मधेस


सर्लाही प्रहरीले फाँड्यो १७ बिघाको गाँजा, अभियान जारी

गाँजा बेचेर जीविकोपार्जन गरिरहेका स्थानीय चिन्तामा
सर्लाही प्रहरीले फाँड्यो १७ बिघाको गाँजा, अभियान जारी

लालबन्दी नगरपालिका–१४, नारायणखोलामा गाँजा फँडानी गर्दै प्रहरी।


नेपालखबर
पुस १९, २०७९ मंगलबार ८:११, सर्लाही

सर्लाहीमा प्रहरीले दुई दिनमा १७ बिघामा राेपिएको गाँजा फँडानी गरेको छ। 

आइतबार र सोमबार लालबन्दी नगरपालिका–१४ नारायण खोलास्थित चुरे क्षेत्रका विभिन्न ठाउँमा गरेर प्रहरीले १७ बिघाको गाँजा फँडानी गरेको हो।

लालबन्दी नगरपालिका–१४, नारायणखोलामा गाँजा फँडानी गर्दै प्रहरी।

यो अभियान अझै केही दिन जारी रहने जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) विजय यादवले जानकारी दिए।  

सर्लाहीमा नयाँ प्रहरी प्रमुख (एसपी) नरेशराज सुवेदी सरुवा भएर आउनासाथ उनले गाँजा खेती नष्ट गर्ने अभियान सुरु गरेका हुन्। 

आइतबार र सोमबार फँडानी गरेकै क्षेत्रमा आज (मंगलबार) पनि गाँजा फँडानी गर्न प्रहरी टोली परिचालन भइसकेको डीएसपी यादवले जानकारी दिए। 

आइतबार र सोमबार गाँजा फँडानी गर्न जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षकको नेतृत्वमा ६० जना प्रहरी नारायण खोला पुगेका थिए। 

लालबन्दी नगरपालिका–१४, नारायणखोलामा गाँजा फँडानी गर्दै प्रहरी।

‘आज पनि त्यति नै संख्यामा प्रहरी टोली नारायणखोला तर्फ प्रस्थान गर्दै छ’ डीएसपी यादवले नेपालखबरसँग भने, ‘त्यस क्षेत्रमा अझै सयौँ बिघा गाँजा खेती भएको अनुमान हामीले गरेका छौँ। त्यो सबै गाँजा नष्ट नभएसम्म हाम्रो अभियान रोकिँदैन।’ 

नारायण खोलाका सयौँ किसानले लगाएको तयारी हुनै लागेको गाँजा फँडानी अभियान प्रहरीले सुरु गरेको हो। 

सिन्धुलीसँग सीमा जोडिएको नारायणखोला सर्लाहीको सबैभन्दा दुर्गम क्षेत्रको रुपमा चिनिन्छ। यहाँका किसानले बर्सेनि गाँजा खेती गर्ने गरेका छन्। 

अन्न बाली उत्पादन नहुने ठाउँमा समेत गाँजा खेती राम्रो हुन्छ। सिँचाइको सुविधा नभएको जमिनमा पनि गाँजा राम्रो उत्पादन हुन्छ। 

आम्दानी पनि मनग्गे हुने भएपछि किसानले प्रहरीको आँखा छलेर गाँजा खेती बढाउँदै लगेका छन्। 

कानुनले बर्जित गरे पनि किसानले लुकिछिपी गाँजा खेती गर्ने गरेका छन्। विभिन्न औषधीय गुण भएको गाँजालाई वैध गर्नुपर्ने आवाज पनि बेलाबेला उठ्ने गरेको छ। 

कतिपय सांसदले संसदमै गाँजा खेतीलाई वैध बनाउनुपर्ने माग गर्ने गरेका छन्। 

प्रहरीले गाँजा फँडानी अभियान चलाएपछि नारायणखोलाका किसान भने चिन्तामा छन्। गाँजा बेचेर जीविकोपार्जन गरिरहेका स्थानीयलाई अब कसरी घर व्यवहार चलाउने भन्ने चिन्ता थपिएको छ। 

गाँजा फँडानी गर्न ठूलो संख्यामा प्रहरी पुग्दा स्थानीय भने घरबाट निस्किँदैनन्। ‘हामीले गाँजा फँडानी गरेको ठाउँमा यो मेरो खेती हो भनेर कोही आउँदैनन्’, डीएसपी यादवले भने, ‘गाँजा फँडानी गर्ने हाम्रो अभियानमा कसैले प्रतिवाद गरेका छैनन्। उनीहरुलाई पनि यो कानुननले बर्जित गरेको खेती हो भन्ने थाहा छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad