ad ad

मधेस


विराटनगर जुट मिल्समा आगलागीबाट २० लाखको क्षति, घटना शंकास्पद

विराटनगर जुट मिल्समा आगलागीबाट २० लाखको क्षति, घटना शंकास्पद

फाइल फोटो


नेपालखबर
फागुन ९, २०८० बुधबार १७:५५, काठमाडौँ

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको छ।

आगलागीबाट मेसिनरी सामग्री र जुटका कच्चा पदार्थ जलेर नष्ट भएका छन्। आगलागीमा २० लाख बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।

बुधवार दिउँसोसम्म पनि पूर्ण रूपमा आगो नियन्त्रणमा आएको छैन। जुट मिल्समा लागेको आगो नियोजित रूपमा लगाइएको स्थानीयले आरोप लगाएका छन्। विराटनगर महानगरपालिका–१६ मा रहेको जुट मिल्स २०७८ साल माघदेखि बन्द अवस्थामा रहेको छ।

मिल्सका सुरक्षा कमाण्डर पप्पु सुब्बाकाअनुसार जुटका बोरा बनाउन प्रयोग गरिने धागोलाई अन्तिम रूप दिने ‘स्वप्नर ब्लिचिङ डिपार्ट’बाट राति ९ बजेतिर अचानक आगलागी शुरु भएको थियो। उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै जुट मिल्स चलाउने घोषणा गरेसँगै विदेशी कम्पनीहरु समेत निरीक्षण गरेर गएको बताए।

उनले सरकारले आगामी वैशाखबाट मिल्स पुनःसंरचना गर्ने भनेकाले मिल्स चल्न नदिने तत्वहरुले आगलागी गराएको आशंका रहेको बताए। उनले घटनाको प्रकृति हेर्दा नियोजित ढंगले आगो लगाइएको प्रष्ट हुने बताए। उनले केही समयभित्रमै जुट मिल्स सञ्चालन गर्नेकुरा भएको बताए।

विराटनगर महानगरपालिका वडा नम्बर नं.१६ का वडाध्यक्ष उद्धव भुजेलले जुट मिल्सको चारैतिर खुला भएकाले चोरी गर्न आउनेले चुरोट खाएर फाल्दा आगो लागेको अनुमान गर्न सकिने बताए। उनले लागुऔषध सेवनकर्ता तथा चोरीचकारीमा संलग्नहरूले आगजनी गरेको हुनसक्ने आशंका रहेको बताए।

जिल्ला प्रहरी कार्यालय, मोरङका प्रवक्ता रञ्जन दाहालले राति ९ बजेट आगलागि भएको खबर आएसँगै तत्काल प्रहरी टोली गएर आगो नियन्त्रणमा लागेको बताए। उनले आगलागीबाट तीन वटा पुराना मेसिनहरु नष्ट भएको पाइएको बताए।

उनले जुट बनाउन राखिएका कच्चा पदार्थ समेत जलेर नष्ट भएको बताए। उनले आगलागीमा २० लाख बराबरको क्षति भएको बताए। उनले जुट मिल्समा आगलागीको कारण खुलिनसकेको बताए। उनले आगलागि कसरी भयो भन्ने सम्बन्धमा अनुसन्धान गर्ने काम गरिरहेको बताए।

उनले लामो समयदेखि बन्द रहेको उद्योगमा विद्युत आपूर्तिसमेत लामो समयदेखि ठप्प भएका कारण सट–सर्किट भएर आगलागी हुनसक्ने सम्भावना नदेखिएको बताए।

बन्द अवस्थामा रहेको जुटमा अचानक आगलागी हुनुले घटना शंकास्पद देखिएकाले त्यसको आधारमा पनि प्रहरीले अनुसन्धान गर्ने बताएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .