म्यागेजिन


५० वर्षपछि सुर्खेतबाट दैलेख फर्काइएको नेपाल–तिब्बत युद्धकालीन ‘सुन्दरी तोप’ को कथा

५० वर्षपछि सुर्खेतबाट दैलेख फर्काइएको नेपाल–तिब्बत युद्धकालीन ‘सुन्दरी तोप’ को कथा

सुर्खेतबाट दैलेख पुर्याइएपछि सुन्दरी तोप (फोटो सौजन्यः तीर्थनारायण श्रेष्ठ)


सीताराम बराल
पुस २४ , काठमाडौँ

दैलेख सदरमुकामको केन्द्रभाग पुरानो दैलेख बजारको रौनक पहिलेभन्दा फरक थियो। बुधबार (२१ पुस) नारायण नगरपालिका– १ मा पर्ने बजारमा सयौँ मानिसहरु राष्ट्रिय झण्डासहित भेला भएका थिए। 

अन्य दिन विरलै देखिने सैनिक गाडीहरुको लस्करका साथ राष्ट्रिय झण्डा बोकेका सयौँ स्थानीयवासीको जुलुस बजारको मध्यभागमा रहेको कोतगढीतर्फ लाग्यो।   

५० वर्षपछि दैलेखबाट सुर्खेत पुर्याइएको एउटा ऐतिहासिक तोप त्यसैदिन दैलेख फिर्ता ल्याइँदै थियो। तोप फिर्ता आएको खुसियालीमा उत्सव मनाउन दैलेख सदरमुकामवासी झण्डा र बाजागाजासहित भेला भएका थिए।

नेपाल एकीकरणकालमा निर्माण भएको ‘दैलेख गढी’ खासमा त्यही तोपका कारण ‘तोप गढी’ मा रुपान्तरण हुन पुगेको थियो।  

पौने दुई सय वर्षसम्म दैलेख सदुरमुकामको सान बनेको तोप २०२८ को भोकमरीका कारण ज्वालादल गण सुर्खेतमा स्थानान्तरण भएपछि सँगै सुर्खेत लगिएको थियो। 

विसं १८३१ मा पृथ्वीनारायण शाहको निधन भए पनि गोर्खा राज्य विस्तार अभियानलाई उनका सन्ततिहरुले जारी राखे। राज्य विस्तारका क्रममा ठाउँ–ठाउँमा कोत र किल्लाहरु बनाइए। नेपाली सेनामा नयाँ–नयाँ नामका गण (बटालियन) र गुल्म (कम्पनी) हरु पनि स्थापना भए।  

सैनिक इतिहासमा विद्यावारिधि गरेका नेपाली सेनाका अवकाशप्राप्त सहायकरथी डा. प्रेमसिंह बस्न्यातका अनुसार, ज्वालादल गुल्मको स्थापना एकीकरणकालमा विसं १८४२ मा भएको थियो।

‘सैनिक युनिटहरुको नामाकरण देवी–देवता र मन्दिरहरुको नाममा गर्ने प्रचलन थियो,’ डा. बस्न्यातले भने, ‘नजिकै (सुर्खेतमा) ज्वालामाईको मन्दिर थियो। त्यसैले ज्वालामाईकै नाममा त्यहाँ स्थापना गरिएको गुल्मको नाम ‘ज्वाला दल’ राखियो। १८४२ मा स्थापना भएपछि धेरैपछिसम्म त्यहीँ रहेको यो गुल्म राजा वीरेन्द्रको शासनको सुरुवातमा मात्र सुर्खेतमा स्थानान्तरण भएको हो।’ 

तोपगढी 

राज्य विस्तार अभियानमा रहेको गोर्खाले तोप, बन्दुक, खुँडा–खुकुरी लगायतका हतियार निर्माणलाई अभियानकै रुपमा सञ्चालन गरेको थियो। सुगौलीपछि दक्षिणतर्फको ब्रिटिस–इन्डियासँगको युद्ध स्थगित भए पनि जंगबहादुरको पालामा पनि तिब्बतसँग युद्ध भएको थियो। 

डा. बस्न्यात भन्छन्, ‘त्यसैले, जंगबहादुरको पालासम्म यस्ता तोपहरुको निर्माण हुने गरेका थिए।’  

नेपाल एकीकरणकालदेखि जंगबहादुरको पालासम्म निर्माण भएका पित्तल र काँसका तोपहरु अहिले पनि देशका विभिन्न भागका सैनिक छाउनीहरुमा देख्न पाइन्छ। 

त्यसैमध्येको एउटा तोप हो– सुर्खेतबाट २१ पुसमा दैलेख पुर्याइएको ‘सुन्दरी तोप’। 

नारायण नगरपालिका–१ (दैलेख) का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठका अनुसार सो तोपको निर्माण विसं १८४६ तिर भएको अनुमान छ। 

‘तर, ठ्याक्कै कहिले निर्माण भएको हो, त्यो चाहिँ बताउन सकिने स्थिति छैन,’ वडाध्यक्ष श्रेष्ठले नेपालखबरसँग भने, ‘हामी यो तोपको इतिहासको खोजीकै क्रममा छौँ। बुढापाकाहरुले चाहिँ नेपाल एकीकरणकालमै तोपको निर्माण भएको बताउने गरेका छन्।’

सैनिक इतिहासका जानकार डा. बस्न्यात भने ज्वालादल गुल्मको स्थापना नेपाल एकीकरण अभियानका क्रममा (१८४२ मा) भएपनि सुन्दरी तोप चाहिँ तिब्बत–चीनसँगको युद्धलाई मध्यनजर गर्दै बनाइएको दाबी गर्छन्।  

‘सन् १७९१–९२ को नेपाल–तिब्बत युद्धमा तिब्बतको सहयोगका लागि चिनियाँ फौज बेत्रावती (नुवाकोट–रसुवाको सीमा) सम्म आइपुगेको थियो,’ डा. बस्न्यातले भने, ‘पश्चिममा जुम्लाक्षेत्रमा पनि चिनियाँ पक्षले आक्रमण गरेको थियो। त्यसैले, सुन्दरी तोपको निर्माण चिनियाँ–तिब्बती आक्रमण रोक्ने तयारीका क्रममा भएको हो।’  

डा. बस्न्यातका भनाइमा सैनिक इकाइहरुको नामाकरण देवी–देवता र मन्दिरहरुको नाममा भएझैँ तोपहरुको नाम पनि देवी–देवता र त्यसको रंग–प्रकार आदिका नाममा गरिन्थ्यो। 

चिसापानी गढी (मकवानपुर) स्थित काली मन्दिरमा रहेको तोपको नाम ‘काली तोप’ रहन गयो। मकवानपुर गढीमा पनि रातो रंगको तोप थियो। त्यही कारण त्यसलाई ‘लाली तोप’ भनिन्थ्यो।

सुर्खेतबाट पुनः दैलेख पुर्याइएको पित्तलबाट निर्मित तोप निकै राम्रो छ। पित्तलको भएकाले टिलिक्क टल्किएको छ। सम्भवतः सुन्दर भएकैले त्यसको नाम ‘सुन्दरी तोप’ राखिएको हुनसक्छ। वरिपरि कतै ‘सुन्दरीमाई’ को मन्दिर रहेकाले तिनै देवीको नाममा ‘सुन्दरी तोप’ को नामाकरण गरिएको हुनसक्ने सम्भावना पनि छ। 

जे होस्, युद्धका क्रममा निर्माण भएको ‘सुन्दरी तोप’ लामो समय दैलेखी संस्कृतिको अभिन्न अंग भएर बस्यो। 

‘सुर्खेत झारिनुअघि खेतीपातीको समय सुरु भयो भन्ने जानकारी दिन यही तोप पड्काउने गरिन्थ्यो,’ सो तोपको सामाजिक–सांस्कृतिक महत्व बताउँदै वडाध्यक्ष श्रेष्ठले भने, ‘सुन्दरी तोप पड्काएपछि दशैँमा टीकाको साइत सुरु भएको जानकारी स्थानीयहरुले पाउँथे। तोप पड्केपछि मात्र जिल्लाभरिको टीका सुरु हुन्थ्यो।’   

यसरी सदरमुकाम र वरिपरिको क्षेत्रसँग सांस्कृतिक रुपमा अभिन्न सम्बन्ध रहेको तोप ज्वाला दल गुल्मसँगै २०२८ मा सुर्खेत झर्यो। दैलेख भोकमरीको चपेटामा परेपछि ज्वाला दल गुल्मलाई सुर्खेत झारिएको थियो। 

त्यो बेला दैलेखलाई मोटरबाटोेले छोएको थिएन। हवाई यातायातसँग पनि जोडिएको थिएन। जिल्लाभरि भोकमरी फैलिएका कारण दुर्गम दैलेखस्थित सो गुल्मका सैनिकलाई रासन पुर्याउन कठिन भयो। त्यसै मेसोमा ज्वालादल गुल्मलाई सुर्खेत स्थानान्तरित गरियो।  

वडाध्यक्ष श्रेष्ठले स्थानीय बुढापाकाहरुबाट सो तोपबारे थुप्रै कहानी सुनेका छन्। 

उनको भनाइमा तोप यति गह्रौँ छ कि दैलेखबाट उठाएर हिँडेका सैनिकहरु तोप बीचैमा छाडेर सुर्खेत पुगेका थिए। 

‘तोप बोक्न नसकेपछि दैलेखको चुप्का भन्ने स्थानमा राखेर सैनिकहरु हिँडेछन्, २–३ महिनापछि फेरि १२–१३ जना बलिया मान्छे खोजेर सुर्खेत पुर्याइएको रहेछ,’ उनले सुनाए, ‘त्यो बेला तोप बोक्ने केही बुढापाकाहरु अहिले पनि ज्यूँदै छन्।’  

उनका भनाइमा ‘अर्घा’ नामको अर्काे अलिक सानो आकारको तोप पनि सुर्खेत झारिएको थियो। 

दैलेखमा रहेका तोपहरु सुर्खेत झरे। तर आफ्नो संस्कृतिसँग अभिन्न बनेका ती तोप दैलेखीहरुले बिर्सिन सकेनन्। २०२८ मा दैलेख छाडेर सुर्खेत झरेको नेपाली सेनाले एकैचोटि २०५९–६० ताका दैलेखमा ब्यारेक स्थापना गरेपछि स्थानीयवासीहरुले तोपबारे सोधीखोजी गरे। 

‘म त तोप सुर्खेत झरेकै वर्ष (विसं २०२८) जन्मेको हुँ। बुढापाकाहरुले कोतगढीमा रहेका ‘सुन्दरी’ र ‘अर्घा’ नामका दुई तोपबारे सुनाउनु हुन्थ्यो, त्यसलाई फिर्ता ल्याउनु पर्छ भन्नुहुन्थ्यो,’ श्रेष्ठले भने, ‘द्वन्द्वकालमा दैलेख सदरमुकाममा फर्स्ट राइफल गणको ब्यारेक स्थापना भएपछि ती तोपबारे सोधीखोजी गर्यौँ। तर, द्वन्द्वको समय भएकाले त्यो कुरा प्राथमिकतामा परेन।’

तोपका साथ वडाध्यक्ष श्रेष्ठ (दायाँ) 

‘राजनीतिमा संलग्न भएपनि म भलिबल खेलाडी पनि हुँ, खेल्न र खेलाउन सेनाको ब्यारेकमा गइरहन्थेँ,’ उनले थपे, ‘पुराना तोप लगायतका हतियारले ब्यारेक सजाइएको दृश्य मन पर्थ्यो। आफैँ जनप्रतिनिधि भएपछि मैले यसबारे थप सोधखोज थालेँ।’

सो तोपको खोजीमा निवर्तमान प्रधानसेनापति पूर्णचन्द्र थापाको पालामा जङ्गी अड्डाले सुरु गरेको ‘नेपाल एकीकरण पदमार्ग अभियान’ ले सघाउ पुर्यायो। लामो द्वन्द्व, सेना समायोजन र संविधान जारी भएसँगै संक्रमणकालीन राजनीतिको अवधि सकिएपछि प्रधानसेनापति थापाको पालामा नेपाली सेनाले आफ्नो इतिहास खोजविन थालेको थियो। 

यसक्रममा नेपाल एकीकरणताका निर्माण भएका गढी–किल्ला र हातहतियारहरुबारे खोज र तिनको संरक्षणलाई नेपाली सेनाले प्राथमिकता दियो। त्यसयता एकीकरण अभियानका क्रममा सेनाले प्रयोग गरेका मार्गहरुमा पनि सेनाले ‘पैदल मार्च’ पनि गर्दै आएको छ। 

एकीकरणकालीन सैनिक इतिहास खोजीकै क्रममा दुई वर्षअघि ‘एकीकरण पदमार्ग’ सम्बन्धी गोष्ठी जंगी अड्डाले आयोजना गरेको थियो। गोष्ठीमा जनप्रतिनिधिको हैसियतमा दैलेखबाट वडाध्यक्ष श्रेष्ठ पनि सहभागी थिए। 

तोपको पूजा

वडाध्यक्ष श्रेष्ठले सैनिक अधिकारीहरुसँग दैलेखमा रहेको ऐतिहासिक सुन्दरी तोप सुर्खेत लगिएको बताउँदै त्यसको खोजबिन र दैलेख फर्काउनेबारे कुराकानी गरे।  

तर, पचास वर्षअघि दैलेखबाट सुर्खेत झारिएको त्यही सुन्दरी तोप कहाँ छ, जंगी अड्डाका सैनिक अधिकारीहरुलाई जानकारी थिएन। तोप विशेषबारे जानकारी नहुनु स्वभाविक पनि हो। किनभने देशभरिका सैनिक ब्यारेकहरुका सयौँ यस्ता तोपहरु छन्।  

सैनिक इतिहाससँग सम्बन्ध रहेको सो तोपबारे स्थानीय जनप्रतिनिधिले समेत चासो लिएपछि दैलेखस्थित सैनिक ब्यारेकका अधिकारीहरु पनि सो तोपको खोजीका लागि ताते।

तोपको खोजीमा ब्यारेकमा निवर्तमान गुल्मपति दीपसिंह विक र वर्तमान गुल्मपति दिनेश लामाको महत्वपूर्ण भूमिका रहेको श्रेष्ठ बताउँछन्। 

‘खोजीको क्रममा कसैले सुर्खेतको कुन ब्यारेकमा छ भन्थे, कसैले नेपालगञ्ज पुगिसकेको बताउँथे। ठ्याक्कै कहाँ छ भन्ने पत्ता लगाउन निकै कठिन थियो,’ श्रेष्ठले भने, ‘सेनाको स्थानीय ब्यारेकका अधिकृतहरुले नै चासो लिएपछि झन् सजिलो भयो।’  

पछिल्लो समय दैलेख सदरमुकाममा ब्यारेक रहेको इन्द्रदल गुल्मका अधिकृतहरुले पनि खोजी कार्यमा लागेपछि सुन्दरी तोप पत्ता लाग्यो।

आफ्नो फेसबुक पेजमा २१ पुसमा जंगी अड्डाले उल्लेख गरेअनुसार सुर्खेतस्थित सो तोप ‘नं २ राजदल गण’ मा थियो। 

बाजागाजाका साथ सुन्दरी तोपको स्वागत (फोटो: नेपाली सेना)

‘दैलेख जिल्लाबाट सुर्खेतमा लगिएको सुन्दरी तोप २१ पुसमा नं २ राजदल गण, सुर्खेतबाट स्थानीय निकाय र नेपाली सेनाको पहलमा दैलेखस्थित इन्द्रदल गुल्ममा सारिएको छ,’ सुर्खेतबाट दैलेखमै तोप स्थानान्तरण भएपछि जंगी अड्डाले भनेको छ, ‘दैलेख जिल्ला नारायण नगरपालिका वडा नं १ को पुरानो बजारमा अवस्थित पुरातात्विक तथा ऐतिहासिक सम्पदा कोतगढीमा रहेको उक्त तोप ५० वर्षअघि सुर्खेत लगिएको थियो।’ 

बुधबार सुर्खेतबाट सो सुन्दरी तोप मात्र होइन, त्यसका ८१ वटा गोला पनि दैलेख पुर्याइएका थिए। 

पचास वर्षपछि तोप र त्यसका गोलाहरु जस्ताको तस्तै जिल्ला आइपुग्दा खुसियालीमा जिल्लावासीले तिनको स्वागत मात्र गरेनन्, तोप र गोलाहरुको पुजाआजासमेत गरे। बाजागाजाका साथ नाचगान गरेर उत्सव नै मनाए। 

‘अहिले तोप र गोलाहरु अलिक पर रहेको काँडाघारीस्थित सैनिक ब्यारेकमा राखिएको छ, तोप राख्न मिल्ने गरी पुनर्निर्माण भएपछि तिनलाई कोतगढीमै ल्याएर राख्नेछौँ,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘किनभने, यो दैलेख जिल्लाकै अमूल्य सम्पत्ति हो।’  

पुस २४, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.