मधेस


जनमतले समर्थन फिर्ता लिएसँगै मधेसमा नयाँ मुख्यमन्त्रीका लागि दौडधुप सुरु

जनमतले समर्थन फिर्ता लिएसँगै मधेसमा नयाँ मुख्यमन्त्रीका लागि दौडधुप सुरु

सुभाष कर्ण
बैशाख २३, २०८३ बुधबार २०:२, जनकपुरधाम

मधेस सरकारमा सहभागी जनमत पार्टीले दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। चन्दन सिंह नेतृत्वको जनमत पार्टी संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।

प्रदेश प्रमुखको कार्यालयले बुधबार एक विज्ञप्ति जारी गरी जनमत पार्टीले यही २०८३ वैशाख २२ गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको छ। 

विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा (२)बमोजिम गठन भएको मधेस प्रदेश सरकारलाई जनमत पार्टीले दिएको समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखको कार्यालयमा प्राप्त भएको उल्लेख गरिएको छ। 

सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जनमत पार्टीका सांसद चन्दन सिंहले पार्टीका १२ जनामधये ९ सांसदलाई साथमा लिएर वैशाख २१ गते सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुखलाई बुझाएका थिए। 

सिंहले पत्र बुझाएको भोलिल्टै वैशाख २२ गते मंगलबार जनमत पार्टी संसदीय दलका नेता समेत रहेका अर्थमन्त्री महेश यादवले समर्थन फिर्ता नलिएको भनी अर्को पत्र बुझाएका थिए। एउटै पार्टीबाट दुई/दुईवटा पत्र गएपछि प्रदेश प्रमुखको कार्यालय अलमलमा परेको थियो। 

तर, जनमत पार्टीले सिंहलाई दलको नयाँ नेता चयन गरिएको भन्ने पत्र पठाएपछि सिंहकै पत्रलाई सदर गरिएको हो। 

जनमत पार्टीको समर्थन फिर्तासँगै मधेस प्रदेशको राजनीतिक समीकरणमा परिवर्तन आएको छ। अहिले सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा दलहरूबीच तीव्र छलफल र दौडधुप सुरु भएको छ। सत्तारूढ र विपक्षी दुवै खेमामा नयाँ गठबन्धन निर्माणको प्रयास भइरहेको छ।

अब कांग्रेसलाई एकल्याएर एमाले, जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी मिलेर नयाँ सरकार बनाउने प्रयास शुरु भइसकेको छ। जसपा नेपालले लोसपा नेपालसहितका एकीकृत सांसद जोडेर ठूला दलको हैसियतमा नेतृत्व लिने दाउमा छ। जसपा नेपालले औपचारिक निर्णय नगरेपनि अनौपचारिक रुपमा तयारी गरिरहेको बुझिएको छ। 

यता, कांग्रेसबाट नेतृत्व सम्हालिरहेका कृष्णप्रसाद यादवले आफ्नो कुर्सी बचाउन दौडधुप गरिरहेका छन्। हाल उनी पार्टी केन्द्रका नेताहरूसँग कुरा राख्न र विभिन्न दलका शिर्षस्थ नेतासँग भेटघाटका लागि काठमाडौँ पुगेका छन्। देउवा खेमाका यादव मुख्यमन्त्रीको कुर्ची बचाउन दौडधुप गरिरहँदा सभापति गगन थापा समूहका सांसद वीरेन्द्र सिंह शेखर कोइराला समूहका सांसदहरुको सहयोगमा दलको नेता बन्न दौडधुप गरिरहेका छन्। 

कांग्रेसका २२ जना सांसदहरूमा सिंहसँग शेखर पक्षधरका ५ जनासहित ८ जनाको समर्थन छ। देउवा समूहबाट दुई जना सांसद तानेर बाँकी रहेका दुई जना सांसदको थप हस्ताक्षरका लागि सांसदहरूलाई रिझाउने प्रयास गरिरहेको पार्टी उच्च श्रोतले जनाएको छ।   

जसपा भित्र लोसपा समूहका जितेन्द्र सोनल र तत्कालीन जसपाका सरोज यादव मुख्यमन्त्रीका लागि दौडधुपमा लागेका छन्। मुख्यमन्त्री कुन दलको कसलाई बनाउने भन्ने निर्णायक जनमत पार्टी नै देखिन्छ। 

जनमत पार्टीले आफ्नै पार्टीको सरकारलाई ढाल्ने यो दोस्रो घटना हो। यसअघि जेनजी आन्दोलनको क्रममा आफ्नै पार्टीका सतिश सिंह नेतृत्वको सरकार ढालेर कांग्रेसका कृष्ण प्रसाद यादव नेतृत्वमा नयाँ सरकार बनाएको थियो। अब आफू सहभागी सरकारलाई पुनः ढालेर जसपा नेतृत्वको सरकार बनाउने प्रयासमा लागेको देखिन्छ। 

प्रदेश सभामा एमालेको २४, जसपा नेपालको लोसपासहित २६ र जनमतको १२ जना, कांग्रेसको २२ र नेकपाको १४ सांसद छन्। यस्तै, राप्रपा र संघीय समाजवादी पार्टी नेपालको एक/एकजना सांसद छन्।

१०७ जना सांसद मध्ये माओवादी केन्द्रका भरत साह र रहबर अन्सारी, एमालेका रामचन्द्र मण्डल, जनमतका सतिश सिंह प्रतिनिधिसभाको चुनावमा भाग लिन राजीनामा दिइसकेका छन् भने लोसपाबाट अभिराम शर्मा र जसपाबाट सरोज सिंह यादव निलम्बनमा परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad