ad ad

मधेस


विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास र लाठी प्रहार

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप, प्रहरीद्वारा अश्रुग्यास र लाठी प्रहार

ध्रुव भट्टराई
बैशाख ९, २०८० शनिबार १४:४०, विराटनगर

विराटनगरमा पहिचानवादी र प्रहरीबीच झडप भएको छ। कोशी नाम खारेजको माग गर्दै आन्दोलन गर्ने क्रममा घाइते भई निधन भएका पदम लिम्बू लाजेहाङको शव प्रदर्शन गर्ने क्रममा विराटनगरको रोडशेषमा झडप भएको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअगाडिको बाटोलाई निषेधित क्षेत्र तोकेर प्रहरीले आवतजावतमा रोक लगाएपछि झडप भएको हो

आन्दोलनरत पक्षले निषेधित क्षेत्र तोडेपछि झडप भएको प्रहरीले बताएको छ। मुख्यमन्त्री कार्यालयदेखि २०० मिटर उत्तरमा पर्ने सडकमा झडप हुँदा प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको छ। 

लाजेहाङको अन्त्येष्टि गर्नुअघि धरानमा, इटहरी, विराटनगरको रोडशेष चोकमा श्रद्धाञ्जली अर्पण तथा श्रद्धाञ्जली सभा गर्ने र कोशी प्रदेशसभा भवन परिक्रमा गराउने उनीहरुको कार्यक्रम थियो। सोही क्रममा झडप भएको हो। 

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको बृहत् प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । सोही झडपमा परी लाजेहाङको टाउकोमा चोट लागेको थियो। 

टाउकोमा चोट लागेका उनलाई चैत ८ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरिए पनि १० गते उनको मृत्यु भएको थियो। त्यसपछि प्रदेश पुनः नामकरण संयुक्त संघर्ष समितिले उनलाई सहिद घोषणा गर्नुपर्ने, उचित क्षतिपूर्ति  दिनुपर्नेलगायत माग गरेका थिए। लाजेहाङलाई संघीय सरकारले सहिद घोषणा गर्ने र उनको परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ भने कोशी प्रदेश सरकारले पनि उनको परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ। 

तर संघर्ष समितिले प्रदेशको नाम कोशी खारेज नगरेसम्म शव उठाउन नदिने बताइरहेका थिए। तर, विभिन्न पक्षको छलफलपछि एक महिनापछि लाजेहाङको अन्त्येष्टि गर्न उनीहरु सहमत भएका हुन्। लाजेहाङको शव बीपी प्रतिष्ठान धरानको शव गृहमै थियो।

'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .