ad ad

म्यागेजिन


मृत्युको मुखबाट फर्केर जीवनको म्याराथन जितेकी रसिला

मृत्युको मुखबाट फर्केर जीवनको म्याराथन जितेकी रसिला

समर्पण श्री
भदौ ५, २०७८ शनिबार १६:११, काठमाडौँ

‘रसिला तामाङ!’

मञ्चबाट अंग्रेजी बोलिरहेका उद्घोषकले दुई पटकसम्म यो नाम उच्चारण गरे। भीडमा अलमल्ल परेकी रसिला नाम सुन्नेबित्तिकै चनाखो भइन्। यताउति हेरिन्। त्यो नाम गरेको अर्को कुनै व्यक्ति मञ्चमा उक्लिएन। 

पक्का भइन्– नाम त मेरै हो!

उनीसँगै ख्यातिप्राप्त अल्ट्राधाविका मीरा राईको नाम बोलाइयो। रसिला मीरासँगै मञ्चमा उक्लिइन्। उनलाई सम्मानका साथ कास्य पदक दिइयो। दर्शकदीर्घाबाट तालीको फोहोरा छुट्यो। ‘यो के हुँदैछ?’ सपनामा पनि कहिल्यै नचिताएको दृश्य देख्दा उनी विश्वास गर्न सकिरहेकी थिइनन्।

स्टेजबाट तल ओर्लिइन्। अलि पर एकजना दिदी उनैतर्फ हेर्दै हाँसिरहेकी थिइन्। 

‘देख्यौ, तिमी त आउँदिनँ भन्दैथ्यौ। मैले जबर्जस्ती नल्याएको भए..,’ नजिक पुगेपछि दिदीले रसिलालाई भनिन्। केही नबुझेपछि उनी पदक ओल्टाइपल्टाइ हेर्न थालिन्।

‘म सेकेन्ड पो भएछु,’ उनको अनुहारमा पहिलो पटक खुसीको लेपन लाग्यो।

सन् २०१५ तिर, धादिङको गाउँकै चर्चमार्फत् उनी जाउलाखेलस्थित एउटा तालिममा सहभागी भएकी थिइन्। अन्तिम दिन अन्तर्राष्ट्रिय नारी दिवस थियो। उनीहरूलाई त्यस दिन एउटा फारम भराइयो। 

रसिलाले सोचिन्– नारी दिवसको दिन नारा लगाउने होला! 

अरु साथी निस्किए। उनी बिरामी थिइन्, नजाने भनेर बसिन्। तर, एक जना दिदीले कर गरिन्, ‘हिँड, एकछिन भए पनि जाऊँ।’

दिदीको करकापले निस्किन बाध्य भइन् रसिला। हिँड्दाहिँड्दै अरुको खुट्टामा उनको नजर अल्झियो। सबैले जुत्ता र जिन्स प्यान्ट लगाएका थिए। 

‘जुत्ता लगाउनुपर्ने रहेछ’ भनेर उनी आधा बाटोबाटै कोठा फर्किइन्। उनीसँग जुत्ता थिएन। एक जना सरसँग मागिन्। अनि जुत्ता र जिन्सको प्यान्ट लगाएर पुनः कार्यक्रम स्थलमा पुगिन्। 

करिब ४ सय जना जति कुदुँलाझैँ गरेर लाइनमा ठिक्क उभिएका थिए। कार्यक्रम स्थलमा अंग्रेजीबाट कसैले माइक फुक्यो। उनले बुझिनन्। जब रिबन काटियो, एकले अर्कालाई पेलेर अगाडि बढे। 

अरु कुदेपछि रसिलाले ठानिन्– म पनि कुद्ने होला। दौडिरहँदा कहिले खुकुलो जुत्ताको तुना बाँध्नुपथ्र्यो त कहिले प्यान्ट माथि सार्नुपर्थ्यो।

यसरी किन र कसरी भन्ने थाहै नपाई कुदेकी रसिला पाँच किलोमिटर दौडमा दोस्रो हुन पुगिन्।

खेलकुद त परको कुरा जीवन धान्नै कठिन थियो रसिलालाई। अभाव र कठोर संघर्षले गाँजेको थियो विद्यार्थी जीवन। कक्षा १० मा पढ्दैखेरी उनले आत्महत्याको प्रयास समेत गरेकी थिइन्।

कक्षा ७ पढ्दै गर्दा उनलाई ललितपुरको चापागाउँमा एक आफन्तको घरमा राखिएको थियो। पहाडजस्ता गह्रुंगा भारी बोक्दाका दुःख, सखारै तीन बजेदेखि उठेर घरधन्दा भ्याउनुको बाध्यता कहिनसक्नु थियो। 

कहिले लगनखेलसम्म तरकारीको भारी बोकेर ४ घण्टाको बाटो छिचोल्नुपर्थ्यो रसिलाले। र, फर्केर स्कुल जानुपर्थ्यो। थकानले ग्रस्त भएर स्कुल पुगेकी रसिला कक्षा कोठामै निदाउँथिन्।

कक्षा ९ सम्म त जसोतसो पास भइन्। १० कक्षामा पुगेपछि भने आत्तिन थालिन्। 

‘कठोर मेहनत चाहिन्थ्यो १० कक्षामा। मैले होमवर्क पनि गर्न नभ्याउने भएँ। अब म एसएलसीमा फेल हुन्छु भनेर छट्पटाउन थालेँ,’ उनी सम्झन्छिन्। 

सबै साथी पढ्नमा लीन थिए। तर, उनी न राम्रोसँग पढ्न पाउँथिन्, न पढाएकै बुझ्थिन्। 

‘एसएलसी पास भइनँ भने मेरो जीवन सकिन्छ,’ यही त्रासले उनलाई बारबार सताइरहन्थ्यो।

जीवनमा उनले जताततै अँध्यारो देख्न थालिन्। त्यसपछि बाँच्नुभन्दा मर्नु उनलाई निको लाग्यो।

स्कुल बिदाको दिन थियो। घरका काम सकेर उनी सिटामोल किन्न गइन्। पत्ताका पत्ता सिटामोल किनेर घर आइन् र एकै पटक ४९ चक्की खाइदिइन्। 

‘बाँच्न लेखेको रहेछ। मर्छु भनेर चाहँदा पनि मरिनँ,’ रसिला सुनाउँछिन्। 

दुई साता आईसीयूमा बसेपछि उनले नयाँ जीवन पाइन्। नयाँ जीवन दिने एउटा त डाक्टर थिए, अर्को आफ्नै फुपू। 

‘मेरो उपचार गर्ने पैसा आमासँग थिएन। सबै खर्च फुपूले बेहोर्नुभएछ,’ उनी सुनाउँछिन्, ‘अनि म बाँचेँ।’

त्यसपछि उनी आफ्नै घर गइन्। घर पुगेपछि पनि निकै दिन लाग्यो उनलाई तंग्रिन।

धादिङको धुनिबेसीमा थियो रसिलाको घर। सानैमा बा बितेपछि घरव्यवहार आमाको थाप्लोमा थियो। जन्मेदेखि नै उनले अभावको सामना गर्नुप¥यो। ६ वर्षको हुँदा पहिलो पटक उनलाई पराइको घरमा बच्चा हेर्ने काममा लगाइयो।

एकदिन आफैँ हराएर अलपत्र परिन्। एक जनाले भेटेर प्रहरी चौकीमा छाडेपछि मात्र घरमालिकले भेट्टाएका थिए। 

आत्महत्या प्रयासपछि उनको पढाइ रोकिएको थियो। दुई वर्षसम्म रसिला घरमै बसिन्। भारी बोक्नु र मेलापात जानु नै उनको दैनिकी थियो। त्यतिबेलासम्म न उनीसँग कुनै सपना थियो, न जिजिविषा नै। 

एकदिन संयोगवश नारी दिवसमा पहिलो पटक दौड प्रतियोगितामा सहभागी भइन्। मीरा राई प्रथम भएको दौडमा उनी दोस्रो भइन्। पदक लिएर खुसी हुँदै रसिला घर त आइन्। तर, उनले जितेको कुरा गाउँसम्म पुगेन।​​​

पहिलो दौडमा दोस्रो भएपछि एक जना दाइले भनेका थिए, ‘राम्रो दौडिँदी रहेछौ। हामी पनि दौड आयोजना गर्छौँ। तिमीलाई खबर गर्छौँ।’

नभन्दै केही महिनापछि ती दाइले फोन गरे। उनी आफ्नो दाइसँग पुनः काठमाडौं आइन्। हिमालयन आउटडोर फेस्टिभलको दौड कार्यक्रम थियो त्यो– १२ किलोमिटरको। उनी दोस्रो पटक भाग लिँदै थिइन्। उकालो ओरालो। गाउँमा भारी बोकेर कयौंपटक हिँडेको बानी। उनी सहजै प्रथम भइन्। 

उनले सुन्टो ब्रान्डको घडी पाएकी थिइन्। 

जितेको विश्वास सुरुमा त आफैँलाई पनि भएन रसिलालाई। परिवारले पनि झट्ट कहाँ पत्याइहाल्थ्यो र! तर सुन्टो ब्रान्डको घडी देखेपछि भने गाउँभरि हल्ला फिँजियो– रसिला कुदेर फस्ट भइछ!

अर्को वर्ष फेरि त्यही कार्यक्रम आयोजना भयो। ३० किलोमिटरको दौड थियो। रसिलासँग न राम्रो जुत्ता थियो न खानेकुरा बोक्ने ब्याग। ललितपुरको हात्तीवन रिसोर्टबाट चम्पादेवी हुँदै अर्को एउटा गाउँ पुगेर हात्तीवन नै आइपुग्नुपर्ने थियो। आधा बाटो आइपुग्दासम्म जंगलमै रसिलालाई निकै गाह्रो भयो। उनी आधा घण्टा जंगलमै निदाइन्। ब्युँझदा चराहरू कराइरहेका थिए। भोक लागिरहेको थियो। उनी उठेर कुदिन्। 

त्यसरी दौडिँदा पनि दोस्रो भइछन् रसिला।​

तीन पटक दौडेर पुरस्कृत हुँदासमेत रसिलासँग सपना थिएन। 

गाउँकै मेलापात र उकालीओरालीमा उनको दैनिकी बित्थ्यो। एकदिन एउटा एनजीओको प्रोजेक्टमा काम गरिरहेका आशिष मिश्र धादिङ पुगे। उनी रसिलाको घरमा बसे। 

त्यही क्रममा आशिष र रसिलाबीच कुराकानी भयो। आशिष दंग परे रसिलाबारे बुझ्दा।

‘यत्रो ठुल्ठूलो गेम जितेको छ। तर गाउँमै सीमित भएर बसेको देखेँ रसिलालाई,’ आशिष सुनाउँछन्। 

त्यसपछि उनले रसिलालाई भने, ‘पढाइ फेरि सुरु गर। दौडमा तिमीले सफलता पाउन सक्छौ। म सहयोग गर्छु।’ 

त्यसपछि आशिषले रसिलाको दाइसँग कुरा गरे, ‘बहिनीमा क्षमता छ। अघि बढाउनुपर्छ।’ 

रसिलाका दाइ सकारात्मक देखिए। यति भएपछि रसिलाले घरबाट ठूलो कुरा पाइन्– स्वतन्त्रता।

०७२ मा उनी गाउँमै पुनः कक्षा १० मा भर्ना भइन्। रसिला दिनभरि पढ्थिन्। बेलुका उकालीओरालीमा दौडने अभ्यास गर्थिन्। त्यही बीचमा उनले एकदुई वटा म्याराथन पनि जितिन्। 

एसएलसीको रिजल्ट पनि आयो। पास भइन्। अनि कलंकीमा ११ कक्षामा भर्ना भइन्। धादिङको धुनीबेसीबाट कलंकीसम्म २१ किलोमिटरको दुरी उनी दौडिएरै आउँथिन् कलेज। गाउँमा खिसिट्युरी गर्थे– काठमाडौं जाँदा पनि दौडिएर जाने फलानाकी छोरी। 

उनी धुनीबेसीबाट कलंकीसम्म दौडिएरै आउनुको दुई कारण थियो। ‘एउटाचाहिँ बस भाडा तिर्ने पैसाले खाजा खान पुग्थ्यो। अर्कोचाहिँ मलाई दौडने अभ्यास पनि हुन्थ्यो,’ रसिला सुनाउँछिन्।

अनि मात्र बल्ल रसिलाले सपना देख्न थालेकी थिइन्– धावक बन्ने!

सन् २०१९ रसिलाको जीवनमा उत्सवको वर्ष साबित भयो। त्यो वर्ष राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमै रसिला चिनिन सफल भइन्। चीनमा आयोजित जियाओजी माउन्टेन क्रसिङ प्रतियोगितामा उनी प्रथम भएकी थिइन्। ५० किलोमिटर दुरी आठ घन्टा २० मिनेट ४३ सेकेन्डमा पुरा गरेकी थिइन् रसिलाले। उनले आफ्नो प्रतिस्पर्धीलाई १ घण्टा २० मिनेटले पछि पारेकी थिइन्।

२०१७ मा पहिलो पटक चीन जाँदा भने उनी निराश भएर फर्किएकी थिइन्। किनकि १० औं स्थानभन्दा पछि परेकी थिइन् उनी। यद्यपि दोस्रो पटक भने उनले नेपालको झण्डा फर्फराएरै छाडिन्।​​​

त्यो रेस सोचेजस्तो सहज भने थिएन। सुरुमा उनका प्रतिद्वन्द्वी १० किलोमिटर पछाडि थिइन्। विस्तारै उनले रसिलालाई उछिनिन्। बाटोमा हिउँ थियो। हावाहुरी चलेको थियो।

‘जियाओजी माउन्टेनको टपमा पुगेर तल लाग्ने बेलामा निकै ओरालो थियो। अगाडि पुगेकी प्रतिद्वन्द्वीको गोडा काँपेको देखेँ। त्यहीबेला उनलाई पछि पारेर म अघि लागेँ,’ रसिला सम्झन्छिन्।  

लगत्तै नेपाली सञ्चारमाध्यममा रसिलाले जितेको खबर प्राथमिकता साथ छापिए। उनी सबैतिर परिचित हुन थालिन्। 

चीन जानुअघि ४२ किलोमिटरको एभरेस्ट म्याराथनमा स्वर्ण जित्दा उनी मिडियाको आँखामा परिसकेकी थिइन्। ५ घण्टा १७ मिनेटको त्यो दौडले रसिलाको उचाई थपिदिएको थियो। 

२०१८ मा रसिला हङकङको अल्ट्रा दौडमा दोस्रो भइन्। रनर मिरा राईको पहलमा हङकङ जाने अवसर पाएकी थिइन् रसिलाले। उनीसहितको नेपाली महिला टोली अक्सफाम ट्रेलवाकर (१ सय किलोमिटर दुरी)मा दोस्रो भएको थियो। टोलीमा धादिङकी रसिला तामाङ, जुम्लाकी सुनमाया बुढा, सोलुखुम्बकी छेची शेर्पा राई र ओखलढुंगाकी छोकी शेर्पा सहभागी थिए।

अहिले रसिलाको सिंगो गाउँले नै खेलकुदको सपना देख्न थालेको छ। कुनै पनि खेल नहुने गाउँको स्कुलमा अहिले खेलकुद पहिलो प्राथमिकतामा छ। र, यसको श्रेय स्कुलले रसिलालाई नै दिन्छ। परिवारमा पनि उनकै भदै राष्ट्रिय खेलाडी भइसकेका छन्। रसिला भने अब पर्वतारोहणमा जान चाहन्छिन्।

पछिल्लो पटक पहिलो महिला व्यास म्याराथन भएको थियो नेपालमा। त्यसमा पनि प्रथम भएकी थिइन् उनी। छोटो अवधीमै रसिलाले म्याराथनमा करिब दुई दर्जन मेडल जितिसकेकी छन्। विस्तारै रसिलालाई ठूला पर्वतहरू दौडेर चढ्ने रेसमा सहभागी हुन मन छ। 

‘मैले त्यसकै लागि तालिम लिएकी थिएँ। युरोपमा पिकमै रेस हुन्छ। त्यस्तो इभेन्ट नेपालमा खासै खेलिएको छैन। त्यस्तो रेस खेल्ने ठूलो रहर छ मेरो,’ रसिला भन्छिन्। 

रनिङमा फुल टाइमर बनिसकेकी रसिलाको अहिलेको दैनिकी नै हो– तालिम, पढाइ र क्लाइम्बिङ। माउन्टेनिअरिङ गाइडको लाइसेन्स लिने उनको योजना छ। 

‘त्यसको लाइसेन्स पाउने नेपालमा महिला थोरै छन्। विभिन्न लेभलका ट्रेनिङ हुन्छन्। सबै लेभल पास गरेपछि लाइसेन्स पाइन्छ,’ रसिला सुनाउँछिन्।

रसिलाले आफूलाई चिनेको, सपना देखेको दोस्रो जीवनपछि नै हो। त्यही दोस्रो जीवनपछि बटुलेका सफलताहरू उनी घरमा एक्लै बस्दा सम्झिन्छिन्। कोठामा सजाइराखेका पदकहरु हेर्छिन्, सुम्सुम्याउँछिन्। 

‘जब म मेडलहरू हेर्छु, अँध्यारो कोठा पनि उज्यालो भएजस्तो लाग्छ,’ रसिला भन्छिन्। 

र, उनी अरुको जीवनमा पनि यस्तै खुसीका पदक बाँड्न चाहन्छिन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .