मधेस


डिभिजन वन कार्यालयविरुद्ध प्रदेश सरकारमा उजुरी

डिभिजन वन कार्यालयविरुद्ध प्रदेश सरकारमा उजुरी

नेपालखबर
बैशाख १०, २०८३ बिहिबार २०:१४, जनकपुरधाम

डिभिजन वन कार्यालय रौतहटविरुद्ध मधेस प्रदेश सरकारसमक्ष उजुरी दर्ता भएको छ। 

चुरे तथा वनजंगल संरक्षण अभियान नेपालका अध्यक्ष सुनिल कुमार यादवले डिभिजन वन कार्यालयका कर्मचारीले अनियमितता, भ्रष्टाचार र वन दोहन गरिरहेको आरोप लगाउँदै वन तथा वातावरण मन्त्रालयमार्फत मुख्यमन्त्रीलाई उजुरी पेस गरेका हुन्।

डिभिजन वन प्रमुख हेमन्त साहमाथि सरकारी वन स्रोतको दुरुपयोग, मिलेमतोमा काठ बिक्री, सामुदायिक वनको रकम अपचलन तथा काठ तस्करीलाई संरक्षण दिएको आरोप उजुरीमा लगाइएको छ। 

प्रमुख साहले सखुवाको काठ आपूर्ति प्रक्रियामा अनियमितता गरी सर्वसाधारणलाई सहुलियतमा काठ नदिई स–मिलहरूसँग गोप्य सहकार्य गरेर कम मूल्यमा बिक्री गरिएको दाबी गरिएको छ। काठ कारोबारमा प्रतिफिट कमिशन लिने गरिएको आरोपसमेत उजुरीमा उल्लेख छ।

त्यसैगरी, सामुदायिक तथा साझेदारी वनको दिगो व्यवस्थापनका लागि छुट्याइएको करिब २० लाख रुपैयाँ अनियमित ढंगले फिर्ता लिई दुरुपयोग गरिएको आरोप सहित विभिन्न उपभोक्ता समूहको खाताबाट रकम निकालेर अपारदर्शी रूपमा खर्च गरिएको भन्दै बैंक विवरण र अडिट जाँच गर्न माग गरिएको छ।

उजुरीमा गैँडाटार क्षेत्रमा करिब पाँच हेक्टर जंगल फँडानी गरी घुस लिएको, प्रमाण मेटाउन वृक्षारोपण गरिएको तथा कार्यालयका महत्त्वपूर्ण कागजात नष्ट गर्न नियोजित रूपमा आगजनी गराइएको जस्ता आरोप लगाइएको छ। 

नुनथर क्षेत्रमा कानुनविपरीत संरचना निर्माण गराउन आर्थिक चलखेल भएको, काठ तस्करीमा संलग्नता रहेको र प्रमाण लुकाउन आगो लगाइएको दाबी सहित वन क्षेत्रमा व्यापक तस्करी र अवैध फँडानी भइरहँदा सम्बन्धित निकायले प्रभावकारी अनुगमन नगरेको भन्दै उजुरीकर्ताले मन्त्रालयको भूमिकामाथि समेत प्रश्न उठाएका छन्। 

सो उजुरीको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संघीय वन तथा वातावरण मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जनाइएको छ। निष्पक्ष छानबिन नभए अख्तियारसम्म जाने चेतावनी उजुरीकर्ताले चेतावनी समेत  दिएका छन्।

उजुरी बुझ्दै मधेश प्रदेशका वन तथा वातावरण मन्त्री शंकर प्रसाद चौधरीले आरोपबारे गम्भीर ध्यानाकर्षण भएको जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले वन क्षेत्रमा भइरहेका अवैधानिक गतिविधिबारे आफू जानकार बताउँदै प्राथमिकताका साथ छानबीन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad