मधेस


भारतमा नेपाली नम्बरप्लेटका गाडीमा पेट्रोल भर्न रोक, नेपालीलाई इन्धन नदिन सूचना जारी

भारतमा नेपाली नम्बरप्लेटका गाडीमा पेट्रोल भर्न रोक, नेपालीलाई इन्धन नदिन सूचना जारी

सुभाष कर्ण
चैत ३०, २०८२ सोमबार २१:७, जनकपुरधाम

सीमावर्ती क्षेत्रका भारतीय गाडीहरूमा कडाई गर्ने सरकारको निर्णयपछि भारतीय बजारबाट दैनिक जीवन धाँदै आएका नेपाली नागरिकलाई सास्ती भएको छ। 

सरकारको सीमा सम्बन्धी निर्णयसँगै मधेस प्रदेशसँग जोडिएका सीमावर्ती जिल्लाहरूले सीमामा कडाई गरेपछि भारतसँग जोडिएका बजारमा निर्भर रहेका नेपाली नागरिकको दैनिक जीवनयापनमा समस्या उत्पन्न भएको छ।

भारतीय नम्बर प्लेटका सवारी साधनमाथि नेपालतर्फ कडाइ गरिएको प्रतिक्रिया सीमापारि देखिन थालेको प्रत्यक्ष उदाहरण हो नेपालबाट जाने सवारी साधनलाई भारतीय पेट्रोल पम्पहरूले इन्धन दिन बन्द गर्नु।

भारतको सीतामढी जिल्ला स्थित वैरगनिया क्षेत्रका नन्दबारा नजिकका पेट्रोल पम्पमा ‘नेपाली नम्बर प्लेटका सवारीमा पेट्रोल नदिइने’ सूचना नै टाँसेर नेपाली नम्बर प्लेटको गाडीमा पेट्रोल दिन बन्द गरिएको हो। यसले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको दैनिकीमा गम्भीर असर परेको छ।

नेपालमा पेट्रोलियम पदार्थ महँगिएपछि सीमापारी गएर नेपाली नम्ब प्लेटका गाडीहरुले पेट्रोल भराउने गरेको थियो। नन्दबारा मात्र होइन सीमावर्तीसँग जोडिएको अधिकांश ठाउँका पेट्रोल पम्पमा नेपाली नम्बर प्लेटको गाडीलाई पेट्रोलियम पदार्थ दिन सूचना नै टाँसेर बन्द गरेको छ। यसले मधेश क्षेत्रमा ठूलो मानवीय तथा आर्थिक संकट निम्त्याउने सीमावर्ती स्थानीयको भनाई छ। 

सीमापारीको करिब ४० किलोमिटर मित्र सम्म मज्जाले बिनारोक टोक नेपाली सवारी सहज रूपमा आवतजावत गर्न पाउँथ्यो। तर नेपालमा कडाई गरिएपछि सीमा कटिएपछि भारतीय प्रहरीहरूले कडा निगरानी नेपाली गाडीहरुमा बढाएको छ। पहिला कहिलेपनि चेकजाँच नगरिने गरेको अवस्थामा अहिले ठाउँ ठाउँमा नेपाली गाडीलाई चेकजाँच गर्न थालिएको महोत्तरी जलेश्वरका विनोद यादवले बताए। 

रौतहट दुर्गा भगवती गाउँपालिका–१ का एक स्थानीयले आफ्नै पीडा सुनाउँदै भने, ‘आफन्तलाई लिएर भारतबाट फर्किंदा बाटोमै पेट्रोल सकिएपछि नजिकैको पम्पमा जाँदा नेपाली नम्बर प्लेट भएकै कारण इन्धन दिन अस्वीकार गरियो। बाध्य भएर मोटरसाइकल धकेल्दै बजार पुगेर बोतलमा पेट्रोल किनेर जसरी तसरी घर पुगेँ।’ 

यो समस्या केवल इन्धनमा सीमित छैनन्। यदि यही प्रवृत्ति जारी रहे दैनिक उपभोग्य वस्तुहरूमा समेत प्रतिबन्धको श्रृंखला सुरु हुन सक्ने र त्यसले मधेसको सामाजिक–आर्थिक संरचनामै गम्भीर असर पार्ने जोखिम बढेको छ। 

अर्कोतर्फ, भारतमा पेट्रोलियम पदार्थ नेपालभन्दा झण्डै ५० रुपैयाँ प्रतिलिटर सस्तो हुनुले सीमावर्ती क्षेत्रका अधिकांश नेपाली नम्बर प्लेटका गाडी सीमावर्ती भारतीय पेट्रोल पम्पमा जान थालेपछि यस्तो कडाई गरिएको कुरा पनि आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad