लुम्बिनी


बुटवलका तीन मुख्य चोकमा ट्राफिक लाइट

बुटवलका तीन मुख्य चोकमा ट्राफिक लाइट

नेपालखबर
पुस २६, २०८१ शुक्रबार १६:४०, बुटवल

बुटवलको ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइटको उद्घाटन भएको छ।

ट्राफिक चोकसहित मिलन चोक र कालिकानगरमा जडान गरिएको ट्राफिक लाइटको बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरेका हुन्।

कार्यक्रममा नगर प्रमुख पाण्डेयले बुटवलको ट्राफिक व्यवस्थापनका लागि हाल ट्राफिक चोकसहित मुख्य तीन चोकमा ट्राफिक लाइट जडान गरिएको भन्दै आगामी दिनमा गोलपार्क, हस्पिटल लाइन, राजमार्ग चौराह, योगिकुटीलगायतका ठाउँमा पनि ट्राफिक लाइट जडान गर्ने योजना रहेको जानकारी गराए।

उपमहानगरपालिकाले आफ्नो लगानीमा हाललाई बुटवलका बढी भिडभाड हुने कालिकानगरस्थित कालिका चोक,मिलन चोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गर्दै नगर प्रमुख पाण्डेयले आगामी दिनमा आवश्यकताअनुसार अन्य ठाउँमा पनि ट्राफिक लाइट जडान गर्दै जाने बताए।

सडक सुरक्षालाई मध्येनजर गरी उपमहानगरपालिकाले पहिलो चरणमा सडकमा छाडिएका छाडा चौपायाको ब्यवस्थापन गर्ने कार्य अगाडि बढाएको बताउँदै उनले दोस्रो चरणमा ट्राफिक लाइट जडान गरिएको उल्लेख गरे।

बुटवललाई सफा, स्वच्छ, हरियाली, उज्यालो र सुरक्षित सहरको रूपमा विकास गर्ने उद्देश्यले बुटवलका मुख्यमुख्य चोकमा २३ वटा हाईमास्ड लाइट तथा १२५ सीसीटीभी क्यामेरा जडान गरिएको भन्दै उनले राजमार्ग चौराह–गोलपार्क–चिडियाखोला–चिडियाखोला सडक बिस्तार कार्य सकिएपछि बुटवलको मुहार फेरिने बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश राजमार्ग सुरक्षा तथा सवारी व्यवस्थापन कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीले दुर्घटना न्यूनीकरणमा ट्राफिक लाइटको महत्त्वपूर्ण भूमिका रहने भन्दै यसले कम जनशक्तिबाट धेरै काम गर्न सकिने बताए। बुटवलको कालिका चोक, मिलनचोक लगायतका ठाउँमा धेरै दुर्घटनाहरू हुने गरेको भन्दै उनले ट्राफिक लाइट जडानपछि दुर्घटनामा कमी आउने विश्वास व्यक्त गरे।

उपमहानगरपालिकाको वार्षिक योजनाअनुसार ५५ लाख ५ हजार ९२५ रूपयाको लागतमा कालिका चोकसँगै मिलनचोक र ट्राफिक चोकमा ट्राफिक लाइट जडानका लागि क्युसेरा मल्टीपर्पाेज प्रालि काठमाडौसँग ठेक्का सम्झौता भएको उपमहानगरपालिकाका अनुगमन शाखाका प्रमुख ठगीश्वर पोखरेलले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad