लुम्बिनी


अर्घाखाँचीमा क्षयरोगीको संख्या घट्दै

अर्घाखाँचीमा क्षयरोगीको संख्या घट्दै

नेपालखबर
चैत १०, २०८२ मंगलबार २०:३६, बुटवल

अर्घाखाँची जिल्लामा पछिल्ला वर्षमा क्षयरोगका बिरामी संख्या घट्दो क्रममा देखिएको छ। 

स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार आर्थिक वर्ष २०८०र८१ यताका तथ्यांकले क्षयरोग नियन्त्रणतर्फ सकारात्मक संकेत देखाएको हो।

जनस्वास्थ्य अधिकृत यमुना मरासिनीले समयमै पहिचान र नियमित उपचारका कारण क्षयरोग नियन्त्रणमा सुधार देखिएको दाबी गरिन्।

पछिल्ला तीन आर्थिक वर्षको तथ्यांक अनुसार क्षयरोगीको संख्या घटेको हो। 

उनका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २०५ जना क्षयरोगी फेला परेका थिए भने २०८१र८२ मा यो संख्या बढेर २२४ पुगेको थियो। 

तर त्यसपछिको अवधिमा उल्लेख्य गिरावट देखिँदै चालु आर्थिक वर्ष २०८२र८३ मा हालसम्म ११५ जना मात्रै बिरामी भेटिएका छन्। यसमध्ये ८१ जना पुरुष र ३४ जना महिला रहेका छन्।

आर्थिक वर्ष २०८२र८३ मा हालसम्म ११५ जना मध्ये पालिकागत रुपमा हेर्दा सबैभन्दा धेरै सन्धिखर्क नगरपालिकामा ३३ जना छन्।

यस्तै, सितगङा नगरपालिकामा २५ जना, भुमिकास्थान नगरपालिकामा २० जना रहेका छन्। छत्रदेब गाउँपालिकामा १४ जना, पाणिणीमा १२ र मालारानीमा ११ जना रहेका छ। 

जनस्वास्थ्य निरीक्षक गणेश पौडेलका अनुसार क्षयरोग माइकोब्याक्टेरियम ट्युबरकुलोसिस नामक ब्याक्टेरियाबाट लाग्ने संक्रामक रोग हो, जुन हावामार्फत सजिलै सर्ने गर्छ।

विशेषगरी मधुमेह, एचआईभी, क्यान्सर, मिर्गौला प्रत्यारोपण गरेका तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्तिमा यसको जोखिम बढी हुन्छ।

उनले लगातार खोकी लाग्नु, खकारमा रगत देखिनु, छाती दुख्नु, ज्वरो आउनु, राति पसिना आउने, थकान र तौल घट्ने जस्ता लक्षण देखिएमा तत्काल परीक्षण गराउन आग्रह गरे। 

‘समयमै परीक्षण र उपचार सुरु गरे क्षयरोग पूर्ण रूपमा निको हुन्छ,’ पौडेलले भने।

अर्घाखाँचीमा पछिल्ला तथ्यांकले क्षयरोग नियन्त्रणतर्फ सुधारको संकेत देखाए पनि पूर्ण रूपमा नियन्त्रणका लागि निरन्तर परीक्षण, उपचार र जनचेतना आवश्यक रहेको स्वास्थ्यकर्मीहरूको भनाइ छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad