ad ad

मधेस


साहुलाई साँवा–ब्याज बुझाए, तर वारेसले ३ करोडको जग्गा उम्काइदिए

साहुलाई साँवा–ब्याज बुझाए, तर वारेसले ३ करोडको जग्गा उम्काइदिए

शैलेन्द्र महतो
असार ३०, २०७९ बिहिबार ९:७, जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका २१ कुर्था निवासी मोहन झाले जेठी छोरीको विवाह खर्चका लागि १३ माघ २०६९ मा छिमेकी साहु सिलन महासेठसँग ४ लाख रुपैयाँ ऋण लिए। साहु सिलनले ऋण दिँदा कपाली तमसुक बनाए।

आर्थिक अवस्था कमजोर भएका कारण मोहनले साँवा–ब्याजसहित ऋण तोकिएको समयभित्र चुक्ता गर्न सकेनन्। साहु सिलनले आफूले दिएको ऋणको साँवा ब्याज असुलउपर गर्न जिल्ला अदालत (धनुषा) मा ऋणी मोहनविरुद्ध लेनदेनको मुद्दा हाले। अदालतले २४ जेठ २०७५ मा साहु सिलनको मागदाबी सही भएको फैसला सुनायो। ऋणी मोहनले साँवा र ब्याज साहुलाई तिर्नुपर्ने भयो। 

रकम असुलका लागि अदालतमा मुद्दा हाल्दा साहु सिलनले कपाली तमसुक लेख्ने लेखनदास (लेखापढी व्यवसायी) स्थानीय किशोरीप्रसाद साहलाई वारेस राखेका थिए। बिगो मुद्दा अदालतमा चलिरहेकै अवस्थामा मोहनले समाजमै साहुको हुने साँवा-ब्याज जसरी भए पनि तिर्ने निधो गरे।

१६ माघ २०७८ मा समाजमै मोहनले साहु सिलनको साँवा र ब्याजसहित १० लाख रुपैयाँ ऋण चुक्ता गरे। जसको भर्पाईसमेत उनले लिए। अदालतमा ऋणी मोहन उपरको दाबी फिर्ता लिई जग्गा फुकुवा गराइदिने सहमति भयो। साहु सिलनले वारेस बसेका लेखनदास किशोरी साहलाई आफूले मोहनविरुद्ध चलाएको बिगो मुद्दाको प्रक्रिया स्थगन गरी रोक्का जग्गा फुकुवा गराइदिन भने।  

तर वारेस किशोरीले आफू काम विशेषले अहिले व्यस्त भएकाले केही दिनपछि मुद्दा फिर्ता लिई जग्गा फुकुवा गराइदिने जवाफ दिएको सिलन बताउँछन्।

‘मोहनमाथिको मुद्दा उठाउन (फिर्ता) र जग्गा फुकुवाका लागि वारेस किशोरीले मसँग २५ हजार रुपैयाँ लिए १९ माघ २०७८ मा। तर न  मुद्दा उठाए न सम्पत्ति फुकुवा गराए’, साहु सिलनले सुनाए।  

मुद्दा फिर्ता गराउन र जग्गा फुकुवाका लागि मोहनले किशोरीलाई पटकपटक ताकेता गरे। तर वारेस किशोरीले सुनुवाइ गरेनन्। मुद्दाका कारण रोक्का भएको मोहनको जग्गा झण्डै ३ करोड रुपैयाँ बराबरको छ। मोहनको रोक्का जग्गामा किशोरीले आँखा गाडे।कशोरीको मनमा लोभ पलायो। समाजमा मिलापत्र भएको र साँवाब्याज समेत तिरेको कागजात वारेस किशोरीले अदालतमा पेस गरेनन्। 

अदालतले साहु सिलनको साँवासहित ब्याज असुल गराउन जग्गा लिलामी प्रक्रिया अघि बढायो। किशोरी करोडौं मूल्य पर्ने मोहनको जग्गा हत्याउन अघि बढे। अदालतलाई डाक लिलाम गराउन चाहिने मोहनको स्वीकृति पत्रमा मिलापत्रको हो भन्दै छलेर किशोरीले मोहनसँग सहीछाप गराए। ‘अदालतको मिलापत्रको पत्र हो। अब मुद्दा फिर्ता हुन्छ। जग्गा फुकुवा हुन्छ भनेर किशोरीले मसँग छलकपट गरी सहीछाप गराए’, मोहनले भने। 

४ फागुन २०७८ मा अदालतले मोहनका जनकपुरधाम उपमहानगरपालिका २१ साविक धनुषाको कुर्था गाविस वडा नं. ८ कि.नं. १०४५ को ०–०–११–९१ र वडा न ८ कि.नं. ४५५ को ०.२–१५३ जग्गा अदालतले डाक लिलाम गर्यो। किशोरीले आफ्ना खासै नाति पर्ने धनुषाको हंसपुर नगरपालिका ५ का २० वर्षीय रामप्रधुमन साहको नाममा डाक लिलाम सकार गराए। केही समयपछि सो जग्गा किशोरीले आफ्नो नाउँमा राजीनामा गराइसकेका छन्। किशोरीले त्यो जग्गा बेच्न खोजेपछि पोल खुल्यो। भएभरको सम्पत्ति त अदालतबाट डाँक लिलाम गरी वारेस किशोरीले हत्याएको थाहा पाएको पीडित मोहन बताउँछन्। 

किशोरीले जग्गा हत्याएपछि मोहन घर न घाटका भएका छन्। आफूले साँवा ब्याजसहित समाजमा चुक्ता गरिसकेको भर्पाईको कागज लिएर आफ्नो सम्पत्ति फिर्ता ल्याउन मोहन एक महिनादेखि अदालत र प्रशासन धाइरहेका छन्। 

किशोरी र उनका छोराहरूले सम्पत्ति फिर्ता गर्न एक कठा जग्गा र ६५ लाख रुपैयाँ माग गरिरहेका छन्। किशोरीले हडपेको मोहनको जग्गा कुर्था रेल्वे स्टेसन नजिक छ। बाटो छेउमा भएका कारण पछिल्लो समय जग्गाको भाउ बढेको हो। त्यसैले किशोरीको मनमा लोभ पलाएपछि जालझेल गरी आफ्नो पैतृक सम्पत्ति (जग्गा) हडपेको दुखेसो पोख्छन् मोहन। 

‘मैले साँवा ब्याजसहित साहुलाई ४ लाखको १० लाख रुपैयाँ तिरेँ। जसको भर्पाई मसँग छ। यी हेर्नुस्’, भर्पाई देखाउँदै मोहनले भने, ‘मैले ताकेता गर्दा‘ अदालतबाट मुद्दा उठाउने (फिर्ता) र जग्गा फुकुवा गराउने प्रक्रियामा छ भन्थे। मुद्दा फिर्ता नलिई मेरो सम्पत्तिमाथि आँखा गाडेर भएभरको सम्पत्ति हत्याएछन् किशोरी लेखनदासले। फिर्ता माग्दा उनका छोराहरूले सम्पत्तिको ठूलो हिस्सा माग्दै बार्गेनिङ गर्दैछन्।’

लेखनदास र प्रहरी प्रशासन तथा अड्डाअदलत धाएको लामो अनुभव तथा पहुँचले किशोरी आफूलाई शक्तिशाली ठान्छन्। उनका तीन छोरामध्ये जेठो कृष्ण साह र माहिलो घनश्याम साह पनि लेखनदास  (लेखापढी व्यवसायी) छन्। कान्छो छोरा गोपी पछिल्लो समय राजनीतिमा लागेका छन्। किशोरी र उनका छोराले जे गर्नु छ गर, जहाँ जानु छ जाऊ, सम्पत्ति फिर्ता हुँदैन भन्ने गरेको मोहन सुनाउँछन्। 

साहु सिलन महासेठ पनि वारेस किशोरीले मोहनको सम्पत्ति जालझेल गरी हडपेको भन्दै उनलाई न्याय दिलाउन लागिपरेका छन्। साहु सिलनले पनि जिल्ला प्रहरी कार्यालयमा किशोरीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा जाहेरी दिन दौडधुप गरे। तर प्रहरीले उनको जाहेरी दर्ता गरेन। 

मोहनले जिल्ला अदालतमा किशोरी र उनका दुई छोराको लेखापढी व्यवसायीको प्रमाणपत्र रद्द गर्न माग गर्दै मुद्दा दायर गरेका छन्। जिल्ला प्रहरीमा किशोरी र उनका नाति रामप्रधुमन साहविरुद्ध ठगी तथा जालसाजी मुद्दा दर्ता गराउन धाउँदै थिए। प्रहरीले दुवै पक्षलाई सोमबार छलफलका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो। छलफलकै क्रममा भनाभन हुँदा किशोरी साह र मोहनबीच कुटाकुट भयो। प्रहरीले दुवै जनालाई पक्राउ गरी मुद्दा चलाएको छ। 

मोहनको जाहेरीका आधारमा किशोरी र उनका नाति रामप्रधुमनविरुद्ध ठगी तथा जालसाजी मुद्दा दर्ता गरेको छ। पीडित मोहनविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा दर्ता गराएको छ। दुई पक्षबीचको छलफलमा मोहनले किशोरीलाई कार्यालय परिसरभित्र कुटपिट गरेकाले अभद्र व्यवहार मुद्दा चलाएको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए। 

यता छलफलमा सहभागी प्रत्यक्षदर्शी कुर्था बस्ने शम्भु झाले प्रहरीले पीडितलाई थप पीडित बनाएको बताए। 

‘एक महिनादेखि दौडधुप गर्दा प्रहरीले किशोरीमाथि जोहेरी दर्ता गरेन। दुवै पक्षलाई पटकपटक छलफलका लागि बोलायो। मोहन आयो तर, किशोरी आएनन्।

सोमबार किशोरी आए तर जथाभावी बोले’, स्थानीय शम्भुले भने, ‘एक त जग्गा हडपेको पीडा, त्यसमाथि उल्टै जथाभावी बोल्दा आवेशमा मोहनले किशोरीलाई एक–दुई झापड हिर्काइदिए। त्यो निहुँमा प्रहरीले समातेर उनीविरुद्ध पनि मुद्दा चलायो। यो त पीडितमाथि झनै अन्याय हो।’

‘छलफलका क्रममा मोहनले किशोरीमाथि हात छाडे। सरकारी कार्यालयभित्र कसैमाथि हात छाड्न पाइँदैन नि! त्यसकारण मोहनमाथि अभद्र व्यवहार मुद्दा चलाएका हौं’, एसपी रजौरेले भने, ‘एकसातायता मात्र जाहेरी लिएर मोहन हामीकहाँ आएका छन्। एक महिनादेखि मोहन हामी कहाँ आएको कुरा सही होइन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .