ad ad

म्यागेजिन


दरबारनजिकैको त्यो ‘हाइप्रोफाइल’ हत्या– जसले राजनीतिक ‘कोर्स’ बदल्यो, रहस्य अझै खुलेन

दरबारनजिकैको त्यो ‘हाइप्रोफाइल’ हत्या– जसले राजनीतिक ‘कोर्स’ बदल्यो, रहस्य अझै खुलेन

गगनसिंह भण्डारीको हत्या कोतघरमा कोतपर्व निम्त्याउने कारण बन्यो जसले त्यसबेलाको राजनीतिक ‘कोर्स’ नै बदल्यो (तस्बिरः सीताराम बराल)


सीताराम बराल
असोज २, २०७८ शनिबार ७:१४, काठमाडौँ

काठमाडौँको केन्द्र– हनुमानढोका दरबारनजिकै १ सय ७५ वर्षअघि राति १० बजे नेपाली सेनाका एक शक्तिशाली जनरलको हत्या भयो। हनुमानढोका दरबारभन्दा २ सय मिटर पर ढोकाटोलस्थित आफ्नै निवासको उत्तरतिर फर्केको पूजाकोठामा पूजा गरिरहेका बेला गोली हानी उनको हत्या गरिएको थियो। 

घटनास्थल निवासको उत्तरतर्फको भाग सानो बाटोसँग जोडिएको थियो। बाटोको अर्काे छेउमा होचा घरहरू थिए। पायक पर्ने घरको छतबाट गोली हानेर हत्यारा भागेकाले सुरक्षामा खटिएका सैनिकले पनि कुनै भेउ पाएनन्।  

मारिएका ती जनरल थिए– गगनसिंह भण्डारी। 

उनको हत्याले त्यतिबेला नेपाली राजनीतिको ‘कोर्स’ नै परिवर्तन गरिदिएको थियो। जंगबहादुरको उदयका कारण भएको ‘कोतपर्व’को नाभी त्यही हत्याकाण्डसँग जोडिएको छ। कोतपर्वमा तत्कालीन मुख्तियार (प्रधानमन्त्री) अधिकतर प्रमुख भारदार मारिएपछि जंगबहादुर शक्तिशाली शासकका रूपमा उदाएका थिए।  

गगनसिंहको हत्यारा पत्ता लगाउन कोतमा गराइएको जमघट २४ जनाभन्दा बढी भारदारको हत्यामा टुंगिएको थियो।याेसँगै गगनसिंहको हत्यारा पत्ता लगाउने जिम्मा समयले इतिहासलाई सुम्पिएकाे हाे। तर इतिहासकारले ‘हत्यारा फलानो नै हो’ भनेर किट्न अझै सकेका छैनन्। 

गगनसिंहको हत्या भएको १ सय ७५ वर्ष बितिसक्यो, तर हत्याका योजनाकार र गोली चलाउने व्यक्तिबारे इतिहासकारबीच विवाद जारी छ। 

प्रधानमन्त्रीभन्दा शक्तिशाली जनरल
राजा राजेन्द्र र रानी लक्ष्मीदेवीको योजनामा त्यसअघि  १९०२ जेठमा मुख्तियार (प्रधानमन्त्री) माथवरसिंह थापा मारिएका थिए। हत्यारा उनकै भानिज जंगबहादुर थिए। माथवरसिंहको हत्याका केही दिनपछि नयाँ मन्त्रिमण्डल बन्यो, जसको प्रमुख (मुख्तियार) राजाकै भाइखलकका पूर्वमुख्तियार चौतरिया फत्तेजंग शाह बनाइए।

गगनसिंह भण्डारीको स्केच–पेन्टिङ 

चार सदस्यीय मन्त्रिमण्डलमा सबैभन्दा कनिष्ठ मन्त्री जंगबहादुर थिए। त्यसअघि नेपाली सेनाको कप्तान दर्जामा रहेका उनलाई आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेबापत पुरस्कारस्वरूप नेपाली सेनाको जनरल र मन्त्रीको दर्जा दिइएको थियो। जनरल र मन्त्री बनेपछि उनले आफ्नो मातहत सेनाका तीन पल्टन राख्न पाउने भए।    

प्रधानमन्त्री शाहपछिको वरीयतामा जनरल गगनसिंह भण्डारी थिए भने उनीपछि जनरल अभिमानसिंह राना। शाह पहिलो, भण्डारी दोस्रो, राना तेस्रो र जंगबहादुर चौथो वरीयतामा रहे पनि सबैभन्दा शक्तिशाली भने जनरल भण्डारी थिए।

किनभने राजा राजेन्द्रबाट सार्वभौम अधिकार प्राप्त कान्छी महारानी राज्यलक्ष्मीले सेनाको सबैभन्दा धेरै फौज र महत्त्वपूर्ण सैनिक विभागको जिम्मेवारी जनरल भण्डारीलाई सुम्पेकी थिइन्। प्रधानमन्त्री शाह, जनरल राना र जनरल जंगबहादुर मातहत जम्मा ३–३ पल्टन थिए भने जनरल भण्डारी मातहत ७ पल्टन फौज दिइएको थियो। 

पुरुषोत्तमशमशेर राणाले ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (भाग १) मा उल्लेख गरेअनुसार, प्रधानमन्त्री फत्तेजंग शाहलाई तीन पल्टनको जिम्मेवारी, गोर्खा, पाल्पा र डोटीजस्ता तीन गौंडाका जंगी, निजामतीतर्फ सुधार गर्ने जिम्मेवारी थियो। चीन–भोट, भारत–इस्ट इन्डिया कम्पनीसँग लेखापढीको जिम्मेवारी पनि उनैलाई थियो।

तेस्रो वरीयताको मन्त्री रहेका जनरल अभिमानसिंह रानाले पनि तीन पल्टनको जिम्मेवारी पाएका थिए। त्यसबाहेक पूर्व–पश्चिम, तराई–मधेसको रेखदेख गर्ने जिम्मेवारी पनि उनैलाई दिइएको थियो।

चौथो वरीयतामा रहेका जंगबहादुरले तीन पल्टनका साथै सेनाका सम्पूर्ण जवानलाई तालिम दिने जिम्मेवारी पाएका थिए। दरबारको कचहरीमा सुझाव दिने मुख्य भारदार छनोट पनि उनैले गर्न पाउँथे।

दोस्रो वरीयतामा रहेका जनरल भण्डारीलाई भने ७ वटा फौजको तैनाथीका साथै नेपाल अधिराज्यभरका सम्पूर्ण तोपखाना, सिलखाना (हतियारको भण्डार) र बारुदखानाको जिम्मेवारी दिइयो।

सेनामा जसको नियन्त्रण रहन्छ, वास्तविक शासक उही हुने बेला थियो त्यो। सात–सात पल्टनको तैनाथी, तोपखाना, बारुदखाना र सिलखानाजस्ता सैनिक दृष्टिले महत्त्वपूर्ण विभागको जिम्मेवारी पाएपछि जनरल भण्डारी प्रधानमन्त्री र अन्य मन्त्रीभन्दा शक्तिशाली हुने भइहाले। 

खासमा भण्डारी दरबारमा राजा राजेन्द्रको बैठकेका रूपमा प्रवेश गरेका थिए। रानी राज्यलक्ष्मीको चाकडी र चाप्लुसीले उनलाई सरदारमा बढुवा दिलायो। प्रधानमन्त्री माथवरसिंह थापाको हत्याको सल्लाह दिने र हत्यारा (जंगबहादुर) खोज्ने काम पनि उनैले गरेका थिए। 

भण्डारीकै सल्लाह–सहयोगमा महारानी राज्यलक्ष्मी पनि शक्तिशाली हुँदै गएकी थिइन्। उनमा शक्तिको मात यति चढेको थियो कि परम्पराअनुसार राजाका जेठा छोरा राजगद्दीका उत्तराधिकारी हुने भए पनि उनी आफ्नै छोरा (राजाका तर्फबाट साइँला) रणेन्द्रलाई राजा बनाउन चाहन्थिन्। 

रणेन्द्रलाई राजा बनाउन जसले सहयोग गर्न सक्छ भन्ने लाग्थ्यो, राज्यलक्ष्मी तिनैलाई प्रधानमन्त्री बनाउँथिन्। माथवरको हत्यापछि भण्डारीलाई प्रधानमन्त्री बनाउने उनको योजना रहे पनि राजा राजेन्द्रले चर्काे विरोध गरेपछि उनी सफल भइनन्। फत्तेजंग नै प्रधानमन्त्री बनाइए। 

तर रानी राज्यलक्ष्मीको साथ पाएका कारण जनरल भण्डारी प्रधानमन्त्रीभन्दा शक्तिशाली बन्न पुगे। इतिहासकाहरूका भनाइमा– जनरल भण्डारीले प्राप्त गरेको शक्ति र महारानीसँगको शंकास्पद सम्बन्ध नै उनको हत्याको कारण बन्न पुग्यो। 

राज्यलक्ष्मी–गगनसिंह प्रेम 
जंगबहादुरका छोरा पद्मजंग राणाले ‘लाइफ अफ महाराजा सर जंगबहादुर राणा’ पुस्तकमा उल्लेख गरेअनुसार, राजा राजेन्द्र रानीका कृपाले उच्च स्थानमा पुगेका ‘खलनायक’ गगनसिंहप्रति निकै सशंकित थिए। र, रानीसँग अनैतिक सम्बन्ध भएका कारण जेठो छोरो सुरेन्द्र र आफ्नै ज्यान जानसक्ने अनुमान गरेका थिए।  

महारानी राज्यलक्ष्मी   

इतिहासका प्राध्यापक त्रिरत्न मानन्धरले पनि ‘नेपालको इतिहासमा जंगबहादुर’ पुस्तकमा ‘महारानी राज्यलक्ष्मीको चरित्रमाथि पहिलेदेखि नै लाञ्छना लाग्दै आएको’ लेखेका छन्। मानन्धरका भनाइमा– महारानीलाई यस्ता आरोप लागे पनि ती त्यति विश्वसनीय छैनन्। 

‘बाबुराम आचार्य (इतिहास शिरोमणि) का अनुसार, महारानीको उमेर जम्मा २६ वर्ष थियो भने जनरल भण्डारीको उमेर ६० वर्ष’, उनले लेखेका छन्, ‘यस कारण पनि महारानी र गगनसिंहको अनुचित सम्बन्धले गर्दा नै गगनसिंहको हत्या भयो भन्ने तर्क सत्यको नजिक देखिन आउँदैन।’

जे होस्, महारानी र गगनसिंहबीचको सम्बन्ध निकै ‘घनिष्ठ’ थियो। यही कारण उनले दरबारका ‘बैठके’ भण्डारीलाई सरदार हुँदै शक्तिशाली जनरल र मन्त्री बनाएकी थिइन्।

वरीयतामा आफूभन्दा तल रहे पनि रानी र ठूलो फौजको साथका कारण जनरल भण्डारी शक्तिशाली बनेको कुरा प्रधानमन्त्री फत्तेजंगलाई मन परेको थिएन। प्रधानमन्त्री आफू, तर राज्य सञ्चालनमा जनरल भण्डारीको हैकम! शाह राजीनामा दिने मनस्थितिमा थिए।  

अर्का इतिहासकार पुरुषोत्तमशमशेर राणाले ‘श्री ३ हरूको तथ्य वृत्तान्त’मा उल्लेख गरेअनुसार, पहाडतर्फ होस् वा तराईतर्फ, गौंडा–गोश्वारा होस् वा अड्डा–अदालत वा सेना–प्रहरीतिर जताततै भण्डारीले नियुक्ति दिने र खारेज गर्न थालेका थिए। ठेक्कापट्टा असुल–उपर र न्यायतर्फ पनि भण्डारीकै मनोमानी थियो।  

इतिहासकार राणाले लेखेका छन्, ‘भण्डारीले गरेका निर्णय बदर गराउँदा रानीको आदेशबाट भण्डारीले फेरि निर्णय कायम गराउने भएकाले प्रधानमन्त्री शाह पनि चुप लाग्न बाध्य थिए।’

त्यसैले प्रधानमन्त्री शाह राजीनामा दिने मुडमा समेत पुगिसकेको र यसबारे तेस्रो र चौथो वरीयताका जनरलहरू क्रमशः अभिमानसिंह राना र जंगबहादुर राणासँग २ असोज (१९०३) का दिन गोप्य भेटघाटका क्रममा ‘सेयर’ पनि गरेको दाबी पनि इतिहासकार राणाले गरेका छन्।   

तर त्यसै दिन राति १० बजे निवासको बुइँगलस्थित पूजाकोठामा पूजा गरिरहेका जनरल भण्डारीको हत्या भयो। उनको हत्यापछि आक्रोशित महारानी राज्यलक्ष्मीले हत्यारा पत्ता लगाउने र बदला लिने उद्देश्यका साथ सम्पूर्ण भाइ–भारदारलाई हनुमानढोका दरबारनजिकै रहेको ‘कोत’मा जम्मा हुने आदेश दिइन्। 

कोतपर्वको निम्तो  
काठमाडौं महानगरपालिका– १९, ढोकाटोलमा पर्ने जनरल भण्डारीको निवाससहितको श्रीसम्पत्ति भण्डारखाल पर्वको सूचना दिएबापत जंगबहादुरले पुरोहित विजयराज पाण्डेलाई बकसस्वरूप दिएका थिए। पछिल्लो समय त्यो निवास विजयराजका सन्तति स्व. विधिराज पाण्डेकी श्रीमती (कान्छी) शैलजा पाण्डेको भागमा परेको थियो। 

पाण्डेले दुई दशकअघि मारवाडी समुदायका व्यापारीलाई बेचेपछि जनरल भण्डारी मारिएको भवनको नामोनिसान छैन। त्यहाँ अहिले नयाँ भवन बनिसकेको छ। तर पाण्डे परिवारका दाजुभाइका भागमा परेका गगनसिंह भण्डारीकालीन पुराना भवन भने अहिले पनि वरिपरि छन्। 

गगनसिंह भण्डारी मारिएको र गोली हानिएको स्थान

नेपाल प्रहरीका पूर्वएससपी विभूतिराज पाण्डे स्व. विधिराज पाण्डेकी अर्की पत्नीतर्फका छोरा हुन्। पाण्डेका भनाइमा– जुन पूजाकोठामा जनरल भण्डारी मारिएका थिए, त्यो कोठा घरको पहिलो तलामा थियो।

पाण्डे सम्झिन्छन्, ‘भित्रपट्टि चोकैचोक भएको घर थियो, त्यसैले पूजाकोठामा पुग्न त्यति अप्ठेरो थिएन।’  

जनरल भण्डारीको पूजाकोठा घरको पश्चिमतिरको भागमा रहेको बुइँगलसँगै जोडिएको थियो। अगाडि साँघुरो बाटो थियो। बाटोको अर्काे छेउमा छिमेकीका घर। हत्याराले पूजाकोठाअगाडि पर्ने घरको छतबाट जनरल भण्डारीलाई गोली हानेको थियो।

त्यही घरको अघिल्तिर बस्छन्, ७३ वर्षीय डिल्लीराज स्थापित। मल्लकालदेखि नै उनको पुस्ता त्यही ठाउँमा बसोबासरत छ। ९३ वर्षको उमेरमा निधन भएकी हजुरआमाले बाल्यकालमा भण्डारीको हत्या र त्यसपछिको स्थितिबारे आफूलाई सुनाएका कुरा अहिले पनि उनको स्मरणमा ताजै छन्।  

‘गगनसिंह र रानी राज्यलक्ष्मीबीच पहिल्यैदेखि प्रेम–सम्बन्ध रहेछ, उनी यो घरमा आइरहन्थिन् रे! गगनसिंहको हत्या भएपछि उनी जगल्टा (कपाल) फिँजाएर गगनसिंहको घरमा आइपुगेकी रहिछन्’, स्थापितले सुनाए, ‘त्यसपछि यहीँबाट हत्यारा पत्ता लगाउन निर्देशन दिएको कुरा हजुरआमा सुनाउनुहुन्थ्यो।’    

इतिहासकार पुरुषोत्तमशमशेर राणाले पनि महारानी राज्यलक्ष्मी कपालको जगल्टा फैलाउँदै भण्डारीको निवास पुगेको उल्लेख गरेका छन्। पद्मजंगका भनाइमा– गगनसिंहको घरमा पुग्दा महारानीको हातमा नांगो तरबार थियो, पछिपछि मोमबत्ती बोकेका चार जना सेवक थिए। 

जंगपुत्र पद्मजंगले लेखेका छन्, ‘गगनसिंहको शव देखेपछि महारानीले गगन सिंहको हत्याको बदला लिन सकिनँ भने म लक्ष्मीदेवी नै होइन भन्ने किरिया पनि खाइन्।’

उनको आदेश अनुसार स्व. भण्डारीका तीन रानी सती जानबाट रोकिए। त्यसपछि सबै भाइ–भारदारलाई तत्काल कोतमा जम्मा हुन आदेश दिइन्।  

जंगबहादुर आफू मातहतको तीन पल्टन फौजका साथ कोतमा पुगे। कोतमा विवाद बढ्दै गएका बेला जनरल अभिमानसिंह नेतृत्वको फौज पनि आइपुग्यो। आफ्नो फौज लिन बाहिर निस्किन लाग्दा कोतको ढोकामा रहेको सेन्ट्रीले बन्दुकको नालमा जोडिएको बेनेट (छुरी) ले जनरल राणाको छाती रोपिदियो। केहीबेर छटपटाएपछि उनको मृत्यु भयो। 

त्यसपछि कोतमा मारकाटको सिलसिला सुरु भयो। जंगबहादुरका भाइहरू र उनी पक्षधर फौजबाट प्रधानमन्त्री फत्तेजंग शाह, उनका छोरा चौतरिया खड्गविक्रम शाह, चौतरियाहरू नरहरिविक्रम शाह र वीरबहादुर शाहलगायत २४ जनाभन्दा बढी भारदार र सैनिक मारिए। 

कोतपर्वले नयाँ राजनीतिक परिस्थिति सिर्जना गर्यो। गगनसिंहको हत्यारा पत्ता लगाएर बदला लिन चाहने महारानी लक्ष्मीदेवी आफैं शक्तिहीन भइन्। त्यसपछि उनी बनारस लागिन्।

जंगबहादुरविरुद्धको भण्डारखाल पर्व (१९०३ कात्तिक) मा संलग्नता देखिएपछि गगनसिंहका सन्तानको पनि भागाभाग भयो।

त्यसपछि गगनसिंहको हत्याराको खोजी गर्ने मानिस नै भएनन्; समयले यसको जिम्मा इतिहासलाई छाडिदियो। 

इतिहासकारबीच मतभेद  
गगनसिंहको हत्या किन भयो, हत्याको योजनाकार को थियो, गोली कसले चलायो? त्यो ‘हाइप्रोफाइल’ हत्यासँग सम्बन्धित यी तीन प्रश्नका जवाफ इतिहासले इतिहासकारबाट खोजिरहेको छ, तर यस विषयमा इतिहासकारबीच नै मतभेद छ।  

कुनै इतिहासकारले ढोकाटोलका स्थानीयसँगको द्वन्द्वका कारण गगनसिंह मारिएको दाबी गरेका छन्। कतिपयका भनाइमा– महारानी राज्यलक्ष्मी गगनसिंहसँग प्रेम सम्बन्ध रहेको र उनीहरूबाट आफूहरूको ज्यानको असुरक्षा देखिएपछि राजा राजेन्द्र र युवराज सुरेन्द्रले हत्याको योजना बनाएका हुन्। 

केही इतिहासकारले हत्याको योजना प्रधानमन्त्री फत्तेजंग शाह र जनरल अभिमानसिंहले बनाएको दाबी गरेका छन् भने कतिपयका बुझाइमा– गगनसिंहको हत्याका योजनाकार अरू कोही होइनन्, जंगबहादुर आफैं हुन्।  

धेरैजसो इतिहासकारले भने गगनसिंहका हत्यारा ढोकाटोलका स्थानीय लाल झालाई मानेका छन्। झालाई गगनसिंहको हत्यारा मान्ने पहिलो इतिहासकार हेनरी एम्ब्रोस ओल्डफिल्ड हुन्, जो जंगबहादुर राणाको समयमा काठमाडौंस्थित ब्रिटिस रेजिडेन्सीमा चिकित्सकको जिम्मेवारीमा थिए।

ओल्डफिल्डले आफ्नो पुस्तक ‘स्केचेज फ्रम नेपाल’मा दाबी गरेअनुसार, गगनसिंहको हत्याको कारण महारानी राज्यलक्ष्मीसँगको उनको यौन सम्बन्ध थियो, योजनाकार राजा राजेन्द्र र युवराज सुरेन्द्र थिए।  

फत्तेजंग शाहले ढोकाटोलका स्थानीय झालाई हत्याका लागि खटाएको र झाले नजिकैको घरको छतबाट रातको समयमा गोली हानी गगनसिंहको हत्या गरेको, जुन हत्या–योजनाबारे जंगबहादुरलाई जानकारी नै नभएको दाबी ओल्डफिल्डले गरेका छन्।

‘हत्यालगत्तै भारतको बेतिया भागेका लाल झा केही समयपछि जगतबम पाँडेको योजनामा जंगबहादुरको हत्या गर्न काठमाडौं आएका थिए’, ओल्डफिल्डले लेखेका छन्, ‘औलोका कारण मृत्युशय्यामा पुगेका झाले पक्राउ परेपछि गगनसिंहको हत्या आफूले गरेको स्वीकार गरेका थिए।’

‘गगनसिंहको हत्यारा लाल झा नै हुन्’ भन्ने ‘न्यारेसन’का कारण ओल्डफिल्डले ‘स्केचेज फ्रम नेपाल’मार्फत गरेको दाबी यही हो। गगन सिंहको हत्याराबारे इतिहासमा पहिलोपटक गरिएको दाबी पनि यही हो। जंगबहादुर र अन्य राणा शासकसँग उनको सम्बन्ध थियो। यही कारण ओल्डफिल्डको दाबीलाई त्यसपछिका कतिपय इतिहासकारले पछ्याए।  

त्यसो त इतिहास शिरोमणि बाबुराम आचार्यले पनि गगनसिंहको हत्यारा लाल झा नै हुन् भनेका छन्। तर आचार्यले हत्याको कारण राज्यलक्ष्मी–गगनसिंहबीचको सम्बन्ध र योजनाकार राजा राजेन्द्र र युवराज सुरेन्द्र हुन् भन्ने कुरा अस्वीकार गरेका छन्। 

ऐतिहासिक निबन्धहरूको संग्रह ‘फेरि यस्तो कहिल्यै नहोस्’ मा उल्लेख भएअनुसार, गगनसिंहको उमेर ६० र राज्यलक्ष्मीको उमेर २६ वर्ष मात्र थियो, यही उमेर अन्तरका कारण ती दुईबीच प्रेम सम्बन्धको सम्भावना खासै थिएन। 

आचार्यका भनाइमा– गगनसिंहको स्थानीय बासिन्दासँग सम्बन्ध राम्रो थिएन। छिमेकीहरूसँग उनको द्वन्द्व चर्किंदै गएको थियो। त्यही कारण छुल्याहा प्रवृत्तिका लाल झाले उनको हत्या गरेका हुन्।  

आचार्यले पनि लाल झालाई नै हत्याराका रूपमा पेस गरे पनि ‘जंगबहादुर स्त्रीको भेषमा गएर उनको हत्या गरेको’ र ‘जंगबहादुरका भाइ बद्रीनरसिंह कुँवरले गोली हानेकोे’ जनश्रुति रहेको उल्लेख गरेका छन्।

जंगबहादुरका छोरा पद्मजंगले पनि ‘भाडाको हत्यारा’का रूपमा लाल झाले गगनसिंहको हत्या गरेको उल्लेख गरेका छन्। उनको दाबीअनुसार, प्रधानमन्त्री फत्तेजंग शाहको निर्देशनअनुरूप त्यो हत्या भएको थियो। तर योजनाकार राजा राजेन्द्र, युवराज सुरन्द्रका साथै सुरेन्द्रका भाइ उपेन्द्रसमेत थिए।   

यहाँसम्म आइपुग्दा गगनसिंहको हत्याका योजनाकारहरू– राजा राजेन्द्र, युवराज सुरेन्द्र, सुरेन्द्रका भाइ उपेन्द्र र प्रधानमन्त्री फत्तेजंग शाह गरी संख्या चार पुग्छ। योजनाकार जो भए पनि हत्याराचाहिँ एउटै व्यक्ति लाल झा नै भएको उनीहरूले दाबी गरेका छन्।

ओल्डफिल्डको पुस्तक राणाकालमा प्रकाशन भएको थियो। राणाकालमा गगनसिंहको हत्यामा ओल्डफिल्डले जंगबहादुरलाई दिएको ‘उन्मुक्ति’विरुद्ध कसैले राय बझाउन सक्ने स्थिति नै थिएन। 

तर २००७ को क्रान्तिमार्फत राणा शासन अन्त्य भएपछि ओल्डफिल्डले निर्माण गरेको ‘न्यारेटिभ’मा प्रश्न उठ्न थाल्यो। इतिहासकार बालचन्द्र शर्माले ओल्डफिल्डको दाबीपछि सुरु भएको ‘गगनसिंहको हत्यारा लाल झा हो’ भन्ने कथनप्रति प्रश्न उठाए।

कोतको स्केच (स्रोत : हेनरी ओल्डफिल्डको स्केचेज फ्रम नेपाल) 

राणा शासन अन्त्य भएलगत्तै शर्माद्वारा लिखित ‘नेपालको ऐतिहासिक रूपरेखा’ प्रकाशन भएको थियो। ‘हत्यारा लाल झा होइनन्, जंगबहादुर आफैं हुन् र उनले स्त्रीको भेष धारण गरी पूजाकोठामा पुगेर गगनसिंहको हत्या गरेका हुन्’, शर्माले लेखेका छन्, ‘पहिलेदेखि नै बदमास भएकाले हत्याको दोष लाल झाको टाउकोमा थोपरिएको हो।’

शर्माका भनाइमा– राणा शासनविरुद्ध १९३८ मा भएको विद्रोहमा मारिएका संग्रामसिंह विष्टकी बहिनीसँग बाल्यकालमा उनको भेट भएको थियो। त्यस क्रममा ती महिलाले ‘जंगबहादुरले स्त्रीको भेषमा गगनसिंहको निवासमा गएर हत्या गरेको’ सुनाएकी थिइन्।

उल्लिखित पुराना इतिहासकार मात्र होइन, जीवित इतिहासकारसमेत गगनसिंह हत्याका योजनाकार र हत्याराका विषयमा अझै एकमत छैनन्। 

जंगबहादुरबारे इतिहासकारद्वय प्रा. त्रिरत्न मानन्धर, चित्तरञ्जन नेपाली (नारायणप्रसाद राजभण्डारी) ले पुस्तक नै लेखेका छन्। इतिहासकार पुरुषोत्तमशमशेर जबराले पनि ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ (भाग १) मा जंगबहादुरलाई विस्तृत रूपमा समेटेका छन्। 

यसमध्ये प्रा. मानन्धरले ‘नेपालको इतिहासमा जंगबहादुर’ मा ‘फत्तेजंग शाहले खटाएअनुसार लाल झाले गगनसिंहको हत्या गरेको’ दाबी गरेका छन्। उनका भनाइमा– हत्याका मुख्य योजनकार फत्तेजंग शाह थिए, सहायक योजनाकारचाहिँ राजा राजेन्द्र र जंगबहादुर।

तर इतिहासकार नेपालीले ‘जंगबहादुरको कथा’ र राणाले ‘श्री ३ हरूको तथ्य वृत्तान्त’ पुस्तकमा हत्याराका रूपमा जंगबहादुरका भाइ बद्रीनरसिंह कुँवरलाई पेस गरेका छन्। नेपाली र राणा दुवैका भनाइमा– हत्याका लागि बद्रीनरसिंहलाई अह्राउने काम जंगबहादुर आफैंले गरेका थिए।

‘गगनसिंहकी छोरीसँग बद्रीनरसिंहको प्रेमक्रीडा चलिरहेको थियो, उनी दिनहुँ गगनसिंहको घरमा जाने–आउने गर्थे’, राणाले लेखेका छन्, ‘यो कुरा जंगबहादुरलाई पनि थाहा थियो। तसर्थ बद्रीनरसिंहलाई गगनसिंहको हत्या गर्न पठाए।’  

तर हत्यारा लाल झा नै हुन् भन्नेमा विश्वस्त मानन्धरले दुई कारणले जंगबहादुर वा बद्रीनरसिंहलाई ‘हत्यारा’ मान्न नसकिने तर्क गरेका छन्।   

एक– आफ्नै मामा माथवरसिंहको हत्या आफूले गरेको कुरा जंगबहादुरले स्वीकार गरेका थिए। तर गगनसिंहको हत्या गरेको कुरा उनले कहिल्यै स्वीकार गरेनन्।   

दुई– पछि जंगबहादुरका भाइ बद्रीनरसिंहसँग मनमुटाव भयो। बद्रीनरसिंह कैदका लागि भारत पठाइए। तर जंगबहादुरको निर्देशनमा बद्रीनरसिंहले गगनसिंहको हत्या गरेका थिए भने उनले पक्कै यो कुरा खुलासा गर्थे होलान्। तर उनले कहिल्यै यो कुरा गरेनन्। यसविपरीत लाल झाले चाहिँ गगनसिंहको हत्या आफूले गरेको स्पष्टसँग स्वीकार गरेका छन्। 

चित्तरञ्जन नेपालीले ‘जंगबहादुरको कथा’मा समेटिएको ‘शाही बद्री नरसिंह?’ मा बद्रीनरसिंह नै गगनसिंहका हत्यारा हुन् भन्नेमा केही ऐतिहासिक प्रमाण दिएका छन्। र, जेलमा परेका बेलासमेत किन बद्रीनरसिंहले जंगबहादुरलाई पोलेनन् भन्ने कुराको जवाफ प्रा. मानन्धरलाई फर्काएका छन्।

इतिहासकार नेपालीका भनाइमा, एक– आफ्नो परिवारको विचल्ली नहोस् भनेर बद्रीनरसिंहले गगनसिंहको हत्या गर्न जंगबहादुरले अह्राएको कुरा नबताएका हुन्। यसैबमोजिम जंगबहादुरले बद्रीनरसिंहलाई प्रधानसेनापति मात्र बनाएनन्, उनका सन्तानलाई रोलक्रममा समेत राखिदिएका थिए।

दुई– माथवरसिंहको हत्याका लागि राजा–रानी र युवराजको समेत प्रत्यक्ष आदेश भएकाले उनले आफ्नै मामा माथवरसिंहको हत्या आफैंले गरेको बताएका हुन्। तर गगनसिंहको हत्याका लागि राजाबाट यस्तो प्रत्यक्ष आदेश पाएका थिएनन्। त्यही कारण माथवरसिंह हत्यामा झैं गगनसिंहको हत्या आफूले गरेको कुरा जंगबहादुरले स्वीकार नगरेका हुन्। 

गगनसिंह हत्याका सम्भावित योजनाकार र हत्याराका उपर्युक्त नामहरू लेखकले इतिहासको इजलासमा पेस गरेका हुन्। तर योजनाकार र हत्यारा ठ्याक्कै को हो, इतिहासले अझै फैसला गर्न सकेको छैन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .