ad ad

मधेस


सर्लाहीमा पृथ्वी, बीपी, पुष्पलाल, मनमोहन र मदनको शालिक अनावरण

सर्लाहीमा पृथ्वी, बीपी, पुष्पलाल, मनमोहन र मदनको शालिक अनावरण

नेपालखबर
असार १९, २०८० मंगलबार १५:५, सर्लाही

सर्लाहीको हरिवन नगरपालिका–८ वनबाटिकामा पृथ्वी नारायण शाह, बीपी कोइराला, पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको शालिक अनावरण गरिएको छ।

मंगलबार नेकपा (एमाले)का सचिव एवम् पूर्वमन्त्री योगेश भट्टराईसहितका नेता र जनप्रतिनिधिहरुले सामूहिक रुपमा पाँचजना ऐतिहासिक राजनैतिक व्यक्तिहरुको शालिक अनावरण गरेका हुन्।

८ नम्बर वडा कार्यालयले हरिवनको कैलाशपुरी क्षेत्रमा अवस्थित वनबाटिकामा आयोजना गरेको शालिक अनावरण तथा वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले मधेश र पहाडबीचको एकतालाई काम राख्नुपर्नेमा पनि जोड दिए।

‘मधेशका किसानको आँपले उचित मूल्य पाएनन्’
कार्यक्रमलाई सम्बोधन गर्दै नेता भट्टराईले किसानको हितमा यस्तै चिन्ता व्यक्त गरे। मुलुकको समृद्धिको लागि तीनै तहका सरकारले किसानको हितमा काम गर्नुपर्नेमा जोड दिए।

पार्टीले मधेश प्रदेशको इन्चार्जको जिम्मेवारी दिएपछि नेकपा (एमाले)का सचिव भट्टराई यतिबेला तराई मधेशका विभिन्न जिल्लामा राजनैतिक दौडधुप गरिरहेका छन्।

आफ्नो पार्टीले आयोजना गरेका विभिन्न कार्यक्रमको शिलशिलामा उनी तराई मधेशका किसानका घरघरमा पनि पुगिरहेका छन्। त्यसक्रममा उनले किसानको समस्यालाई नजिकबाट नियाल्ने मौकासमेत पाएका छन्।

तराई मधेशका किसानले उत्पादन गरेका कृषि उपजले सहज बजार र उचित मूल्य नपाएकोमा भट्टराईले चिन्तासमेत व्यक्त गरे।

किसानले उत्पादन गरेका कृषि उपजले सहज बजार र न्यायोचित मूल्य पाउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो। त्यसो नभए मुलुक समृद्ध हुन नसक्ने उनले बताए। नेता भट्टराईले किसानको हितमा काम गर्न तीनै तहका सरकारलाई आग्रह पनि गरे।

‘यतिबेला मधेशका किसानले आँपको मूल्य प्रतिकिलो २५ रुपैयाँ पनि पाएका छैनन्। तर, त्यहि आँप काठमाडौँबासीले प्रतिकिलो १ सय रुपैयाँ तिरेर खानु परिरहेको छ,’ भट्टराईले भने, ‘मधेशमा शित भण्डार निर्माण गर्न सके यहाँका किसानले उत्पादन गरेका तरकारी र फलफूलले उचित मूल्य पाउने थियो। टाढाका उपभोक्ताले पनि महंगो मूल्यमा किनेर खानुपर्ने बाध्यताको अन्त्य हुने थियो।’

उनले हरिवन क्षेत्रमा शित भण्डार निर्माणको लागि स्थानीय सरकारले पहल गरे आफूले त्यसमा सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।

नेता भट्टराईले नेपालमा बसोबास गर्ने सबै जाति र समुदायबीचको आपसी सद्भाव र एकताले मात्रै मुलुकको राष्ट्रियता मजबुत हुने बताए।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकीले सर्लाहीको चुरेमा अवस्थित कैलाशपुरी र वनबाटिका क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्न नगरपालिकाले विभिन्न योजनामा काम गरिरहेको जानकारी दिए।

‘कैलाशपुरी क्षेत्रमा सडक, खानेपानी, विद्युतीकरण र अन्य भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ,’ बुढाथोकीले भने, ‘हामी कैलाशपुरी मन्दिर माथिको अग्लो डाँडोमा भ्यू टावर निर्माणको कामलाई पनि अघि बढाउँदै छौँ। यहाँ टावर निर्माण गर्न सके हिमालदेखि भारत बिहानसम्मको भूगोलको सहज ढंगले अवलोकन गर्न सकिने छ।’

कार्यक्रममा पूर्वरक्षामन्त्री तथा सर्लाही ३ का प्रतिनिधिसभा सदस्य हरि उप्रेती, प्रतिनिधिसभा सदस्य सरस्वती सुब्बा, हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, पूर्व प्रदेशसभा सदस्य डिल्ली उप्रेती, हरिवन नगरपालिकाका पूर्वमेयर गणेश प्रसाइँ लगायतले मन्तव्य व्यक्त गरेका थिए।

त्यसक्रममा पूर्वमन्त्री उप्रेतीले हरिवन क्षेत्रको विकासमा आफूले सदैव सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे। उनले चुरे क्षेत्रको संरक्षणबिना मधेशको उन्नती हुन नसक्ने बताए। ‘चुरे क्षेत्रको पर्यावरण रक्षाको लागि हामीले वन विनासलाई रोकेर वृक्षारोपणको वृहत कार्यक्रम अघि बढाउनु पर्छ।’

कार्यक्रममा हरिवन ८ का वडाध्यक्ष प्रज्वल ढुंगानाले सबैको सहयोगबाट मात्रै कैलाशपुरी र वनबाटिका क्षेत्रलाई हरिवनबासीले गौरव गर्न लायक पर्यटकीय स्थलको रुपमा विकास गर्न सकिने बताए।

कार्यक्रममा हरिवन ८ मा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई कदरपत्रसहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .