आगामी जेठ १५ गते रिलिज हुने फिल्म ‘महाभोज’ मा समावेश गीत ‘लालुमै’ सार्वजनिक भएको छ। सार्वजनिक गीतमा निश्चल बस्नेत र अस्मिता अधिकारीको स्वर सुन्न सकिन्छ।
हर्क साउदको शब्द रचना रहेको गीतमा कोसिस क्षेत्री र केतन क्षेत्रीको सङ्गीत छ। पुष्कर खत्रीको एरेञ्ज र केतन क्षेत्रीकै रेकर्ड प्रोडक्सन रहेको छ।
गीतको भिडिओमा मुख्य कलाकार दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, र स्वयं गायक निश्चल बस्नेतको आकर्षक नृत्य देख्न सकिन्छ। सुनिल क्षेत्रीको कोरियोग्राफीमा सबैजनाले राम्रो नृत्य गरेका छन्।
गीतमा मोडल कमल सिंहले मलिका महतसँग बिहे गर्दै गरेको भूमिकामा विशेष उपस्थिति जनाएका छन्। भिडिओमा मलिकाको बिहे समारोहको परिवेशमा आधारित छ, जहाँ परिवार, साथीभाइ र गाउँलेको रमाइलो माहौल झल्किएको छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक दिनेश राउतले ‘महाभोज’ ले नेपाली समाजमा विद्यमान वर्ग सङ्घर्ष र पैसाले सिर्जना गर्ने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्ने बताए।
कार्यक्रममा उपस्थित कलाकारहरूले चलचित्र तथा गीत छायाङ्कनका अनुभव प्रस्तुत गरे। दयाहाङ र खगेन्द्रले आफूहरू नृत्यकार नभएता पनि महाभोजका गीतहरूमा नृत्य गरेको बताए।
यस गीतमा स्वर दिएका तथा नृत्य गरेका निश्चलले निर्देशक दिनेश राउतसँगको पुनः सहकार्य उत्साहजनक रहेको बताए । सन् २०१२ मा एकै वर्ष चलचित्र निर्देशक सुरुआत गरेका निश्चल र दिनेशले यसअघि सन् २०१७ मा दिनेश निर्देशित चलचित्र पर्व मा सहकार्य गरेका थिए। सो चलचित्रको चर्चित गीत ‘काले दाइ’ गीतले निश्चलले स्वर दिनुका साथै नृत्य गरेका थिए।
आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाहलगायतको अभिनय छ। चलचित्रका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन्।
Shares

प्रतिक्रिया