म्यागेजिन


बलात्कारको व्यापार र शेखर कपुर

बलात्कारको व्यापार र शेखर कपुर

‘मसँग दुई विकल्प थिए– सत्य र सुन्दरता। मैले सत्य रोजेँ किनभने सत्य पवित्र हुन्छ।’ 

नयाँ दिल्लीमा भएको ‘ब्यान्डिट क्विन’ को प्रिमियरमा निर्देशक शेखर कपुरले चलचित्रको परिचय यसरी दिए। सत्य चित्रित छ भनी जोड दिनाले उनको चलचित्रको व्यावसायिक तथा समीक्षात्मक महत्व दर्साउन सहज भयो। अनेकौँ अन्तर्वार्ता, समीक्षामार्फत् मात्र नभएर चलचित्रको सुरुमै पनि ‘यो सत्य कथा हो’ भनी हामीलाई बारम्बार जानकारी दिइराखियो। 

‘सत्य’ नभनिएको भए चलचित्र उद्योगले सधैँ पस्किरहने पुरानै ढर्राका बलात्कार र प्रतिकारको कथाजस्तै हुनबाट यसलाई केले रोक्थ्यो? यसले भारतको वास्तविकता देखाउँदैन भनेर सधैँ लागिरहने आरोपबाट यसलाई केले रोक्थ्यो? केही न केहीले।

हरेकपटक ‘सत्य’ ले जोगाउँछ। सत्यरुपी सुपरम्यान स्विस चक्कु बोकेर आउँछ र बचाउँछ फिल्मलाई सार्वजनिक लाजबाट। हेडलाइन किनेको छैन कि? फितला तर्क गरेको छैन कि? समीक्षात्मक चेतको उपहास गरेको छैन?

तपाईंलाई फिल्म बेस्वादको लाग्यो भने यो पनि थाहा पाइराख्नुहोस्– सत्य बेस्वादकै हुन्छ। तिकडम लाग्यो? जीवन पनि त्यस्तै हुन्छ। तिकडम। अरु थप्दै जानुहोस्। शोषणकारी? निर्लज्ज? थप्नुहोस्। 

ट्रकका पछाडि लेखिएका सन्देशसँग संवाद गरेजस्तै हो यो। ‘जय प्रभु’, ‘कठिन जीवन’, ‘सत्यम्, शिवम्, सुन्दरम्’, ‘हर्न प्लिज’।

सत्य प्रासंगिक होओस् वा नहोओस्, आखिर त्यो सत्य बनेरै छोड्छ। बनाएरै छोडिन्छ।

सत्यका अगाडि अस्तित्व समाप्त हुन्छ फुलन देवीको। उनको भौतिक अस्तित्व छ। आँखा, कान, हातखुट्टा, कपाल सबै छन्। अब त ठेगाना पनि छ। देवत्वकरण गरिएको छ उनको। उनको छविका अनेक हिस्सामध्ये एक हिस्सामा सीमित राखिन्छ उनलाई। व्यक्तित्वका अन्य आयाम सत्कारका लागि तड्पिन्छन्– मुख्यगरी ती आयाम जसलाई शेखर कपुरले सत्यका रुपमा स्थापित गरेका छन्। र, विश्वास गर्न हामीलाई बाध्य पारेका छन्।

डेरेक माल्कमले द गार्डियनमा लेखेका छन्, ‘यो कथा आख्यान भइदिएको भए श्रेय दिन गाह्रो हुन्थ्यो। यो सत्य घटनामा आधारित छ। फुलन देवीको कथा, बालिका बधूको ...’

उनले भनेजस्तै हो त? वास्तविक कथा नै हो त? कसले भन्यो? कसरी भन्यो?

शेखर कपुर भन्छन्, माला सेनद्वारा लिखित पुस्तक इन्डियाज् ब्यान्डिट क्विनः द ट्रु स्टोरी अफ फुलन देवीमा आधारित छ। सिंगो कथाको पुनर्संरचना अन्तर्वार्ता, पत्रिकामा आएका रिपोर्ट, फुलन देवीसँगका अन्तरक्रिया र फुलनले आफै गरेका टिपोटमा आधारित छ। ती टिपोट जेलमा उनलाई भेट्न गएका व्यक्तिले अलिअलि गर्दै ल्याएका थिए। 

एकै घटनाका विभिन्न विवरण विभिन्न व्यक्तिका माध्यमबाट प्रस्तुत गरिएको छ पुस्तकमा। फुलन स्वयंको विवरण, पत्रकारको विवरण, प्रत्यक्षदर्शीको विवरण। यी सबै एकअर्कासँग मेल खाँदैनन्। तर सबै विवरण पुस्तकमा समावेश गरिएका छन्। नतिजा– जटिल, बुद्धिमत्तापूर्ण आत्मवृतान्त। फुलन देवी नाम गरेकी यी महिलाबारे अस्पष्टता नै अस्पष्टता, चिन्ता नै चिन्ता, उत्सुकता नै उत्सुकता पैदा गरिदिएको छ यसले।

शेखर कपुर जिज्ञासु थिएनन्।

फुलन देवीलाई भेट्ने आवश्यकताबोध नगरेको कपुरले आफै​ कबोलेका छन्। चलचित्रका निर्माता बबी वेदी पनि कपुरकै होमा हो मिलाउँछन्, ‘फुलनलाई भेट्न आवश्यक भएको भए शेखरले भेटिहाल्थे।’

फुलन देवी साँच्चैमा को हुन्, कस्ती छन् भन्ने कुरा शेखर कपुरलाई मतलब थिएन। के उनी महिला थिइनन्? के उनको बलात्कार भएको थिएन? यसले समग्रमा उनलाई के बनायो? एक बलात्कृत महिला! 

शेखर कपुरलाई सरोकार थियो त आफ्नो व्यवसायको। त्यसका लागि किन भेट्नुपर्यो फुलन देवीसँग? उनको विशेषता अरु पनि केही होला भन्ने जान्न मन लागेन कपुरलाई? गाउँको तल्लो जातकी बलात्कृत महिलाको जीवनको परिदृश्य यस्तै नै हो, अन्त्यमा गएर डाँकु नै बन्ने हो भन्ने भान भएको हो त उनलाई?

संसारका अन्य कोही जीवनी लेखकले एकपटक पनि आफूले जीवनी लेखिरहेको व्यक्तिसँग भेट्न आवश्यक नदेखेको घटना छ? छ भने नाम भन्नुस्। त्यसपछि के आफ्नो बकवास बन्द गर्न सक्नुहुन्छ?

शेखर कपुरले आफ्नो चलचित्र माला सेनको पुस्तकमा आधारित छ भन्नुको तात्पर्य के हो? त्यसमा उल्लिखित घटना तथा परिघटना वास्तविक हुन् भनेर उनले कसरी निर्णय गरे? के आधारमा निर्णय गरे? एक त अभद्र, त्यसमाथि घमण्ड। अनि मूर्खतापूर्ण दुस्साहस। आफूलाई थाहा नभएका कुराका दम्भ, निर्भय। खरर किताब पढ्यो, आफूलाई मन लागेका भाग छान्यो, अधिकांशलाई बेवास्ता ग¥यो, फेरबदल ग¥यो। 

पुस्तकमा समाविष्ट हरेक तथ्यलाई चलचित्रमा जस्ताको त्यस्तै उतार्नुपर्छ भन्ने मेरो मनसाय होइन। तर शेखर कपुरको काम हेर्ने हो भने, उनले समावेश गरेका, छाडेका र हेरफेर गरेका भाग नियाल्ने हो भने, एक डरलाग्दो ढाँचा देखा पर्न जान्छ। 

चलचित्रकी फुलन देवीलाई कडा अंकुशमा राखिएको छ। उत्पीडन र क्रुरताको परिधिमा सीमित आफ्नो अस्तित्वबाट उम्कन खोज्दा उनीमाथिको अंकुश झन् कसिलो पार्न खोजिएको छ। 

चलचित्रमा प्रस्तुत भावात्मक ग्राफको एक मात्र उद्देश्य मुख्य पात्रमाथि दर्शकको दया कहिल्यै पनि नरोकियोस् भन्ने हो। विद्यमान शक्ति सन्तुलनमा पात्र हाबी नहोऊन् भन्ने हो।

फुलन देवीको सिंगो कथाका लागि यो अभिशापसिद्ध भएको छ। ‘तँ मेरो बलात्कार गर्, म तँलाई मारिदिन्छु’ को समीकरणभन्दा पर गयो यो। यसको अर्थ, उनी स्वयं नियन्त्रणबाहिर गइन्। शोषित नै शोषक भएर निस्किइन्। 

तर, भावात्मक ग्राफमा यसले पार्ने प्रभावका कारण चलचित्रमा यो सब देखाउनु छैन। यो बुझ्नका लागि बलात्कारलाई सही परिप्रेक्ष्यमा राख्न आवश्यक छ। असल महिला (धृष्ट, हठी, छुच्चो बोली भएकी, तर नैतिक, यौनसम्बन्धका दृष्टिले नैतिक) को बलात्कार एउटा कुरो। दुष्ट, अनैतिक भनिएकी महिलाको बलात्कारको कुरो अर्को। देख्दा दोस्रोमा केही खराबी देखिँदैन। त्यत्ति अफसोस लाग्दैन। अझ भनौँ, अलिकति पनि अफसोस लाग्दैन। 

प्रहरीका कुरा गरौँ। प्रहरी हिरासतमा बलात्कार हुँदा ​ती तातिहाल्छन्। बलात्कार भएकै छैन भनेर पुष्टि गर्न होइन, ती महिला नै खराब थिइन् भनेर देखाउन। तिनको चरित्रमाथि प्रश्न उठाउन, ती वेश्या हुन्, तिनको सम्बन्धविच्छेद भइसकेको छ वा तिनी भागेर आएकी हुन् भन्ने प्रमाणित गर्न। अर्थात्, उनले आफै​ यो निम्त्याएकी हुन् भन्ने देखाउन। 

ब्यान्डिट क्विन बलात्कारविरुद्धको आवाज बन्न खोजेको छैन। असल (अझ भनौँ नीतिवान्) महिलाका बलात्कारविरुद्ध बोल्न खोजेको छ। हामीमध्येका खराब महिलाले यसमा टाउको नदुखाए हुन्छ। 

चिन्तित कुखुराजस्तो आफूबाट आफै लाई बचाउन लागिपरेकी फुलन देवीलाई हामी हेरिरहन्छौँ मालिकलाई विश्वास गर्ने गाइवस्तुजस्तै। प्रतिवाद गर्दैनौँ, प्रश्न उठाउँदैनौँ (किनभने सत्य पवित्र हुन्छ र त्यससँग खेलबाड गर्न मिल्दैन)।

निर्देशक हरेक पटक आफ्नो चालबाज नैतिकताको खेलको सरल र पूर्वनिर्मित गणनामा गाँजिएर सत्यलाई पनि आफ्नो अनुकूलतामा ढाल्न खोज्छन्। त्यसका लागि सत्यमाथि छेडछाड गरिन्छ। उनले यसैअनुरुपको योजना बनाए होलान् भनी दोष दिन खोजेको होइन। यो उनको मध्यमवर्गीय आक्रोशले विकृत भएको दृष्टिको उपज हो भन्ने मेरो ठहर हो। यसैलाई उनले दर्शकतिर तेस्र्याएका छन्। दमकलको पानी छाड्ने नलीजस्तै। 

शेखर कपुरका अनुसार फुलन देवीका जीवनका प्रत्येक विशेष घटना, प्रत्येक निर्णय र प्रत्येक मोड– उनी डाँकु हुँदादेखिको घटना– उनी बलात्कृत हुनाका कारण हुन्। 

फुलन देवीमाथि भएका बलात्कारका कारणको शुद्धीकरण गरिदिएका छन् कपुरले। नाशप्रतिको उनको यो डरलाग्दो मोह तपाईं आफै ​ महसुस गर्न सक्नुहुन्छ। प्रतिलोमित पुरुष आत्म–अवशोषण हो यो।

बलात्कार खानेकुरा हो भने जात त्यसमा तैरिने चटनी हो। 

चलचित्रको सुरुआत फुलन देवीको बाल्यकालबाट सुरु हुन्छ। सानैमा उनको बिहे एक वृद्धसँग हुन्छ। फुलनलाई आफ्नो गाउँमा लिएर जान्छन् ती। अनि बलात्कार गर्छन्। फलतः फुलन भाग्छिन्। त्यसपछि हामी उनलाई गाउँका ठाकुरले बलात्कार गरेकी महिलाका रुपमा देख्दै जान्छौँ। जब विद्रोह गर्छिन्, सार्वजनिक रुपमा लज्जित गरिन्छ। गाउँ फर्किन्छिन् र जेलमा पुर्याइन्छिन्। त्यहाँ पनि बलात्कृत हुन्छिन्, कुटिन्छिन्, पिटिन्छिन्। र अन्त्यमा जमानतमा रिहा हुन्छिन्। हिरासतमुक्त हुनासाथ डाँकुहरु उनलाई उठाएर लिएर जान्छन्।

फलस्वरुप उनको छवि रिहाइ प्राप्त भएको अपराधीको हुन जान्छ। उनीसँग भएका कम विकल्पमध्ये हो ती कन्दरामा नयाँ जीवन सुरु गर्नु।  

जातका कथा, बलात्कारका कथा छन् निर्देशकसँग। राम्ररी बुनिएका छन्। तीव्र, सघन र नाटकीय कथा बुन्न पर्याप्त छन्।

मालाको पुस्तकमा अर्कै कथा छ।

फुलन देवीले आफ्नो जीवनको पहिलो प्रतिवाद दस वर्षको उमेरमा गरेकी थिइन्। बिहे हुनुपूर्व। वास्तवमा भन्नुपर्दा, हतारमा उनको बिहे गरिदिनुको कारण नै यही थियो। उनलाई समस्याको चंगुलबाट पर राख्न। प्रतिवादका निम्ति उनको बलात्कार गराइनु आवश्यक थिएन। 

आफ्ना पिताका भाइ बिहारीलाल र उनका छोरा मैयादिनले कसरी जग्गाजमिनका फर्जी कागज तयार पारी तिनलाई परिवारबाट खेदे र गाउँबाहिर एक सानो झुपडीमा बस्न बाध्य पारे भन्ने जस्ता कथा फुलनले आफ्नी आमाबाट सुनेकी थिइन्।

ती क्रोधित बालिका आफ्नी ​ भयभीत दिदीलाई पछि लगाई जुझारु बताससँग लापा खेल्दै, हाडे बदाम खाँदै र फूल टिप्दै काकाको खेततिर लाग्छिन्। तिनका काकाका छोरा, बीस वर्ष हाराहारीका मैयादिन तिनलाई त्यहाँबाट बाहिर निक्लन भन्छन्। फुलन टेर्दिनन्। ती जुझारु बालिका उल्टै मैयादिनको उपहास गर्छिन् र त्यो जग्गाप्रतिको तिनको अधिकारमाथि प्रश्न गर्छिन्। जवाफस्वरुप उनलाई ईंटाले हानी बेहोस पारिन्छ। 

अन्य डाँकुजस्तै फुलन देवीको पहिलो क्रान्ति पनि जग्गाका निम्ति भएको थियो। डकैतीको यात्राको शास्त्रीय सुरुवात। तर के त्यसमा बलात्कार थियो? अहँ। जातीय द्वन्द्व? अहँ, थिएन। त्यसैले त्यो फिल्ममा समावेश गर्न लायक थियो? अहँ, थिएन।

किताबका अनुसार उनको दोस्रो क्रान्ति पनि जग्गाकै निम्ति भएको थियो। गाउँलेले गरेको उत्पीडनको प्रतिकार गर्न खोज्दा उनी जेल पुग्छिन्। त्यहाँ दर्ज हुन्छ उनको पहिलो पुलिस रिपोर्ट। किताबका अनुसार तिनको परिवारको अंशको मुद्दा पुनः खुल्न जान्छ र अलाहवाद हाइकोर्टमा मामला स्थानान्तरण गरिन्छ। फुलनले ग्रामपञ्चायतमा गरेको बिन्तीको प्रतिफल। बदलाको भावना लिएर मैयादिन फुलनका पिता देवीदिनका खेत र बारीका बाली तथा बोटबिरुवा नाश गरिदिन्छन्। नीमको रुख ढाल्नै लाग्दा फुलन उनीमाथि ढुंगा प्रहार गर्छिन्। उनीमाथि आक्रमण हुन्छ र उनलाई बाँधेर पुलिसमा बुझाइन्छ। जमानतमा रिहा भएलगत्तै डाँकुहरुद्वारा उनको अपहरण हुन्छ। फुलन स्वयंका अनुसार मैयादिनले उनीबाट छुट्कारा पाउन रचेका अनेक प्रपञ्चमध्ये एक हो यो। तर चलचित्रमा मैयादिन पात्र नै छैन।

केही ठूला निर्णय भइसके। के रहन्छन्, के छोडिन्छन्, टुंगो लागिसक्यो। के देखाउने, के नदेखाउने निक्र्योल भइसक्यो। जीवन, अर्थात् बलात्कार। बाँकी सब त फगत विवरण न हुन्। 

त्यसपछि हामी फुलनलाई कन्दराहरुमा देख्छौँ। बाबुसिंह गुजरद्वारा बारम्बार बलात्कृत भइरहेको अवस्थामा। बाबुसिंह गुजर, अर्थात् उनको अपहरण गर्ने ठाकुर गिरोहका नाइके। गुजरका व्यहोराबाट नाइके नम्बर दुई विक्रम मल्ला निराश भइसकेको थिए। फलतः गोली हानिदिए। किताबका अनुसार बाबुसिंह गुजर रक्सीले मातेर फुलनलाई आक्रमण गर्ने धम्की दिइरहँदा उनीमाथि गोली प्रहार हुन्छ। तर फिल्ममा देखाइन्छ अर्कै। फुलनको शरीर। कम्मरमुनि निर्वस्त्र। यौनांग। गुजरको प्राणपखेरु उड्दा फुलनमाथि उनको रगत पर्न जान्छ। हेरिरहन्छिन् उनी आफूलाई बचाउने मल्लालाई रगत लागेका आँखाले। त्यसको अर्थ बुझ्न हामीलाई गाह्रो पर्दैन।

त्यसपश्चात् हामीलाई देखाइन्छ बलात्कारोत्तर रोमान्सको शृंखला। बलात्कारमाथि बलात्कार गरिएकी महिलाको पहिलो यौनाकांक्षा। फिल्ममा देखाइन्छ, ‘म तेरो स्पर्श चाहन्छु तर छोइस् भने चड्काइदिन्छु।’

यसको कोरियोग्राफी गरिएको छ एकअर्कालाई घर्षण गरिरहेको दृश्य देखाएर। तर जबजब मल्ला फुलनलाई छुन्छन्, उनी हात हटाउँछिन्। तर, तृष्णाले छट्पटिन्छिन् पनि। 

एक पुरुषप्रति आकर्षणका बाबजुद यौनलाई लज्जासँग तुलना गरी हेर्ने महिलामा भइरहेको आन्तरिक द्वन्द्वको कस्तो कच्चा तथा मूढ चित्रण। किताबमा यी घटना उल्लेख गरिएको छैन। शेखर कपुरले कहाँबाट उद्धृत गरे, थाहा छैन। उनी नै जानून्। चित्रण हेर्दा लाग्छ, डोनाल्ड डकको भर्सन हो यो।

विक्रम मल्ला र फुलन देवी प्रेमी–प्रेमिका बन्छन्। किताब र चलचित्रका अनुसार मल्ला उनका सच्चा प्रेमी हुन्। तर पुस्तकका अनुसार फुलनका प्रेमी उनी मात्र होइनन्। 

चलचित्रले उनलाई एक मात्र पुरुषकी प्रेमिकाका रुपमा देखाएको छ। नदेखाए कसले गर्ने उनीमाथि दया? प्रेमसम्बन्ध भएका टाढाका भाइ पर्नेको जिकिर नै छैन कतै। मान सिंहलाई ‘राखी ब्रदर’ का रुपमा चित्रण गरिएको छ। 

समग्र चित्रण विक्रम मल्ला वरपर छ। डाँकुका रुपमा फुलनको जन्म विक्रमरुपी प्रसावकबाट भएको देखाइएको छ। फुलनले लिएको पहिलो बदलामा उनका श्रीमान् पुट्टीलाललाई तह लगाउन यिनै मल्लाले सघाउँछन्। पाता कसेर पुठ्ठामा बन्दुकको नालले श्रीमानलाई कुटेको देखाइएको छ। पहिलेका कुरा सम्झेर उनी कराउँछिन्, रुन्छिन्। 

तर यहाँ एउटा सानो चुक भएको छ। पुस्तकका अनुसार, र फुलन देवी स्वयंकै अनुसार पनि त्यस दिन एक होइन, दुई पीडित थिए। एक त पुट्टीलाल भइहाले। अर्की उनकी दोस्री श्रीमती। 

चलचित्रले हामीलाई फुलन देवी र पुट्टीलालको दोस्रो भेटबारे जानकारी दिएको छैन। मैयादिनले फुलनलाई पुट्टीलालकहाँ जबरजस्ती फर्काएको दिनबारे। फुलन फर्किएकी थिइन् आफ्नो श्रीमानको घर। त्यतिबेला नै थाहा पाइन्, उनले त अर्को बिहे गरिसकेछन्। दोश्री श्रीमती विद्याले फुलनलाई चर्को यातना मात्रै दिइनन्, उनलाई फर्काइदिन पुट्टीलाललाई बाध्यसमेत पारिन्। त्यस घटनाले दिएको घाउ फुलनको सम्झनामा आलै थियो। लिखित विवरणमा फुलनले तिनलाई मार्न चाहेको कबोलेकी छन्। मार्ने र एक नोट छोडिदिने। दुई श्रीमती ल्याउनेको नियति त्यस्तै हुन्छ भनी लेखेर। पछि तिनलाई जीवित छोडिदिने निर्णय गर्छिन् उनी। तर कुट्नु कुट्छिन्। पुट्टीलालका हातखुट्टा भाँचिदिन्छिन्। 

के असल महिलाले त्यस्तो गर्छन्? अर्की महिलालाई कुट्छन्? त्यस्ता व्यक्तिप्रति कसैले के कारण संवेदना देखाओस्?

त्यसैले, चलचित्रमा विद्यालाई देखाइएको छैन। 

विक्रम मल्लाले गोली खाएसँगै फुलन र मल्लाको प्रेमको पनि अन्त्य हुन्छ। त्यसपछि उनलाई लिएर जान्छन् मल्लाका हत्यारा। बन्दी बनाएर बेहमई पुर्याउँछन्। यसैलाई चलचित्रको ‘सेन्टरपिस’ बनाइन्छ। सामूहिक बलात्कार। यही दृश्य बन्न जान्छ चलचित्रको निर्णायक विन्दु। यसबारे फुलन मौन रहन्छिन्। केबल यति भन्छिन्, ‘तिनले मसँग एकदम नराम्रो व्यवहार गरे।’

ती पीडकले आफूलाई कुटपिट गरेको, यातना दिएको, गाउँगाउँ डुलाएको विवरण भने उनी दिन्छिन्। अर्की महिला डाँकु कुसुमाले उनलाई मन नपराउने र अनेक यातना दिने गरेको पनि उनी बताउँछिन्। फिल्ममा उनको चित्रण छैन। नैतिकताको अंकगणितलाई यसले प्रश्न गर्ने निश्चितप्राय थियो। 

अमेरिकी पत्रकार जन ब्राड्सले एस्क्वायरमा उल्लेख गरेको ज्वलन्त टिपोटका आधारमा आगामी दृश्यको संरचना गरिएको छ। 

फुलन चिच्याउँछिन्। प्रहार गर्दै चिच्याउँछिन्। तर उनी बलशाली थिए। भुइँमा बजारेर फुलनको बलात्कार गर्छन् ती अपरिचित। त्यसपछि केही अरु व्यक्ति आउँछन्। अग्ला, मौन ठाकुरहरु। अनि फुलन बेहोस नहोउन्जेल बलात्कार गर्छन् उनको। त्यसपछिको तीन हप्तासम्म यस्तै चलिरहन्छ। रातमा कैयौँपटक बलात्कार हुन्छ फुलनको। र उनी भित्तापट्टि फर्किएर समर्पित हुन्छिन्... उनको होस गुमिसकेको हुन्छ... चेतशून्य हुन्छिन्... बाहिरको चर्को आवाजले उनलाई बोलाउँछ। श्रीराम उनलाई इनारबाट पानी ल्याउन अह्राउँछन्। उनी मान्दिनन्। उनका लुगा उतारिन्छन् र लात बज्रन्छन् उनीमाथि... पानी लिन जान बाध्य हुन्छिन् उनी। जान्छिन्, खुट्टा खोच्याउँदै। उनलाई यातना दिनेहरु पर बसेर हाँस्छन् र थुक्छन् उनीमाथि। उनलाई पुनः त्यही झुपडीमा पुर्याइन्छ र बलात्कार गरिन्छ उनको। 

शेखर कपुरका अन्य कमजोरी होलान् तर कोसिस नगरेको भान दिन उनले छोडेका छैनन्। आफूलाई एक कोठामा बन्द गर्छन् र कल्पना गर्छन् एकपछि अर्को पुरुष आउँदै अपान यौन गरेको। त्यसपछि केही निश्चित निष्कर्षमा पुग्छन्। ‘सामूहिक बलात्कारमा कष्ट हुँदैन। केहीबेरपछि त शारीरिक पीडा पनि हुँदैन।’ उनी हामीलाई आश्वासन दिलाउँछन्– यो कसैको आत्माको बन्धकी तथा चरम अपमानजस्तै हो।

धन्यवाद प्रिय। मैले त कहिल्यै मेलो नै नपाउने रहेछु।

आत्मतुष्टिका केही कारण बोकेका चलचित्रनिर्मातालाई मात दिन गाह्रो। ऊ पुरुष हो र बलात्कार त्यो कारण हो भने त झन् गाह्रो। र, उच्च जातका पुरुषले तल्लो जातकी महिलाको सामूहिक बलात्कार गरे त... भयो, नभनौँ। केबल महसुस गरौँ।

फुलनका चेहरामा धेरैथोक देखिन्छ। नजिकैबाट नियाल्दा देखिन्छ बलात्कारपश्चातको भय र पीडाले भरिएको, विकृत पार्न खोजिएको उनको अनुहार। कुटिएको, पिटिएको। बलात्कारको शानदार मञ्चन भएको भनी सञ्चारमाध्यममा आम राय आउँछ। अतिरञ्जित नभएको धारणा आउँछ।

