म्यागेजिन


‘करिअर डिप्लोम्याट’ सुशील, जसको सुनुवाइ हुँदा सभाहलमा छायो सन्नाटा (भिडिओ)

‘करिअर डिप्लोम्याट’ सुशील, जसको सुनुवाइ हुँदा सभाहलमा छायो सन्नाटा (भिडिओ)

‘एग्रिमो’ प्राप्त भएपछि सुशील लम्साल नेपालसँग ६५ वर्ष पुरानो सम्बन्ध रहेको इजिप्टका लागि नेपाली राजदूत नियुक्त हुनेछन् (तस्बिरः विक्रम राई)


सन्तोष घिमिरे
जेठ ९ , काठमाडौँ

परराष्ट्र सेवाबाट राजदूत सिफारिस भएका ‘करिअर डिप्लोम्याट’ हरुको संसदीय सुनुवाइको पालो शनिबार (७ जेठ) बिहानका लागि तोकिएको थियो। सुनवाइको क्रममा तेस्रो पालो इजिप्टका लागि राजदूत सिफारिस सहसचिव सुशील लम्सालको थियो। 

राजदूतमा सिफारिस भएका परराष्ट्र मन्त्रालयका अन्य सहसचिवले प्रस्तुत गरेको तर लम्सालले प्रस्तुत नगरेको एउटा पक्ष सुनुवाइ समितिमा रहेका सांसदहरुले गम्भीरतासाथ ख्याल गरेका रहेछन्। 

अरु सहसचिवहरु राजदूतका रुपमा सम्पन्न गर्ने कार्ययोजनाभन्दा व्यक्तिगत पृष्ठभूमिबारे बढी केन्द्रित थिए। लम्साल भने आफ्नो व्यक्तिगत पृष्ठभूमि थोरै, कार्ययोजनामा धेरै केन्द्रित देखिन्थे।  

यो कुरा ‘नोटिस’ मा लिएकी कांग्रेस सांसद पुष्पा भुसालले लम्सालसँग सोधिन्, ‘१८ वर्ष परराष्ट्र सेवामा बिताउनुभएको रहेछ। अरु राजदूतले आफ्नो पृष्ठभूमि राख्नुभएको थियो, तर यति धेरै विद्वता भएको व्यक्तिले आफ्नो व्यक्तिगत पृष्ठभूमि चाहिँ निकै कम बताउनुभयो। कृपया यहाँको शैक्षिक र पारिवारिक पृष्ठभूमि पनि बताइदिनुस् न!’  

सुनुवाइ समितिका सदस्यहरुले अनुरोध गरेपछि मात्र उनी आफ्नो व्यक्तिगत पृष्ठभूमि बताउनतिर लागे। 

‘उच्च शिक्षा अध्ययन सकिएपछि विसं २०५८ मा काठमाडौँ पोस्टमा एक वर्ष पत्रकारिता पनि गरेँ। त्यसपछि मेरो ध्यान सरकारी सेवामा प्रवेशतर्फ गयो,’ उनले भने, ‘२०६० मा परराष्ट्र सेवामा प्रवेश गरेँ। केही वर्षपछि मेरो पोस्टिङ हङकङमा भयो। मैले कन्सुल र कार्यवाहक कन्सुल जेनरलको रुपमा अढाई वर्ष काम गरेँ।’

त्यसपछि उनी फर्केर परराष्ट्र मन्त्रालयमै काम गरे। केही समयपछि उपसचिवमा बढुवा भएका उनलाई अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीमा अध्ययनका लागि फुलब्राइट छात्रवृत्ति प्राप्त भयो, जहाँ उनले अन्तर्राष्ट्रिय सम्बन्ध र अन्तर्राष्ट्रिय अर्थशास्त्र विषयमा दुई वर्ष स्नातकोत्तर अध्ययन गरे।

उनले थपे, ‘त्यहाँबाट मैले मास्टर्स अनर्स उपलब्धि पाउन सकेँ। किनकी म ‘टप टेन’भित्र पर्न सफल भएको थिएँ।’ 

चाकरी–चाप्लुसीभन्दा अध्ययन, मेहनत, लगनशीलताका कारण परराष्ट्र सेवाको सहसचिवसम्म पुग्न सफल अधिकारी हुन्, लम्साल। परराष्ट्र सेवामा उत्कृष्ट ‘पर्फमेन्स’ का आधारमा सरकारले नेपालको पुरानो सम्बन्ध रहेको अफ्रिकी मुलुक इजिप्टका लागि उनलाई राजदूत सिफारिस गरेको हो।

उम्दा प्रस्तुति  
२०७८ वैशाखताका नेपाललाई पनि कोरोना महामारीको दोश्रो लहरले गाँजिसकेको थियो। छिमेकी भारत त कोरोना महामारीको ‘हटस्पट’ नै बनेको थियो। आफैँ संकटमा रहेको भारतबाट आफूलाई आवश्यक पर्ने सहयोग नेपालले प्राप्त गर्नसक्ने स्थिति थिएन।

यता नेपाल सरकार भने दोश्रो चरणको कोरोना खोप अभियान पुरा गर्नुपर्ने दबाबमा थियो। भारतको ‘सेरम इन्स्टिच्युट’ लाई दिएको अग्रिम भुक्तानी अनुसार २० लाख खोप भारतले नेपाललाई पठाउनु पर्थ्यो। तर, आफैँ संकटमा रहेका कारण भारतले त्यो खोप पठाउन ढिलाइ गरिरहेको थियो। 

यस्तो संकटबीच सरकारले उत्तर छिमेक चीनबाट सकभर अनुदानमा र नभए ऋणमै भए पनि खोप ल्याउन कूटनीतिक पहलकदमी गर्ने निधो गर्यो। यसका लागि नेपाल र चीनका राष्ट्रपति तथा परराष्ट्रमन्त्रीस्तरीय टेलिफोन वार्ता भयो। 

चीनबाट सकारात्मक जवाफ प्राप्त भएपछि अतिरिक्त खोप खरिदको प्रक्रिया अघि बढाउन बेइजिङस्थित नेपाली दूतावासलाई निर्देशन दिइएको तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बताउँछन्।

ज्ञवालीका भनाइमा उक्त कामको संयोजनको जिम्मा दूतावास उपप्रमुख सुशील लम्साललाई सुम्पिइएको थियो। जिम्मेवारी पाएपछि लम्साल तत्काल चीन सरकारका निकायसँग रातदिन संवादमा लागे।  

‘उपनियोग प्रमुखका रुपमा सुशीलजी कोरोना खोप खरिद लगायतको कामका लागि चिनियाँ पक्षसँग कुराकानी गर्न सक्रिय भएर लाग्नुभयो,’ ज्ञवालीले भने, ‘वास्तवमा उहाँ त्यसबेला मिसनको प्रमुख स्तम्भ हुनुहुन्थ्यो।’ 

चीनले त्यसबेला थोरै परिमाणमा मात्र खोप उत्पादन गरिरहेको थियो। त्यसैले, खोप बिक्रीको विषय उसको प्राथमिकतामा थिएन। विश्व बजारमा खोपको माग भने उच्च थियो।

‘त्यस्तो अप्ठेरो बेला हामीले चीनसँग खोपका लागि आग्रह गरेका थियौैँ,’ ज्ञवालीले थपे, ‘सुशीलजीसहितका साथीहरुले गर्नुभएको संवादका कारण चीनसँग चाँडै खोप खरिद सम्झौता सम्भव भयो।’   

‘प्रधानमन्त्री, राष्ट्रपतिको बेइजिङ भ्रमण गराउन होस् वा चीनसँगको पारवहन सम्झौताको प्रोटोकललाई अन्तिम रुप दिने कुरामा होस्, उहाँले चिनियाँ पक्षसँग संवादमा निकै मेहनत गर्नुभयो,’ ज्ञवालीले थपे, ‘काठमाडौँबाट तत्कालीन वाणिज्यसचिव चन्द्र घिमिरे र बेइजिङमा सुशीलजीले पारवहन प्रोटोकल टुंग्याउन खेलेको भूमिका प्रशंसनीय थियो।’ 

त्यो महामारीअघि नै उनीसँग फरक प्रकृतिको तर उस्तै संकटका बेला काम गरिसकेको अनुभव थियो। १२ वैशाख २०७२ को भूकम्पका बेला उनी ढाका (बंगलादेश) स्थित नेपाली राजदूतावासमा कार्यवाहक राजदूत थिए। त्यो बेला उनले नेपालका लागि मानवीय सहायता पठाएका थिए। 

‘भूकम्पपछिको विपत्तिमा ढाकाबाट मैले ठूलो मात्रामा मानवीय सहायता नेपाल पठाउन समन्वय गरेको थिएँ,’ संसदीय सुनुवाइका क्रममा उनले यो विषयलाई बढाइचढाइ नगरी प्रस्तुत गरे, ‘त्यो केही भए पनि योगदान दिन पाउँदा म निकै खुसी छु।’  

विनम्र सुनुवाइ
चीनबाट फर्केको १० महिनापछि लम्साललाई सरकारले अफ्रिकी मुलुक इजिप्टका लागि नेपाली राजदूत सिफारिस गरेको हो। सरकारको सिफारिसलाई सुनुवाइ समितिले शनिबार नै अनुमोदन गरिसकेको छ।  

‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र!’ भनेझैँ सुनुवाइका क्रममा लम्सालले आफूलाई विनम्र रुपमा प्रस्तुत गर्ने कोसिस गरिरहे। आफू विदेशस्थित नेपाली नियोगमा कार्यरत रहँदा भएका कामहरुको बढाइँचढाइ गर्न चाहेनन्। बरु, ती कामबाट आफ्नो मुलुक र जनता लाभान्वित भएको उल्लेख गर्दै खुसी प्रकट गरे।  

‘चीनमा कार्यवाहक राजदूत छँदा तत्काल कोरोना खोप पठाउन सफल भएकोमा मलाई सन्तोषको अनुभूति भएको छ,’ उनले भने, ‘मुलुकमा निकै अप्ठ्यारो अवस्था थियो, भ्याक्सिन अभाव थियो। हामीले भ्याक्सिन छिटो पठाउन सक्यौं। त्यसका लागि मित्रराष्ट्र चीनको ठूलो सहयोग प्राप्त भयो, त्यसका लागि चीनलाई पनि धन्यवाद दिन चाहन्छु।’  

‘मेरै भूमिकाका कारण भ्याक्सिन ल्याउन सम्भव भएको हो’ भन्ने दम्भ उनले प्रकट गरेनन्। यस्तो स्वभाव परराष्ट्र सेवाका अन्य अधिकारीहरुमा हत्पती पाइन्न। अधिकांश अधिकारीहरु स्व–प्रशंसामा केन्द्रित हुन्छन्। छिटो–छिटो र धेरै मुलुकमा राजदूत बन्ने ध्येयका साथ उनीहरु ठाउँ–कुठाउँ स्वप्रशंसामा आफूलाई केन्द्रित गरिरहेका हुन्छन्।  

लम्साल करिब २५ मिनेट सुनुवाइ समितिसमक्ष पेस भएका थिए। त्यसक्रममा उनले नेपाल—इजिप्ट सम्बन्ध र राजदूत भएपछिका आफ्नो भावी कार्ययोजनाबारे आफूलाई केन्द्रित गरे।

भिडिओ : विक्रम राई 

‘परराष्ट्र सेवामा रही हासिल गरेको अनुभव तथा आफ्नो प्राज्ञिक ज्ञानको उपयोग गरी नेपाल तथा इजिप्टको सम्बन्ध विस्तारको प्रण गर्दछु,’ लम्सालले भने, ‘सक्रियता, दक्षता र इमान्दारीका साथ भूमिका निर्वाह गरी नेपालको छविलाई उज्ज्वल र गरिमामय बनाउनु नै मेरो मुख्य कर्तव्य हुनेछ।’

परराष्ट्रनीति मुलुकको आन्तरिक नीतिको विस्तारित रुप हो। आन्तरिक नीति राम्रो भए विदेशस्थित नेपाली नियोगमा रहेका राजदूतहरुले राजनीतिक–कूटनीतिक नेतृत्वबाट स्पष्ट मार्गनिर्देशन र सहयोग प्राप्त गर्न सक्छन्। शीर ठाडो पारेर भूमिका निर्वाह गर्न पनि सक्छन्। 

मुलुकको आन्तरिक स्थिति गएगुज्रेको छ भने, राजदूत जति सक्रिय र सक्षम भए पनि, जतिसुकै उत्कृष्ट कार्ययोजना निर्माण गरे पनि त्यसको कार्यान्वयन असहज हुन्छ।  

यो सीमाको जानकारी राजदूत सिफारिस हुने कूटनीतिक कर्मचारीलाई नहुने होइन। तर, आफू ‘उत्कृष्ट कोटीको राजदूत हुँ’ भन्ने देखाउन वा छिट्टै अनुमोदन हुन कतिपय अधिकारीहरु सुनुवाइ समितिमा ठूल्ठूला कार्ययोजना सुनाउँछन्। ठूला–ठूला गफ हाँकेर आफू ‘चानचुने व्यक्ति होइन’ भन्ने आभास दिन खोज्छन्। 

कूटनीतिक सेवाबाट राजदूत बन्ने मौका पाएका यस्ता केही पात्र छन्, जसले चार वर्षअघिको सुनुवाइमा पेस गरेको कार्ययोजनामध्ये तपाईंले कुन–कुन जिम्मेवारी पुरा गर्नुभयो भनेर कसैले प्रश्न गर्यो भने अनुहार पहेँलो पार्नुपर्ने स्थिति छ।   

तर, इजिप्टस्थित नेपाली नियोगको सीमा र नेपालको राजनीतिक स्थिति बुझेका लम्सालले सुनुवाइ समिति समक्ष पुरा हुन नसक्ने कार्ययोजना पेस गरेनन्। आफ्नो विद्वता र अनुभवको अहम् पनि पेस गरेनन्। 

‘राजदूतको रुपमा जिम्मेवारी सुरु गरेपछि जिम्मेवारी अनुसार सरकारलाई नियमित रुपमा पठाउनुपर्ने प्रतिवेदन पठाउनेछु,’ उनले भने, ‘इजिप्ट तथा अफ्रिकी महादेश, अरब विश्व र मध्यपूर्वका राजनीतिक आर्थिक, सामाजिक र वैज्ञानिक क्षेत्रका घटनाक्रम तथा प्रवृत्तिको सूक्ष्मरुपमा अवलोकन तथा विश्लेषण गरेर नेपाललाई प्राप्त हुने अवसर तथा नेपालमा पर्नसक्ने असरबारे नेपाल सरकारलाई नियमित रुपमा जानकारी गराउने छु।’  

कूटनीतिक सम्बन्ध सञ्चालनबारे राजदूतले गर्नुपर्ने प्रमुख क्रियाकलापबारे भियना महासन्धि १९६१ मा उल्लेख भएका प्रावधानहरु उनले समितिसमक्ष विस्तारमा बताए। आफूले पनि भियना सन्धिको ‘फ्रेमवर्क’ भित्रै रहेर जिम्मेवारी पुरा गर्ने सुनाए। 

कूटनीतिक जिम्मेवारी पाएका व्यक्तिको जिम्मेवारी र कर्तव्य के–के हुन्, त्यो भियना सन्धिले सर्सती उल्लेख गरेको छ। तर, सन्धिका प्रावधानलाई जति रचनात्मक ढंगले बुझ्न र कार्यान्वयन गर्न सक्छन्, त्यति कूटनीतिज्ञको ‘पर्फमेन्स’ उम्दा हुन सक्छ।  

कूटनीतिज्ञले निर्वाह गर्नुपर्ने भूमिकाबारे लम्सालको समझदारी उत्कृष्ट रहेको कुरा उनले सुनुवाइका क्रममा देखाए।

‘राजदूतको भूमिका प्रोमोटर, नेगोसियटर, कम्युनिकेटर, म्यानेजर, सिन्थेसाइजर र सर्भिस प्रोभाइडरको रुपमा रहन्छ,’ उनले भने, ‘त्यसैअनुसार मुलुकको हितमा जिम्मेवारी निर्वाह गर्नेछु।’  

सांसदहरुमा उत्सुकता 
संसदीय सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले लम्सालका कार्ययोजना सुनिसकेपछि सांसदहरुलाई बोल्न समय दिए। सांसदहरुले लम्सालले कार्ययोजनामाथि टिप्पणी गरे। सामान्य सुझाव पनि दिए। 

त्यो भन्दा बढी उनीहरुले लम्सालको बौद्धिकताको खुलेर प्रशंसा गरे। 

‘सुशीलजीको बौद्धिकता उहाँको प्रस्तुतिका क्रममा देख्न पायौँ,’ सांसद भुसालले भनिन्, ‘भियना कन्भेन्सनले तोकेका जिम्मेवारी समेत पुरा गर्छु भनेर उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। प्रस्तुतिका लागि धन्यवाद र कार्यकाल सफलताको शुभकामना दिन चाहन्छु।’   

संविधान सभाको उपसभामुख रहिसकेकी सांसद पुर्णाकुमारी सुवेदीले पनि लम्सालको प्रस्तुतिको मुक्तकण्ठले प्रशंसा गरिन्। 

‘लम्सालको प्रस्तुतिबाट हामीले उहाँको अनुभव, योग्यता, क्षमता र प्रतिभाबारे जानकारी पायौँ,’ उनले भनिन्, ‘वास्तवमा उहाँ प्राकृतिक रुपमा समेत सपाङ्ग नै भएको पायौँ।’

सुवेदीको यो भनाइ प्रस्तावित राजदूत लम्सालको शारीरिक कठिनाइतर्फ इंगित थियो।

‘यहाँको जीवन संघर्षशील देखिन्छ। अबको जिम्मेवारीमा थुप्रै चुनौती हुनेछन्। तर प्रतिकूलतालाई अनुकूलतामा ढालेर लैजाने क्षमता तपाईंमा छ भन्ने हामीले महसुस गरिसकेका छौँ,’ उनले भनिन्, ‘राजदूत भएर गएपछि दूतावासको टिम यहाँसँगै हुनेछ। दूतावासका कर्मचारीहरुको सहयोग र नेपालका सरकारी निकायसँगको समन्वयमा यहाँले मुलुकको हितमा काम गर्न सफल हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ।’  

सांसदहरुको प्रतिक्रिया आउँदै गर्दा उनी सभाहलभित्र राउन्डटेबलको माझमा ह्विलचेयरमा बसेर सांसदको प्रतिक्रिया ध्यानपूर्वक सुनिरहेका थिए। सांसदहरुको सद्भावपूर्ण प्रतिक्रिया सुनेपछि उनी आफ्नो शीर झुकाइरहन्थे।  

उनको उपस्थिति र प्रस्तुतिले सभाहलमा सन्नाटा सिर्जना गरिसकेको थियो। उनको प्रस्तुतिबाट सांसदहरुले लम्साल ‘आफ्नाबारे अनावश्यक बढाइचढाइ गरेर लाभ लिन खोज्ने अधिकारी होइनन्’ भन्ने महसुस गरिसकेका थिए। 

विद्वतापूर्ण प्रस्तुतिले सांसदहरुलाई लम्सालको पृष्ठभूमिबारे थप जान्ने उत्सुकता जगाएको थियो।   

त्यही उत्सुकताका कारण पूर्व उपसभामुख सुवेदीले लम्सालको व्यक्तिगत, शैक्षिक र पेसागत पृष्ठभूमि पेस गर्न आग्रह गरिन्। यो आग्रहपछि मात्र लम्साल आफ्नो पृष्ठभूमिबारे संक्षिप्तमा भन्न राजी भए। 

‘मेरो जन्म सप्तरीको राजविराजस्थित पोख्रेल टोलमा भएको थियो। बुबा कामका सिलसिलामा सप्तरीमा छँदा त्यहाँ मेरो जन्म भयो,’ उनले भने, ‘दुईतीन वर्षसम्म म बुबा–आमासँग राजविराजमै रहेँ।’

उनका अनुसार, सप्तरीमा जन्म भए पनि उनको पुख्र्यौली थलो चाहिँ खोटाङ हो। तर पछि परिवार झापामा बसाइँ सर्यो। 

‘अहिले पनि बुबाआमा झापामै हुनुहुन्छ,’ उनले पारिवारिक स्थितिबारे संक्षिप्तमा जानकारी गराए, ‘मेरो एकजना दाजु हुनुहुन्छ, एकजना भाइ। उहाँहरु यही हलको पछिल्तिर हुनुहुन्छ।’

ह्विलचेयर प्रयोग गर्नुपर्ने भएकाले लम्सालका दाजुभाइ पनि सुनुवाइ समितिको हलमा उपस्थित थिए। समितिको सभाहल ह्विलचेयरमैत्री नभएकाले मर्यादापालक र उनका आफन्तजनले उनलाई ह्विलचेयरसहित बोकेर हल भित्र प्रवेश गराउनु परेको थियो।

उनले थपे, ‘वास्तवमा मेरो सफलतामा मेरो परिवारको निकै ठूलो भूमिका छ। परिवारको हौसला र समर्थन नभएको भए म यो स्थानमा आउन सक्ने थिइनँ।’

सप्तरीमा जन्मे पनि आफ्नो हुर्काइबढाइ भने झापामा भएको उनले उल्लेख गरे। उनको स्कुले शिक्षा पनि झापाबाटै सुरु भयो। उच्च शिक्षा मेची क्याम्पसबाट हासिल गरे।  

परराष्ट्र सेवामा प्रवेशपछि हङकङ, ढाका र बेइजिङ पोस्टिङका अलावा उनले राहदानी विभागको प्रमुखको जिम्मेवार पनि सम्हालिसकेका छन्। उनी अहिले मन्त्रालय अन्तर्गत दक्षिण–पूर्व एसिया तथा प्रशान्त क्षेत्र महाशाखाको प्रमुख छन्। 

लम्सालले २०७७ मा नेपाल सरकारबाट उत्कृष्ट कर्मचारी पुरस्कार पनि प्राप्त गरेका छन्।  

लम्साल परराष्ट्र मन्त्रालयमा एक बौद्धिक, अध्ययनशील, मेहनती र लगनशील कर्मचारीका रुपमा परिचित छन्। अंग्रेजी, चिनियाँ र बंगाली भाषामा दखल राख्ने उनी विषय–विशेषमा दक्षताका लागि अध्ययन–अध्यापनमा विशेष जोड दिने गर्छन्। 

अंग्रेजी भाषामा विशेष दखल भएकाले उनका वरिष्ठ तथा कनिष्ट सहकर्मी भाषागत समस्या आइपर्दा उनीकहाँ पुगिहाल्छन्। 

सहसचिव लम्साल ह्विलचेयर प्रयोग गर्ने नेपालका उच्चतम सरकारी अधिकारी हुन्। उनी ह्विलचेयर प्रयोग गर्ने पहिलो नेपाली राजदूत पनि बन्दैछन्। 

संसदीय सुनुवाइ समितिबाट अनुमोदित भइसकेका उनको नाममा ‘एग्रिमो’ प्राप्त भएपछि लम्साल असंलग्न आन्दोलनको अगुवा र नेपालसँग ६५ वर्ष पुरानो सम्बन्ध रहेको मुलुक इजिप्टका लागि नेपाली राजदूत नियुक्त हुनेछन्। 
 

जेठ ८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad