लुम्बिनी


गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

गाईपालन व्यवसायबाट मासिक एकलाख आम्दानी

नेपालखबर
बैशाख २२, २०८२ सोमबार ११:३४, घोराही ९दाङ०, २२ वैशाखः

वैदेशिक रोजगारीबाट फर्किएर घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाईपालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन्। उनले करिव ११ वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया र दुबईमा काम गरेका थिए।

उनले भने, ‘विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ,  स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाँही धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ।’

बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्‍याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी। उसो त थापाका लागि कामको चाप भने विदेशको जस्तै छ। थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएका छैनन्। थापालाई लाग्छ म एक दिन बिरामी भएँभने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ।

गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरेपनि दूध बजारसम्म पुर्‍याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन्। सुरुमा दुईवटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७  गाई छन्। तीमध्ये सात वटा दुहुना छन्। दैनिक ८० लिटर दूध उत्पदान हुने गरेको थापाको भनाइ छ। 

 विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे। अन्य पेसामा सफल नभएका थापा गाईपालनमा भने सफल भए। 

उनले भने, ‘मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दोरहेछ।’ गाईपालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख रुपैयाँ आम्दानी गर्नुका साथै जिल्लाकै एक उदाहरणीय किसान बनेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad