीरगञ्जको नारायणी अस्पताल भर्ना भइन्। तर, अस्पतालको भद्रगोल देखेपछि उनलाई लाग्यो, आफ्नै ठाउँमा राम्रो प्रसूति सेवा भइदिएको भए कति राम्रो हुन्थ्यो!
अस्पतालमा आमा बन्ने तयारीमा रहेका अन्य महिलाको साथमा श्रीमान् थिएनन्। मीनाले भने तालिम लिएकाले श्रीमानको साथको महत्व बुझेकी थिइन्। उनले सुनकुमारलाई छोडिनन्। सुनकुमारले पनि श्रीमतीले बच्चा जन्माउँदा पाएको सास्ती नजिकबाट नियाले। उनलाई लाग्थ्यो, यस्तो पीडा सन्तानको जन्मपछि आमाहरु कसरी भुल्छन्?
अन्ततः मीनाले छोरा जन्माइन्। नभन्दै छोराको उज्यालो अनुहार देखेपछि मीनाले सबै पीडा बिर्सिइन्। डाक्टरले तिम्रो छोरा भयो भनेपछि मीनाले लामो सास तान्दै भनिन्, ‘यो दुखाइ भोगेर अब अर्को बच्चा जन्माउनु परेन।’
छोराको ओठको पहिलो स्पर्शले दिएको अनुभूति
छोरालाई काखमा लिँदासम्म आफूलाई आमा सम्झिएकी थिइनन् उनले। तर, छोराले दूध चुस्न थालेपछि त्यो उनलाई लाग्यो, म आमा भएँ। छोराको ओठको न्यानो स्पर्शले दिएको त्यो मिठो अनुभूति व्यक्त गर्ने कुनै शब्द उनले आजसम्म फेला पार्न सकेकी छैनन्। उनलाई यति थाहा छ, ‘त्यो जिन्दगीकै फरक अनुभूति थियो।’
सुत्केरी भएको तेस्रो दिन मीना घर फर्किन्। फर्किंदै गर्दाको शारीरिक पीडा आज पनि सम्झिन चाहन्नन् उनी। तर, मन भने फुरुंग थियो।
उनलाई घर पुगेर आफ्नी आमालाई आमा हुँदाको खुसी बाँड्नु थियो। छोरीलाई जस्तै अवसर प्रदान गर्ने सासूलाई नातिको सुखानुभूति दिलाउनु थियो। बाटोभरि उनी कल्पनाको उडानमा थिइन्। तर त्यो खुसी उतार्ने शब्द उनीसँग छैनन्। भन्छिन्, ‘शब्दमा उतारिने मनमा अनुभूत नहुने खुसी पनि के खुसी?’
छोरो हुर्काउन मीनाले धेरै दुःख गर्नु परेन। उनको बच्चा सासूले नै हुर्काइन्। मीना राजनीतिक र सामाजिक रुपमा झन् सक्रिय भइन्। धेरै समय उनी घरबाहिर हुन्थिन्। केही ठाउँमा बच्चा बोकेर हिँड्थिन्। सबै ठाउँमा लिएर जान सम्भव थिएन। देश बदल्ने एजेन्डा बोकेर हिँडेकी उनको छाती छोराको सम्झनाले गाँठो परिरहन्थ्यो। छोरा छाडेर हिँडेको क्षण सम्झिँदै गर्दा मीनाको बोलीमा बिराम लाग्यो, एकै छिन सन्नाटा छायो, त्यसपछि मीनाको मुखबाट निस्कियो ‘त्यो दुखाइ सहेकैले आज म यहाँ छु।’
छोरा स्कुल, आमा कलेज
छोरा स्कुल जाने भएसँगै मीनाले आफ्नो रोकिएको पढाइ पुनः सुरु गरिन्। छोरालाई स्कुल भर्ना गरिदिइन्, आफू कलेज भर्ना भइन्।
छोरा ५ वर्षका थिए, मीना कामको सिलसिलामा भारत गइन्। ३५ दिने त्यो यात्रामा धेरैजसो समय उनी पिरोलिइरहिन्। साथीहरुको ठूलो टोली थियो। तर, उनको मन भने छोरामा थियो। राति पनि झस्किरहन्थिन्।
त्यो यात्रामा उनले ‘मेरो छोरालाई केही नहोस्’ भनेर भाकल नै गरिन्।
मीना तीन दाजुकी बहिनी। उनीपछि पनि दुई बहिनी र भाइ छन्। सानैमा मीना आमालाई सोध्थिन्, ‘यति धेरै छोराछोरी किन जन्माएको?’ उनकी आमा भन्थिन्, ‘तिमीहरुलाई साथी चाहिएन त, भोलिपर्सि तिमीले पनि थाहा पाउछौँ।’
बच्चा हुर्किंदै गर्दा उनलाई महसुस भयो, ‘छोरालाई साथी चाहिने रहेछ।’
छोरा जन्मिँदाको प्रसव पीडाले मीनालाई लागेको थियो, अर्को जन्माउँदिनँ। उनका श्रीमानले पनि ‘एउटा बच्चा भए पुग्छ, छोराको बिहे गरेपछि बुहारी पनि छोरीसरह भइहाल्छिन्’ भनेका थिए।
एकदिन उनले छोरालाई सोधिन्, ‘तिमीलाई साथी चाहिन्छ?’
छोराले भने, ‘चाहिन्छ तर बहिनी।’
मीनाले दोस्रो पटक बच्चा जन्माउने निधो गरिन्। र, छोरी जन्मिइन्।
छोरा हुर्किंदाका धेरै कुरा मीनाले देख्न पाइनन्। यसपटक उनले त्यो मौका गुमाउन चाहिनन्। छोरी हुर्किंदा सासू पनि नातिनीको सबै स्याहार गर्न नसक्ने भइसकेकी थिइन्। छोरी जन्मिएपछि उनले जागीर छोडिन्। राजनीतिक सक्रियता बढाइन्।
छोराछोरी कम, साथी ज्यादा
सानामा धेरै छाडेकाले उनका छोरा अलि भावुक छन्। छोरी भने हक्की स्वभावकी छन्। हुर्कने क्रममा पनि छोरीले कहिलेकाहीँ उनको थप्पड खाइन्, छोराले कहिल्यै खाएनन्।
अहिले उनका दुवै छोराछोरी हुर्किसके। छोराछोरी मीनाका लागि छोराछोरी कम, साथी बेसी छन्। आमा आफ्ना सपना र योजनाका कुरा छोराछोरीलाई सुनाउँछिन्। छोराछोरी आफ्ना सपनाका कुरा आमालाई सुनाउँछन्।
छोराछोरी हुर्कने क्रममा उनीहरुलाई कसरी असल बनाउने भनेर सोच्ने मीनाको सपना हिजोआज हेटौँडाका केटाकेटीमा बाँडिएको छ। गत स्थानीय तहको चुनावमा हेटौँडा उपमहागरको मेयरमा उनी निर्वाचित भएकी छन्।
उनको मुख्य योजना भनेको हेटौँडामा सुविधासम्पन्न प्रसूति अस्पताल निर्माण गर्नु हो। आफ्नै कार्यकालभित्र सेवा सुरु गर्नेगरी उनले काम थालिसकेकी छन्।
मीनाका छोरा राजनीतिक रुपमा सक्रिय भइसके। छोरी हेटौँडामै नर्सिङ होम खोलेर बिरामीको सेवा गर्न चाहन्छिन्। नर्सिङ पढिरहेकी उनकी छोरी आमालाई भन्छिन्, ‘म एक पटक विदेश जान्छु र नर्सिङ होम खोल्ने पैसा कमाएर फर्किन्छु।’ छोरीको सपनामा मीनाको पनि विमति छैन।
जिन्दगीका हरेक पाइलामा सफलता प्राप्त गरेकी मीना आफूलाई भाग्यमानी श्रीमती, बुहारी र आमा मान्छिन्।
प्रतिक्रिया