त्यसको अर्थ के हो? फुलनका स्तन र यौनांगाका अवस्था हुबहु नदेखाएको भनी के हामी शेखर कपुरप्रति कृतज्ञ हुने? कि अनुग्रहित हुने हामीलाई घटनाक्रम कल्पना गर्न ठाउँ छोडिदिएका हुनाले? स्वादिलो बलात्कार पस्केकाले धन्यवाद भन्ने कि? कि कुनै वर्जित धारणाबेगरको पाशवताका लागि? अब त्यहाँ किन रोकिने? एक्कासि किन त्यस्तो संकोच? म भन्छु किन। किनभने यो सब बलात्कारमापक नियन्त्रण गर्नेबारे हो। घटनाप्रति हामीमा थोरै भए पनि घृणा पैदा गरिदिन हो। बरु भोकै रहौँ तर काम जारी रहोस्। 

यो हामीबारे हो। हामी, अर्थात् दर्शक। आफ्नो मध्यमवर्गीय जीवनमा अल्झिएका हामी बलात्कार तथा हिंसालाई कसरी लिन्छौँ, कति लिन्छौँ भन्नेबारे हो। हाम्रो क्षमताअनुसार नै पस्किन्छन् हामीलाई। यो कथाबारे होइन। कथा भन्ने अनेकौँ तरिका छन्। यो सत्यबारे पनि होइन। सत्य पनि थरीथरीका छन्। वास्तविक घटनाबारे त हुँदै होइन। कुनै हठी तत्वबारे पनि होइन्। हामीबारे हो। पुराना हामी। आफूले के–कति हेर्न सक्छौँ भन्ने निर्धारण गर्ने स्वयं हामी हौँ। र, जब मिश्रण सन्तुलित हुन्छ, हामी रोमान्चित हुन्छौँ। हामी स्वीकृति जनाउँछौँ। 

यो वर्गको कुरा हो। अंकुश औधी छन् भने भीड उत्साहित भएर तमासा हेर्न त्यहाँ पुगिहाल्छ। सिठी पनि बजाउला। आफ्नो  उत्सुकता नियन्त्रण गर्न हामीले जति परिश्रम गर्दैनन् ती। यही रीतले बाँकी रहन्छौँ हामी। र, हाम्रो कल्पना। 

तर एउटा कुरा भनिहाल्छु। यो जत्थाले सबै सुनिसक्यो। आउँदैछ। पैसा तिरेर हेर्नेछ। पैसाको कारोबार हुनेछ। गरमागरम विषय हो यो। 

चलचित्रमा देखाइने बलात्कारका दृश्य शोषणकारी छन् कि छैनन् भनी कसरी मापन गर्ने? कति छाला देखिन्छ– त्यसको आधारमा? कि छाला, यौनांग र खुल्ला छाती समेटिएको कुनै सूत्र छ? नीतिको अग्लो खुड्किलोमा उभिएर बलात्कार निकृष्ट कृत्य हो भनी हामीलाई थाहा नै नभएजसरी जानकारी दिनु मेरा अनुसार शोषणकारी हुनु हो। यस चलचित्रमा त शोषणको पनि शोषण भएको छ। फुलनले भनेकी छन्– यी व्यक्ति उनको बलात्कार गर्नेजस्तै हुन्। र यसका लागि तिनले आफ्नो हात मैलो गर्नुपरेको छैन। 

यस केन्द्रीय कथापछि चलचित्र निष्कर्षतर्फ लाग्छ। आफूलाई बन्दी बनाएर राख्नेका पञ्जाबाट फुत्केर भाग्न फुलन सफल हुन्छिन्। र, जान्छिन् आफ्नो नातेदारको घर। त्यहीँ बिस्तारै तंग्रिदै गएपछि कालान्तरमा उनी मानसिंहसँग हात मिलाउन पुग्छिन्। पछि यिनै मानसिंह उनका प्रेमी हुन्छन्। फिल्मले यो किन देखाउँथ्यो?

आफ्नो नयाँ गिरोहसँग मिलेर कुनै एक गाउँमाथिको आक्रमणमा हामी उनलाई तिल्मिलाउँदै, नाकका पोरा फुलाउँदै त्यस गाउँको परिक्रमा गरेको देख्छौँ। बलात्कारबेगरको डकैतीमध्ये एक। गिरोहका अन्य सदस्य डकैती गर्न जान्छन्। प्रहरी आइपुग्दासमेत उनी डराउँदिनन्। त्यहाँबाट निस्कनुअघि काँच फुटाउँछिन् र चाँदीका पाउजु एक बच्चीलाई दिन्छिन्। आहा!

फुलन र उनको गिरोह निर्वहणका निम्ति बेहमई फर्कन्छन्। डरले सबै घरभित्र भाग्छन् तर एक बच्चा इनारसामू रहन्छ। हत्या गर्न मोहर लगाइएका ठाकुरलाई भेला पारिन्छ। अचानक पर्दाबाट रंग हट्छ र बेरंग पर्दामा देखिन्छन् सपनाका अनुक्रम देखाउनु पर्दा प्रयोग गरिने रंग। सबै वैचारिक लाग्न थाल्छ। न वहशीता, न नृशंसता। 

फुलन त्यही गर्छिन् जे उनलाई गर्नु छ। बाइस पुरुष गोलीले ठहरै। रगतको नदीमा लटपटिन थाल्छ अघिको इनारछेउको बालक। त्यसपछि फिल्ममा पुनः फर्कन्छ रंग। 

फिल्मका अनुसार उनी आफ्नो कर्तव्यको दायरा वरपर नै छिन्। त्यसपश्चात् न बलात्कार, न प्रतिकार। 

पुस्तकका अनुसार यही बेहमई पर्व बन्न जान्छ फुलन देवीको परिचयको पर्याय। उनको टाउकोको मोल तोकिएको छ। मान्छेहरु उनको रगतका प्यासा छन्। कतिले त पुलिसको गोली खाइसके। केहीले ओढेका छन् मन्त्री तथा मुख्यमन्त्रीका आवरण। प्रहरी त्रसित छ। फर्जी इन्काउन्टरमा डाँकुहरु मारिँदै छन्। प्रदर्शनीमा राखिएका छन् तिनका मृत शरीर। जनावरजसरी फुलनको सिकार गर्न लागिएको छ। तर विडम्बना, त्यही नै पहिलोपटक हो उनले आफ्नो जीवनको नियन्त्रण आफ्नो हातमा लिएको। पुरुषहरुका नाइके बन्छिन् उनी। उनले तेस्र्याएका शर्तको पालना गर्दै मानसिंह उनका प्रेमी बन्छन्। सबै निर्णय उनी लिन्छिन्। पुलिससँग लुकामारी खेल्ने काम पनि उनकै हो। आफ्ना लागि बिच्छ्याइएका हरेक जाल चिर्न सफल हुन्छिन् उनी। साहसी खेल खेलिरहेकी छन् उनी सबैसँग। उनी उत्तर प्रदेशको सिंगो प्रहरी प्रशासनसँग सिँगौरी खेल्छिन्। र त्यति बेलासम्म प्रहरीलाई उनी कस्ती देखिन्छिन् पनि थाहा हुँदैन। डकैतीमा कुख्यात माल्खन सिंह आत्मसमर्पण गर्छन्। तर, फुलन गर्दिनन्। 

एवंरीतले दुई वर्षसम्मको समय कट्छ। भीँड प्रहरीका एसपी राजेन्द्र चतुर्वेदीसँगको अनेकौँ अन्तरक्रिया​पछि अन्तिममा उनी मध्य प्रदेश सरकारसामू आत्मसमर्पण गर्ने निर्णय लिन्छिन्।

के चलचित्रलाई यी सबको चासो छ त? आफै ​ अनुमान गर्नुस्। 

चलचित्रमा देखाइएअनुसार फुलन र मानसिंह भोकाएका, थाकेका र बन्दुकमा गोली सकिएका अवस्थामा भाग्छन्। मानसिंह चिन्ताशील, व्यावहारिक र बहादुर देखिन्छन्। फुलन भने रुँदै आफ्नी​ आमालाई पुकारिरहेकी हुन्छिन्। 

त्यसपछि आउँछ आत्मसमर्पणको पालो। उनी आफ्नो बन्दुक फाल्छिन्, मानसिंहका अनुहारमा हेर्छिन् र स्वीकृतिस्वरुप टाउको हल्लाउँछिन्। आहा, कति असल! कति चतुर! असल तथा चतुर महिला।

आफ्नो जीवनको साढे तीन वर्ष फुलन कन्दरामा बिताउँछिन्। ४८ ठूला अपराध, २२ हत्या, अपहरण र लुटपाटमा कुख्यात उनको तीव्र खोजी भइरहेको हुन्छ। सरल अंकगणित पनि भन्छ कि हामीलाई आधा मात्र कथा भनियो। तर यो अर्धसत्यलाई महासत्य मानिएको छ। यहाँ अन्य तर्कका लागि स्थान छैन। 

जस्तैः जीवन कला हो। 

कला वास्तविक हुँदैन। 

बरु फिल्मको शीर्षक फुलन देवीज रेप एन्ड एब्जेक्ट ह्युमिलिएसनः द ट्रु हाफ ट्रुथ किन नराख्ने? बरु हुँदै नभएको चलचित्र महोत्सवमा यही एउटा मात्र चलचित्र पठाउँदा कसो होला?

आफ्ना पात्रमाथि जीवनीलेखकको जिम्मेवारी के–कस्तो हुन्छ? अझ, त्यो पात्र जीवित नै छ भने? केही हुँदैन? पात्रले के सोच्ला वा उसलाई जीवनपर्यन्त त्यस जीवनीको कस्तो प्रभाव पर्ला भन्ने कुराले फरक पार्छ कि पार्दैन?

सार्वजनिक वृत्तमा कसैको जीवन पुर्याउनुअघि ती व्यक्तिलाई त्यो काम देखाउनसमेत आवश्यक छैन?

हत्या र बलात्कारजस्ता अपराध सामेल भएका घटनामा अड्कल, कल्पना र अफवाहलाई विशुद्ध सत्यका रुपमा प्रतिस्थापित गर्न कसैले पाउँछ कि पाउँदैन? त्यसमाथि अदालतमा विचाराधीन अवस्थामा रहेका मुद्दामा?

एउटा पनि दृश्य काँटछाँट नगरी जस्ताको त्यस्तै प्रदर्शन गर्न पाऊँ भनी शेखर कपुरले सेन्सर बोर्डमा निवेदन हालेका छन्। उनका अनुसार त्यस चलचित्र, अर्थात् कलाकृतिमाथि सेन्सर बोर्डको कैँची चलेका अवस्थामा उही स्वरुप बाँकी रहन नजाने हुन्थ्यो। उनको कलाकृतिको आधार रहेको कसैको जीवनको मोलचाहिँ के? कि उनले त्यसका लागि आफ्नै छुट्टै नियम बनाएका छन्?

कान्समा चलचित्रको प्रिमियर भएको धेरै महिना भइसक्यो। बम्बई र दिल्लीमा देखाइएको पनि हप्तौँ भइसक्यो। हजारौँले फिल्म हेरे। संसारका कैयौँ चलचित्र महोत्सवमा यसलाई सामेल गर्न निमन्त्रणा आइरहेका छन्। फुलन देवीले फिल्म हेरेकी छैन। उनी आमन्त्रित छैनन्। 

मैले उनलाई हिजो भेटेँ। केही पत्रिकालाई निर्माता बबी वेदीले भनेका छन्, ‘फुलन मसँग बसेर कुरा गर्न तयार छिन् भने आऊन्। म उनका आरोपलाई प्रभावकारी ढंगले सामना गर्नेछु।’ के गर्नेछन् उनले? उनलाई बताउनेछन् घटना कसरी भए भनेर? तर सत्य यो होइन। आझै गहन छ। पत्रिकालाई उनले दिएको गफ आफ्नो ठाउँमा छ, फुलनसँग भएको कुरा अर्को ठाउँमा। मेरै अगाडि फुलनले वेदीलाई फोन लगाइन्। फिल्म कहिले हेर्न पाउँछु भनी सोधिन्। उनले कुनै मिति तोकेर दिएनन्। के हो यो सब?

शक्तिसम्पन्न व्यक्तिका लागि चलचित्रको प्राइभेट स्क्रिनिङ राखिन्छ। तर, फुलनका लागि केही छैन। तिनले यसबारे सोचेका समेत छैनन्। उनी त अहिले निश्चिन्त रुपले जेलमा हुनुपर्ने। उनको विचारको के अर्थ तिनका लागि? उनले त यसमा आफ्नो विचार राख्नसम्म हुँदैन। सन्डे अब्जर्वरले लेखेको छ, ‘अहिले फुलनको असन्तुष्टिभन्दा बढी भारतीय सेन्सर बोर्डलाई लिएर चिन्तित छन् बबी वेदी।’

उत्तर प्रदेशमा फुलनविरुद्धका मुद्दा ज्यूँका त्यूँ छन्। मुलायम सिंहले कोसिस नगरेका होइनन् तर अदालतमा ती विचाराधीन अवस्थामा छन्। बेहमईमा भएका घटनाका विवरण पनि भिन्न–भिन्न छन्। त्यहाँ आफू उपस्थित नरहेको बताउँछिन् फुलन। त्यस घटनामा गोली लाग्दालाग्दै पनि जीवित रहेका दुई पुरुषले पनि फुलन त्यहाँ नरहेको बताए। घटनाका केही प्रत्यक्षदर्शीले उनी त्यहाँ भएको जानकारी दिए। केही प्रमाणित भएको छैन। सबै अनुमान हो। अड्कलबाजी हो। 

फुलन स्वयंलाई चलचित्र नदेखाएर तिनले फुलनमाथि के गरे? यसबारे फुलन बोलिनन्। यसको अर्थ बेहमाईमा भएको भनी देखाइएको घटनालाई उनले मौनस्वीकृति दिएकी हुन् त? के यो उनको आफूविरुद्धको प्रमाण भएजस्तो देखिन जान्छ? चलचित्रलमा सत्य देखाइए पनि, नदेखाइए पनि केही समयमा केही कुरा सत्य बनाएरै छाडिन्छ भन्नेबारे उनी जानकार छिन्? बलात्कृत भए पनि त्यसबापत् प्राप्त हुने सार्वजनिक संवेदना हत्यारा हो भन्ने थाहा पाउनासाथ मेटिने हो त?

के तिनले फुलनको टाउको फाँसीको फन्दामा अड्काउन मद्दत गरेका हुन्?

एकातिर फुलनको ‘आत्मा’ ले भोगेका दुःख र यातना हामीलाई देखाउन वेदी र कपुर उत्साहित छन्। अर्कातिर भने उनको जीवनलाई लिएर बेखबरजस्तै छन्। न जानकार छन् फिल्मप्रति फुलनको दृष्टिकोणप्रति, न त्यसले उनको जीवनमा पार्नसक्ने प्रभावप्रति। 

तिनका लागि फुलन को हुन्? फगत् एक अवधारणा? वा मात्र योनी?

अन्त्यमा एक भयानक कुरो। जेलमा रहेका बेला फुलनलाई एकपटक हस्पिटल पु¥याइएको थियो। पाठेघरका समस्याका कारण भलभली रगत आएको थियो। शल्यक्रिया गरी उनको पाठेघर हटाइयो। माला सेनले यसको के आवश्यकता थियो भनी प्रश्न गर्दा त्यहाँका डाक्टरको हाँसोमिश्रित जवाफ आयो, ‘आइन्दा अरु फुलन देवी नजन्मिऊन्।’

राज्यले एक महिलाको पाठेघर निकालेर फालिदियो। उनको अनुमतिबिना। उनको जानकारीबिना। राज्य गयो र चुँडाएर  लिएर आयो उनको एक अंग। उसैले निर्धारण गरिदियो प्रजनन् अधिकार– कसले गर्भधारण गर्न पाउने, अनि कसले नपाउने पनि। फिल्ममा यसको चर्चा भयो? अहँ। अन्तिममा रोलिङ टाइटल्स्मा पनि भएन। 

फिल्महलका खाली कुर्सी भर्न गर्भाशय उच्छेदनले बलात्कारले जस्तै दर्शक तान्दैनन्।

(शेखर कपुर निर्देशित ब्यान्डिट क्विन (१९९४) को समीक्षामा अरुन्धती रोयले लेखेको ‘द ग्रेट इन्डियन रेप ट्रिक’ को अनुवाद विभु लुइँटेलले गरेकी हुन् )।

भदौ २६, २०७८, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin: [email protected]
News: [email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
अप्रेसन म्यानेजर
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .