ad ad

म्यागेजिन


एक ‘मध्यरात’ छलेर जो ५ सय दिन प्रधानमन्त्री सुरक्षित भए

एक ‘मध्यरात’ छलेर जो ५ सय दिन प्रधानमन्त्री सुरक्षित भए

सीताराम बराल
साउन ३, २०७८ आइतबार २३:३९,

आफ्ना लागि जे प्रतिकूल हुन्छ, त्यसलाई भत्काइदिने एमाले अध्यक्ष केपी शर्मा ओलीको स्वभाव हो। यही स्वभावका कारण उनीबाट दुई दुई पटक (५ पुष ०७७ र ८ जेठ ०७८) प्रतिनिधि सभा विघटन भएको घटना धेरैका लागि आश्चर्यजनक र अस्वाभाविक विषय थिएन।  

तर, दोस्रो पटक पुनस्थापित संसदको पहिलो बैठककै दिन नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतका लागि राखेको प्रस्ताव सत्तारुढ गठबन्धनका सिमित शीर्ष नेता बाहेक अरुहरुका लागि आश्चर्यको विषय बन्यो। 

आइतबार अपरान्ह विश्वासको मत लिने गरी बिहानमात्र संसद सचिवालयमा दर्ता गरिएको प्रस्ताव कति ‘स्मार्ट’ निर्णय सावित भयो, आइतबार साँझ प्रतिनिधि सभामा भएको मतदानको परिणामले देखाइसकेको छ। 

मतदान गर्ने २ सय ४९ प्रतिनिधि सभा सदस्यमध्ये १ सय ६५ ले देउवाको पक्षमा मतदान गरेका छन्। अर्थात् प्रतिनिधि सभाको बाँकी १७ महिने अवधिका लागि देउवाले प्रधानमन्त्री पद सुरक्षित गरेका छन्।      
***
विश्वासको मतका लागि यसअघि कम्तिमा एक दिनअघि नै प्रस्ताव पेश गर्ने परम्परा रहँदै आएको हो। तर, चतुर देउवाले यसचोटि न एक दिन पर्खे, न त रात नै। ‘रात रहे अग्राख पलाउँछ’ भन्ने उखानप्रति यस पटक सुदुरपश्चिमका देउवा सुरुमै सचेत देखिए। 

किनभने, निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले यो उखानको प्रयोग यस पटक भाषणका लागि होइन, तीन दिनअघिमात्र प्रधानमन्त्रीको शपथ लिएका देउवालाई सत्ताबाट छिट्टै बहिर्गमनका लागि गर्न सक्थे।   

प्रतिनिधि सभाको पहिलो बैठकबाटै विश्वासको मत लिने निर्णयलाई देउवाको चतुरपनाको संकेत गर्दै राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेलले फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधि सभाको स्मार्ट मुभ कसैको पेवा हो र?’

आफू विरुद्धको षडयन्त्रका लागि एक रातको समय नदिनु नै देउवाको सबैभन्दा ‘स्मार्ट मुभ’ हो।

एक सय ७५ वर्षको नेपालको इतिहास पल्टाउने हो भने यस्ता रात वा मध्यरात बग्रेल्ती भेटिन्छन्, जसले नेपालको सत्ता राजनीतिको इतिहास नै परिवर्तन गरिदिएका छन्। 

२ असोज १९०३ को कोतपर्व पनि मध्यरातमै भएको थियो। प्रधानमन्त्री सहित दर्जनौँ भारदारहरु मारिएको त्यही कोतपर्वमार्फत् जंगबहादुर राणाले १ सय ३ वर्षे राणा शासनको जग बसालेका थिए। 

जंगबहादुरपछि श्री ३ महाराज बनेका रणोद्दीप सिंहको हत्या गरेर शासन सत्ता हातमा लिन धीर शमशेर पुत्रहरुले पनि ८ मंसिर १९४२ को मध्यरातको प्रतीक्षा गरेका थिए। 

ईश्वीको २१ औँ शताब्दी सुरु भएपछिका इतिहास हेर्ने हो भने पनि रात–मध्यरातमै ठूला–ठूला घटना भएका छन्। ती घटनाले सत्ता राजनीतिमा ठूलो परिवर्तन ल्याएका छन्। 

राजा वीरेन्द्रको वंशनास पनि रातकै समयमा भएको थियो, १९ जेठ २०५८ मा। त्यो घटनामा राजा वीरेन्द्रको वंशनास भयो। घाइते भई कोमामा राखिएका युवराज दीपेन्द्र राजा घोषित गरिए। 

दीपेन्द्रको मृत्युपनि रातकै समय ३ः४५ मा भयो, २२ जेठ ०५८ मा। त्यसपछि उनका काका अधिराजकुमार ज्ञानेन्द्र राजा भए। 

तत्कालीन प्रधानमन्त्री देउवालाई प्रयोग गरी संसद विघटन गर्न ८ जेठ ०५९ को मध्यरात प्रयोग गरिएको थियो। 

गणतन्त्रपछिका पहिलो प्रधानमन्त्री माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को सत्ताबाट बहिर्गमनका लागि पनि मध्यरातकै प्रयोग गरियो। 

२० बैशाख २०६६ मा बर्खास्त प्रधानसेनापति रुक्माङ्गद कटवाललाई थमौतिको पत्र तत्कालीन राष्ट्रपति रामवरण यादवले मध्यरातमै थमाएका थिए। त्यसपछि द्वैधसत्ताको स्थिति सिर्जना भएको भन्दै भोलिपल्ट प्रचण्डले प्रधानमन्त्री पदबाट राजीनामा दिए। 

यी त अलिक परका घटना भए। निवर्तमान प्रधानमन्त्री ओलीको सत्ता लम्ब्याउने दाउपेचका लागि उनी र राष्ट्रपति विद्या भण्डारीले जेठ पहिलो हप्ताका दुई ‘मध्यरात’ लाई नै प्रयोग गरेका थिए। 

प्रतिनिधि सभाको विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको ७६ (५) अनुसार सरकार गठनका लागि जम्मा २१ घण्टाको समय आव्हानका लागि ५ जेठ ०७८ को रात रोजेकी थिइन्।

आफ्नै आव्हान अनुसार प्रतिनिधि सभाका १ सय ४९ सांसदको बहुमत जुटाएका देउवालाई अन्यायपूर्वक प्रधानमन्त्री बन्न नदिने निर्णय पनि राष्ट्रपति भण्डारीले ७ जेठको मध्यरातमा लिएकी थिइन्। 

अनि, प्रधानमन्त्री ओलीको सनक र राष्ट्रपति भण्डारीको मिलेमतोमा प्रतिनिधि सभा विघटनका लागि पनि ८ जेठकै मध्यरात रोजिएको थियो। 

र, उल्लिखित पछिल्ला घटनाक्रमको मूल जरो मानिएको  ‘रअ’का प्रमुख सामन्तकुमार गोयल र प्रधानमन्त्री केपी ओलीबीचको भेटघाट पनि प्रधानमन्त्री निवास बालुवाटारमा ४ कार्तिक २०७७ मध्यरातमै भएको थियो।

यसअघिका परम्परा अनुसार देउवाले विश्वासको मतको प्रस्ताव संसद सचिवालयमा राख्ने र मतदानको मिति अर्को दिनका लागि तोकिएको भए रातभरमा परिणाम बदलिन सक्थ्यो। 

आन्तरिक राजनीतिमा मात्र होइन, भूराजनीति पनि जोडिएको वर्तमान सत्ता राजनीतिमा ओलीले त्यस्ता भूराजनीतिक स्वार्थ भएका शक्तिहरुको प्रयोग गरेर देउवालाई छिट्टै सत्ताबाट बहिर्गमन हुनु पर्ने स्थिति सिर्जना गराइदिन सक्थे।

ओलीको बहिर्गमन र प्रचण्ड–माधव नेपालको समर्थनमा देउवाको सत्तारोहण दक्षिण छिमेकीलाई कति बिझेको रहेछ भन्ने कुरा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको बधाई पाउन आइतबार साँझसम्म कुर्नु परेको घटनाबाट प्रष्ट हुन्छ। 

ओलीले दक्षिणको यो प्रारम्भिक असन्तुष्टिको प्रयोग गर्न सक्थे। र, रातारात सत्ता राजनीतिको तराजु ओलीको पक्षमा ढल्किन पनि सक्थ्यो। तर, देउवाले त्यस्तो ‘रात’ वा ‘मध्यरात’ नै आउन दिएनन्। र, पुन सत्तारोहणका लागि ओलीले चाल्न सक्ने कदमलाई निस्फल पारिदिए।
***
३० असारमा बालकोटस्थित निवास पुगेर ओलीले घोषणा गरेका थिए, ‘माधव नेपाल समूहका अरु नेताले आत्मलोचना गरे भने एमालेमा स्थान पाउलान्। तर माधव नेपाललाई भने एमालेमा अब कुनै स्थान छैन।’

यस्तो असहिष्णु अभिव्यक्ति दिएका ओली त्यसपछि भने आश्चर्यजनक रुपमा बरिष्ठ नेता नेपालप्रति नरम देखिए। एकताका लागि गठित कार्यदललाई एकाएक सक्रिय गराए। नेता नेपाल निवासतर्फ ओली पक्षीय नेताहरुको दौडधुप बाक्लियो।

यसको एउटै उद्देश्य थियो, देउवाको पक्षमा नेपाल पक्षीय सांसदहरुलाई मतदान गर्न नदिनू। आइतबार दिउँसोसम्म ओली पक्षीय नेताहरु एमाले एकताका नाममा यसका लागि सक्रिय थिए। भलै, ओली सफल भएनन्।

नेपाल पक्षलाई देउवाको पक्षमा मतदान गर्न नदिन ओलीले ‘डायलग एण्ड डिले’ को कार्यनीति प्रयोग गरेका थिए। अर्थात् वार्ता (डाइलग) गरेर नेपाललाई भुलाउने र वार्ता लम्ब्याएर उनको समूहलाई झन् कमजोर पारिदिने। यसका लागि उनले अन्तिमसम्म आफू निकटस्थ नेताहरुलाई वार्ताका नाममा कोटेश्वरतर्फ कुदाइ रहे।  

यदि देउवाले विश्वासको मतका लागि ढिला गरेको भए ओली पक्षले बरिष्ठ नेता नेपाललाई प्रधानमन्त्री वा अध्यक्षको प्रलोभन दिएर देउवाको विपक्षमा मतदान गर्ने वातावरण सिर्जना गर्न पनि सक्थ्यो। 

एक रात बाँकी राखेर विश्वासको मतका लागि प्रस्ताव गरेको भए देउवा असफल हुने सम्भावना अझ रहन्थ्यो। देउवाको पक्षमा बहुमत पुग्न नदिन ओलीले रातभरमा ‘खेल खत्तम्’ गरिदिन सक्थे। शुक्रबारको संसदीय दलको बैठकमा देउवाको पक्षमा बहुमत नजुट्ने बताएर उनले यसको संकेत पनि गरिसकेका थिए। 

अघिल्लो दिन प्रस्ताव गरेर भोलिपल्ट मतदान गरिएको भए ओली समूहले देउवाको पक्षमा मतदान गर्नसक्ने केही सांसदलाई अनुपस्थित गराउन सक्ने भय देउवा–प्रचण्ड–नेपाल लगायतका नेताहरुलाई थियो। यसका लागि ओली पक्षीय सांसद महेश बस्नेतको उपयोग गरिन सक्थ्यो। 

बस्नेत तिनै सांसद हुन्, जसले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई अविश्वासको प्रस्तावबाट जोगाउन राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाहीलाई रहस्यमय ढंगले पोखराको पृथ्वीचोकस्थित चरक अस्पताल पु्र्याएका थिए। 

मुख्यमन्त्री गुरुङको विपक्षमा मतदान गर्ने निर्णय गरेको राष्ट्रिय जनमोर्चाका सांसद नै अनुपस्थित भएपछि गुरुङ नेतृत्वको प्रदेश सरकार केही समय लम्बिएको थियो।

त्यसबाहेक ओली सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो खेमाको पक्षमा बहुमत जुटाउन पनि ओलीले बस्नेतकै प्रयोग गरेका थिए। गत साल संघीय समाजवादी फोरम विभाजनका लागि सांसदहरुलाई मेरियट होटल पुर्याउने काममा पनि बस्नेतकै सक्रियता थियो।

पूर्व प्रधानमन्त्रीका हैसियतमा ओलीको सुरक्षा राज्यले नै गर्छ। तर, सत्ताबाट हटेलगत्तै बस्नेतकै अगुवाईमा ओलीले ‘युथफोर्स’ ब्युँताएका थिए। नवगठित युथफोर्सको प्रयोग देउवाको पक्षमा सांसदहरुको बहुमत जुट्न नदिन हुन सक्थ्यो। 

‘तर, उही दिन बिहान प्रस्ताव दर्ता गरेर अपरान्ह विश्वासको मत लिने स्मार्ट निर्णय देउवाले गरे’, राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘यो क्विक डिसिजनका कारण ओलीले देउवालाई असफल पार्ने योजना निर्माण गर्ने मौकै पाएनन्।’ 

कतिसम्म भने, देउवाको यो ‘क्विक डिसिजन’ ले ओली पक्षीय मोर्चालाई समेत छिन्नबिन्न पारिदियो। आफ्नो खेमामा उभिँदै आएका एमालेका सांसदहरुलाई समेत ओलीले जोगाउन सकेनन्। 

नेपाल पक्षीय १० सांसद मतदानमा अनुपस्थित रहेपनि ओली पक्षीय ८ सांसदहरुले देउवाको पक्षमा मतदान गरेर त्यो ‘घाटा पूर्ति’ गरिदिए। देउवाको विपक्षमा मत दिने एमालेको निर्णयको ३२ जना सांसदले उल्लंघन गरे। 

सबैभन्दा नाजुक स्थिति जसपाको ठाकुर–महतो खेमाको भयो। आइतबार दिउँसो आफैँ बालकोट पुगेर ओलीको पक्षमा समर्थन जनाएका ठाकुर र महतो २४ घण्टा बित्दानबित्दै देउवाकै पक्षमा मतदान गर्न बाध्य भए। 

देउवाले एक ‘मध्यरात’ छलेर प्रतिनिधि सभाको बाँकी कार्यकाल अर्थात् करिब ५ सय दिन प्रधानमन्त्री बन्ने बाटो सुरक्षित गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .