लुम्बिनी


नारायणगढ–बुटवल सडक : म्याद थपिएको ४ महिनापछि विस्तारको काम सुरु

नारायणगढ–बुटवल सडक : म्याद थपिएको ४ महिनापछि विस्तारको काम सुरु

फाइल तस्बिर


नेपालखबर
मंसिर २५, २०८१ मंगलबार १४:३६, काठमाडौँ

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ।

२०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो। साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै नगरी करिब साढे ४ महिना बितायो। मनसुन, चाडपर्वलगायतका कारण देखाउँदै विस्तारको काम रोकेको निर्माण व्यवसायीले बल्ल विस्तारको काम सुरु गरेको हो।

नारायणगढ–बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनियर शिव खनालका अनुसार अहिले सडक विस्तारमा ३२३ श्रमिक परिचालन गरिएको छ।

‘पछिल्लो १३ दिनदेखि सडक विस्तारको काम सुरु भएको हामीलाई जानकारी आएको छ,’ उनले भने, ‘अहिले सबबेस, बेस, अप्रोच रोड (नयाँ बनेको पुललाई सडकसँग जोड्न माटो भर्ने काम), कल्भर्ट निर्माण, ढुंगाको पर्खाल निर्माण गर्ने काम भइरहेको छ।’

यस खण्डमा बनेका १६ पुलमा अप्रोच रोड बनाउनुपर्नेमा अहिले ९ वटामा काम भइरहेको र बाँकी सातमा पनि चाँडै काम सुरु हुने उनले जानकारी दिए।

त्यसैगरी २३२ कल्भर्टमध्ये १८१ वटा निर्माण सम्पन्न तथा १४ वटाको काम हुँदै गरेको भन्दै नौ स्थानमा सडक किनारमा ढुङ्गाको पर्खाल लगाउने काम भइरहेको इञ्जिनियर खनालको भनाइ छ।

गैँडाकोट, देवचुली र मध्यविन्दु नगरपालिकाका विभिन्न भागमा रहेको पुरानो कालोपत्र भत्काएर सबबेस, बेसको काम भइरहेको सूचना अधिकारी खनालले बताए।

उनका अनुसार, सडक विस्तारमा अहिले ११ वटा स्काभेटर, दुई क्रेन, छ रोलर, आठ ग्रेडरको प्रयोग भइरहेको छ। 

‘अहिले सडक विस्तारको कामलाई तीव्रता दिने गरी काम भइरहेको छ,’ उनले भने, ‘निर्माण कम्पनीले आवश्यक जनशक्ति र उपकरण थप गर्दै सडक विस्तारको कामलाई चाँडो गर्ने प्रतिबद्धता जनाएर काम गरेको छ।’

यस खण्ड (गैँडाकोट–दाउन्ने) मा पर्ने ६५ किलोमिटर सडकमध्ये ३५ किलोमिटर सडक कालोपत्र भइसकेको इञ्जिनीयर खनालले बताए।

हालसम्म पूर्वीखण्डको भौतिक प्रगति ५३ दशमलव १५ प्रतिशत रहेको भन्दै डिसेम्बरमा थप तीन दशमलव १८ प्रतिशत काम सक्ने गरी निर्माण कम्पनीले काम गरिरहेको उनको भनाइ छ।

उनका भनाइमा, मध्यबिन्दु नगरपालिकामा पर्ने चोरमारा जङ्गलको उकालोमा सडक विस्तारको काम भइरहँदा जमिनमुनिबाट पानी रसाएर यातायात सञ्चालनमा समस्या आएपछि अहिले ‘सब सर्फेस ड्रेन’ निर्माणको काम भइरहेको छ। सडकको बीचमा खाल्डो खनेर जमिनमुनिबाट निस्किएको पानीलाई निकास दिनका लागि सब सर्फेस ड्रेन बनाइएको छ। अब यस खण्डमा सहज रुपमा यातायात सञ्चालन गर्न तथा सडक विस्तार गर्न सकिने विश्वास पनि खनालले व्यक्त गरे छ।

नारायणगढदेखि बुटवलसम्मको ११४ किलोमिटर सडक २०७९ साउन २२ भित्र काम सक्ने गरी २०७५ माघमा सरकार र चिनियाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसन लिमिटेडकाबीच सम्झौता भएको थियो।

नारायणघाट–दाउन्ने (६५ किलोमिट) र दाउन्ने–बुटवल (४९ किलोमिटर) गरी दुई खण्डमा ठेक्का लगाइएको योजनाको तत्कालीन प्रधानमन्त्री केशी शर्मा ओलीले २०७५ चैत ८ मा बुटवलमा शिलान्यास गरेका थिए। निर्धारित समयमा एक चौथाइ पनि काम नसकेपछि पहिलोपटक २०८० साउन ८ र दोस्रोपटक २०८१ साउन ८ सम्मका लागि म्याद थप गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad