मधेस


मधेस सरकारको खेलकुद विकास नियमावली पारित

मधेस सरकारको खेलकुद विकास नियमावली पारित

नेपालखबर
चैत १३, २०८२ शुक्रबार २१:३०, जनकपुरधाम

खेलकुद विकासका विकासका लागि लामो समयदेखि थन्किएको नियमावली मधेस प्रदेश सरकारले पारित गरेको छ। 

प्रदेश सरकारले लामो समयदेखि प्रतिक्षा गरिएको खेलकुद विकास सम्बन्धी नियमावली पारित गरेसँगै अब खेल गतिविधिहरू व्यवस्थित र कानुनी दायराभित्र सञ्चालन हुने बाटो खुलेको छ।

यो निर्णयलाई प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। अहिलेसम्म स्पष्ट कानुनी आधार नहुँदा धेरै खेल संघसंस्थाहरू अनौपचारिक रूपमा सञ्चालन भइरहेका थिए। अब भने दर्ता, सञ्चालन र नियमन प्रक्रिया स्पष्ट हुने भएकाले पारदर्शिता र उत्तरदायित्व बढ्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थासँगै प्रदेशस्तरका खेल प्रतियोगिताहरू नियमित रूपमा आयोजना गर्ने योजना पनि अघि बढाइएको छ। यसले गाउँ र जिल्लाबाट आएका प्रतिभाशाली खेलाडीलाई प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने अवसर दिनेछ, जसले उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुग्ने आधार तयार पार्ने विश्वास गरिएको छ।

त्यस्तै, खेलाडी उत्पादन र दीर्घकालीन विकासलाई ध्यानमा राख्दै स्पोट्र्स एकेडेमी स्थापना गर्ने सम्भावना पनि खुला गरिएको छ। आधुनिक प्रशिक्षण, प्रविधिमैत्री अभ्यास र आवश्यक पूर्वाधारसहितको यस्तो पहलले मधेसबाट उत्कृष्ट खेलाडी उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

नियमावलीले खेल मैदान, रंगशाला र अन्य पूर्वाधारको संरक्षण तथा स्तरोन्नतिमा पनि जोड दिएको छ। उपलब्ध संरचनाको प्रभावकारी उपयोग र मर्मतसम्भारका लागि स्पष्ट जिम्मेवारी तोकिने भएकाले अब खेलस्थलहरू थप व्यवस्थित हुने विश्वास गरिएको छ।

यसका साथै खेलाडीहरूको क्षमता विकास, प्रशिक्षण, प्रोत्साहन र पुरस्कार व्यवस्थालाई पनि समेटिएको छ भने युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न र उनीहरूको मनोबल बढाउन विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी प्रदेश सरकारले गरेको छ।

खेलकुदलाई स्वस्थ समाज निर्माण, युवाको सकारात्मक संलग्नता र सामाजिक सद्भावको माध्यमका रूपमा विकास गर्ने लक्ष्यका साथ यो कदम चालिएको प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले बताएको छ। यो नियमावली कार्यान्वयनमा आएपछि मधेशमा खेलकुद क्षेत्र अझ संगठित, पारदर्शी र प्रभावकारी बन्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad