ad ad

कारोबार


कर तिर्ने प्रमुख १० भित्र उभियो सिद्धार्थ बैंक

कर तिर्ने प्रमुख १० भित्र उभियो सिद्धार्थ बैंक

नेपालखबर
साउन ५, २०७९ बिहिबार ९:४२, काठमाडौँ

नेपालको बैंक तथा वित्तीय क्षेत्र पछिल्लो समय अब्बल बनिरहेको छ। समग्र व्यवसायमा पारदर्शी कारोबार गर्ने छवि बनाएका बैंक तथा वित्तीय संस्थाहरु आफ्नो कारोबार र नाफा आर्जन गर्न समेत सफल देखिएका छन्। 

पछिल्लो समय सिद्धार्थ बैंकले त एक किसिमको छलाङ नै मारेको छ। सिद्धार्थ बैंक लिमिटेड  वित्तीय रूपमा सक्षम, सञ्चालनमा दक्ष र प्राविधिक विकासको साथमा रहने लक्ष्यका साथ चलेको छ।

यस बैंक आफ्नो निक्षेप ६ दशमलव ०९ प्रतिशतले वृद्धि गरेको छ भने कर्जा १२ दशमलव ३२ प्रतिशतले बढाएको छ। 

अघिल्लो वर्षको तुलनामा गत वर्षको कारोबार यो बैंकले बढाएको छ। सिद्धार्थले गत आवको असार मसान्तसम्म १ खर्ब ९६ अर्ब ४८ करोड रुपैयाँ पुर्याएको देखिएको हो। साथै, असार मसान्तसम्ममा १ खर्ब ८६ अर्ब ९ करोड रुपैयाँ पुर्याएको छ। 

बैंकको गत आर्थिक वर्षको विवरण प्रकाशन हुन बाँकी छ। तर बैंकको कारोबार हेर्दा उच्च प्रतिफल रहेको हुनसक्ने देखिएको छ।

जेठ मसान्तसम्म बैंकले २ अर्ब ८२ करोड रुपैयाँ नाफा गरेको छ। एक महिनाको नाफा थपिँदा बैंकको प्रतिफल उच्च देखिने सम्भावना छ। 

प्रतिफल उच्च रहेको कारणले नै गर्दा बैंक नेपालको उच्च कर तिर्ने बैंकको रुपमा समेत देखिएको छ। 

पहिलो पटक यस बैंक सबैभन्दा धेरै कर तिर्ने कम्पनीहरुको सूचीमा प्रमुख १० मा देखिएको हो। समग्र बैंक तथा वित्तीय संस्थाहरुमा चौथो नम्बरमा छ। कर तिर्ने प्रमख १० कम्पनीमा ४ वटा त बैंक नै छन्। 

एनआईसी एसिया, नबिल बैंक, ग्लोबल आईएमईपछि सिद्धार्थ बैंक देखिएको हो। आफ्ना सूचकहरु अब्बल बनाएर बैंकले गत आर्थिक वर्षभरिमा २ अर्ब ७७ करोड रुपैयाँ कर तिरेको छ। 

कुन–कुन हुन् सबैभन्दा धेरै कर तिर्ने कम्पनी?
सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा गत वर्षजस्तै यो वर्ष पनि सूर्य नेपाल नै देखिएको छ। 

सूर्य नेपालले १० अर्ब ७२ करोड रुपैयाँ कर तिरेको छ। दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड छ। जसले ९ अर्ब ७२ करोड कर तिरेको देखिएको छ। त्यसपछि  दूरसञ्चार कम्पनी एनसेल आजियाटा लिमिटेडले ७ अर्ब ७९ करोड कर तिरेको छ। 

धेरै कर तिर्ने अन्य कम्पनीमा गोर्खा ब्रुअरीले ५ अर्ब ६९ करोड, विद्युत् प्राधिकरणले ३ अर्ब ९५ करोड, एनआईसी एसिया बैंकले ३ अर्ब ४१ करोड, नबिल बैंकले ३ अर्ब ३२ करोड ग्लोबल आईएमई बैंकले ३ अर्ब २१ करोड राजस्व तिरेको छ। सिद्धार्थ बैंक २ अर्ब ७७ र दशौँ नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड २ अर्ब ६५ करोड कर तिरेको देखिएको हो। 

सिद्धार्थ कस्तो बैंक हो?
यस बैंकको चुक्ता पुँजी १२ अर्ब ५२ करोड रुपैयाँ छ। बैंकले हाल देशभरका ७७ शाखा, दुुई एक्स्टेन्सन काउन्टर, ९८ एटीएम, ७० शाखारहित बैंकिङ्ग सेवा र चार सय ५० भन्दा बढी पीओएस मेसिनमार्फत उच्चस्तरीय बैंैकिङ सेवा प्रदान गर्दै आएको छ। 

सन् २००२ मा स्थापित सिद्धार्थ बैंक लिमिटेड नेपालको सबैभन्दा प्रभावशाली र व्यावसायिक बैंकको रूपमा रहेको दाबी गर्छ।

बैंकको मुख्य दर्शन ग्राहक र ग्राहकहरुसँग सम्बन्धको पोषणमा निहित बैंकले दाबी गर्दै आएको छ। सेवाहरूमा सुविधाजनक पहुँच सुनिश्चित गर्न, यस बैंकले धेरैजसो सञ्चालनहरूमा डिजिटल बैंकिङलाई एकीकृत गर्दै आएको छ। 

अनलाइन बैंकिङ वा सिद्धार्थ बैंकस्मार्ट एप प्रयोग गरेर, आफ्ना सेवा ग्राहकहरूले संसारको जुनसुकै ठाउँबाट पहुँच पाउनसक्ने देखिएको छ। 

बैंकले विस्तारित ग्राहक अनुभवको लागि प्रयोग गरेको प्रविधिमा निरन्तर सुधार गरिएको छ। यी सुविधाहरू र द्रुत सेवाहरूमार्फत आफ्ना ग्राहकहरूको विश्वास कमाउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .