लुम्बिनी


बर्दिया घटनाबारे छानबिन समितिले थाल्यो काम, अञ्जुका श्रीमान्‌विरुद्ध पक्राउ पुर्जी जारी

बर्दिया घटनाबारे छानबिन समितिले थाल्यो काम, अञ्जुका श्रीमान्‌विरुद्ध पक्राउ पुर्जी जारी

नेपालखबर
मंसिर २४, २०८२ बुधबार १७:३८, बर्दिया

नागरिकता नपाउँदा बाबु-छोरीले ज्यान गुमाउनुपरेको बर्दियाको लगायत घटनाको छानबिनका लागि गठन भएको समितिले बुधबार घटनास्थलमै पुगेर यथार्थ विवरण संकलन गरेको छ। 

सो क्रममा मृतक अञ्जु थारुको मृत्यु दर्ता  र  ७ वर्षीया छोरी अनिता थारुको जन्म दर्ता स्थानीय वडा कार्यालयमै सम्पन्न गरिएको छ।

समिति सदस्य तथा गृह मन्त्रालयका उपसचिव कुलशेखर अर्यालका अनुसार घटनाको मूल समस्या जन्म दर्ता भएकाले त्यसलाई तत्काल समाधान गरिएको हो।

‘घटनास्थलमै पुगेर समग्र अवस्था बुझ्दा मुख्य समस्या जन्मदर्ता नहुँदा देखियो। आजै वडा कार्यालयमा पुगेर अञ्जुको मृत्यु दर्ता र उनकी छोरी अनिताको जन्म दर्ता (अञ्जुका श्रीमान् अनिलको नाममा) गराइयो,’ उपसचिव अर्यालले जानकारी दिए।

समिति संयोजक सहसचिव सुरेश पन्थीको नेतृत्वमा टोली बढैयाताल-४ पुगेर स्थानीयसँग सर्वपक्षीय छलफल पनि गरेको थियो। ‘हामीले आवश्यक प्रक्रिया पूरा गरिसकेका छौं। बाँकी तथ्य र समस्या प्रतिवेदनमा समेटेर मन्त्रालयलाई बुझाइनेछ,’ अर्यालले बताएका छन्।

उता, अञ्जुका श्रीमान् अनिल थारुविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भई पक्राउ पुर्जी जारी भएको छ। मानवअधिकार आयोगले पनि घटनाबारे पृथक छानबिन गरिरहेको जनाएको छ।

२१ वर्षीया अञ्जु थारू दक्षिण भकारी, बढैयाताल-४ की हुन्। पतिबाट उपेक्षित बनेपछि अदालतले अंश पाउने निर्णय गरेको भए पनि नागरिकता नहुँदा उनले अंश लिन सकेकी थिइनन्।

गृह मन्त्रालयले मंसिर २१ गते सहसचिव सुरेश पन्थीको संयोजकत्वमा उपसचिव अर्याल र बर्दियाका सहायक सीडीओ अशोककुमार भण्डारी सदस्य रहेको ३  सदस्यीय छानबिन समिति गठन गरेको थियो। 

समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad