ad ad

मधेस


नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माण र रंगरोगन सुरु

नेपाल–भारत सीमास्तम्भको पुनर्निर्माण र रंगरोगन सुरु

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार १०:५५, धनुषा

नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लासँग जोडिएका भारतीय सीमानाकामा रहेका सीमास्तम्भको पुनर्निर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम सुरु गरेको छ।

चार हजारभन्दा बढी सीमास्तम्भको पुनःनिर्माण, मर्मतसम्भार र रंगरोगनको काम सुरु गरिएको हो।

धनुषाको नगराईन नगरपालिकाको वडा नम्बर-२, जटही नाकामा सीमास्तम्भको मर्मत गरेर यस कार्यको शुभारम्भ गरिएको हो।

मधेस प्रदेशका आठ वटै जिल्लाको भारतीय सीमानाकामा रहेका चार हजारभन्दा बढी सीमास्तम्भको पुनःनिर्माण थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीका बाहिनीपति दीपेन्द्र शाहले जानकारी दिए।

उनले पहिलो चरणमा एक हजार सीमास्तम्भको मर्मत तथा रंगरोगन गरिने बताए।

१९ साउन २०७७ मा बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बिजोर नम्बरका सीमास्तम्भको पुनःनिर्माण, मर्मतसम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो।

त्यस्तै, भारतीय पक्षले जोर नम्बर भएको सीमास्तम्भको मर्मत तथा रंगरोगन गर्ने बाहिनीपति शाहले बताए।

सीमास्तम्भको मर्मतसम्भारले सीमास्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको एसएसबी ४८औँ बटालियन जयनगरका डेपुटी कमाण्डेण्ट सन्तोष निमोरियाले बताए।

सीमावर्ती पालिकाका प्रमुखहरूले काम ठीक तरिकाबाट भइरहेको बताएका छन्। सीमा सम्बन्धमा कुनै पनि निर्णय गर्दा काठमाडौँ र दिल्लीका प्रतिनिधिले आफ्नो राजधानीमा बसेर कुनै ठोस् निर्णय गर्न नहुने सुझाव दिएका छन्।

उनीहरूले सुरक्षाकर्मीले गरेको काम ठीकै भए पनि नीतिगत कुरामा सीमावर्ती जनताको समेत सुझाव लिनुपर्ने बताएका छन्। यसो भएमा स्थानीयलाई पनि स्वामित्व महसूस हुने उनीहरूको तर्क छ।

मर्मतसम्भार कार्यक्रमका अवसरमा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखियापट्टी मुसहरनिया गाँउपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडा अध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्ल, दुवैतर्फका सीमा सुरक्षा बलका जिल्ला प्रतिनिधिहरूको सहभागिता थियो।

यसअघि १ कात्तिकमा सशस्त्र प्रहरी बल मधेस प्रदेश मुख्यालयले बर्दिवासमा मधेसका सीमावर्ती १ सय ४३ वडाका वडाध्यक्षसँग सीमासुरक्षा, समस्या, चुनौती र समाधानबारे सुझाव लिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .