ad ad

मधेस


संघ र प्रदेशको चुनाव : सर्लाहीमा कुन दल बलियो? कस्तो बन्ला गठबन्धन?

संघ र प्रदेशको चुनाव : सर्लाहीमा कुन दल बलियो? कस्तो बन्ला गठबन्धन?

जनार्दन पोखरेल
साउन ५, २०७९ बिहिबार १०:४७, सर्लाही

निर्वाचन आयोगले आगामी मंसिरमा प्रतिनिधि सभा (संघीय संसद्) र प्रदेश सभाको निर्वाचन गर्ने तयारी अघि बढाएको छ।

गएको स्थानीय तह निर्वाचनमा गठबन्धन गरेका सत्तारुढ पाँच दल संघ र प्रदेश सभा निर्वाचनमा पनि गठबन्धन गरेरै जाने तयारीमा छन्।

केन्द्रमा सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आगामी निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिने निर्णय गरिसकेको छ। 

केन्द्रमा शीर्ष नेताहरुको तहमा गठबन्धनको विषयले प्रवेश पाउँदा त्यसको प्रभाव जिल्लाहरुमा पनि पर्न थालेको छ। जिल्ला जिल्लामा पनि आगामी निर्वाचनमा हुनसक्ने सम्भावित गठबन्धनको विषयमा अनौपचारिक छलफल हुन थालेको छ। 

मधेस प्रदेशको सर्लाही जिल्लामा संघीय संसदका चारवटा निर्वाचन क्षेत्र छन्। ०७४ र भर्खरै सकिएको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा सर्लाहीमा प्रमुख प्रतिपक्ष नेकपा एमालेको तुलनामा सत्ता गठबन्धनकै दल बलिया देखिएका छन्। 

०७४ को निर्वाचनमा सर्लाहीका चारमध्ये संघीय संसदका दुईवटा क्षेत्रमा राजपा विजयी भएको थियो भने कांग्रेस र माओवादी केन्द्रले एक–एक क्षेत्रमा जित हासिल गरेका थिए। प्रदेश सभाका आठमध्ये दुईवटा क्षेत्रमा एमाले, एउटामा कांग्रेस र बाँकी पाँचवटा क्षेत्रमा मधेसवादी दलका उम्मेदवार विजयी भएका थिए। 

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचन परिणामले सर्लाहीमा कांग्रेस सबैभन्दा बलियो दलको रुपमा स्थापित भएको छ। सर्लाहीका २० मध्ये १२ पालिका कांग्रेस एक्लैले जित्दा माओवादी केन्द्रले चार पालिका जितेको छ। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले दुई स्थानीय तहको नेतृत्व हात पार्दा सर्लाहीमा एमाले र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक–एक स्थानीय तह मात्रै जितेका छन्। 

आगामी निर्वाचनमा सिट बाँडफाँड गर्दा दलहरुले ०७४ को निर्वाचन परिणामसँगै भर्खरै सकिएको स्थानीय तहको निर्वाचनलाईसमेत आधार मान्ने सम्भावना छ। 

०७४ को निर्वाचनमा सर्लाही १ र २ मा राजपा, ३ नम्बर क्षेत्रमा माओवादी केन्द्र र ४ नम्बर क्षेत्रमा कांग्रेस उम्मेदवार विजयी भएका थिए। 
०७४ मा सर्लाही १ मा राजपाका प्रमोद साह विजयी हुँदा एमाले– माओवादी–गठबन्धनका साझा उम्मेदवार ध्रुव गौतम (एमाले) निकटतम प्रतिस्पर्धी बनेका थिए। 

त्यसैगरी सर्लाही २ मा राजपाका महेन्द्र राय विजयी हुँदा कांग्रेसका जंगिलाल राय निकटतम प्रतिस्पर्धी बनेका थिए भने सर्लाही ३ मा एमाले–माओवादी गठबन्धनबाट रामेश्वर राय यादव (माओवादी) विजयी हुँदा कांग्रेसका हरेशकुमार महतो निकटतम प्रतिस्पर्धी बनेका थिए।

त्यसैगरी सर्लाही ४ मा कांग्रेसका अमरेशकुमार सिंह विजयी हुँदा राजपाका राकेशकुमार मिश्र निकटतम प्रतिस्पर्धी बनेका थिए। यस क्षेत्रमा माओवादी केन्द्रका उम्मेदवार शिवपुजन रायको उम्मेदवारी नै निर्वाचन आयोगले खारेज गरेको थियो। कूटनीतिक राहदानी दुरुपयोग गरेको मुद्दामा दोषी ठहर गर्दै सर्वोच्च अदालतले उनको उम्मेदवारी खारेज गराएको थियो।

०७४ को निर्वाचनमा सर्लाहीका चारमध्ये दुई सिट जितेको र एउटामा निकटतम प्रतिस्पर्धी बनेको राजपाको अवस्था यतिबेला खस्किएको स्थानीय तह निर्वाचन परिणामले देखाएको छ। 

त्यतिबेला राजपाले जितेको सर्लाही १ र २ मा अहिले कांग्रेस सबैभन्दा बलियो शक्तिको रुपमा उदाएको छ। गएको स्थानीय तह निर्वाचनमा सर्लाहीका क्षेत्र नम्बर १ र २ का सबै पालिकामा कांग्रेस एक्लैले ‘क्लिन स्विप’ गर्नुले पनि त्यसको पुष्टि हुन्छ। 

सर्लाहीका १ र २ नम्बर क्षेत्रका सबै पालिकामा एकलौटी जित हात पारेको कांग्रेस ३ र ४ नम्बर निर्वाचन क्षेत्रमा भने कमजोर देखिन्छ। गएको स्थानीय तह निर्वाचनमा सर्लाही ३ का कुनै पनि पालिकामा जित्न नसकेको कांग्रेस ४ नम्बर क्षेत्रमा एउटा (धनकौल गाउँपालिका) मा मात्रै विजयी भएको छ।

भर्खरै सकिएको स्थानीय तह निर्वाचनको परिणाम हेर्दा सर्लाहीमा कांग्रेस माओवादीले २–२ सिटमा भागबन्डा गर्ने सम्भावना बलियो देखिन्छ। 
तर, ०७४ को निर्वाचनमा संघीय संसदका दुई सिटमा विजयी बनेको र अहिले जिल्लाका दुई पालिकामा जितेको राजपाले पनि सिट बाँडफाँडमा भाग खोज्ने आधार छ।

त्यसो त गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादीले पनि सर्लाहीलाई आफ्नो बलियो आधार भएको जिल्लाका रूपमा लिन सक्छ। स्थानीय तह निर्वाचनमा केही वडामा मात्रै विजयी भए पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने तीनजना प्रदेश सांसदको साथ यतिबेला एकीकृत समाजवादीलाई छ।

०७४ मा एमालेबाट निर्वाचित प्रदेश सांसदत्रय डिल्लीप्रसाद उप्रेती, बेची लुंगेली र रवीन्द्र बैठा अहिले एकीकृत समाजवादीतिर सामेल छन्। 
कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र सिंह जिल्लामा आफ्नो दल सबैभन्दा बलियो भएकाले संघ र प्रदेशको निर्वाचन एक्लै जित्न सक्ने दाबी गर्छन्। 

‘०७४ को निर्वाचनमा हामीले सर्लाहीमा संघीय संसदको एउटा क्षेत्र मात्रै जितेका थियौँ,’ सिंहले नेपालखबरसँग भने,  ‘तर यसपटक हाम्रो अवस्थामा व्यापक सुधार भएको छ। गठबन्धनबिनै हामी सर्लाहीका चारवटै क्षेत्र जित्न सक्छौँ भन्ने हाम्रो दाबी छ।’

उनले आफ्नो पार्टीको आधार जिल्लाका चारवटै क्षेत्रमा बलियो भए पनि केन्द्रले गर्ने तालमेलको निर्णय मान्ने बताए। केन्द्रले आगामी निर्वाचनमा तालमेल गरेर जाने निर्णय गरे पनि जिल्लामा त्यस विषयमा अहिलेसम्म कुनै परिपत्र नआएको उनले बताए। 

‘सर्लाहीको हकमा केन्द्रले जे निर्णय गरे पनि हामी स्वीकार्छौं। सबै क्षेत्रमा गठबन्धनका उम्मेदवार विजयी बन्नुपर्छ। कतिपय क्षेत्रमा तालमेल गरेर जानुपर्छ भन्ने मलाई पनि लागेको छ।’ 

माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले सर्लाही २ बाहेक जिल्लाका बाँकी तीनवटै क्षेत्रमा आफ्नो पार्टीको अवस्था राम्रो रहेको दाबी गरे। 

‘सर्लाहीका १, ३ र ४ नम्बर क्षेत्रमा माओवादीको अवस्था राम्रो छ,’ काफ्लेले भने,  ‘यस विषयमा मैले केन्द्रलाई जानकारी गराइसकेको छु। त्यसैअनुसार जिल्लामा सिट बाँडफाँड गर्दा राम्रो हुन्छ।’

गएको स्थानीय तह निर्वाचनमा सर्लाही ३ र ४ नम्बर क्षेत्रका दुई दुई पालिका माओवादी केन्द्रले जितेको थियो। दुई पालिकामा निकटतम प्रतिस्पर्धी बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .